आत्ममुग्धता : आत्मविश्वास कि व्यक्तित्व विकार ?

नार्सिसिस्टहरू सधैं आफ्नो प्रशंसा मात्रै चाहन्छन् । तिनको इच्छा हुन्छ– सबैले उनीहरूको गुणगान गाइरहुन्, आफ्नो पछि–पछि लागिरहुन् । यदि ‘अटेन्सन’ पाएनन् भने रिसले चुर–चुर हुन्छन्, ती आफ्नो आलोचना सहनै सक्दैनन् । जत्तिसुकै गलत होऊन्, ‘आफ्ना लागि’ सधैं सही हुन्छन् । 

मंसिर ३, २०८२

शिक्षा रिसाल

Narcissism: Confidence or Personality Disorder?

What you should know

काठमाडौँ — म यस्तो छु, म उस्तो छु, जस्तोसुकै भए पनि दामी छु । ताल परेमा हरामी छु । चारैतिर म नामी छु’ गिरीश खतिवडाको र्‍याप गीतका यी केही लाइन नसुनेकाहरू सायदै होलान् । कतिलाई त यो गीत ‘आफ्नै लागि लेखिएको’ झैं लाग्छ होला । 

यदि यस्तो लाग्छ भने एउटा सुझाव दिन चाहन्छु । सबै कुरा बिर्सेर एक पटक आत्मसमीक्षा गर्नुहोस् । जिन्दगीमा धेरै उथलपुथल भइरहेको छ र दोष सबै अरूलाई दिनुहुन्छ भने पनि साइकोलोजिस्टकहाँ गइहाल्नुस् । र, केही प्रश्नका सही–सही जवाफ दिनुहोस् । किनकि तपाईं यस्तो व्यवहारगत विकारबाट ग्रसित भएको हुन सक्नुहुन्छ, जसलाई मनोवैज्ञानिक भाषामा ‘नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर’ भनिन्छ । ग्रीक मिथकका एक पात्र नार्सिससबाट ‘नार्सिसिज्म’ शब्द जन्मेको हो । र, त्यसैबाट यो ‘नार्सिसिस्टिक’ शब्दको विकास भएको हो । 

इसापूर्व शताब्दीको एउटा रोचक कथा छ । कथामा नार्सिसिज्म अर्थात् अत्यधिक आत्ममुग्धताका कारण नार्सिसस भन्ने एक पात्र पतन भएको बारे वर्णन गरिएको छ । नार्सिसस आफू सुन्दर भएकै कारण अत्यन्तै घमण्डी र अहंकारी थिए । आफूलाई प्रेम प्रस्ताव राख्ने हरेकलाई उनी तिरस्कार गर्थे, दुत्कार्थे । र, अर्की थिइन्– इको । उनी हेरा नामक देवीबाट श्रापित थिइन्, जसकारण उनी अरूले बोलेका कुरा दोहोर्‍याउन मात्रै सक्थिन् । उनी पनि नार्सिससलाई देखेर मन्त्रमुग्ध भइन्, प्रेम गर्न थालिन् । तर, सबैलाई तिरस्कार गर्ने नार्सिससले इकोलाई अपनाउने कुरै थिएन । उनी इकोको प्रेम प्रस्तावलाई सिधै नकारिदिन्छन् ।

प्रतिशोधकी देवी नेमिससले घमण्डी नार्सिससलाई पाठ सिकाउने निर्णय गर्छिन् । नेमिसस एक सुन्दर तलाउको स्वरूप लिएर जंगलमा बस्छिन् । सिकार खेल्दै गर्दा नार्सिससलाई प्यास लाग्छ । उनी त्यही तलाउमा पानी पिउन झुक्छन् । तलाउमा झुक्नेबित्तिकै उनले त्यहाँ अत्यन्तै सुन्दर, जवान, बलियो, युवक देखेका हुन्छन् । कुप दे फोउद्रे अर्थात् पहिलो नजरमै प्रेम गर्न थाल्छन् । वास्तवमा नार्सिसस आफ्नै प्रतिविम्ब देखेर मन्त्रमुग्ध भइरहेका हुन्छन् ।

