महाधिवेशन केवल नेतृत्व फेर्ने अवसर मात्रै बन्नु हुँदैन, नयाँ राजनीतिक दर्शन, संगठनात्मक ऊर्जा र पुस्तान्तरणको ऐतिहासिक घुम्ती बन्न सक्नुपर्छ, एक हिसाबले, पुरानो पार्टीको नयाँ युगलाई संस्थागत गर्ने मञ्च बन्न सक्नुपर्छ
राजनीतिका जानिफकारहरू भन्छन्, ‘समयको वेग नबुझ्ने राजनीतिक दल इतिहासको ‘फुटनोट’मा सीमित हुन्छन् ।’ अहिले जेड पुस्ता जाग्दाको वेग दलहरूका लागि त्यस्तै चुनौती बनेर आएको छ । सम्भवतः त्यही वेगकै कारण हुनुपर्छ, देशका प्रमुख दुई शक्ति नेपाली कांग्रेस र कम्युनिस्टहरूमा यसअघि कहिल्यै नदेखिएको हलचल छ ।
कतै गठन/पुनर्गठन/विघटनका पटकथा लेखिँदै छ त कतै त्यसैका नाममा प्रहसन र तमासा चलिराखेको छ । अनि, कतै पुराना ‘नायक’ हरू विरासत जोगाउन संघर्षरत छन् भने कतै ‘नवनायक’हरू भूमिकाको खोजीमा छटपटिएका छन् । सबैभन्दा धेरै छटपटाहट कम्युनिस्टहरूको शिविरमा छ । जहाँ एकता र विभाजनका रसहीन रूपकहरू मञ्चन भइराखेका छन् ।
कांग्रेस पनि पुस्तान्तरणको छटपटीमा छ । त्यहाँ पुरातनपन्थी र परिवर्तन पक्षधरहरूबीच घर्षण चलिराखेको छ । केही दिनयता कांग्रेसमा चलेको नियमित महाधिवेशन कि विशेष महाधिवेशन ? महाधिवेशन चुनावअघि कि पछि ? भन्ने विवाद खासमा त्यही दुई प्रवृत्तिबीचको अन्तर्द्वन्द्वको परिणति हो ।
यो द्वन्द्वको निप्टारा अझै लागेको छैन । आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका जारी गर्ने विषयमा सहमति जुटाउन प्रयत्न गरे पनि नसकेपछि निर्धारित केन्द्रीय समितिको बैठक फेरि स्थगित गरियो ।
असोज २८ गते कांग्रेसका वयोवृद्ध सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट ‘आंशिक विश्राम’ लिँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति घोषणा गरेपछि कांग्रेस वृत्तमा हर्षबढाइँ नै भएको थियो । कांग्रेसमा पुस्तान्तरणको प्रक्रिया सुरु भएको भन्दै धेरैले त्यसको प्रशंसा नै गरेका थिए । तर, एकाध दिनमै कांग्रेसवृत्तमा निराशा छायो । कार्यवाहक सभापति खड्का देउवा गुटको घेराबन्दीमा परेर छिटो महाधिवेशन गर्ने मुद्दामा अनुदार देखिए ।
तर, यथार्थ के हो भने कांग्रेसमा उठेको महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको मागलाई गुटगत राजनीतिको बलमा केही पर धकेल्न सकिएला तर नजरअन्दाज गर्न सकिने छैन । दलहरूभित्र परिवर्तनको जुन भोक जागेको छ, त्यसबाट अब कांग्रेस भाग्न सक्ने छैन । ढिलोचाँडो कांग्रेसले नेतृत्वले काँचुली फेर्ने छ । तर, के बिटुलिएको र बाटो बिराएको कांग्रेस एक थान नेतृत्व फेरेर मात्रै शुद्ध हुन्छ ?
