सामाजिक मर्यादा बिर्सेर मान्छे किन लुट्न उद्यत हुन्छ ?

लुटविरुद्ध युवाहरूको ‘पवित्र’ आन्दोलनलाई हामीले लुट मच्चाएरै ‘अपवित्र’ बनाइदियौं । युवाको आन्दोलनले राजनीतिक विकारविरुद्ध आवाज दिन खोजेको थियो, तर त्यसलाई हाम्रै हिंसात्मक मनोवृत्तिले छोपिदियो ।

कार्तिक १८, २०८२

रुपेश श्रेष्ठ

Why do people forget social decency and rush to rob?

‘शान्तिपूर्ण आन्दोलन दबाउनेले नै हिंसात्मक आन्दोलनलाई अपरिहार्य बनाउँछन्,’ अमेरिकाका ३५ औं राष्ट्रपति जन.एफ.केनेडीको यो भनाइ उद्धृत गर्नुको कारण के भने यसैको कसीमा राखेर हेर्दा ठ्याक्कै बुझिन्छ– २३ भदौको शान्तिपूर्ण विरोध र २४ को विध्वंसको साइनो । २३ भदौ २०८२ मा जेन–जी युवाहरूको शान्तिपूर्ण विरोधलाई राज्यले जसरी बर्बरतापूर्वक दबायो र दमन गर्‍यो– त्यसले २४ भदौलाई अवश्यम्भावी बनाएको थियो ।

हुन त केही जेन–जी अगुवाले २३ भदौदेखि नै प्रदर्शनमा घुसपैठ भएको बताइरहेकै थिए । तत्कालीन सरकारले पनि ‘घुसपैठ भयो’ नभनेको होइन । अमेरिकी सञ्चारमाध्यम ‘न्युयोर्क टाइम्स’ ले त शंकाको सूची नै तयार पारेको छ ।

‘कान्तिपुर’ दैनिकको एक रिपोर्टमा पनि ‘शृंखलाबद्ध रूपमा कसरी आगजनी गर्न उक्साइयो’ भनेर सामाजिक सञ्जालमा युवाबीच भएको संवादमाथि गहिरो अनुसन्धान गरिएको छ । त्यसैले प्रश्नको तारोमा २४ भदौ पनि छ । तर, अकाट्य सत्य हो– २४ भदौको विध्वंस तत्कालीन सत्ताले नै अपरिहार्य बनाएको थियो ।

भदौ २३ र २४ को घटनालाई समष्टिमा ‘जेन–जी आन्दोलन’ भन्न थालिसकिएको छ । देशका दुई ठूला दलले बनाएको बलियो सरकार ढाल्ने युवा पुस्ताको त्यो चेतनशील विद्रोह धेरै अर्थमा ‘आन्दोलन’ नै थियो । तर, एउटा महत्त्वपूर्ण विषयले मलाई चिन्तित र गम्भीर बनाएको छ— राज्यसत्ता लुट्नेहरूको विरोधमा जेन–जीले उठाएको आन्दोलनको अवतरण भने ‘लुटेरा’ हरूले गरे ।

हामी यही समाजका मानिस हौं, जो यसको उन्नति–प्रगति नै चाहन्छौं । र, हामी भनिरहन्छौं– असल हुनुपर्छ, अनुशासित हुनुपर्छ, कानुनको अधीनमा बस्नुपर्छ । तर, २४ गते केही अराजकहरूले तोडफोड र आगजनी गरेर छाडेका सरकारी, व्यक्तिगत र व्यापारिक भवनहरूबाट हामीले बेसरमपूर्वक सरसामान टिप्यौं, खल्तीमा राख्यौं । हैसियत, आवश्यकता अनि उपलब्धता अनुसार टीभी, कम्प्युटर, फर्निचर, भाँडाकुँडा, मदिरा जे–जे भट्यौं, उठायौं । त्यो सरासर चोरी थियो, लुट थियो । हामी लुटेरा भयौं ।

लुटविरुद्धको युवाहरूको ‘पवित्र’ आन्दोलनलाई हामीले लुट मच्चाएर ‘अपवित्र’ बनाइदियौं । युवाहरूको आन्दोलनले राजनीतिक विकारविरुद्ध आवाज दिन खोजेको थियो, तर त्यसलाई हाम्रै हिंसात्मक मनोवृत्तिले छोपिदियो । मलाई चिन्ता लागेको खास विषय यही हो– आखिर लुटेरा मन नपराउने हामी आफैं कसरी लुटेरा बन्यौं ? किन हामी लुटमा उत्रियौं ? 

