अविचल नृजातीय मुख्तियार

ओली सन् २००० सम्म जहाँ थिए र सन् २०१५ पछि अहिले जहाँ छन्, राजनीतिको त्यस्तो उडान भर्न सक्ने व्यक्तिलाई समसामयिक नेपाली सार्वजनिक वृत्तको चाणक्य घोषणा गरे पनि फरक पर्दैन ।

मंसिर १०, २०८२

सीके लाल

Unrelenting ethnic mukhtiyar

What you should know

राजनीतिक रूपले चेतनशील ठाउँ इलाममा समेत सामान्यजनमा राजनीतिक थकानको मनोविज्ञान हाबी हुँदै गएको कुरा ठम्याउन कठिन छैन । चिया पसलमा गफगाफको सुरुवातका लागि सोधिने– आउने निर्वाचनमा जित्ने सम्भावना कुन दलको छ ? सामान्यजस्तो प्रश्नको उत्तर पनि प्रतिप्रश्नका रूपमा आउँछ– निर्वाचन हुन्छ र ?

अनि त्यसपछि भने विचार प्रवाह हुन थाल्दछ– बंगलादेशमा निर्वाचन भइसक्यो ? नेपाल र बंगलादेशको तुलना गर्न मिल्दैन भन्ने अभिव्यक्तिको उत्तर पसलमा रहेका अर्कै कुनै व्यक्तिले दिन्छन्– ठीक भन्नुभयो, नेपाल र बंगलादेश एउटै होइन । तर, जसरी बंगलादेशमा निर्वाचन नभएर चुनाव हुँदै आएको छ, नेपालमा पनि निर्वाचन हुनेवाला छैन ।

राजनीतिक दलहरूले जति नै होहल्ला गरे पनि पञ्चायतकालमा जस्तै गणतन्त्रमा पनि अबदेखि चुनाव मात्रै हुनेछ । निर्वाचन र चुनाव उही होइनन् र ? स्वस्फूर्त वार्ताकार हाँस्छन्– स्वस्थ प्रतिस्पर्धामा जोसुकैले जिते पनि स्थायी सत्तालाई फरक नपर्ने प्रक्रिया निर्वाचन हो, विधि पुर्‍याउने पूर्वनिश्चित उम्मेदवारलाई विजयी घोषणा गर्ने कर्मकाण्ड चुनाव हो ।

अंग्रेजीमा प्रयोग गरिएका केही अभिव्यक्तिहरू, जस्तो कि निर्वाचनका लागि ‘इलेक्सन’ र चुनावका लागि ‘सलेक्सन’, केही शब्दान्तर गरिएको भए तापनि विचार भने चिया पसलको अपरिचित सम्भाषी (इन्टर्लाक्युटर) व्यक्तिले खुलस्त व्यक्त गरेको लामो बडबडबाट टिपिएका हुन् । तपाईं राजनीतिशास्त्रको प्राध्यापक हो भन्ने प्रश्नमा उनको उत्तर थियो– होइन, अवकाशप्राप्त अंग्रेजी शिक्षक, अब पुराण सुनाउने पण्डित । उनी विवादास्पद राजावादी दुर्गा प्रसाईंका ढिठ समर्थक रहेछन् ।

पढेलेखेको भए पनि ऋण तिर्न नसकेको ‘बैंक डिफल्टर’ अपराधीको समर्थक हुनमा लाज लाग्दैन भन्ने ठाडो प्रश्नमा उनी नरिसाई जवाफ फर्काउँछन्– राजनीतिमा लाजशरम त हुँदैन नि सर, ‘तपाईंका नेताहरू’ कै चाला हेर्नुस् । त्यसपछि बहस लम्ब्याउन नचाहेर उनी तर्किएर हिँड्छन् । सन् १९७० को दशकतिर जलेश्वर–जनकपुर सडकको ‘चाँदनी चोक’ को चिया पसलमा सुनिने त्यस्तो ‘पञ्चायती’ गफ धेरैपछि इलाम बजारमा सुन्न पाइयो । राजनीतिक चेतनाको अर्थ सही छनोट नै हुनुपर्छ भन्ने होइन रहेछ । आखिर विचार र व्यवहारमा गलत र सही शब्दको अर्थ पनि त हरेक व्यक्तिको आ–आफ्नै हुन्छ ।