आफैंसँगको प्रेममा परेपछि नार्सिससले सबै कुरा बिर्सन्छन् । लामो समयसम्म आफ्नै प्रतिविम्ब हेरेर मोहित हुन्छन् । उनले खान, पिउन र सुत्न पनि बिर्सन्छन् । उनी दिनदिनै कमजोर र कुरूप बन्दै जान्छन् । एक दिन त्यही तलाउको किनारमा उनको मृत्यु हुन्छ । नार्सिससले मर्ने बेला आफ्नै प्रतिविम्ब हेर्दै भनेका थिए, ‘ओहो ! अद्भुत युवक, मैले तिमीलाई व्यर्थमा प्रेम गरें, बिदा ।’ इको नार्सिससको अन्तिम शब्द मात्रै दोहोर्‍याउन सक्छिन्– बिदा, बिदा, बिदा !

यो कथाले नार्सिसिज्मको मूल सारलाई चित्रण गर्छ । अत्यधिक आत्मप्रेमले एक व्यक्तिको अर्को व्यक्तिसँगको सम्बन्ध मात्रै होइन, स्वयंलाई पनि नष्ट गर्छ । 

नार्सिसिज्म अर्थात् आत्ममुग्धता । भागवत गीतामा श्रीकृष्णले भनेका छन्, ‘आत्मप्रशंसाको अर्को नाम आत्महत्या हो ।’ अर्थात् जब मान्छे केवल आफ्नै प्रशंसा गरिरहन्छ, उसको पतन निश्चित छ । नार्सिससको पनि त्यसैगरी पतन भयो । मनोविज्ञानका अनुसार, संसारको हरेक प्राणीमा केही हदसम्म नार्सिसिज्म छ । आत्ममुग्धतालाई मनोविज्ञानले आत्मविश्वाससँग पनि जोडेको छ । केही मात्राको नार्सिसिज्मले व्यक्तिलाई जीवनमा सफल हुन मद्दत गर्छ । 

मनोवैज्ञानिक सिद्धान्त भन्छ, ‘नार्सिसिज्म कुनै पनि परिकारमा हालिने नुनजस्तै हो, यदि ठिक्क भयो भने परिकार मीठो र स्वादिलो हुन्छ तर अत्यधिक भयो भने परिकार न मीठो हुन्छ न स्वास्थ्यका लागि लाभदायी नै ।’ जस्तै ‘अ पिन्च अफ नारसिसिज्म’ अर्थात् थोरै आत्ममुग्धताले व्यक्तिलाई आफ्नो अधिकारका लागि बोल्न, लड्न, आत्मनिर्भर हुन, आत्मविश्वास बढाउन, महत्त्वाकांक्षी बनाउन र जीवनमा सफल हुन मद्दत गर्छ ।

तर, परिस्थिति जस्तोसुकै होस् ‘म यस्तै त हो’ भन्दै समाजका नियम–कानुन उल्लंघन गर्ने, नैतिक मूल्य–मान्यता बहिष्कार गर्ने, अरूको भावनालाई सम्मान नै नगर्ने, कसैले केही प्रश्न उठाए गर्वका साथ ‘म यस्तै हो’ भन्ने व्यक्तिहरूमा यो ‘नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर’ को जोखिम उच्च हुन्छ । किनकि भावनात्मक र व्यवहारगत रूपमा स्वस्थ व्यक्तिले आफूलाई प्रेम मात्रै गर्दैन, सँगसँगै अरूको भावना र अवस्थाप्रति पनि समानुभूति दर्शाउँछ । तर, जब व्यक्तिमा भएको नार्सिसिज्मले पराकाष्ठा नाघ्छ तब मानिसमा ‘नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर’ विकास हुन्छ । 

नार्सिसिस्टहरू सधैं प्रशंसा मात्रै चाहन्छन्– सबैले उनीहरूको गुणगान गाइरहुन्, पछि–पछि लागिरहुन् । यदि ‘अटेन्सन’ पाएनन् भने उनीहरू रिसले चुर–चुर हुन्छन् । उनीहरूलाई कुनै पनि विषयमा आलोचना गरेको मन पर्दैन, उनीहरू आलोचना सहनै सक्दैनन् । उनीहरू जति नै गलत भए पनि आफ्ना लागि सधैं सही हुन्छन् ।

