समाजको सोच, विचार, चिन्तन, शैली, संस्कार र संस्कृति पुरुषमैत्री छ । प्रविधिको द्रुत विकाससँगै महिला–हिंसाको स्वरूपमा पनि विविधता थपिएको छ । आर्थिक, सामाजिक, राजनैतिक, प्रशासनिक, प्राविधिक र वातावरणीय आयामबाट महिलामाथि हुने हिंसाको अध्ययन–विश्लेषण अहिलेको आवश्यकता हो ।
What you should know
एकातिर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ, अर्कोतिर मंसिर लागेदेखि नै विवाह संस्कारका नाममा कन्यादान दिनेहरूको घुइँचो छ । कस्तो विडम्बना ! सृष्टि सुचारु राख्न जोइपोइको आवश्यकता हुन्छ, तर विवाह गर्ने सवालमा छोरीलाई अझै दानका रूपमा लिनु र दिनुलाई के भन्ने ?
‘पाले पुण्य मारे पाप’ भन्दै खुट्टाको पानी खाएर आफ्नी छोरीलाई ‘तथास्तु’ कहने बुबा–आमा र सिंगो समाज भएसम्म लैंगिक हिंसालाई मद्दत पुगिरहन्छ । प्यारा छोरीहरू ! उपयुक्त समयमा विवाह गर्नुपर्छ, तर विवाह भएर पतिको घर जानैपर्छ भन्ने सोचबाट माथि उठ्नु जरुरी छ । अब आवश्यकताअनुसार कहिले पतिको घर त कहिले पत्नीको घर अर्थात् ‘बुबा–आमा, छोरा–बुहारी, छोरी–ज्वाइँ, दुवैतिरका नाति–नातिना सबै समान हैसियतका परिवारका सदस्य हुन्’ भन्ने मानसिकता र व्यावहारिकता निर्माण गर्नुपर्छ ।
हालै एक वैवाहिक कार्यक्रममा सहभागी हुन गएकी थिएँ । स्वयम्बरका बेला बेहुलीले बेहुलालाई हरियो र फ्रेस दुबोको माला राम्रो किस्तीबाट झिकेर लगाइदिइन् । अर्कोतिर बेहुलाले आफूले घाँटीमा लगाइराखेको माला (जुन सुकिसकेर दुबोको हो वा अन्य केहीको, चिन्नसमेत नसकिने अवस्थाको थियो) सोही बेहुलीलाई लगाइदिए । सुधार भन्ने विषय यहीँबाट सुरु गर्नुपर्छ । कि त दुवैले सुरुमा आफूले लगाएकै माला साटासाट गर्नु राम्रो कि बेहुलाले पनि बेहुलीलाई नयाँ माला लगाइदिनुपर्छ । विषय विवादको होइन, सानो छ । तर, समानताका लागि यस्तै–यस्तै कामकुरामा परिवर्तन हुनु जरुरी हुन्छ ।
त्यसैगरी विवाहका बेला जुत्ता लुकाउने जुन संस्कार छ, त्यो राम्रो होइन । केही रूपमा रमाइलो र केही रूपमा पैसा प्राप्त गर्ने लोभले भेनाको जुत्ता सालीले लुकाउने खराब प्रचलन व्यापक छ, जसले गर्दा ‘गुन्द्रुक पकाउनै पर्दैन, साली फकाउनै पर्दैन’ भन्ने जस्ता महिलालाई हिंसा गर्न उन्मुख उखानटुक्का प्रचलनमा छन् । प्यारा छोरीहरू ! यो विषय बुझ्नु— ‘सित्तैमा कसैले केही दिँदैन, यदि दिन खोज्यो भने सोच्नु, उसले आफूलाई हिंसा गर्ने अवसर खोजेको छ ।’ त्यसैले अरूको केही लोभ नगर्ने र आफू सबै विषयमा सक्षम बन्न सकियो भने कसैले पनि हिंसा गर्ने आँट गर्न सक्दैन । यहाँ त जन्मेदेखि नै आफ्नै घरबाट सुरु हुन्छ, छोरीलाई दबाउने काम । छोरी स्वतन्त्र भएर, आफ्नै पौरखमा उन्मुक्त भएर बाँचेको हाम्रो समाजलाई कहिले पच्ला ? छोरीको खुसीमा घरपरिवार र आफन्तले आनन्द मान्ने अवस्था आउन अझै कति समय कुर्नुपर्ला ? छोरीले आफूलाई हरेक पल मारेर बचाएको ‘घरपरिवारको इज्जतको मूल्य कम छैन’ भन्ने मस्तिष्कको निर्माण कहिले होला ?