यसभन्दा अघि कहिल्यै नसुनेको कुरा बरु सूर्योदय नगरपालिकाका एक व्यापारीले सुनाए । ‘यहाँ त जताततै रातै देखिन्छ नि π’ भन्ने जिज्ञासामा उनको व्याख्या चाखलाग्दो थियो । धेरैजसो टिप्पणीकारहरूले नक्सलवाद झापा हुँदै उक्लेर इलाम पुगेको भन्छन् । त्यसो होइन अरे । ताप्लेजुङबाट ओर्लेर कम्युनिस्ट विचारधारा इलाम हुँदै झापा झरेको हो ।

अनि ताप्लेजुङ कसरी पुगेको होलान् त कम्युनिस्टहरू ? ‘पुगिहाल्छन् नि हजुर, कांग्रेस घोडा कुरेर दिन बिताउँछन्, कम्युनिस्ट फटाफट हिँड्छन्’ ! लगभग त्यस्तै कुरा धनुषाको उत्तरी भेगका कम्युनिस्ट प्रचारकहरू सन् १९८० को दशकतिर गर्ने गर्दथे– ‘तिमीहरू बस कुर्दै गर, हम तो चल दिए ११ नम्बर जिन्दावाद π’ यस्ता गफहरू सुनेर लाग्यो, इलाम र धनुषाका बीच अदृश्य तादात्म्य रहेछ । अनि त रामायणकालका मिथिला नरेश प्रतिमा भएर इलाममा विराजमान छन् र कवि कोकिल विद्यापतिको सालिक मेची राजमार्गमा औपचारिक अनावरण कुरेर बसिरहेको छ ।

सबभन्दा रुचिकर वार्तालाप भने इलाम बजारबाट साँझतिर माइपोखरीतिर हुइँकिएका एक हूल मोटरसाइकल चालकहरूमध्येका एउटा बिन्दास जनजाति नवयुवासँग भयो । उनको मूलथलो इलामको कुनै गाउँतिर भए पनि बसोबास भने इटहरीमा रहेछ । मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकता भएकै जिल्लामा पुग्नुपर्ने भएकाले सुनसरीबाट इलाम उक्लेका रहेछन् । उनी अलिअलि मात्तिने झोल दिउँसै चढाएका जस्ता देखिन्थे ।

के कसो सोध्नासाथ उनी धाराप्रवाह प्रवचन दिन थाले– ‘यस्तो बेलामा कर्मचारीहरू दुई–चार घण्टा बढी काम गर्नु नि । अलिकतिले एकरात बस्नुपर्ने भयो । एक चड्कन दिऊँजस्तो लागेको थियो । छोडदिएँ । म त जेन–जी हो नि, बुझ्नु भो । अहिले हाम्रै सरकार हो, कर्मचारीलाई के धम्क्याउनु । ‘भ्यु’ हेर्न माथि उक्लेको, कुहिरोले केही देखिन्न त ।

योभन्दा राम्रो ‘भ्यु’ त तल हाम्रै गाउँको कान्लाबाट देखिन्छ । काठमाडौंदेखि आउनुभएको ? त्यहाँ त जेन–जी साथीहरूले उत्पात गरेछन् नि हो । हामीले पनि इटहरी नगरपालिकामा अलिअलि तोडपोड गर्‍यौं नि ।’ ‘तपाईंले नै तिरेको करबाट बनेको भवन तोडफोड गर्न अप्ठ्यारो लागेन ?’ भन्ने प्रश्नमा उनको जोसिलो उत्तर पूर्वाग्रहका सबै वस्त्र सहजै उतार्नेखाले थियो– ‘हाम्रै करबाट बनेको, हामीले भत्कायौं । हाम्रै करबाट फेरि 

बन्छ π’ तार्किक नभए पनि उनको आत्मविश्वास भने लापरवाह ठहरिने हदसम्मको उत्ताउलो सुनिन्थ्यो । हुन त साँझपख ठाउँ–ठाउँमा भत्किएको पहाडी बाटो हुँदै मात्तिएका बेला मोटरसाइकलमा हुइँकिन चानचुने आँटले पुग्दैन ।

