जब महिलाहरू विभेदको विरोध गर्न थाल्छन्, समाजलाई त्यो पाच्य हुँदैन । ‘महिला भएर सहेको भए हुन्थ्यो’, ‘बढी बोल्नुपर्ने’, ‘पोथी बासेको’ जस्ता उपमाहरूले त्यसपछि महिला सुसज्जित हुन्छन् ।
What you should know
मानिसले अपनाउने धेरै प्रकारका पहिचान छन् । पहिचानहरू लिंग, उमेर, जाति, जातीयता, शारीरिक क्षमता, धर्म, वर्ग र यौनिकताका आधारमा बन्ने गर्छन् ।
व्यक्तिले ‘आफू को हुँ’ भनेर महसुस गर्ने चेतना नै आत्मपहिचान हो । मान्छे नै एक यस्तो प्राणी हो, जसले आफ्नो चेतनाले आफैंलाई महसुस गर्छ ।
अन्य जनावरहरूको त नाम पनि मान्छेले नै राखिदिएका हुन्छन्– कुकुर, बाघ, बिरालो, स्याल, सिंह, हात्ती आदि । उनीहरूलाई ‘आफ्नो बस्तीमा स्वःपहिचान हुनुपर्छ’ भन्ने चेतना हुँदैन सायद । तर, जनावरहरू पनि आ–आफ्ना झुन्डमा चाहिँ बसेकै हुन्छन् ।
भिन्न विशेषताहरू व्यक्तित्व, रुचि, सीप, सबल पक्ष र सुधार्नुपर्ने पक्ष मिलेर व्यक्तित्व या स्वःपहिचान बनेको हुन्छ । अनुभव, विश्वास, मूल्य र लक्ष्य आत्मपहिचानका मुख्य तत्त्व हुन् । आत्मपहिचानमा पनि सामाजिक र सांस्कृतिक तत्त्वहरूले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । हामीले आफूले आफैंलाई कसरी हेर्छौं ? आफ्नो जीवनप्रतिको अवधारणा के छ भन्ने पनि आत्मपहिचानमा मिसिएको हुन्छ । मानव जीवनको आत्मपहिचान बनाउन हाम्रो जस्तो पुरुषप्रधान समाजमा महिलाका लागि निकै कठिन हुन्छ ।
हामीले बुझ्ने महिलाको पहिचान भनेको लो प्रोफाइलभित्र रहेर बस्नु हो । अझ भन्नुपर्दा संस्कारी हुनु, प्याच्च नबोल्नु, भनेको मान्नु, सहनु, पारिवारिक हेरचाहकर्ता हुनु आदि हुन् । जसले अनेक हन्डर–ठक्कर सहेर घरको मान राखेको छ, उसैको उदाहरण दिँदै ‘महिला भएर त फलानोजस्तो हुनुपर्छ’ भनिन्छ । भलै उक्त रोल मोडेलले सहँदा–सहँदा डिप्रेसनको सिकार नै किन हुन नपरोस् ।
समाजले चाहेको ज्ञानी, भलाद्मी, इमानदार, नैतिकवान हुन कम्ती कठिनचाहिँ हुँदैन । समाजले दिएका भूमिका निर्वाह गर्दागर्दै कुनै मोडमा असफल भएर लड्दा समाजबाट उठाउन कोही पनि नआउन पनि सक्छन् । यस्तो जीवन हामीमध्ये धेरैले भोगेकै छौं । आत्मपहिचान बन्न नपाउँदै असफल यात्री भएका छौं हामी महिला ।
जब ‘पढे–लेखेर शिक्षित अनि आत्मनिर्भर बनेका महिला–पुरुष समान हुन्’ भन्ने चेतना पलाएका महिलाले आफू या महिला समुदायमाथिको हेला, विभेदको विरोध गर्न थाल्छन्, हाम्रो समाजलाई त्यो पाच्य हुँदैन । ‘महिला भएर सहेको भए हुन्थ्यो’, ‘बढी बोल्नुपर्ने’, ‘पोथी बासेको’ जस्ता उपमाहरूले त्यसपछि महिला सुसज्जित हुन्छन् ।