यी व्यक्तिहरू प्रायः आफ्नो अहंकारमा झुकाउन सक्ने मानिससँग मात्रै घेरिन मन पराउँछन् । उनीहरू आफ्नो जय–जयकार गर्ने व्यक्तिहरूसँग सम्बन्ध निर्माण गर्छन्, भलै ती सम्बन्ध सतही र क्षणिक होऊन् । नार्सिसिस्टिकहरूको जीवनको शब्दावलीमा केवल ‘म’, ‘मेरो’, ‘मैले’, ‘मलाई’ र ‘आफू’ मात्रै हुन्छ । उनीहरू आफ्नो कुनै पनि कठोर व्यवहार वा निर्णयले अरू मानिसमा पार्ने प्रभाव र मानसिक जोखिमबारे बेमतलब हुन्छन् । 

हामी पक्कै नार्सिसिस्टिक व्यक्तिहरूबाट घेरिएका छौं वा हामी आफैंमा पनि यो डिसअर्डर भएको हुन सक्छ । यस्ता व्यक्तिहरूसँग व्यवहार गर्नुपर्दा हामीलाई लाग्छ, ‘यो त कस्तो घमण्डी रहेछ, कस्तो मुडी रहेछ, जिद्दी रहेछ, बोली त कस्तो कडा रहेछ ।’ तर, वास्तवमा हामी नार्सिसिस्टिक व्यक्तिसँग व्यवहार गरिरहेको पत्तो पाउँदैनौं । 

नार्सिसिस्टका विभिन्न लक्षण समान भए पनि ऊ कुनखाले नार्सिसिस्ट रहेछ भन्ने उनीहरूको व्यवहारबाटै थाहा पाउन सकिन्छ । जस्तै– ओभर्ट नार्सिसिस्ट, यस्ता नार्सिसिस्टहरूमा दमन र अधिकारको भावना उच्च हुन्छ । उनीहरू आफ्नो उपलब्धि मात्रै देखाउने र अरूलाई सकेसम्म नालायक र कमजोर ठहर्‍याउने प्रयास गर्छन् । उनीहरूलाई अत्यधिक ध्यान चाहिन्छ । उनीहरू सबैबाट प्रशंसा मात्रै चाहन्छन् र आफ्नो शक्ति–प्रतिष्ठाको बखान गरिरहन्छन् । 

अर्का छन्– कोभर्ट नार्सिसिस्ट, उनीहरू बाहिरबाट नम्र र संवेदनशील स्वभावका देखिन्छन् । तर, भित्रभित्रै आफूलाई मात्रै विशेष ठान्छन् । उनीहरू आफू मात्रै पीडित भएको देखाउन खोज्छन् र ‘भिक्टिम–प्ले’ अर्थात् जति झूट पनि बोल्न सक्छन् । ओभर्टजस्तै उनीहरू पनि अरूको ध्यान आफूतिर होस् भन्ने चाहन्छन् तर अप्रत्यक्ष रूपमा ! उदाहरणका लागि उनीहरूको यो भनाइ थेगो जस्तै हुन्छ, ‘मजत्तिको पीडित त अरू को होला र ? मलाई कसैले पनि बुझ्दैन ।’ यस्ता नार्सिसिस्टहरू अरूको सफलता र खुसी देखेर ईर्ष्या गर्छन् ।

