नयाँ राजनीतिक संस्कारको भाष्य निर्माण गर्नुपर्ने जुन प्रतिबद्धता गगनले जाहेर गर्दै आएका छन्, त्यो व्यवहारमा कार्यान्वयन भएको हेर्न कार्यकर्ता र नागरिक वृत्तसमेत प्रतीक्षामा छ।
What you should know
नेपाली कांग्रेसका महामन्त्री गगन थापा राजनीतिक करिअरको सर्वाधिक दबाबमा छन्, यतिबेला । एक प्रकारले उनी निर्णायक राजनीतिक मोडमा उभिएका छन् । जेन–जी आन्दोलनपछि उनले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर अघि सारेको नियमित अथवा विशेष महाधिवेशनको मुद्दा किनारा लागेको छैन ।
सोमबार (आज) बस्ने केन्द्रीय समितिले यसबारे एउटा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । यद्यपि, एक महिनादेखि कांग्रेसभित्र चलेको महाधिवेशन चुनाव अघि कि पछि भन्ने किचलोले यो पार्टीमा गृह–कलह बढाएको छ ।
संस्थापन पक्ष चुनावअघि नियमित वा विशेष कुनै पनि प्रकारको महाधिवेशन गर्न नहुने र चुनावमा केन्द्रित हुनुपर्ने पक्षमा छ । उसले आवश्यक पर्दा केन्द्रीय समिति बैठकमा मतदान गराएर बहुमतका आधारमा चुनावपछिको महाधिवेशन कार्यतालिका घोषणा गर्ने गृहकार्य गरिरहेको छ । सिंगापुरबाट उपचार गरेर फर्केका सभापति शेरबहादुर देउवा निकासका लागि प्रयत्नरत रहेको भन्ने खबर छ ।
महामन्त्री थापा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेकाले चुनावअघि नै मंसिर अथवा ढिलोमा पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । उनले अघि सारेको महाधिवेशनको मुद्दाले पार्टीपंक्तिमा जबर्जस्त दबाब त बढाएको छ । तर, निर्णय प्रक्रियामा हस्तक्षेप गर्न सकेको छैन । अर्थात् पार्टीको व्यापक पुनर्गठनको मुद्दामा ‘नम्बर गेम’ (गुट/गणित) तगारो बनेको छ ।
यो सन्दर्भमा थापाको अबको राजनीतिक गन्तव्य कता जाला ? संस्थापनले गुट र संख्याको बलमा महाधिवेशन चुनावपछि धकेलेको खण्डमा उनी के गर्लान् ? ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि भेला गरेर विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चुन्नेतिर अग्रसर होलान् वा संस्थापनसँग सम्झौता गर्लान् ? यो आमचासोको प्रश्न बनेको छ ।
अहिलेको राजनीतिक परिवेशमा उनको ‘स्ट्रेन्थ’ के हो ? कमजोरीहरू के हुन् ? उनीसामु विकल्प के–के हुन सक्छन् ? पार्टीभित्रै शक्ति संघर्ष गर्छन् कि नयाँ राजनीतिक शक्ति निर्माणमा होमिन्छन् ? अहिले उठेका यस्ता प्रश्न उनको राजनीतिक करिअरसँग मात्रै जोडिएका छैनन्, कांग्रेस र समग्र राजनीतिसँग सन्दर्भित छन् । थापाका विकल्प/गन्तव्यबारे चर्चा गर्नुअघि उनको राजनीतिक छवि/प्रवृत्तिलाई जेन–जी प्रदर्शनअघि र पछि गरी दुई भागमा बाँडेर हेर्नुपर्छ ।
जेन–जी प्रदर्शनपछिका थापा