भनिन्छ, कलियुगमा एकै मानिसभित्र हुन्छ– सत्य र झूट, असल र खराबको गुण । त्यसैले होला, पटक–पटक लुटतन्त्रको विरोधमा, बेथिति र विसंगतिको विरुद्धमा आवाज उठाउँदा–उठाउँदै हामी आफैं लुटेरा बनेका छौं, आफैं विध्वंसको कारक बनेका छौं । विगतमा हामी लुटपाटमा उत्रिएका कैयौं घटना छन् । यसबारे बताउनुअघि म हामीभित्रका लुटेरा जागेका हालैका केही घटना सम्झाउँछु ।

१ फागुन, २०७९– काठमाडौंको गोंगबुमा यातायात मजदुरहरूले १० बुँदे माग राख्दै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शन अनियन्त्रित बन्दा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच घम्साघम्सी मात्रै भएन, प्रहरीले बल प्रयोग गर्‍यो । तर, स्थिति प्रहरीको काबुमा रहेन । त्यसपछि एकाएक गोंगबुकै ल्होत्से मलमा लुटपाट भयो । लुटपाटमा संलग्न केही पटके अपराधी थिए, केही प्रदर्शनका सहभागी । तर, त्योभन्दा बढी यातायात मजदुरको आन्दोलनसँग सिधा सरोकारै नभएका मानिससमेत लुटपाटमा संलग्न थिए, जो त्यसअघि यस्ता घटनामा सरिक थिएनन् । 

त्यो परिस्थिति नियन्त्रणमा लिन राति ९ बजे प्रशासनले कर्फ्यु आदेश नै जारी गर्नुपर्‍यो । १५ चैत, २०८१– काठमाडौंको तीनकुनेमा त्यस दिन राजसंस्था समर्थकहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्यो, दुई जनाको मृत्यु भयो । प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलगायतले भीडलाई उक्साउँदा प्रदर्शनमा उत्रिएकाहरूले व्यावसायिक प्रतिष्ठान, सरकारी र निजी सम्पत्ति– जताततै आगजनी र तोडफोड गरे ।

‘कान्तिपुर’ टेलिभिजन र ‘अन्नपूर्ण मिडिया नेटवर्क’ लगायतमा आक्रमण भयो । भाटभटेनी सुपरमार्केट पसेर मानिसहरूले लुट मच्चाए । दिउँसोको प्रदर्शनमा सहभागीबाहेक अरू पनि त्यो लुटपाटमा संलग्न रहेको पाइयो । प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेन । साँझपख नेपाली सेना नै परिचालन गरिएपछि बल्ल स्थिति काबुमा आयो ।

अब कुरा गरौं– २४ भदौको । अघिल्ला दुई घटनामा निश्चित स्थानमा मात्रै लुटपाट मच्चिएको भए पनि यस पटक दृश्य भयावह देखियो । पछिसम्मै हामी आफैंलाई लाज हुने गरी अराजकताको पराकाष्ठा देखियो । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारदेखि स्थानीय तहका वडा कार्यालयहरूसमेत ध्वस्त पारिए, प्रहरी कार्यालयहरू जलाइए । र, अघिल्ला दुई पटकझैं देशका विभिन्न सहरमा उस्तै प्रकृतिले मानिसहरू लुटपाट र चोरीमा उत्रिए । 

यसपालि मानिसहरू अझ सहजै सामान ओसारपसार गरिरहेका भेटिए । सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा मानिसहरू बिना हिचकिचाहट फर्निचर, विद्युतीय सरसामग्री, लत्ताकपडा, भाँडाकुँडा र खेलौना– जेजे भेटिन्छ, बोकेर हिँडिरहेका देखिए ।