अरूलाई तनावमा देख्दा निकै खुसी हुन्छन् । उनीहरू एकदमै स्वार्थी हुन्छन् तर परिवार र समाजले आफूलाई गलत बुझेको वा कम मूल्यांकन गरेको विश्वास गर्छन् । आफ्नो ‘इगो फिड’ गर्न र समाजमा ‘म अरूभन्दा भिन्न छु’ भन्ने विश्वास दिलाउन अत्यधिक जोखिम हुने कामहरू गर्छन् । तर, उनीहरू भावनात्मक रूपमा निकै नै कमजोर हुन्छन् । कुन अवस्थामा कसरी भावना प्रकट गर्ने ? त्यो उनीहरू जान्दैनन् । यदि केहीले उनीहरूलाई अत्यधिक महत्त्व दिए वा जिम्मेवारी बोध गराउन खोजे भने उनीहरू त्यो व्यक्ति र अवस्थालाई नै त्यागिदिन्छन् । उनीहरू थोरै तनावपूर्ण अवस्थामा पनि आफूलाई सुरक्षित राख्न ठाउँ, व्यक्ति वा परिस्थितिलाई एकै पलमा त्यागिदिन सक्छन् । 

हाई–फङ्सनिङ नार्सिसिस्ट– यस्ता व्यक्तिहरू एकदमै प्रतिस्पर्धी सोच भएका हुन्छन् । ‘बाई हुक ओर बाई क्रुक’ अर्थात् यिनैलाई जित्नुपर्ने हुन्छ । यिनीहरूलाई सधैं ‘लाइम–लाइट’ मा बस्न मनपर्छ र त्यसका लागि भएसम्मको हदै प्रयास गर्छन् । जस्तै अहिलेको भाषामा भन्नुपर्दा ‘भाइरल’ हुन मन लाग्ने, जता पनि आफू देखिन मन लाग्ने ! र, ती मान्छेहरू सफल हुन आफ्ना नार्सिसिस्टिक गुणहरू नै प्रयोग गर्छन् । उनीहरू प्रायः आत्मविश्वासी र सामाजिक रूपमा सक्रिय हुन्छन् ।

पेसागत रूपमा एकदमै सफल हुन्छन् तर भित्रभित्र अरूमाथि नियन्त्रण चाहन्छन् । उनीहरूमा भावनात्मक गुण शून्य हुन्छ । उनीहरू नेतृत्व त गर्छन् तर अरूको भावनामा चोट पुर्‍याइरहन्छन् । उनीहरूको सामाजिक छवि उच्च हुन्छ तर नजिकका परिवारहरू भने पलपल पीडित भइरहेका हुन्छन् । उनीहरू ‘एन्टी–सोसियल’ हुन्छन् तर आफ्नो एकलकाँटेपनलाई स्वतन्त्रताको ट्याग भिराइदिन्छन् । 

साइकोलोजिस्ट सिगमन्ड फ्रायडका अनुसार, समयक्रमसँगै नार्सिसिज्मबारे यदि कोही नार्सिसिस्टिक व्यक्तिले आत्मसमीक्षा गरेर सकारात्मक व्यवहारलाई मान्यता दिए समस्या नहुन पनि सक्छ । किनकि हरेक व्यक्ति केही हदसम्म नार्सिसिस्ट हुन्छन् । यदि व्यक्तिमा थोरै पनि नार्सिसिज्म भएन भने ऊ सफल जीवन बाँच्न वा आफ्ना आवश्यकताहरू पूरा गर्न सक्षम हुन सक्दैन । तर, जब आफ्नो स्वार्थ र सफलताका लागि नैतिक मूल्य–मान्यतालाई कुल्चिएर व्यक्ति जुनै हदसम्म पनि जान सक्छ, त्यस्ता व्यक्ति वास्तविक नार्सिसिस्टिक हुन् ।

जस्तै– हिन्दु माइथोलोजी महाभारतका पात्र दुर्योधन र रामायणका पात्र रावणलाई नार्सिसिस्टिक भनेर बुझ्न सकिन्छ । दुर्योधन आफू जति नै बलवान भए पनि उनले आफ्नो अहंकार र स्वार्थका अघि आँखा देखेनन् । र, रावण जति नै ज्ञानी–विद्वान् भए पनि उनले आफ्नो अहंकारलाई नै सर्वश्रेष्ठ मानिरहे । र, अन्तमा दुवै आफैं पतन भए ।