हालैको कुरा हो, चर्चित युवा गायक एलिना चौहानले ‘आफूलाई मनमा खट्केका कुरा बोलिन्’ भनेर हामीलाई नै लाग्छ– यिनी किचकिचे, फन्डा गर्ने । हाम्रो दिमागभित्र ‘महिला बोल्नु हुँदैन’ भन्ने छाप बसेकाले नै हामीलाई यस्तो लागेको हो । आफूलाई असहज लागेको विषयमाथि बोल्दा हामी त्यो ‘बोल्ने बानी’ लाई सकारात्मक रूपमा नलिई उल्टै उसैलाई हतोत्साही बनाउँछौं । सायद हाम्रो यस्तै दोधारे व्यवहारकै कारण पनि धेरै शारीरिक, मानसिक मर्कामा परेका किशोरी अनि महिलाले आफ्ना समस्या बाहिर नल्याई बरु आफ्नै ज्यान लिने गरेका हुन् कि ! समाजमा भएका सुधार गर्नुपर्ने पक्षमाथि बोलेर कसैले औंल्याइदिएको हो कि भनेर हामी त्यतातिर विश्लेषण गर्दैनौं । तर, बोल्ने महिलामाथि नै ‘सहन नसक्ने’, ‘अनुशासनको दायरा नभएको’ भन्दै औंला उठाउँछौं ।
गलत र नियतवश नचाहिने कुराहरू जसले बोले पनि त्यो गलत नै हुन्छ । तर, तुलनात्मक रूपमा महिलाहरू ‘अति नै’ नभई नबोलेका पनि थुप्रै घटना छन् । कम्तीमा बोल्नेले गलतविरुद्ध आवाज उठाइरहँदा साथ–समर्थन दिनतिर नलागीकन हामी नकारात्मक टीकाटिप्पणीतिर लाग्छौं । यसले पनि महिलाको स्वःपहिचानमा ठेस पुर्याउँछ ।
आत्मपहिचान बनाउन व्यक्तिले असाध्यै ठूलो मिहिनेत र संघर्ष गरेको हुन्छ । हाम्रा आमाहरूले पनि घरको कामसँगै दिनरात नभनी दाउरा–घाँस गरेर छोराछोरी, लोग्नेको स्याहार, हेरचाह गर्दै जिन्दगीलाई एउटा मुकाममा पुर्याएका छन् । उनीहरूलाई पनि ‘आफ्नो योगदानको कदर परिवारका सदस्यले गरिदिऊन्’ भन्ने लाग्छ । आत्मसम्मानको भाषाले मात्रै पनि आफ्नो स्वःपहिचान बनाएका हुन्छन् हाम्रा आमाहरूले । आफैंभित्रको अन्तरक्रिया, सामाजिक अन्तरक्रिया, विचार, भावना र अनुभवको मन्थन पनि आत्मपहिचानभित्र गरिएको हुन्छ । तर, महिलाको आत्मपहिचानमा सामाजिक, बाह्य प्रभाव र सांस्कृतिक संरचनाले ठूलै भूमिका खेल्छ ।
एक महिला लोग्नेसँग पारपाचुके गरेर आफ्नो सन्तानसहित संघर्षमय जीवन जिउन तयार भइरहँदा तिनै समाजका साथीभाइ, नातागोता, छरछिमेक र परिवारकै अन्य सदस्यले समेत ती एकल महिलालाई भनिरहन्छन्– ‘घर गरेर खान नसकेको, अति महत्त्वाकांक्षी थिई या झगडालु थिई ।’ एक महिलालाई यस्ता पगरीले सुसज्जित गरिरहँदा ती महिलाको अपमान भइरहेको हुन्छ भनेर हामी सोच्दैनौं । एकल भएर संघर्ष गरिरहेका महिलालाई एक थरी पुरुष जमात मौका छोपेर दुर्व्यवहार गर्न खोजिरहेका हुन्छन् । सामाजिक सञ्जालबाटै भए पनि ती यस्ता क्रियाकलाप जारी हुन्छन् । विषाक्त या विचार नमिल्दाका सम्बन्ध छाडेर ‘स्वतन्त्र र शान्तिपूर्ण जीवन जिउँछु’ भनी अघि बढेकाहरू एकल हुनेबित्तिकै सम्पूर्ण दोषको भागीदार हुने भएपछि तिनले बनाउन चाहेको आत्मपहिचान के हुँदो हो ?