बरालिएको बहस

तोडफोडलाई सामान्य ठहर्‍याउने त्यस नवयुवाको ‘हामी त जेन–जी हो नि’ भन्ने अभिव्यक्ति सन् १९९० को अन्ततिर माओवादी नवयुवाहरूको अराजक दम्भलाई सम्झाउँछ । अल्लारेजस्ता देखिने नवयुवाहरू टाउकामा तारासहितको रातो फेटा बाँधेर लुटपाट मच्चाउँथे र विद्वान् बाबुराम भट्टराई अध्यक्ष माओ त्से–तुंगको प्रसिद्ध उक्ति– ‘क्रान्ति कुनै रात्रिभोज होइन’ भनेर तिनको प्रतिरक्षा गर्ने गर्दथे ।

कतिसम्म भने मधेशतिर छुकछुके र उल्याहा केटाकेटीलाई ‘कस्तो माओवादीजस्तो बच्चो’ भनेर हप्काउनु स्वाभाविक भइसकेको थियो । भट्टराई राष्ट्रिय राजनीतिको शीर्षमा पुगेर प्रधानमन्त्रीसम्म भए तर उनको तथाकथित ‘क्रान्तिकारी हिंसा’ लाई निःसर्त समर्थन गर्न तत्परता कत्ति पनि कम नभएकाले होला, समसामयिक राजनीतिमा सेप्टेम्बर ८–९, २०२५ विध्वंसको सबभन्दा पहिलो र प्रमुख मुखर अनुमोदक भएर उनी नै देखापरेका थिए ।

घटना भइसकेपछि दिइने औचित्य जस्तोसुकै भए पनि सेप्टेम्बर ८–९ कुनै राजनीतिक विद्रोह, आन्दोलन वा क्रान्ति कतैबाट पनि थिएन । सेप्टेम्बर ८ का दिन केही नवयुवाहरू विरोध प्रदर्शनका लागि माइतीघर मण्डलमा भेला भएको यथार्थ हो । प्रदर्शनका आह्वानकर्ताहरूको आफ्नो संगठन र नेतृत्व केही पनि नभएकाले उत्तेजना फैलाउन इच्छुक समूहलाई नवयुवाहरूलाई संसद् भवन कब्जा गराउनतर्फ मोड्न सजिलो भयो होला ।

भीडलाई संयमित पार्न सक्ने अनुशासित र प्रतिबद्ध स्वयंसेवकसहितको निर्देशक संरचना आह्वानकर्ताहरूसँग नभएकाले त्यो उत्तेजित हूल संसद् भवन तोडफोडमा उत्रियो र अत्तालिएका वा उक्साइएका प्रहरीहरूले जथाभावी गोली चलाउन थाले । प्रदर्शनकारीहरू सँगसँगै केही रमितेहरूसमेतको मृत्यु हुनु दुर्भाग्यपूर्ण घटना थियो । बदला भावले अस्पतालमा पुगेर घाइतेहरूलाई समेत कुटपिट गर्ने प्रहरीहरूले त निश्चित रूपमा अपराध गरेका हुन् । त्यसपछिको लगभग २४ घण्टाको परिस्थिति जनआक्रोशको विस्फोट मात्रै पक्कै पनि होइन ।

राज्यका तीनै अंग– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सँगसँगै राज्य प्रमुखको निवास स्थानमा आगजनी गर्ने आँट सामान्यजनमा हुँदैन । क्रोधित र उग्र भीड तोडफोड गरेर तितरबितर हुन्छ । सुरक्षा संयन्त्रसमेत तर्सेर तर्किनुपर्ने परिस्थिति ‘नियन्त्रित विध्वंस र आगजनी’ जस्तो अन्तर्ध्वंसका स्थापित विधिहरूमा प्रशिक्षित र आफ्नो कार्यभारका लागि राम्रोसँग तयार समूहले मात्र सीमित समयमा उत्पन्न गराउन सक्थ्यो । अव्यवस्था र अराजकता फैलिएका बेला बन्दीगृह भत्काइनु अस्वाभाविक होइन ।

सरकार प्रमुख र सत्ता साझेदार दलका नेताहरू उत्तेजित आक्रमणकारीहरूको निसानामा पर्नु पनि त्यति असहज लाग्दैन । प्रहरी कार्यालय र अदालत त कानुन व्यवस्था अस्तव्यस्त पार्न इच्छुक विध्वंसकहरूको लक्षभेदनमा पर्ने नै भए । देशको सबभन्दा ठूलो मिडिया समूहलाई तारो बनाउन चाहने निहित स्वार्थ भएका व्यक्तिहरू पनि थिए होलान् । तर, विमलेन्द्र निधि वा झलनाथ खनालजस्ता किनाराकृत राजनीतिकर्मी, उपेन्द्र महतोजस्तो ‘लो प्रोफाइल’ मा बस्न रुचाउने गैरआवासीय नेपाली व्यवसायी वा जतिसुकै असहमति भए पनि कसैलाई बिझाउने कुरा गर्न हच्किने नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलजस्ता हस्तीहरूको हुर्मत लिने गरी गरिएका विध्वंसक गतिविधिहरूलाई एउटा अल्लारे सहरिया नवयुवाहरूको विद्रोहका रूपमा मात्र परिभाषित गर्न कठिन छ ।

