अप्रत्याशित र अनपेक्षित आउने परिवर्तनका वेग र वेगभित्रको आवेगलाई समयमै कुशल ढंगले समायोजन र विनियोजन गर्न सकिएन भने त्यसले अर्को भयानक विस्फोटको प्रारूप मात्रै तयार पारेर जान्छ ।
What you should know
सभ्य र विचारशील समाजमा विवादभन्दा संवादले प्रश्रय पाउँछ । संवादमा शालीन र भद्र अवज्ञाका माध्यमबाट स्वीकारोक्ति वा अर्को फरक विचारलाई यथोचित ढंगले तार्किक निष्कर्षमा पुग्ने प्रणालीको विकास गरिन्छ ।
जब मति अर्थात् नियत नै खराब र दुष्कर्ममा निर्भर रहने गर्छ, त्यतिबेला चाहिँ संवादले विवादको रूप लिन्छ र यस्तो अवस्थामा कसैले कसैको कहिल्यै पनि अस्तित्व स्वीकार गर्न सकिरहेको हुँदैन । एकले अर्कालाई र अर्काले मौका मिलेसम्म सबैलाई नसिध्याएसम्म आफ्नै अस्तित्व संकटमा पर्न सक्छ भन्ने दूषित र संकीर्ण मनोविज्ञानबाट अहिले हाम्रो समाज ग्रसित–त्रसित हुँदै गइरहेको छ ।
यस्तै सामाजिक परिस्थिति र परिवेशमा सबैलाई एकै पटक झम्टिने गरी युवा जेन–जीको आन्दोलन विस्फोटका रूपमा प्रकट हुन पुग्यो । यो विस्फोटको परकम्पनले जति छिटो सबैलाई हल्लायो, त्यति नै छिटो हल गर्नका लागि उठाएका आवाज र मुद्दालाई अलपत्र पनि बनायो । ‘के सोचें मैले, के भयो अहिले’ भनेर वास्तविक, परिवर्तनकामी र स्वचालित युवा जेन–जीहरू पुनः सडकमा देखा पर्न थालेका छन् । सडक र सत्ताको साइनोको महत्त्व बुझेका छद्मभेषी घुसपैठियाहरू फेरि परिवर्तनका मुद्दाका नाम र निहुँमा आफ्नो स्वार्थको रोटी सेक्न ‘हाइज्याकर’ र ‘ह्याकर’ का रूपमा सक्रिय हुन थालिसकेका छन् । यिनीहरूले आफ्नो दुष्कर्मलाई सक्रिय बनाउन आपराधिक पृष्ठभूमि भएका पात्रलाई सुरक्षा कवचका रूपमा प्रयोग गर्न थालेको देखिन्छ । त्यसैले अहिले आपराधिक पृष्ठभूमिका पात्रहरू सर्वाधिक खोजी र रुचिका पात्रका रूपमा देखा पर्न थालेका छन् ।
सायद जेन–जी आन्दोलनले पनि यस्तो अवस्थाको परिकल्पना त पक्कै गरेको थिएन नै होला । हाम्रा सडकहरू फेरि अहिले कुनै पनि बेला तडक र भड्काउको भडकमा रूपान्तरित हुने सम्भावनामा रहेका देखिन्छन् । सडकमा सरकारका तर्फबाट भिड्नका लागि हरहमेसा तम्तयार नेपाल प्रहरी त छँदै छ, जसले यो या त्यो बहानामा सधैं आफ्नो फगतमा रगत बगाई नै रहेको हुन्छ । वास्तवमा जब–जब आन्दोलनले कुनै पनि नयाँ विचारलाई पलाउन वा फलाउन सक्दैन भने पुराना विचार र बिचरालाई पनि सतहमा सेलाउन वा तह लगाउन सक्दैन । यो आन्दोलन वा विस्फोटको अधकल्टो अवस्थाका कारण अहिले विगतमा निष्क्रिय रहेकाहरू थप सशक्त, सक्रिय र संगठित हुन थालिसकेका छन् भने भरखरै पलाउन खोज्नेहरू विभक्त र सेलाउन थालिसकेका छन् ।
हामीलाई भने अहिले एक थान फागुनको घोषित आमनिर्वाचनले सबैखाले द्वन्द्व समाधान गरी मुलुकको दशा र दिशा सुध्रिनेछ भन्नेमा सहमत भइदिनुपर्ने बाध्यता आइलागेको छ । युवाको निर्दोष परिवर्तन र सुशासनको ‘भ्वाइस’ लाई दूषित, सुनियोजित र परिचालित ढंगले ‘न्वाइजमा हाइज्याक’ गरिएकै कारण अहिले हल गरिनुपर्ने राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, धार्मिक र न्यायिक मुद्दा बेवारिसे बन्न पुगेका छन् । परिवर्तनका मुद्दा बोक्नेहरू अहिले मुलुकका गौरवका धरोहरलाई धराशायी गर्ने पात्रका रूपमा लाञ्छित हुन थालेका देखिन्छन् ।