जेन–जी प्रदर्शनपछि थापा कांग्रेसको ‘मियो’ बनेका छन् । २३ भदौको जेन–जी सडक प्रदर्शन र त्यसको भोलिपल्ट २४ गते भएको अराजक विध्वंस, यी दुई दिनले दलतन्त्रलाई जरैसम्म हल्लाइदियो । नेताहरू ज्यान जोगाउन भागाभागको अवस्थामा पुगे । तत्कालीन प्रधानमन्त्रीसहित मन्त्री र अरू कैयौं नेतालाई सेनाले उद्धार गरेर सुरक्षित स्थलसम्म लानुपर्यो ।
नेताहरूका निजी निवास जलाइए । कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजु देउवा भीडको आक्रमणमा परे । मुलुक राजनीतिक अस्थिरता र दिशाहीनताको चपेटामा परेको त्यो विषम परिस्थितिमा थापा नै पहिलो राजनीतिकर्मी थिए, जो जनतासँग संवादका लागि अघि सरे । उनले फेसबुक लाइभमार्फत शान्त र सन्तुलित हिसाबले परिस्थितिको विवेचना गरे । आफ्ना गल्ती अनि कमजोरीहरू दर्शाउँदै आत्मालोचित भए, प्रायश्चित गरे । उनले भने, ‘राजनीतिक दल र नेताको अनुहारमा दाग लागेको छ । ऐना पुछेर हुँदैन । अनुहारकै दाग पुछ्नुपर्छ ।’
त्यही बिन्दुबाट उनले कांग्रेसको व्यापक पुनर्गठनको मुद्दा अघि सारे । कांग्रेस–एमाले गठबन्धन सरकार अपदस्थ भएर अर्को सरकार नबनिसकेको राजनीतिक शून्यताको अवस्था थियो । त्यो बेला नागरिक सरकार गठनको सहजीकरणमा लागे । जेन–जीहरूको मागमा ऐक्यबद्धता जनाउँदै त्यसको सम्बोधन गर्नुपर्ने बताएर नयाँ पुस्तासँग जोडिने प्रयत्न थाले । त्यसयता उनले पार्टी पुनर्गठन र व्यापक सुधारको मुद्दा सार्दै पटक–पटक फेसबुक लाइभ, विभिन्न अन्तर्वार्तामार्फत आफ्ना अभिव्यक्ति दिएका छन् । ती अभिव्यक्ति सन्तुलित छन् । राजनीतिक अनि परिपक्व खालका छन् ।
उसो त थापा दमदार भाषणकला भएका नेता हुन् । उनीसँग विषयवस्तुमा धारा प्रवाह बोल्न सक्ने खुबी छ । उनी आफ्ना कुरामा दर्शक/श्रोतालाई आकर्षित गर्न सक्ने क्षमता राख्छन् । तथापि, जेन–जी आन्दोलनपछि थापाका अभिव्यक्ति विगतका तुलनामा अझ माझिएका, जिम्मेवार र सुझबुझपूर्ण छन् । ती अभिव्यक्तिमा मुख्यतः तीन विशेषता छन् । पहिलो, उनी भडकाउपूर्ण र प्रतिशोधबाट प्रेरित छैनन् । उनले विषयको गाम्भीर्यतालाई गहिराइबाटै पर्गेलेर अभिव्यक्तिहरू दिएको देखियो ।
दोस्रो, उनी केही भावुक र तनावग्रस्त त देखिएका छन् यद्यपि, सँगै उनले आमूल र संरचनागत सुधारका कुरा अघि सारेका छन् । तेस्रो, उनी प्रतिक्रियात्मक छैनन् । कांग्रेस पछिल्लो केही वर्षदेखि निरन्तर नेपाली राजनीतिमा प्रतिक्रियात्मक मात्रै बनिरहेको छ । थापाले त्यसबाट कांग्रेसलाई बाहिर निकाल्ने प्रयत्न गर्दै छन् । उनले आफूलाई जिम्मेवार र जवाफदेही नेताका रूपमा अघि सार्ने प्रयत्न गरेका छन् । कांग्रेसले राष्ट्रिय संवादको अग्रसरता लिनुपर्ने कुरा गरेका छन् ।