नार्सिसिज्म मानसिक विकासको स्वाभाविक चरण हो । फ्राइड भन्छन्, नार्सिसिज्म सुरुमा बालबालिकामा विकास हुन्छ । बालबालिकाले बोलेको, नाचेको, केही काम गरेको र उसका केही मायालाग्दा व्यवहार देखेर आमा–बुबा ‘वाह, मेरो बच्चा त सबैभन्दा अलौकिक छ, अत्यन्तै भिन्न छ’ भन्ने सोच्छन् । बच्चालाई त्यहीअनुसार व्यवहार गर्छन् ।

यो सुन्दा–सुन्दा बच्चालाई ‘ओहो आफू साँच्चै नै चमत्कारी रहेछु’ भन्ने महसुस हुन थाल्छ । बाल्यकालमा विकास भएको यस्तो नार्सिसिज्म समयक्रमसँगै परिवर्तन भएन भने त्यो आत्मप्रेमको भावनाले ‘नार्सिसिस्ट पर्सनालिटी डिसअर्डर’ विकास गराउन सक्छ । फ्रायडका अनुसार, अत्यधिक नार्सिसिज्मले मनोवैज्ञानिक तथा मानसिक समस्याहरू निम्त्याउन सक्छ । जस्तै– एकदम धेरै रिस उठ्ने, आवेगमा आएर निर्णय गर्ने, अरूलाई वा आफूलाई हानि पुर्‍याउने आदि । 

नार्सिसिस्टिक व्यक्तिहरू आफूबाहेक अरू कसैलाई पनि प्रेम गर्न सक्दैनन् । कथमकदाचित सम्बन्धमा परिहाले भने उनीहरूले आफ्नो व्यवहारमा केही सकारात्मक परिवर्तन ल्याउनु आवश्यक हुन्छ, जुन नार्सिसिस्टहरूका लागि असम्भवप्रायः छ । र, त्यसको भुक्तान नार्सिसिस्टका श्रीमान्/श्रीमती, बालबालिका परिवारका सदस्यले गर्नुपर्छ । 

हाम्रो समाजका विभिन्न तप्कामा नार्सिसिस्टहरूको हालीमुहाली छ । कार्यस्थलहरूमा नार्सिसिस्टिक व्यक्तिका व्यवहारका कारण अन्य कर्मचारीले दुःख खेपिरहनुपरेको धेरै उदाहरण छन् ।

सन् १९८० मा अमेरिकन साइकियाट्रिक एसोसिएसनले ‘डायग्नोस्टिक एन्ड स्टाटिस्टिकल म्यानुअल अफ मेन्टल डिसअर्डर्स डीएसएम थर्ड’ मा नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डरलाई मनोचिकित्सकीय मान्यता दिएको थियो । यसको प्रमुख उपचार भनेको आत्मसमीक्षा नै हो । आफ्नो व्यवहार परिवर्तन गर्नु हो, जुन प्रायः वास्तविक नार्सिसिस्टले अपनाउँदैनन् वा आवश्यकै ठान्दैनन् ।

समाजमा बस्दा सबै प्रकारका व्यक्तिसँग सहकार्य गर्नुपर्ने हुन्छ । तर, आफ्नो मानसिक स्वास्थ्यमा असर नपर्ने गरी नार्सिसिस्टहरूसँग कसरी व्यवहार गर्ने त ? हामी कतिलाई यसबारे थाहै छैन । नार्सिसिस्टहरूको व्यवहारबाट अति नै पीडित भएका व्यक्तिहरूमा तनाव, अवसाद, एन्जाइटी, ट्रमाजस्ता मानसिक स्वास्थ्य समस्याको जोखिम हुने मनोवैज्ञानिकहरूले बताएका छन् ।