अब एक सचेत तर निम्नवर्गीय महिलाको आत्मपहिचानको कुरा गरौं । एक महिला परिवारसहित डेरामा बस्छिन् । कामको सिलसिलामा स्थानान्तरण भइरहनुपर्छ । तर, उनी कुनै निश्चित स्थानको स्थायी बासिन्दा नभएकैले उनको सिर्जनाको परिचय अनि पहिचान नै छैन । आफ्नै स्थायी घर अनि स्थायी ठेगाना नहुँदा पनि महिलाको आत्मपहिचान हराउने रहेछ भन्ने विषय त हामीमध्ये धेरैले अनुभूत पनि गरेकै छौं । विशेषतः महिलाहरू चलिआएका मूल्य मान्यतालाई नै स्वीकार गर्दै यथास्थितिमा रहेमा ‘समाज ठीक छ’ भन्ने भान पर्न पनि सक्छ एक थरीलाई । तर, गतिशील समाज यथास्थितिमै रमाइरहन सक्दैन ।
महिलाहरूमा पनि आत्मचेतना, आत्मअवधारणा, आत्मसम्मान जाग्न थालेपछि भने समाजमा आफ्नो परिचय के हो, पहिचान के हो जस्ता प्रश्नले मनमा घर बनाउँदो रहेछ । आफ्नै कमाइले आफ्नै छुट्टै घर नबनाएसम्म ‘घर’ महसुस नहुनु, समाजका अनेक नीति–नियमहरूको घेरामा रहँदा साङ्लाले बाँधिएजस्तो हुनु, स्वतन्त्र समान र न्यायको अनुभूति गर्न चाहनु महिलाका आत्मपहिचानका द्योतक हुन् ।
हुन त प्रधानन्यायाधीशजस्तो विशिष्ट पदभार सम्हालिसकेको र अहिले देशकै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेकी सुशीला कार्कीलाई समेत केही पुरुषले तुच्छ सम्बोधन र खिसिट्युरी गरिरहेको देख्न सकिन्छ । यसबाट पनि हामी भन्न र महसुस गर्न सक्छौं– आत्मपहिचान बनाउँदा महिलामाथि समाजको नजरिया कस्तो छ !
महिला अधिकारकर्मी मेरी बोलस्टोनक्राफ्टको एक भनाइ छ– म यो चाहन्न कि महिलाको पुरुषमाथि अधिकार होस् तर महिला आफैंमा अधिकार अवश्य हुनुपर्नेछ । भारतीय इन्फ्लुएन्सर तथा मेन्टर विकास दिव्यकृति एक भिडियोमा भन्दै थिए, ‘यस संसारमा महिला हुन जति कठिन छ, पुरुष हुन त्यति नै सजिलो । पुरुषले महिनावारीको पीडा झेल्नु पर्दैन, नौ महिना बच्चा पेटमा पाल्नु पर्दैन, बच्चालाई दूध खुवाउनु अनि स्याहार–सुसार गरेर हुर्काउनु पर्दैन । अझ बालबच्चा सही बाटोमा लागेनन् भने आमालाई जति अवगाल सहन पनि पर्दैन ।’ उनी थप्छन्, ‘सिर्फ वाई–क्रोमोजोमका कारण कैयौं जिम्मेवारीबाट बचेका पुरुषले महिलाप्रति कम्तीमा पनि समभाव राख्नुपर्छ ।’
त्यसैले प्राकृतिक–सामाजिक भूमिकाहरूको जिम्मेवारी बहन गरेरै पनि समाजमा आत्मपहिचानका लागि संघर्षरत महिलालाई पुरुष र सम्पूर्ण समाजले सकारात्मक समर्थन गर्नुपर्छ ।