पंक्तिकारसँग बरोबर असहमति जनाइरहने एउटा व्यवसायीको अवसाद बडो मर्मस्पर्शी थियो– श्रमिकहरूसँगको मनमुटावले गर्दा उद्योग र व्यापार स्थलमा तोडफोड हुन सक्छ, सामान्य कुरा हो । तर सबभन्दा सुरक्षित मानिने व्यवसायीको घरभित्र छिरेर लुटपाट र आगजनी गर्दा प्रहरी त के छरछिमेकबाट समेत कोही नआउनुले के संकेत गर्छ ? घर त व्यक्तिको इज्जत पनि हो नि । सर ‘घर में घुस के मारना सुना है ?’ प्रमाण स्पष्ट नदेखिनु प्रमाण हुँदै नभएको प्रमाण होइन ।

सेप्टेम्बर ८–९ परिघटनाको प्रायोजित र बहुप्रचारित व्याख्यालाई फरक ढंगले अर्थ्याउने र अझ प्रखर तवरले प्रतिवाद गर्न सक्ने मूलधारका एक मात्र राजनीतिकर्मी अहिले खस–आर्य समुदायका नृजातीय मुख्तियार खड्गप्रसाद शर्मा ओली मात्र देखिएका छन् । हरेक तालुखुइले ब्राह्मण कौटिल्य हुन्छ भन्ने त छैन तर शर्मा ओली सन् २००० सम्म जहाँ थिए र सन् २०१५ पछि अहिले जहाँ छन्, राजनीतिको त्यस्तो उडान भर्न सक्ने व्यक्तिलाई समसामयिक नेपाली सार्वजनिक वृत्तको चाणक्य घोषणा गरे पनि फरक पर्दैन । माओवादी कालका जल्दाबल्दा ‘प्रचण्ड’ लाई नेपाल कम्युनिस्ट पार्टीको पत्रपर्ण अध्यक्ष बनाएर ‘हस् र हुन्छ’ भन्दै भौंतारिनुपर्ने अवस्थामा पुर्‍याइदिए ।

सामान्य अवस्थामा आफ्नो प्रमुख प्रतिद्वन्द्वीसँग सत्ता साझेधारी गर्नु अराजनीतिक मात्र नभएर अनैतिक कर्म पनि थियो । अध्यक्ष शेरबहादुर देउवालाई त्यस प्रकारको राजनीतिक पासोमा पार्न उनले काठमाडौंका नृजातीय विचार निर्माताहरूको सावधानीपूर्वक प्रयोग गरे र अहिले परिस्थिति कस्तो बन्न पुगेको छ भने लुट र अक्षमतन्त्र सञ्चालन गरेको सबै दोष आफ्ना कनिष्ठ सत्ता साझेदारको टाउकामा थोपरेर आफ्नो जिम्मेवारीबाट उम्किन उनलाई अत्यन्त सहज भइरहेको छ ।

केही गरी ‘डिस्कर्ड सरकार’ द्वारा गठित जाँचबुझ आयोगले शर्मा ओलीलाई बयानका लागि बोलाइहाले पनि उनी सबै जिम्मेवारीको दोष नेका–एमालेको संयुक्त मन्त्रीमण्डलका गृहमन्त्रीतिर हुत्याएर सजिलै उम्किन सक्छन् । प्रहरीले अत्यधिक बल प्रयोग गरेको घटनालाई मानवताविरुद्धको अपराध ठहर्‍याउने हो भने सबभन्दा पहिले तेस्रो मधेश विद्रोहको निर्मम दमन गर्ने राजनीतिकर्मी र अधिकारीहरूलाई कठघरामा उभ्याउनुपर्ने हुन्छ ।