नार्सिसिस्टिक व्यक्तिको ‘अब्युज’ मा परेकाहरू झन् आत्मविश्वासको कमी, कमजोर स्मरण शक्तिसँगै शारीरिक रूपमा पनि कमजोर हुन्छन् । हामी आफैंले पनि ‘कोसँग कस्तो व्यवहार गर्छौं’ भन्नेबारे आत्मसमीक्षा गर्न जरुरी छ । यदि कहीँ कतै गलत भएका छौं वा नार्सिसिस्टिक व्यवहार गरेका छौं भने तुरुन्तै सुधारतर्फ सोच्नुपर्छ । तर, वास्तविक नार्सिसिस्टलाई भने यो लेख पनि मनपर्ने छैन । त्यसैले नार्सिसिस्टले जे भने पनि ‘हो तपाईंले भनेको एकदम ठीक हो’ भनिदिनुपर्छ किनभने नार्सिसिस्टहरूसँगको बहसले तपाईंको आफ्नै ऊर्जा रित्याउँछ । 

मनोवैज्ञानिकहरूले ‘नार्सिसिस्टिक व्यक्तिहरूसँग व्यवहार कसरी गर्ने ?’ भनी केही महत्त्वपूर्ण सुझाव दिएका छन् । जस्तै– 

आफ्नो व्यक्तिगत सीमा निर्धारण गर्ने र ‘के स्वीकार्य छ ? के छैन ?’ भन्ने विषय स्पष्ट रूपमा बताउने । मनोविज्ञानको भाषामा अर्को ‘ग्रे रक’ प्रविधि छ, जसमा तपाईं आफैं जानाजानी नीरस र भावनाहीन प्रतिक्रिया दिनुहुन्छ ताकि नार्सिसिस्टले तपाईंबाट ध्यान र भावनात्मक प्रतिक्रिया पाउन नसकून् । सम्पर्क सीमित गर्नु, यदि सम्भव छ भने उनीहरूसँगको भेटघाट र कुराकानीलाई न्यूनतम राख्नुपर्छ । र, बहस नै नगर्ने अनि आफैंले मनोपरामर्शदाता वा सहयोग समूहको सहायता लिने । 

यदि दुर्व्यवहार भइरहेको छ भने व्यवहारहरूको अभिलेख राख्नुपर्छ । घटना, मिति र विवरणहरू लेखेर राख्नु महत्त्वपूर्ण हुन सक्छ । अन्तमा, केही अवस्थामा सम्बन्ध नै अन्त्य गर्नु तपाईंको आफ्नै मानसिक स्वास्थ्यका लागि सबैभन्दा उत्तम विकल्प हुन सक्छ । कसैको श्रीमान् वा श्रीमतीमै यस्तो नार्सिसिस्ट व्यवहार छ भने उनीहरूले विशेष रूपमा आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नैपर्छ । जस्तो– उनीहरूबाट कमभन्दा कम अपेक्षा गर्ने वा अपेक्षा नै नगर्ने । 

‘नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर’ को उपचार चुनौतीपूर्ण छ । किनकि यसबाट पीडित व्यक्तिहरूले प्रायः आफूमा कुनै समस्या देख्दैनन् । तर, मनोवैज्ञानिकहरूले केही उपचार पद्धतिले उनीहरूको सकारात्मक व्यवहारका लागि सहयोग गर्ने बताएका छन् । जस्तै– ‘कगनिटिभ बिहेवियरल थेरापी’, ‘साइको थेरापी’, ‘साइकोडाइनामिक थेरापी’, ‘ग्रुप थेरापी’ हरूले भने नार्सिसिस्टलाई आफ्नो व्यवहारबारे आत्मसमीक्षा गरी सहयोगसमेत पुर्‍याएको छ । 

तर, यदि कोही नार्सिसिस्ट ‘हामी त यस्तै त हो नि ब्रो !’ भन्दै आत्मसमीक्षा पनि गर्दैन र बारम्बार मानसिक समस्यामा पारिरहन्छन् भने तपाईंले आफ्नो मानसिक सुरक्षाको ख्याल आफैं गर्नुपर्छ । र, सम्भव छ भने आफ्नो बाटो अलग गरेकै उत्तम हुन्छ । ‘नेभर आर्गु विथ फुल्स’ मात्रै होइन, ‘नेभर आर्गु विथ नार्सिसिस्ट’ भन्ने पनि समयमै बुझ्नु आवश्यक छ ।

शिक्षा रिसाल रिसाल पत्रकार हुन् ।

Link copied successfully