एउटा समूहले कतैबाट लुटेर वा चोरेर ल्याएको ड्रमसेट बजाउँदै कोटेश्वरमा ‘रातो र चन्द्र सूर्य’ गीत गाइरहेको थियो । अन्यत्र प्रहरी चौकीबाट हातहतियार र गोलीगट्ठा लुट्नेहरू पनि व्यापक थिए । यसबारे प्रहरीले अझै अध्ययन गरिरहेकै छ । भलै हालसम्मको विवरणअनुसार, देशभर कम्तीमा ११ सयभन्दा बढी थान हतियार लुटिएको प्रहरीको भनाइ छ । 

सारमा यति ठूलो मात्रामा एकै दिन सार्वजनिक लुटपाट नेपालमा सम्भवतः पहिलो पटक भएको हो । र, कुनै प्रदर्शनसँग केही सम्बन्धै नभएका मानिस पनि लुटपाटमा सहभागी भए । यी घटनाले हाम्रो समाजमा आकार लिँदै गरेको मनोवृत्ति र सामाजिक विचलनको स्पष्ट चित्र देखाउँछ । यसको समाजशास्त्रीय विश्लेषण प्रस्तुत गर्नुअघि यी तीन घटनाका प्रवृत्तिगत समानता हेरौं— 

१. यी तीनवटै घटनामा लुटपाटपछि आन्दोलन वा प्रदर्शन भएका होइनन्, बरु प्रदर्शन वा आन्दोलन एउटा उत्कर्षमा पुगेपछि लुटपाट सुरु भएको देखिन्छ ।

२. तीनवटै घटनामा सुरक्षा प्रशासन असफल भएपछि लुटपाट भएका छन् । प्रहरीले आन्दोलन नियन्त्रणमा लिन गरेका प्रयासमा बल प्रयोग गर्दासमेत असफल भएपछि लुटपाट भए । 

३. तीनवटैमा ठूला मलमा लुटपाट भएका छन् । पहिलो र दोस्रोमा अन्यत्र विरोध प्रदर्शन भएपछि नजिकका मल वा सुपरमार्केटमा लुटपाट भएको देखिन्छ । तेस्रोमा भने सुपरमार्केटमै आगजनी र तोडफोडपछि लुटपाट भएको छ । यस पटक त नेता र व्यवसायीका घरमा समेत तोडफोड र आगजनी भए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा २५ गतेसम्म पनि मानिसहरू केही पाइन्छ कि भन्दै पुगेका समाचार प्रसारित भइरहेका थिए ।

यो लुटको मनोवृत्तिको विकास कसरी भयो ? विमर्श गरौं । 

लुटपाटलाई कानुनी आँखाबाट मात्रै नहेरी समाजको संरचनासँग पनि जोडेर हेर्नुपर्छ । आर्थिक असमानता, वर्गीय विभेद र अवसरको असमान वितरणले अपराधलाई प्रोत्साहन गर्छ । समाजशास्त्री एवं दार्शनिक कार्ल मार्क्सका अनुसार, सर्वहारा वर्गमा जब असमानता र शोषणको भावना उत्कर्षमा पुग्छ, तब त्यो वर्गको संगठित आक्रोश विद्रोहमा बदलिन सक्छ । र, लुटपाट त्यही संगठित आक्रोशको असंगठित विद्रोहमध्येको एक हो ।

लुटपाट वर्गीय संघर्षको परिणाम हो भन्ने अर्को पनि आधार के हो भने २३ भदौको विरोध प्रदर्शनको मुख्य विषय थियो— नेपो बेबी ट्रेन्ड । एउटा वर्ग जहिल्यै शासन व्यवस्थामा रह्यो, उत्पादन र अवसरका स्रोतमा कब्जा जमाइरह्यो । शक्ति र सत्तामा रहेका ती वर्गका मानिसका छोराछोरीको जीवनशैली र उनीहरूले पाएका अवसरमाथि युवाहरूको प्रश्न थियो । कसैले आफ्ना अभिभावकको पहुँचकै भरमा विलासी जीवन बिताउने, कसैले चाहिँ गरिबी र असमानतामा संघर्ष गरिरहनुपर्ने ? नेपो बेबी ट्रेन्ड यही विरोधाभासमाथिको विरोध थियो ।

मार्क्सको भनाइमा कुनै पनि समाजमा उत्पादनको साधन वा अर्थप्रणालीले त्यो समाजको राजनीति, कानुन, सञ्चारमाध्यम, कला, संस्कृति, दर्शन र सामाजिक मनोविज्ञान निर्धारण गर्छ । भ्रष्टाचारले जर्जर भएको, उद्यमशीलता घिटघिट भएको अर्थप्रणालीले कस्तो सामाजिक मनोविज्ञान निर्धारण गर्ला ?