गुमेको जनविश्वास आर्जन गर्न नेता फेरेर मात्रै पुग्छ ? दलहरू महाधिवेशनका नाममा टालटुले सुधार उन्मुख छन् । कांग्रेसले टालटुले सुधार गर्ने कि नयाँ कांग्रेस बनाउने ? नयाँ कांग्रेसको ‘ब्लुप्रिन्ट’ के हो ? विशेष महाधिवेशन वा नियमित जे भए पनि यी प्रश्नहरूमा बहस आवश्यक छ । यिनै प्रश्नहरूका सेरोफेरोमा यो विश्लेषण गरिएको छ ।
कांग्रेसले आफूभित्र विद्यमान विकृति, विसंगति र समस्याहरूको समाधान खोज्ने हो भने त्यसको प्रस्थानबिन्दु आफ्नै विगतको निर्मम समीक्षाबाट सुरु हुनुपर्छ । र, त्यो समीक्षाका आधारमा एउटा ‘राजनीतिक श्वेतपत्र’ जारी गरिनुपर्छ । अहिले मुलुक जुनखाले राजनीतिक/संवैधानिक जोखिम र संकटमा छ । यो बेला खासमा जिम्मेवार सबै दलहरूले यो सामूहिक असफलतापछि उत्पन्न संकट समाधानको सामूहिक प्रतिबद्धता जाहेर गरिसक्नुपर्थ्यो ।
तर, दलहरू सञ्चालन गर्ने मठाधीशहरूमा व्यक्तिगत इगो र अहम् यतिधेरै भरिएको छ कि तिनमा राजनीतिक चरित्र रत्तिभर छैन । नत्र यो अन्योल र संकटको घडीमा तिनले आफ्ना त्रुटि र कमजोरीहरूको निर्मम समीक्षासहित सामूहिक उत्तरदायित्वको दस्ताबेज अर्थात् एउटा राजनीतिक श्वेतपत्र जारी गरिसक्थे ।
लोकतन्त्रको संघर्षमा नेतृत्वदायी भूमिका खेलेको, सबैभन्दा पुरानो र पछिल्लो शक्ति सन्तुलनका आधारमा सबैभन्दा ठूलो राजनीतिक दलका नाताले कांग्रेसले त्यो उत्तरदायित्व वहन गर्न सक्छ, गर्नुपर्छ ।
यस्तो नेतृत्वदायी दायित्व वहन गर्नुपूर्व कांगेसले आफू किन यसरी रसातलमा पुग्यो ? त्यो पहिल्याउनु आवश्यक छ । अराजनीतिक दुर्गन्धले कांग्रेसको शरीर मैलिएको छ । जीर्ण र त्यो मैलो शरीरमा मयलका पत्रहरू कटकटिएका छन् । त्यसकारण यसको शुद्धीकरण सामान्य धोइपखालीबाट सम्भव छैन ।
पहिलो कुरा, कांग्रेस कहिल्यै एउटा राजनीतिक पार्टी बन्न सकेन । यो स्वार्थ र गुटहरूको अखडा बनिरह्यो । पार्टीका अधिकांश नेता–कार्यकर्ता लोकतान्त्रिक प्रणालीका कुरा त गर्ने भए तर व्यवहारमा तिनको निष्ठा कुनै ‘दाइ’ मै स्खलित भयो । ‘दाइ’ को फेरो समात्दा राजनीतिक अवसर र भविष्य सुरक्षित हुने होड पार्टी पंक्तिमा बढ्दा गुटको राजनीति मौलायो । अहिले कांग्रेसमा पुस्तान्तरणको प्रयत्नमा त्यही गुटको राजनीति तगारो बनेर खडा छ ।
दोस्रो, राजनीतिक र सैद्धान्तिक विमर्शहरूमा अति कम रुचि राख्ने कांग्रेस प्रतिक्रियात्मक राजनीतिको बन्दी बनिरह्यो । पुरातनवादी कांग्रेसहरूका लागि पार्टीको सैद्धान्तिक कार्यदिशा बीपीको समाजवाद भनेर रटान लगाउन सजिलो छ । तर, ती बीपीका न अनुयायी हुन्, न त तिनले बीपी नै बुझेका छन् ।
महामन्त्री गगन थापाले बीपीको समाजवादलाई परिस्कृत/परिमार्जन गरेर पार्टीभित्र बहसका लागि सामाजिक लोकतन्त्रको अवधारणा ल्याएका छन्, त्यसमा पनि ठूलो कांग्रेसीवृत्त बेखबर छ अथवा त्यसप्रति उदासीन छ । यो उदासीनताले कांग्रेस नीतिगत अन्योल र अस्पष्ट पार्टीका रूपमा दर्ज भएको छ ।