नैतिक जिम्मेवारी वहन गर्नु दण्डनीय आपराधिक कर्म होइन । बढीमा पदबाट राजीनामा मागिने हो, त्यो उनले गरिसकेका छन् । कतिसम्म भने निर्धारित मितिमा निर्वाचन–चुनाव होइन, भयो भने उनको दलको तयारी बाँकी प्रतिस्पर्धीहरूभन्दा बढी छ । केही गरी तोकिएको मितिमा चुनाव हुन सकेन भने त उनको नैतिक विजय ठहरिने निश्चित त छँदै छ, जति गरे पनि नृजातीय मुख्तियारलाई उनको आसनबाट हल्लाउन नसकेको तथ्य सन् २०१५ पछि पुनः एक पटक स्थापित हुँदै छ ।

देखावटी गतिविधि

राजधानीमा राजनीतिक चहलपहल छ । नेपाली कांग्रेसले अहिलेसम्म विशेष महाधिवेशन वा नियमित महाधिवेशनको तिथिमिति टुंग्याउन नसकेको भए तापनि अध्यक्ष शेरबहादुर देउवाको हस्ताक्षरका साथ निर्वाचन आयोगमा दर्ता हुने प्रक्रिया सुरु गरिसकेको छ । स्वाभाविक हो, निर्वाचनमा टिकट पाउने आकांक्षा राख्नेहरू महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाभन्दा आरजु देउवाको पछि लाग्नुमा आफ्नो कल्याण देख्नेछन् ।

बूढानीलकण्ठस्थित देउवा दरबारमा भएको आगजनी, निन्दित भए पनि पूर्वप्रधानमन्त्रीसँग गरिएको लछारपछार र पदासीन महिला परराष्ट्रमन्त्रीसँग गरिएको दुर्व्यवहार दुस्स्वप्नजस्तो देखिन्छ । सभ्य समाजमा अपराधीको स्वत्वलाई पनि सम्मान गरिन्छ, सुनुवाइबेगर सजाय दिइँदैन । बर्बर समुदायहरूमा मात्र भीडको न्याय स्विकार्य हुन जान्छ । अध्यक्ष देउवा शारीरिक चोटपटक र मानसिक हतासाबाट उम्किएर सक्रिय जीवनमा फर्किने प्रयत्न गर्दै छन् ।

प्रजातान्त्रिक दल भएकाले नेकाभित्र वाद–प्रतिवाद मात्र नभएर आक्षेपहरूको लेनदेन पनि भई नै रहन्छ । कुनै बेला नेकालाई दूबोसँग तुलना गरिन्थ्यो– सुकेको जस्तो देखिए पनि जरा फैलिरहने र निर्वाचनको चर्चा चल्नासाथ हलक्क बढेर भुइँ छोप्न बेरै नलाग्ने घाँस । आजभोलि नेकाका कार्यकर्ताहरू बालुवाजस्ता भएका छन्, जसलाई जोडेर चट्टान बनाउने सिमेन्ट साझा राजनीतिक आदर्श नभएर फगत आर्थिक प्रलोभन बन्न पुगेको छ ।

आगलागीमा जलेका नोट सक्कली नै भए पनि निरन्तर पदमा रहेर व्यवसायीहरूमा गरिएको लगानीको प्रतिफल चाँडै मेटिँदैन । अध्यक्ष देउवा अझै पनि आफ्नो दलको चालकको आसनमा आसीन छन् । चुनाव भए राम्रो, अदालतले प्रतिनिधिसभा पुनःस्थापन गरिदिए झन् राम्रो । समसामयिक राजनीतिमा उनी आरामदायक अवस्थामा छन् ।

नेकपा एमालेलाई स्वचालित हुन नेकाभन्दा धेरै सजिलो छ, त्यो किन हो भने कार्यकर्ता आधारित भनिए पनि त्यो दल खासमा नेताकेन्द्रित दल हो । कुरा नचपाई भन्ने हो भने अहिलेसम्म ‘एमाले भनेको खड्गप्रसाद शर्मा ओली र शर्मा ओली भनेको नै एमाले’ मान्नुपर्ने अवस्था कायम छ । मात्र दुई महिना पहिले ज्यान जोगाउन इस्तिफा दिएर भाग्नुपर्ने अवस्था रहेको भए तापनि स्थायी सत्ताभित्र निर्माण गरेको एमाले सञ्जाललाई उनले क्रियाशील गरिसकेका छन् । सन् १९८० को दशकतिर तुलसी गिरी ‘पञ्चायत कि आमा’ हुन् भन्ने चर्चा चल्थ्यो । कालान्तरमा सूर्यबहादुर थापा ‘पञ्चायत कि धाई आमा’ भएर स्थापित भए ।