हाम्रो समाजका सोच, विचार, चिन्तन, शैली, संस्कार र संस्कृति सबै पुरुषमैत्री छन् । प्रविधिको विकाससँगै महिलाद्रोही सोच, विचार र आनीबानीमा सुधार आउनुपर्ने हो, तर आएको छैन । हिंसाका स्वरूपमा झन् विविधता थपिएका छन् । हिंसा बहुआयामिक विषय हो । आर्थिक, सामाजिक, राजनैतिक, प्रशासनिक, प्राविधिक, वातावरणीयलगायतका सबै आयामबाट हुने हिंसाको व्यापक अध्ययन र विश्लेषण हुन सक्नुपर्छ । आज एक्काइसौं शताब्दीका हामीले प्रविधिलाई हातमै खेलाएका छौं, तर त्यसबाट सकारात्मक ऊर्जा लिएर मानसिकतामा सशक्तीकरण गर्न सकेका छैनौं । आफ्नो क्षमता अभिवृद्धिका लागि गरिने लगानी सर्वोत्कृष्ट लगानी हो । यसमा कहिल्यै घाटा हुँदैन । आफूले आफूलाई गरेको मायाले कहिल्यै घात गर्दैन भन्ने हामीले अझै बुझेनौं ।
समाजमा दण्डहीनताको अवस्था कायमै छ । हाम्रो समाजमा जोसँग पैसा छ, उसले जे गरे पनि जायज हुन्छ र जो कमजोर छ, उसलाई गल्तीबिनै हिंसा सहन बाध्य पारिन्छ । काम गर्ने नैतिकवान् व्यक्तिको गनितो मानितो हुन्न हाम्रो समाजमा । परिश्रम नगरीकनै पैसा थुपारेका भ्रष्ट व्यक्तिकै सामाजिक मूल्य बढी छ, जसले गर्दा पीडक ‘भाले’ भएर बासिरहने र पीडितले बिनाकारण हिंसा खेप्दै सामाजिक बहिष्करणमा परिरहने अवस्था सिर्जना भएको छ । पीडकविरुद्ध शून्य सहिष्णुताको सोच कहिले जन्माउने ? विवाह संस्कारका नाममा के हामीले अझै पनि हाम्रा छोरीहरूलाई असल कुलघरानको, टन्न सम्पत्ति भएको, जीउडाल खाइलाग्दो भनेर खराब व्यक्तिको हातमा सुम्पने ?
छोरी जन्माउने बुबा–आमालाई विशेष अनुरोध छ– आफ्नी छोरीलाई छोरासरहकै मायाममता, अवसर, पहुँच, लगानी गर्नुहोस् कि यसले छोरीलाई सक्षम, आत्मनिर्भर, स्वस्थ हुनुसँगै र पैसा कमाउने सीप पनि दिलाओस् । अनि ढुक्क बस्नुहोस्– ज्वाइँ तपार्इंले खोजिदिनु पर्दैन । आवश्यकता महसुस भएपछि छोरी आफैंले आफूअनुकूलको ज्वाइँ खोज्ने छे । छोरीलाई सबै विषयमा सक्षम बनाएपछि ऊमाथि कसैले हिंसा गर्दैन । यहाँ त जतिबेला पनि छोरीलाई कमजोर बनाउने अनि ज्वाइँ बलियो खोज्ने नराम्रो प्रचलनले गर्दा हिंसाले उग्र रूप लिएको हो ।
हिंसा न्यूनीकरणका लागि सर्वप्रथम हरेक घरबाट छोराछोरीलाई समान व्यवहार गर्नु जरुरी छ । दुवैलाई समान अवसर र पहुँचको व्यवस्था गर्नुपर्छ । नैतिक आचरण र नैतिक शिक्षा दुवैलाई सिकाउनुपर्छ । अहिले हाम्रो समाजमा हुने गरेको ‘तिमी छोरी हौ– त्यसैले सुस्त बोल, सुस्त हिँड, धेरै काम गर, साँझपख बाहिर ननिस्क, जस–जसले जे–जे भने पनि मुख नफर्काऊ’ जस्ता धेरै कुराको स्कुलिङ नै छोरीमाथिको मानसिक हिंसा हो । सृष्टिका समान हिस्सेदार ‘जन्मँदै एउटा बलियो र अर्को कमजोर हुन्छ’ भन्नु अरू केही होइन, हाम्रै मानसिकताको कमजोरी हो ।
अलिकति गम्भीर भएर सोचौं त– महिलालाई हेर्ने सवालमा, महिलालाई सोच्ने सवालमा, महिलालाई गर्ने व्यवहारको सवालमा हाम्रो सोचाइ कति कमजोर छ ! महिलालाई मान्छेका रूपमा स्विकार्न सकेका छैनौं हामीले । उसलाई हरेक कामकुरामा नजरअन्दाज गरिन्छ । उसले हाँसेको, आफ्नो खुट्टामा उभिएको राम्रो–राम्रो कपडा लगाएको, मीठो खाएकोसमेत हाम्रो समाजलाई पच्दैन । आखिर यो ज्यादती कहिलेसम्म ? बलात्कार गरेर आउने छोरो असल, समाजको मर्द अनि बलात्कृत हुने छोरीले उसको परिवारको इज्जत बचाउने भन्दै ‘चुप्प लागेर बस्’ भन्नु अन्यायको पराकाष्ठा होइन ?