तेस्रो, आन्तरिक लोकतन्त्रका हिसाबले कांग्रेस अरू पार्टीभन्दा अघि भएको विश्वास गरिन्छ । यहाँ कम्तीमा महाधिवेशनहरूमा प्रतिस्पर्धा आधारमा नेतृत्व चयन हुन्छ । चौधौ महाधिवेशन त्यसको एउटा दृष्टान्त बनेकै हो । युवा र नयाँ अनुहारलाई पदाधिकारीदेखि सदस्यहरूसम्म निर्वाचित गरेको कांग्रेसले नयाँ अध्याय लेखेको थियो । दुई जना महामन्त्री, सहमहामन्त्रीहरू, केन्द्रीय सदस्यहरूको सूचीमा आसलाग्दा नेताहरूको प्रवेशले कांग्रेस सुधारिने झल्को थियो । तर, मूल नेतृत्व केन्द्रीकृत, गुटकृत अनि सत्ताकृत भइदिँदा त्यो अपेक्षामा तुषारापात भयो ।
त्यसो त कुनै पनि राजनीतिक दलको उद्देश्य सरकारमा गएर आफ्ना कार्यक्रमहरूमार्फत जनतालाई सेवा दिने र मुलुकमा समृद्धि ल्याउने भन्ने नै हो । त्यस कोणबाट सरकारमा जान खोज्नु अनुचित होइन । लोकतान्त्रिक पद्धतिबाट सरकारमा सहभागी हुने कुरामा प्रश्न होइन ।
यद्यपि, जसरी पनि सरकारमै बस्न खोज्नु, सरकारमा जानुलाई एकमात्र लक्ष्य बनाउनु, सरकारमा गएर विधि र पद्धति होइन, भागबन्डाको कुसंस्कृतिलाई बढावा दिनुले दलको औचित्य स्थापित हुँदैन । कांग्रेसले पनि सत्ताका लागि अस्वाभाविक र अराजनीतिक सम्झौता र गठबन्धनहरू गरेपछि नागरिक वृत्तको विश्वास गुमाएको हो ।
चौथो, मुलुक कुशासनले आक्रान्त छ । कुशासनले यसरी मुलुकलाई थिलथिलो पार्नुमा कांग्रेसको नेतृत्व पनि अरू शीर्ष नेतृत्व झैं उत्तिकै जिम्मेवार छ । अझ पार्टी सभापति शेरबहादुर देउवाको घरमा जलेको अवस्थामा भेटिएका नोटहरूले अनेक प्रश्न उठाएको छ । जलेका नोटको स्रोत के हो ? खुलेको छैन । सरकारले अनुसन्धानपछि त्यसबारे जानकारी देला ।
देउवाको भवनदहनका क्रममा भेटिएका जलेका नोटले मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासन जाहेर गर्ने एउटा सानो नजिर मात्रै हो । कांग्रेसका अरू कतिपय नेतामाथि पनि भ्रष्टाचार र अनियमितताको आरोप छ । तर, कांग्रेसमा त्यसबारे प्रश्न उठ्दैन । यस्तो आरोप लागेकालाई कम्तीमा निलम्बन गरौं भनेर प्रश्न उठाउनेहरू एक्लिन्छन् र ‘नोट अफ डिसेन्ट’ लेख्नुपर्ने परिस्थिति बन्छ ।
पार्टीभित्र भ्रष्टहरूलाई संरक्षण र ओत दिने यही प्रवृत्तिका कारण कांग्रेस यसरी रसातलमा भासिएको हो । यही र यस्तै प्रवृत्तिले बढावा पाउँदा कांग्रेस गतिशील हुन सकेन । केन्द्रीय तहका कतिपय नेताहरू बिचौलिया र दलाल पुँजीवादका संरक्षक भए भने स्थानीय तहका कार्यकर्ता पेटी ठेकेदार जस्ता भए । अराजनीति र कुशासनको भासमा गाडिएको कांग्रेसलाई त्यसबाट निकाल्न महाधिवेशन जस्तो विशेष अनुष्ठान आवश्यक छ ।