विद्रोहका बेला हुने लुटपाटलाई अरू समाजशास्त्रीहरूले पनि अपराध मात्रै नभई सामाजिक असन्तुष्टिकै अभिव्यक्तिका रूपमा हेर्छन् । समाजशास्त्री चार्ल्स टिलीका अनुसार, अशान्तिको समयमा हुने लुटपाटले समाजको आर्थिक असमानता झल्काउँछ । त्यसैगरी ई.पी. थोम्पसनका अनुसार, यस्तो बेला हुने लुटपाट राज्यबाट भएको अन्यायलाई सच्याइएको कदम हो । मानवशास्त्री भिक्टर टर्नर ‘लुटपाट पुरानो व्यवस्थाको अन्त्य र नयाँ व्यवस्थाको सुरुवातको प्रतीक हो’ भन्छन् । अर्का मानवशास्त्री जेफ्री जुरिस यस्ता कदम प्रतिरोध र चुनौतीसमेत भएको बताउँछन् ।

जस्तो, माओवादीले १० वर्षे सशस्त्र विद्रोहका बेला राज्य सञ्चालित बैंकहरू लुट्ने, जमिनदारका जग्गाजमिन कब्जा गर्ने र जनसरकारमार्फत ‘गरिब’ हरूमा वितरण गर्ने गतिविधि गरेका उदाहरण छन् । त्यसैले राजनीतिक कोणबाट लुटपाटलाई असमान सामाजिक र आर्थिक संरचनाविरुद्धको विद्रोहका रूपमा पनि व्याख्या गरिन्छ ।

यसरी लुटपाटलाई केवल चोरी नभई न्यायको खोजीमा भएको ‘नागरिक अवज्ञा’ का रूपमा पनि बुझ्ने गरिन्छ ।

अब एकैछिन यो घटनालाई सामाजिक मनोवैज्ञानिक कोणबाट हेरौं । 

जब मानिसलाई लाग्छ– समाजमा नियम, कानुन र व्यवस्था भाँचिन थाल्यो, तब तिनमा अराजकता उत्पन्न हुन थाल्छ । जब कानुन पालना गराउने सुरक्षा बल असफल हुन्छ, तब नागरिकलाई कानुन नै असफल भएको महसुस हुन्छ ।

२४ भदौमा जब देशैभर आगजनी र तोडफोड भए, सिंहदरबारदेखि संसद् भवन दनदनी जले, ठाउँठाउँका चौकीहरू जलेपछि जब प्रहरीकै भागाभाग भयो, नेताका घर र पार्टी कार्यालय खरानी भए, यस्तोमा मानिसलाई ‘अब राज्यव्यवस्था नै भत्कियो’ भन्ने पर्‍यो । शून्यको स्थिति सिर्जना हुने भय र आवेग–मिश्रित त्यो समयमा मानिसले आफ्नै नियम बनाए र लुटपाट गरे । आखिर पक्राउ गर्ने प्रशासन नै सखाप भएपछि के–को भय ?

‘स्टेट कोल्याप्स’ को त्यो स्थितिले निर्माण गर्ने सामाजिक विघटन र त्यसलाई निर्देशित गर्ने सामाजिक मनोविज्ञानलाई फ्रान्सेली समाजशास्त्री इमाइल डर्कहाइमले नाम दिएका छन्– ‘एनोमी’ । 

मानवशास्त्रमा ‘लोक न्याय’ को अवधारणा छ, जहाँ समुदायले आधिकारिक न्यायिक व्यवस्था असफल भएको ठानेर आफैं न्याय गर्ने प्रयास गर्छ । नेपालमा भ्रष्टाचारी र ठगहरूको सम्पत्ति लुट्नुलाई लोक न्यायका रूपमा हेर्ने प्रवृत्ति छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन ऊर्जामन्त्री दीपक खड्का लगायतका घरमा भएको चोरीलाई यही अवधारणामा व्याख्या गर्न सकिन्छ ।