यतिबेला न्यूनतम क्षतिमा राजनीतिलाई लिकमा ल्याउने अस्त्र चुनाव नै हो । उनले कांग्रेसलाई मात्रै चुनावको बाटो अघि बढाउने कुरा गरिरहेका छैनन्, संसद् पुनःस्थापनाको कुरा गरिरहेको एमालेलाई पनि संवादबाट चुनावको पक्षमा ल्याउने कुरा गरिरहेका छन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीका एकपछि अर्को प्रतिशोध र उत्तेजना बढाउने अभिव्यक्ति आएका छन् । जसको जनस्तरमा व्यापक आलोचना भएको छ । जबकि थापाका आलोचकहरूले समेत यसबीच उनले दिएका अभिव्यक्तिको प्रशंसा गरेको सुनिएको छ ।
नेपाली राजनीतिमा नेता बन्ने होडबाजी चलेको छ । दलहरू च्याउझैं उम्रिएका छन् । लोकतन्त्रमा नागरिकको विचार र नीतिलाई संस्थागत गर्न दलहरू खुल्छन् । दलहरूलाई लोकतन्त्रको पिलर मानिन्छ । दलहरू नीति निर्माण, नेतृत्व चयन, शासनमा प्रतिस्पर्धा र जनमत प्रतिनिधित्वको माध्यम हुन् ।
त्यस हिसाबले दलहरू खुल्नु स्वाभाविक र स्वागतयोग्य कुरा हो । तर, यतिबेला न्यूनतम वैचारिक राजनीतिक आधारबिनै जसरी दलहरू खुलेका छन्, ती दल कम राजनीतिक पसल ज्यादा लाग्छन् र नेताहरू नेता कम ‘अवसरवादका पुतला’ अधिक लाग्छन् । नयाँ–पुराना नेताहरूको यो भीडमा थापा केही पृथक् देखिएका छन् । उनी नयाँहरू जस्तो न हतारिएका छन् न त पुरानाहरू जस्तो यथास्थ्िितमै रुमल्लिएका छन् । सारमा, जेन–जी आन्दोलनपछिका उनका प्रस्तुति, आत्मालोचना, विवेचनाले उनी निर्णायक नेतृत्व परीक्षण केन्द्रीय पात्र बनेका छन् ।
जेन–जी प्रदर्शनअघिका थापा
जेन–जी प्रदर्शनअघि पनि थापा सम्भावना बोकेका प्रखर नेताका रूपमा नै उदाउँदै थिए । तर, अहिले जत्तिको गम्भीर र गहिराइमा गएर उनले आफ्नै भूमिकाहरूको समीक्षा गर्न सकेका थिएनन् । अरू धेरै राजनीतिकर्मीजस्तै उनमा पनि सायद प्रचारको भोक थियो । उनी स्वयंले आफ्ना कमीकमजोरी स्विकारेजस्तै पार्टीभित्र सुधारको प्रयास त गरे तर त्यसका लागि जति बल लगाउनुपर्थ्यो, लगाउन सकेनन् । भाषणकलामा तीक्ष्ण थापाले जति कुरा उठाए, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न/गराउन चुके ।
उनमा रणनीतिक अस्पष्टतामा पनि देखियो । उनले पार्टीभित्रको सुधार र परिवर्तनको झन्डा त बोके तर कतिपय अवस्थामा नेतृत्वका लागि संस्थापनसँगै बार्गेनिङ गरिरहेका त होइनन् भन्ने प्रश्न पनि बेलाबखत उठ्यो । थापा आन्दोलनबाट स्थापित नेता हुन् । यद्यपि, उनमा कहीं न कहीं प्रियतावादी राजनीतिको चस्का थोरबहुत थियो । त्यसकारण सार्वजनिक खपत र प्रियतावादबाट प्रेरित भएर उनका कतिपय अभिव्यक्ति आउने गरेका थिए । समय व्यवस्थापनमा चुक्नु उनको अर्को कमजोरी रह्यो । पार्टीभित्र लडिरहे र सुधारको कुरा उठाए । तर, कांग्रेसमा सामान्य सुधार होइन, विद्रोहकै आवश्यकता थियो, त्यो जोखिम उठाउन सकेनन् ।