त्यसकारण बिना कुनै माथापच्ची कांग्रेस शीघ्र यो अनुष्ठानतर्फ अग्रसर हुनुपर्छ । बरु, महाधिवेशन केवल नेतृत्व फेर्ने अवसर मात्रै बन्नु हुँदैन, नयाँ राजनीतिक दर्शन, संगठनात्मक ऊर्जा र पुस्तान्तरणको ऐतिहासिक घुम्ती बन्न सक्नुपर्छ । एक हिसाबले, पुरानो पार्टीको नयाँ युगलाई संस्थागत गर्ने मञ्च बन्न सक्नुपर्छ ।
तर, विडम्बना, कांग्रेसले एकचोटि फेरि पाएको जुनी फर्ने अवसरलाई चिनेको छैन । बरु, गुटको बलमा यो अवसरलाई पछाडि धकेल्ने प्रयत्न भइराखेको छ ।
कांग्रेसमा अहिले मूलतः तीन थरी राजनीतिक चरित्र छन् । पहिलो, कांग्रेसमा सामान्य सुधार होइन, व्यापक पुनर्गठनसहितको सुधार आवश्यक भएको ठान्ने प्रवृत्ति । यो समूहले अहिले कांग्रेसभित्र चुनावअघि नै तत्काल नियमित महाधिवेशन, त्यो नसके विशेष महाधिवेशन गर्नुपर्छ भन्ने माग राखेको छ । पार्टीभित्र सुधारको मुद्दा बोक्दै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यो प्रवृत्तिको प्रतिनिधित्व गर्छन् ।
सहरी मध्यम वर्ग, पेसागत समुदाय, डिजिटल र सचेत परिवर्तनकारी युवा पुस्ता यही धारसँग जोडिएको छ । सुशासन, पारदर्शिता अनि पार्टीको राजनीतिक विषयमा सार्वजनिक बहस छेड्न सक्षम यो धारले नेतृत्वमा पुस्तान्तरण मुद्दा अघि सारेको छ ।
दोस्रो, पार्टीको केन्द्रमा बलियो गुट भएको देउवा समूह छ, जो गुटगत राजनीतिको संकीर्णताबाट निस्कन सकेको छैन । यसको मूल चरित्र गुटको आडमा सत्ता दाउपेच खेल्ने हो । पारदर्शिता, सुशासन, युवा पुस्ताको आग्रह अपेक्षासँग यो चरित्रले खासै लेनदेन राख्दैन । कतिसम्म भने अहिलेको राजनीतिक संकटको आयाम यो समूह आकलन गर्न सकेको छैन । आगामी चुनावमा कांग्रेस के भनेर मत माग्न जाने ?
कम्तीमा महाधिवेशनले नीति र नेतृत्वको नवीकरण गर्न सक्दा चुनावमा जाने मुद्दा त कांग्रेससँग हुन्छ भन्ने सामान्य समझ पनि नराखी यो समूह निरन्तर नेतृत्व परिवर्तनको सन्दर्भमा अनुदार बनेको छ । सक्दा यथास्थिति र बाध्य हुनुपर्दा टालटुले सुधार यो समूहको सोच हो ।
तेस्रो, शेखर कोइरालाको नेतृत्वमा रहेको मध्यमार्गी प्रवृत्ति पनि छ, कांग्रेसमा । कोइरालाको संस्थापन गुट र पुस्तान्तरण पक्षधर विद्रोही समूहबीच द्वन्द्व बढ्दा सन्तुलनकारी भूमिका खेलेर नेतृत्वमा पुग्ने आकांक्षा राखेका छन् । चौधौं महाधिवेशनमा देउवाका निकटतम प्रतिद्वन्द्वी भएकाले कोइरालाले आफूलाई कांग्रेसको भावी नेतृत्वका रूपमा प्रस्तुत गर्दै आएका छन् ।
यसबीच उनले पार्टीको संस्थापनलाई विभिन्न मुद्दाहरूमा दबाबमा राख्दै प्रतिपक्षीय भूमिका पनि निर्वाह गरे । चौधौं महाधिवेशनमा सम्मानजनक पराजय भोगेका कोइरालाको पार्टीभित्र सांगठनिक पहुँच पनि छ । पछिल्लो समय त उनले कतिपय देउवा पक्षीय नेताहरूसँग पनि सम्बन्ध विस्तार गरे । तर, चौधौं महाधिवेशनमा सँगै रहेका महामन्त्री थापासँग चाहिँ उनको दूरी बढ्यो । चुनावअघि नियमित महाधिवेशनको मुद्दामा कोइराला र थापा अहिले एकै ठाउँमा छन् । तर, जब नेतृत्वमा को ? भन्ने प्रश्न उठ्नेछ, यी दुई एकअर्काका आमनेसामने हुने सम्भावना प्रबल छ ।