राजाको राजनीतिक छाते भएर सेवा गरेको भन्दा तुलसी गिरीको कुनै इतिहास छैन । सूर्यबहादुरको निवासमा भने गणतन्त्रकालसम्म पनि प्रभावशाली राजनीतिकर्मीहरू लाम लाग्ने गर्दथे । केही कालका लागि धर्मराउने धक्का बेहोर्नुपरेको भए तापनि स्थायी सत्ताभित्र शर्मा ओलीले निर्माण र पृष्ठपोषण गरेको उनीप्रति व्यक्तिगत रूपमा बफादारहरूको सञ्जाल यथावत् छ । सायद त्यसैले उनले निर्धक्कसँग पार्टीको ११औं महाधिवेशनका लागि ११ वटै उपसमिति गठन गराउन लगाएका छन् ।

आक्रामक प्रतिरक्षाका लागि विभिन्न संगीन अपराधमा संलग्न भनिएका बाहुबलीको कमान्डमा नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) नामधारी लडाकु दस्ता स्थापना गरिएको छ । धनाढ्यतन्त्रका प्रवर्द्धक र संरक्षक रहेकाले उनलाई स्रोतको कमी पक्कै हुने छैन । एकताका नेकाभित्र गिरिजाप्रसाद कोइरालालाई चिरञ्जीवी वाग्ले तथा नरहरि आचार्यजस्ता तुलनात्मक रूपमा हल्का राजनीतिकर्मीहरूले विरोधको वैधानिकता प्रदान गरेर प्रजातान्त्रिक अध्यक्षताको ताज पहिर्‍याउने गर्दथे । विद्या भण्डारी स्वयं मैदानमा देखिइन् भने बेग्लै कुरा, नभए ईश्वर पोखरेलले शर्मा ओलीको राजनीतिक उचाइ बरु बढाउन सक्ने नै देखिन्छन् ।

देउवा र शर्मा ओली वर्चस्व बाहिरका राजनीतिक गतिविधिहरू अहिलेसम्म खासै उत्साह जगाउनेखाले देखिराखिएको छैन । अपकृष्ट माओवादी पुष्पकमल दाहाल र अवशिष्ट मार्क्सवादी–लेनिनवादी माधवकुमार नेपाल मिलेर १० वाम दलहरूको समूह निर्माण गरेका छन् र त्यस मोर्चालाई नेपाली कम्युनिस्ट पार्टी नाम दिएका छन् । बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारलाई एक ठाउँमा ल्याएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छन् । थरी–थरीका राजनीतिक उद्यमीहरूले आ–आफ्ना छुट्टै चुनावी पसल दर्ता गराउने क्रम पनि जारी छ ।

सामान्यजनमा भने राजनीतिक प्रक्रिया पनि कुनै उत्साह छैन । विध्वंस र विनाशपछिको सार्वजनिक थकान र अनुनमेय (अनप्रिडिक्टेबल) आँधीअघिको शान्तिलाई आत्मप्रवर्द्धनका लागि प्रयोग गरिरहेका नृजातीय मुख्तियार शर्मा ओली अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्रमा छन् । उनलाई निस्तेज गर्न सेप्टेम्बर ८–९ को अभियान असफल ठहरिएकाले नै सिमरा, विराटनगर वा सुर्खेतसम्म एमालेलाई विरोधको सामना गर्नु परिरहेको छ । विद्यमान परिस्थितिमा चुनावको चर्चा राजनीतिक प्राणीहरूले आफूलाई व्यस्त राख्ने मेसो मात्रै रहेको देखिँदै छ । इलामेलीहरूका कुरा खस्रा भए पनि मननयोग्य हुन्छन् ।

सीके राजनीतिक विश्लेषक लाल कान्तिपुरका नियमित स्तम्भकार हुन् । उनकाे नेपालीय हुनलाई‍‍ ..., ह्युमन राइट्स, डेमोक्रेसी एण्ड गभर्न्यान्स लगायतका पुस्तक प्रकाशित छन् । कान्तिपुरका अलवा विभिन्न प्राज्ञिक जर्नल तथा पुस्तकमा उनका लेखहरु प्रकाशित छन् ।

Link copied successfully