यस्तै मानवशास्त्री हेनरी तजफेल र जोन टर्नरका अनुसार, आन्दोलनका बेला हामीविरुद्ध ‘उनीहरू’ को भावना बलियो हुन्छ । ‘उनीहरू’ अर्थात् नेताहरू, ठूला व्यापारीहरू र सरकारी निकायहरू । मानिसहरूले यस्तो बेला ‘उनीहरू’ का सम्पत्तिमा धावा बोल्नुलाई न्यायोचित ठान्छन् । यो योजनाबद्ध हुन पनि सक्छ, नहुन पनि । कतिपय भिडियोमा बोलेको सुनिन्थ्यो, ‘यो हाम्रै सम्पत्ति हो । उनीहरूले हामीलाई लुटेरै यो सम्पत्ति जम्मा गरेका हुन् । उनीहरूले हाम्रै करबाट यो सामान जोडेका हुन् ।’ 

सिंहदरबारबाट सामान लिएर जानेहरू मात्रै होइन, भाटभटेनीबाट चामलका बोरा लिएर निस्किनेहरू पनि त्यस्तै भनिरहेका थिए । नेताका घरबाट सामान उठाउनेहरू ती नेताहरूले भ्रष्टाचार र अवैध धन्दाबाट आफ्नो साम्राज्य खडा गरेकाले त्यस्तो सम्पत्ति चोर्नु वा लुट्नु कुनै अपराध होइन भन्ने शैलीमा प्रस्तुत भइरहेका थिए ।

कतिपय अध्येताहरू भने अपराधलाई मानिसको प्राकृतिक स्वभाव मान्छन् । जसरी होमो सेपियन्सका रूपमा मानिसको उद्गम भयो, मानिस उसैगरी होमो करप्टसका रूपमा पनि सँगसँगै अघि बढेको मान्नेहरू प्रशस्तै छन् । यसको अर्थ के भने मानिसमा कतै न कतै आपराधिक मनोवृत्ति रहिरहेकै हुन्छ । आफूलाई सामाजिक बनाउँदै मानिसले बिस्तारै सामाजिक जीवनका लागि मूल्य, मान्यता र विश्वासहरूको मात्रै निर्माण गरेन, देश र राज्यको समेत परिकल्पना गर्‍यो । त्यसका लागि नीति, नियम र कानुनहरू बने ।

यी सबैले मानिसका ती आपराधिक मनोवृत्तिलाई नियन्त्रण गर्दै अनुशासन र विधिमा त राख्यो, तर जब–जब मानिसले ‘स्टेट कोल्याप्स’ महसुस गर्छ, त्यतिबेला ऊ पुनः आपराधिक र हिंस्रक बन्छ । कुनै पनि देशमा जब राज्यको उपस्थिति कमजोर देखिन्छ, त्यस्तो बेला संगठित समूहहरू आफ्नो प्रभुत्व निर्माण गर्ने प्रयासमा लाग्छन् भने व्यक्तिले योग्यता अनुसारको आपराधिक गतिविधिमार्फत आफूलाई तृप्त पार्ने प्रयास गर्छ ।

यस्ता उदाहरण गृहयुद्धको चपेटामा परेर राज्यसंयन्त्र कमजोर भएका कतिपय मुलुकमा पाइन्छन् । नेपालमै पनि माओवादी सशस्त्र द्वन्द्वताका राज्यका सुरक्षा तथा प्रशासनिक संरचनाहरू कमजोर भएका क्षेत्रमा ‘जनसत्ता’ वा ‘जनअदालत’ नै स्थापना गरिएका उदाहरण छन् । 

२४ गतेको आगजनी र तोडफोड त्यस्तै एउटा अनुक्रम थियो । जतिबेला नेपालको वर्तमान राजनीतिक व्यवस्थाअन्तर्गतकै विधिविधानअनुसार जन्मिएका समूहहरूसमेत हिंसात्मक रूपमा प्रकट भए ।