अहिले थापा जति दबाबमा छन्, त्यत्तिकै उनको आत्मविश्वास पनि बढेको छ । उनलाई विद्यार्थी राजनीतिदेखि नै पार्टीभित्र भन्दा बाहिरको पंक्तिको धेरै सद्भाव र समर्थन मिलेको छ । तथापि उनी प्रतिकूल परिवेशलाई पनि अनुकूलतामा बदल्न माहिर छन् । त्यसैले राजनीतिक परिवारको पृष्ठभूमि र ठूला नेताको आशीर्वाद नपाउँदा पनि लड्दै भिड्दै पार्टीको महामन्त्रीसम्म पुगे । पराजयसँग डराएनन् र त्यसलाई पाठका रूपमा लिएर अघि बढे ।
थापासँग अहिलेको शीर्ष पुस्ताको जस्तो राजनीतिक संघर्षको लामो इतिहास छैन । तर, उनी २०४६ सालको परिवर्तनसँगै हुर्केको पुस्ताका प्रतिनिधि हुन् । २०६२/६३ को जनआन्दोलन, कांग्रेसलाई गणतन्त्रको पक्षमा ल्याउन नरहरि आचार्यसँगै त्यही हारमा उभिएर उनले भूमिका खेले । संविधानसभामार्फत संविधान निर्माणमा भूमिका खेले । संसदीय अभ्यासमा पनि उनको गतिशीलता देखिने स्तरमै थियो । एक पटक स्वास्थ्यमन्त्री भएर उनले शासकीय अनुभव पनि बटुले । उनको स्वास्थ्यमन्त्री काल विवादित भएन । अहिले पनि उनको नौमहिने स्वास्थ्यमन्त्री काललाई नजिरका रूपमा लिइन्छ । विद्यार्थी राजनीतिक काल वा २०६२/६३ को जनआन्दोलनका बेलाजस्तो उनीप्रतिको आकर्षण अहिले छैन । त्यो लोकप्रियताको ग्राफ घटेको छ । यद्यपि, आज पनि ठूलो जनमत छ, जो थापालाई ‘शंकाको सुविधा’ दिनुपर्ने ठान्छन् । एक पटक थापा पार्टी सत्ता र शासकीय सत्ताको नेतृत्वमा परीक्षण भएको हेर्न चाहन्छन् ।
विकल्प यस्ता छन्
यो पृष्ठभूमिमा थापाको राजनीतिक गन्तव्य आमचासोको प्रश्न बनेको हो । यो प्रश्नसँगै दुईवटा पूरक प्रश्न थपिन्छन् । एक, कांग्रेसले एक ढिक्का भएर चुनावअघि नै महाधिवेशनको मिति तोेक्यो भने थापाको भूमिका के होला ? दुई, तोकेन र बहुमतका हिसाबले पेलेरै चुनावपछि धकेल्यो भने उनले के गर्लान् ?
नियमित अथवा विशेष महाधिवेशन चुनावअघि नै गर्ने निष्कर्षमा कांग्रेस पुगेमा उनले पार्टीभित्र निर्णायक हस्तक्षेप गर्न सकेको सन्देश जानेछ । जो उनको आगामी राजनीतिका लागि सकारात्मक कुरा हुनेछ । उनले नेतृत्वका लागि खुला प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । कांग्रेसमा सामान्य सुधार होइन, पुनःसंरचना गरेर लैजानुपर्ने कुरा यसबीच उनले पटक–पटक उठाएका छन् । यो अवसरमा उनले पार्टी पुनःसंरचनाको रोडम्याप प्रस्तुत गर्न पाउनेछन् । पार्टीभित्र वैचारिक/राजनीतिक विमर्शलाई विस्तार गर्ने अवसर पाउनेछन् । सबैभन्दा मुख्य कुरा, उनले गुटबन्दीरहित कांग्रेस हुनुपर्ने कुरा उठाइरहेका छन् । विभिन्न स्वार्थ र आग्रहका कारण गुट–गुटका विभाजित कांग्रेस जोड्ने कडी हुने अवसर पाउनेछ । एकहिसाबले नेतृत्वका लागि आफूलाई परीक्षण गर्ने मौका पाउनेछन् । कांग्रेस नयाँ नेतृत्वसहित चुनावमा होमिन पाउनेछ ।