कांग्रेसले अहिले त्यस्तो नेतृत्व खोजेको छ, जो यो पार्टीको टालटुले सुधारमै चित्त बुझाउने छैन । जेन–जी प्रदर्शन, त्यसपछि मुलुकमा उत्पन्न जटिल परिस्थितिपछि राजनीतिका आयामहरू फेरिएका छन् । लोकतन्त्रका लागि ऐतिहासिक योगदान गरेका पार्टीहरू रक्षात्मक अवस्थामा पुगेका छन् । जनस्तरमा तीप्रति आस्था त छ, तर आक्रोश र अविश्वास अझै कायमै छ ।
त्यो आक्रोश र अविश्वासलाई विश्वासमा बदल्ने नेतृत्व यतिखेर कांग्रेसले खोज्न सक्नुपर्छ । त्यो योग्यता वैचारिक, राजनीतिक हिसाबले सुसज्जित नेतृत्वले मात्रै गर्न सक्छ । के गुटका बलमा मात्रै एउटा नेता नेतृत्वको सिंहासनमा बस्न सक्छ ? उसँग राजनीतिक सोच र कार्यदिशा हुनुपर्दैन ? अब पनि बीपीको समाजवादको ‘सुगा रटाइ’ले कांग्रेस अघि बढ्दैन । त्यसलाई परिमार्जन अनि परिस्कृत गर्दै लाने, सार्वजनिक वृत्तमा बहसहरू छेड्न सक्ने नेतृत्व कांग्रेसको आवश्यकता हो ।
विभिन्न अवसर र लाभ खोज्दै राजनीतिक दलमा आबद्ध हुने कार्यकर्ताहरूको कमी छैन, अहिले । लाखौंको संख्यामा रहेका ती कार्यकर्ता सही अर्थमा दलका जिम्मेवार ‘क्याडर’ हुन् ? संगठनमा तिनको उपस्थितिले पार्टीलाई गतिशील र ऊर्जावान बनाउन कति सहयोग पुगेको छ ? नेतृत्वले किन कार्यकर्ता पंक्तिलाई गतिशील बनाउन सकेको छैन ? यी प्रश्नहरूको समीक्षासहित संगठनात्मक पुनःसंरचना गर्न सक्ने विशेषता भएको नेतृत्व अबको कांग्रेसलाई चाहिन्छ ।
कार्यकर्ता पंक्तिमा ऊर्जा भर्ने मात्रै होइन, राजनीतिक चेत र संस्कारको अभिवृद्धि गर्न सक्ने नेतृत्व चाहिन्छ । स्थानीयदेखि केन्द्रसम्म सरकारमा जाँदा नेताहरू के गर्ने, कसो गर्ने रनरभुल्लमा पर्ने गर्छन् । कांग्रेसले स्थानीयदेखि केन्द्रसम्मकै शासन सञ्चालनमा योग्य नेता र कार्यकर्ता तयार पार्न सक्नुपर्छ । यो दायित्व पनि नेतृत्वकै हुनेछ ।
मुख्य कुरा, कुशासनको सन्दर्भमा सम्झौता नगर्ने नेता चाहिन्छ । गुटको भयो भन्दैमा संरक्षण गर्ने जुन प्रवृत्ति अहिले कांग्रेसमा देखियो, त्यो आलोच्य छ । आफ्नै पार्टीको नेता भ्रष्टाचार र अनियमितताको आरोपी हो भने तिनलाई ठाउँको ठाउँ निलम्बन गर्न सक्ने हैसियत नेतृत्वको हुनुपर्छ । सारमा, अब कांग्रेस सच्चिने वा सुध्रिने मुद्दाबाट अघि बढिसक्यो । यसलाई नयाँ सिराबाट व्यापक पुनर्गठन गर्ने सक्ने नेतृत्वको खाँचो छ । समयको यो आह्वानलाई नबझ्ने हो भने राजनीतिका पण्डितहरूले भनेजस्तै इतिहासको ‘फुटनोट’मा सीमित हुन कांग्रेस तयार हुनुपर्छ ।