यसबाहेक ‘डी–इन्डिभिजुएसन’ ले समेत काम गरेको देखिन्छ । अर्थात् जब मानिस कुनै भीडको हिस्सा हुन्छ, तब उसले व्यक्तिगत पहिचान र उत्तरदायित्वको चेतना दुवै गुमाउँछ । मानिसले ‘म’ सोच्न छोड्छ र ‘हामी’ भावनामा अनेकन कदम चाल्छ । मनोविज्ञानमा यसलाई भीड मानसिकता भनिन्छ ।

२४ भदौमा जब केही व्यक्तिले सुपरमार्केटबाट सामान चोर्न थाले, अरूलाई पनि लाग्यो :

– ‘सबैले गरिरहेका छन्, म किन नगर्नु ?’

– ‘यत्रा मान्छेको बीचमा मलाई कसले ख्याल गर्ला र ?’

अर्थात् व्यक्तिको आफ्नो चेतनमाथि भीडको प्रभाव बढी भयो । चोरी, हिंसा जे–जस्ता घटनालाई पनि ‘जस्टिफाई’ गर्न सकिने भयो । ‘म चोरिरहेछु’ भन्ने भावनालाई ‘हामी अन्यायविरुद्ध लडिरहेछौं’ भन्ने भावनाले छोपिदिने भयो ।

फ्रान्सेली समाजशास्त्री गुस्ताभ ले. बोनले १८९५ मा लेखेको ‘द क्राउड : ए स्टडी अफ द पपुलर माइन्ड’ पुस्तकमा पहिलो पटक डी–इन्डिभिजुएसन सिद्धान्त प्रस्तुत गरेका थिए । गुस्ताभका अनुसार, भीडमा रहँदा मानिसमा एकप्रकारको सम्मोहन पैदा हुन्छ । जसरी भेडाहरूको लस्करमा सबैभन्दा अगाडिको भेडाले पहाडबाट हाम फाल्यो भने पछाडिका करिब–करिब सबै भेडा उसैगरी हाम फाल्छन्, त्यसैगरी भीडमा मानिसले व्यक्तिगत चेतना गुमाउने सम्भावना बढ्छ, विवेकमा ह्रास आउँछ । यस्तोमा उत्पात मच्चाउन पनि उद्यत हुन्छ मानिस । 

यसलाई कतिपय अध्येताले ‘अज्ञानताको प्रभाव’ का रूपमा पनि व्याख्या गर्छन् । लुटका घटनामा अधिकांश व्यक्तिले अनुहार लुकाएर वा समूहको भीडमा मिसिएर सामान बोकेका देखिन्छन् । मास्क, हेलमेट र पछ्यौरीले मुख लुकाउँदै र मानिसको पछाडि बसेर सामान उठाउने गरेका दृश्य हामीले जो देख्यौं, त्यो यसैको उदाहरण हो ।

भूकम्प, महामारी वा कुनै प्राकृतिक विपत्तिका बेला मानवीय संकट उत्पन्न भएर हुने लुटपाट भने फरक हुन् । संकटकालीन नियम सिद्धान्त वा आफू बाँच्नका लागि गरिने संघर्षअन्तर्गत आफ्ना लागि अत्यावश्यक सामग्री लुट्ने वा चोर्ने काम मानिसको ‘सर्भाइभल इन्स्टिङ्ट’ को प्रकटीकरण हो ।

समाजशास्त्रको सामाजिक शिक्षण सिद्धान्तबाट पनि यस्ता घटना बुझ्न सकिन्छ । अल्बर्ट बान्डुराको यो सिद्धान्तअनुसार, मानिसहरूले अवलोकनबाट पनि सिक्छन् । जब टेलिभिजन र अखबारजस्ता मिडिया वा सामाजिक सञ्जालमा लुटका दृश्य प्रसारित हुन्छन्, त्यसले अन्य व्यक्तिलाई प्रोत्साहन दिन्छ । यसैले २४ भदौपछि केही दिनसम्म पनि मानिसहरू ‘नेताका घरमा केही पाइन्छ कि’ भन्ने आसले पुगिरहेका थिए ।