तर कथंकदाचित संस्थापनले संख्याको बलमा महाधिवेशनको मिति धेकेलेर चुनाव पछि पुर्यायो भने के होला ? थापा त्यो जटिल परिवेशको सामना गर्न तयार होलान् ? त्यो अवस्थामा उनीसँग थप केही विकल्प रहन्छन् । जस्तो कि, पहिलो, हस्ताक्षरकर्ता ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको भेला गरी कांग्रेसको विशेष महाधिवेशन सम्पन्न गर्ने । केन्द्रीय समितिको बहुमतले निर्णयविरुद्ध गरिने यस प्रकारको महाधिवेशनको नेतृत्वको वैधतामा न्यायिक प्रश्न उठ्न सक्नेछ । त्यसकारण विद्रोह गरेर महाधिवेशन गर्ने र नेतृत्वको वैधताका लागि न्यायिक निरूपणको लडाइँ पनि लड्ने ।
दोस्रो, पार्टीभित्र प्रतिपक्षको भूमिका निर्वाह गर्ने । केन्द्रीय समितिले पेलेर गरेको निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेख्ने । पार्टीभित्रै बसेर पुरानो नेतृत्वसँग संघर्ष गर्ने । केन्द्रदेखि स्थानीय तहसम्मका कांग्रेस कार्यकर्तालाई पार्टी पुनःसंरचनाको मुद्दा अघि सारेर जागरुक गर्ने ।
तेस्रो, नयाँ राजनीतिक शक्ति निर्माणमा अग्रसर हुने । जेन–जी आन्दोलनपछि नेपाली राजनीतिमा तीव्र ध्रुवीकरणको चरण सुरु भएको छ । पुराना र बलिया भनिएका पार्टीहरू रक्षात्मक अनि कमजोर हुँदै गएका छन् । नयाँ पार्टीहरू खुल्ने, पुरानामा विघटन र पुनर्गठनको अभियान चलिराखेको छ । आमजनता र मतदाता विश्वासिलो राजनीतिक दलको खोजीमा छन् । यो बेला थापाका लागि नयाँ राजनीतिक मोर्चा बनाएर अघि बढ्ने विकल्प पनि छ ।
विद्यार्थी राजनीतिदेखि नै गतिशील र प्रखर नेताको छवि बनाएका थापाको आगामी दिनहरू निश्चिय पनि निष्क्रिय रहने छैनन् । उनी पार्टीभित्र लडेर, भिडेर राजनीतिक रूपमा खारिएर आएका नेता हुन् । तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग विद्यार्थी राजनीतिक कालखण्डमै जुधेको उनको पृष्ठभूमि छ । त्यसकारण राजनीतिक उहापोहमा रुमल्लिने छुट उनीसँग छैन । र, अहिले जसरी समय भड्किरहेको छ, अनवरत यसैगरी अघि बढ्ने छुट पनि छैन । तत्काल पार्टीलाई एउटा निर्णय लिने बिन्दुमा पुर्याउन अब ढिलो भइसकेको छ ।
उनले पार्टी र सम्पूर्ण राजनीतिको पुनःसंरचनाको मुद्दा अघि सारेका छन् । नेतृत्वको कार्यशैली, कार्यकाल, विचार र विधिको राजनीति, पुरानाको अनुभव, नयाँ ऊर्जासहित युवापुस्तालाई जोड्ने उनका उपाय र सूत्रहरू वा समग्रमा नयाँ राजनीतिक संस्कारको भाष्य निर्माण गर्नुपर्ने जुन प्रतिबद्धता उनले जाहेर गर्दै आएका छन् ।
त्यो व्यवहारमा कार्यान्वयन भएको हेर्न कार्यकर्ता र नागरिक वृत्तसमेत प्रतीक्षामा छ । यसकारण पनि थापासामु चर्को दबाब र परीक्षा छ । उनी त्यस्तो दबाबमा छन् जस्तो क्रिकेटको अन्तिम ओभरको तीव्र दबाबमा क्रिजमा उभिएको ब्याट्सम्यानको मनोदशा हुन्छ, जहाँ छक्का हान्दा ‘म्याच विनर’ बन्ने अवसर पनि छ, ‘रनआउट’ को जोखिम पनि हुन्छ । हेर्नु छ, थापा राजनीतिक क्रिजमा टिकेर ‘विनर’ हुन्छन् कि ‘रनआऊट’ ?