वास्तवमा अप्रत्याशित र अनपेक्षित ढंगले आउने परिवर्तनका वेग र वेगभित्रको आवेगलाई समयमै कुशल ढंगले समायोजन र विनियोजन गर्न सकिएन भने त्यसले अर्को भयानक विस्फोटको प्रारूप मात्रै तयार गरेर जाने गर्छ । अहिलेको हाम्रो विद्यमान र विधिसम्मत् अवस्था यही नै हो । अब फेरि उही विधि र उही प्रवृत्तिबाट मुलुकलाई डोर्याउने असफल प्रयास गरिँदै छ । फगतमा विगत त बित्यो नै । तर, अहिले हाम्रो वर्तमान वा भविष्य पनि सार्थक ढंगले अघि बढ्ने र सामर्थ्यका भरमा गरिखाने वातावरण बनिरहेको देखिँदैन । छाँटकाट केही नमिलेको र बलजफ्ती मिलाउने किसिमले मुलुकलाई सञ्चालन गर्दा युवा जेन–जीको भविष्य झनै अनिश्चितताको गहिरो खाडलमा पर्नेछ भन्ने विषयलाई सरकार र सरोकारवाला सबै पक्षले आत्मसात् गर्नु आवश्यक छ । सत्ता असलको हातमा परेर मात्रै हुँदैन, असलहरू कुशल पनि हुनु आवश्यक छ । र, यो आवश्यकताको बोध अहिले सबैले गर्न थालेका छन् ।
समाजको युवा जेन–जी तप्का पनि आवश्यकताभन्दा बढी उत्तेजक र हिंस्रक बन्दा समाजमा वैरभाव र प्रतिरोधी कित्तालाई आफूखुसी सक्रिय हुने अवसर दिइरहेको देखिन्छ । कानुनबमोजिमको अर्डर र अर्डरबमोजिमको जिम्मेवारी बहन गर्ने संस्कार र संस्कृतिको यथेष्ट विकास युवामा पनि भएको देखिँदैन । परिणाम तत्कालै अनुकूलको खोज्ने, तर विधि र उपायलाई प्रक्रिया र प्रणालीमुखी नबनाउने मनोवृत्तिका कारण हाम्रा युवाहरूमा अपरिपक्वताको प्रभाव परेको यत्रतत्र देख्न सकिन्छ ।
सामाजिक सञ्जालको जञ्जालबाट जेलिएका हाम्रा युवाहरू विविध सूचनाबाट सुसज्जित हुने गरेका छन् । तर, सञ्जालबाट सहज रूपमा प्राप्त हुने सूचनाहरू आफैंमा सूचना मात्र हुन् । ती सूचनालाई ज्ञानमा परिवर्तन गर्न चेतन मन र विशाल चित्तको आवश्यकता पर्छ भन्ने कुराबाट युवा अनविज्ञ छन् । हाम्रा युवाहरूको मनोविज्ञान सुधार गर्न छिट्टै सामाजिक सञ्जालको जञ्जालबाट मुक्ति पाउने उपायका विषयमा राष्ट्रिय कार्यक्रम नै सञ्चालनमा ल्याउन आवश्यक भइसकेको देखिन्छ ।
विगतका अहंकारी, दम्भी र भ्रष्ट शासकका विरुद्धमा आवाज उठाउनेले सदैव आन्दोलनकै दम्भ पाल्नु हुँदैन । अहंकार जुनसुकै स्वरूपमा पनि प्रकट हुन सक्दछ । यो सत्तासँग मात्रै जोडिएको विषय हुँदै होइन । भागवत गीतामा ‘अहं कर्ता इति’ भनेर ‘अहंकारलाई स्वयं मात्रको कर्ताको अस्तित्वमा रहने र अरूको अस्तित्वलाई स्वीकार नगर्ने मनोवृत्ति’ का रूपमा उल्लेख गरिएझैं युवा पुस्ताले पनि सह–अस्तित्व र सम्मान भावको चरित्र व्यवहारमा लागू गर्नु अत्यन्तै आवश्यक देखिन्छ ।
समाजको सर्वाधिक महत्त्वपूर्ण वर्गका रूपमा रहेका हाम्रा युवाका लवज, कवच सबै प्रेरणादायी र अनुकरणीय बन्न नसकिरहेका कारण पनि उनीहरूको क्रियाकलापप्रति आमनागरिकको नकारात्मक धारणा बन्दै गइरहेको छ । हामी अहिले एकातर्फ हल गरिनुपर्ने राजनीतिक–सामाजिक मुद्दालाई ढाकछोपकै भरमा छाडिरहेका छौं भने अर्कोतर्फ विस्थापन गरिनुपर्ने पात्र र प्रवृत्तिलाई विधिसम्मत् ढंगले जबाफदेही बनाउनुपर्ने विषयबाट पनि विषयान्तर हुँदै गइरहेका छौं । यस्तो अवस्थामा हल गरिनुपर्ने मुद्दा जहिले पनि अल्झिरहने र पीडाको घाउ बल्झिरहने गर्छ । यसरी द्वन्द्वको चपेटामा मुलुकलाई दीर्घकालसम्मै धकेलिरहँदा युवा भविष्य र मुलुककै भविष्य थप संकटमा पर्न सक्छ । त्यसैले जेन–जीहरूले आफ्ना ‘भ्वाइस’ र ‘च्वाइस’ लाई ‘न्वाइज’ मा जानुअगावै उपरोक्त विषयमा गम्भीर आत्मचिन्तन गर्नु अत्यन्तै आवश्यक छ ।