अब सबै महिलाले आफूभित्रकै दुर्बलतासँग पनि लड्नु जरुरी छ । समय, परिश्रम र पैसाको लगानी हुनुपर्छ– हरेक महिलाले आफ्नो मानवीय मूल्य अभिवृद्धि गर्न । शारीरिक र मानसिक स्वास्थ्य राम्रो राख्न सरसफाइ, योगाभ्यास, ध्यान सिकौं । राम्रो हुन महँगा कस्मेटिक सरसामान प्रयोग नगरौं । स्वस्थकर खानेकुरा खाऔं । मस्तिष्कमा आत्मबलसहितको सकारात्मक ऊर्जा भरौं । आफूले आफैंलाई माया गर्न सिकौं । अरूको इर्ष्या, चियोचर्चो, देखासिकी, कुरा काट्ने, खुट्टा तान्ने बानी पटक्कै नगरौं । यसले आफैंलाई कमजोर बनाउँछ । आफैंलाई सहज हुने र मानवीय मूल्य बढाउन समय खर्च गरौं । राम्रो काम गर्न ‘अरूले के भन्लान् ? समाजले के भन्ला ?’ को कमजोर मानसिकतामा हराएर आफैंमाथि अन्याय नगरौं । हरेक कामकुराको केन्द्रबिन्दुमा आफैंलाई राखौं ।
मेरी एक जना साथी छिन् । उनको नाममा आफ्नै कमाइको घर थियो । पतिसँगको दैनिक खटपटले चौबिस वर्षको वैवाहिक जीवनमा ब्रेक लाग्यो । डिभोर्स गर्ने सवालमा उनले आफ्नो नामको घर छोराछोरीको नाममा दिइन् । अफसोच ! जग्गाधनी प्रमाण पुर्जामा जीवन जोगाउन जोसँग डिभोर्स गरिन् ऊलगायत तीनपुस्ते पुरुषकै नाम लेखियो, तर उनको नाम नामेट भयो । हुन त पछि उनको डिभोर्स पतिले केही महिनामै अर्की श्रीमती ल्याएर छोराछोरीलाई पुनः दुःख दिन थालेपछि, छोराछोरीले सो घर साथीकै नाममा फिर्ता दिए । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यहाँ भन्न खोजेको के भने अहिलेको नागरिकता प्रमाणपत्रमा आमा र बुबा दुवैको नाम भएजस्तै जग्गाधनी प्रमाण पुर्जा, विद्यालयदेखि विश्वविद्यालयबाट प्राप्त हुने प्रमाणपत्रलगायत अन्य सबै कागजातमा बुबा–आमा दुवैको नाम अनिवार्य हुनुपर्छ । यो नै विभेद घटाउने प्रस्थानबिन्दु हो ।
हिंसा न्यूनीकरणको प्रमुख अस्त्र हो— हरेक व्यक्तिको मस्तिष्कको सबलीकरण गर्नु । बालबच्चाको मस्तिष्क काँचो माटोजस्तै हो । त्यसैले हरेक बच्चालाई घरदेखि स्कुलसम्मै सिकाउनुपर्छ– महिला र पुरुष भनेका सृष्टिका समान हिस्सेदार हुन्, दुवैको महत्त्व र भूमिका बराबरी हुन्छ, हरेक कामकुरा दुवैले गर्नुपर्छ । अनि मात्रै बाल–मस्तिष्कमा दुवैको समान भूमिका रहन्छ । र, यसले तिनमा सबल मानसिकता निर्माण गर्छ । जब सबै व्यक्तिमा सकारात्मक सोचविचार र धारणा भएको मानसिकता निर्माण हुन्छ तब विभेद हट्दै जान्छ र हिंसा घट्दै जान्छ ।
संघीयता आन्तरिकीकरण गर्ने आजको सवालमा सबैको मस्तिष्कको सबलीकरण गर्दै हिंसाविरुद्ध शून्य सहिष्णुता भएको घर, समाज, राष्ट्र र विश्व निर्माण गर्नु हाम्रो साझा दायित्व हो ।