सुहार्तोको सत्तापतनका बेला सन् १९९८ मा इन्डोनेसियामा भएको दंगा, सन् २०११ मा लन्डनमा मार्क डगनको प्रहरी गोलीकाण्डपछि भएको दंगा र सन् २०२० मा अमेरिकामा जर्ज फ्लाइडको विरोध प्रदर्शनमा पनि व्यापक लुटपाटका घटना भएका थिए । यीमध्ये केहीमा बलात्कारका घटना पनि भए । २०२४ मा बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा पनि नेपालजस्तै लुटका प्रशस्तै दृश्य देखिएका थिए । यी र विश्वका अन्य थुप्रै दंगा र आन्दोलनमा लुटपाटमा संलग्नमध्ये धेरै मानिस आम नागरिक थिए, पेसेवर अपराधी थिएनन् । यस्ता घटनापछि राज्यले गरेका छानबिन र अनुसन्धान जति प्रभावकारी भए, त्यति नै उनीहरू दण्डित भएका उदाहरण छन् ।

निष्कर्ष

समाजशास्त्र र मनोविज्ञानले लुटपाटका यस्ता घटना अध्ययन गर्ने विभिन्न कोण बनाएका छन् । तर, नेपालमा जेन–जीको पवित्र आन्दोलनको मौका उठाउँदै भएको लुटको मुख्य कारण सामाजिक, मनोवैज्ञानिक र सांस्कृतिक कारकहरूको मिश्रण हो । आर्थिक असमानता र अवसरहरूको विभेदपूर्ण वितरणजस्ता कारणले नागरिकहरू जानी–नजानी लुटपाटमा सहभागी भएका हुन् ।

यसमा मिडियाको प्रभावले पनि काम गरेको कुरा नजरअन्दाज गरिनु हुन्न । राज्यसत्ता लुट्नेहरूविरुद्ध उठेको आन्दोलन आफैं लुटमा परिणत हुनु हाम्रो समाजको सबैभन्दा ठूलो विडम्बना हो । यो घटनाले नेपाली समाजको गहिरो संरचनागत समस्या उजागर गरेको छ । लुट केवल कानुनी अपराध होइन, हाम्रो सामाजिक संरचना र सामूहिक चेतनाको अँध्यारो पक्ष पनि हो ।

त्यसैले हामीले राजनीतिक सुधारसँगै सामाजिक मूल्य, शिक्षा र नैतिक नेतृत्वमा पनि जोड दिनैपर्छ । बलियो विधि र प्रणाली अनि कानुनी शासनको प्रत्याभूति हुनैपर्छ । सामाजिक मूल्य र मान्यताहरूको पुनर्व्याख्या र हाम्रा विश्वासहरूको सबलीकरणका साथै सामाजिक संरचनाहरूको विनिर्माणसमेत अबको आवश्यकता हो ।

लुट्नेहरूको व्यक्तिगत वा सामूहिक प्रवृत्ति एउटा विषय हो, तर कानुनी शासनको प्रभावकारी अभ्यास हाम्रो ध्येय हो । जुनसुकै स्वार्थ वा प्रवृत्तिले मानिसहरूलाई चोरी र लुटपाट गर्न उद्वेलित गरेको भए पनि यस्ता गतिविधिमा संलग्नहरू कानुनभन्दा माथि होइनन् ।

देशको राजनीतिक र सामाजिक व्यवस्थाहरूमा सुधार हुनु आवश्यक छ नै, तर त्यसका नाउँमा जटिल परिस्थितिहरूको फाइदा उठाउँदै संगठित वा असंगठित समूहहरूले अराजकता मच्चाउनुलाई किमार्थ सामान्यीकरण गरिनु हुँदैन । यस्ता व्यक्ति, समूह वा प्रवृत्तिमाथि छानबिन, अनुसन्धान र दोषीउपर कारबाही गर्नु राज्यको जिम्मेवारी हो । ‘दण्डहीनता अन्त्य गर्न’ गठन भएको हालको सरकारले त यो विषयमा झनै गम्भीर भएर चिन्तन–मनन गर्नुपर्छ । 

रुपेश श्रेष्ठ कान्तिपुर टेलिभिजनका समाचार प्रमुख हुन् ।

Link copied successfully