जेन–जी आन्दोलनपछि नेपाली समाजको वर्तमान अवस्थाबारे गम्भीर प्रश्न जन्मिरहेका छन्— हामी कहाँ छौं ? कता जाने उद्देश्यमा थियौं ? र, हाम्रो यात्रा कता जाँदै छ ?
What you should know
नेपालमा जेन–जीका विविध समूहको आह्वानमा सत्ता पल्टाउने आन्दोलन भयो । त्यसपश्चात् विकसित घटनाक्रमले सरकार परिवर्तन भएको पनि झन्डै डेढ महिना पुगिसक्यो ।
नेपालमा जेन–जीका विविध समूहको आह्वानमा सत्ता पल्टाउने आन्दोलन भयो । त्यसपश्चात् विकसित घटनाक्रमले सरकार परिवर्तन भएको पनि झन्डै डेढ महिना पुगिसक्यो । राजनीतिक हिसाबले यो सामान्य घटना थिएन । जेन–जी आन्दोलनपछि नेपाली समाजको वर्तमान अवस्थाबारे पनि गम्भीर प्रश्नहरू जन्मिरहेका छन्– हामी कहाँ छौं ? कता जाने उद्देश्यमा थियौं ? र, हाम्रो यात्रा कता जाँदै छ ?
परिवर्तनको मागस्वरूप भएको आन्दोलनमा इतिहासकै सबैभन्दा ठूलो क्षति भएको छ । तमाम प्रश्न छन् सामुन्ने, तर उत्तरको अभावले नेपाली समाज, राजनीति र सिंगो देश नै त्रसित छ । जन–जनमा त्रास, पीडा, आशंका, अविश्वास, उकुसमुकुस र छटपटी छ ।
यो आन्दोलनको समीक्षा अनेकौं कोणबाट हुनुपर्छ । म आफैं दुई दशकदेखि सक्रिय राजनीतिमा सहभागी छु । विद्यार्थी संगठन हुँदै युवापुस्ताको प्रतिनिधित्व गर्दै संघीय संसद्को सदस्य भएर मैले काम गरें । विद्यार्थी र युवा अधिकारका लागि संघर्ष गर्दागर्दै हाम्रो पुस्ताको लामो समय सडकमै बित्यो । हाम्रो स्कुलिङले सिकायो– जबसम्म मुलुकको सर्वोच्च निकायमा आम–नागरिकले प्रतिनिधित्व गर्ने अवसर पाउँदैनन्, तबसम्म व्यवस्था परिवर्तन नै राजनीतिको प्रमुख मुद्दा हुनुपर्छ । र, हामी त्यही अभियानमा केन्द्रित भयौं ।
देशैभरका नागरिक संगठित भए । पूर्वदेखि पश्चिमसम्मका लाखौं युवाले देशभित्र र बाहिर रहेर यो अभियानमा सहभागिता जनाए । आमनेपाली नागरिकको भावनाकै फलस्वरूप हामी यो व्यवस्थामा छौं । समर्थन, साथ र सद्भाव आमनेपालीको भए पनि हरेक राजनीतिक परिवर्तनमा युवापुस्ताकै अभूतपूर्व योगदान र बलिदानी छ । इतिहासका अनेक आन्दोलन र मोडहरू पार गर्दै हामी आजको विकसित घटनाक्रम र राजनीतिक परिदृश्यमा छौं । समाजलाई साँच्चै परिवर्तन गर्न व्यवस्थाभन्दा अवस्था परिवर्तनका कार्यक्रममा ध्यान दिनु आवश्यक छ ।
राजनीतिक व्यवस्था र सामाजिक–आर्थिक कार्यक्रम सुदृढीकरणका लागि नयाँ पुस्ताले परिष्कृत कार्यक्रमिक योजना माग गरेको छ । नयाँ राजनीतिक सोच, संकल्प, शैली, संस्कारसहित स्थापित नयाँ राजनीतिक–सामाजिक परिवेशले संस्थागत स्वरूप लिनु आवश्यक छ । आजको राजनीतिक परिस्थिति ठूलो कम्पनपश्चात् उम्रिएको सानो टुसाजस्तै हो । यो अवस्था सुन्दर छ र संवेदनशील पनि ।
सुन्दर यस अर्थमा कि नयाँपनसहित युवाको नेतृत्व, सुशासनको एजेन्डा, भ्रष्टाचार र भ्रमरहित राज्यको परिकल्पना गरिएको छ । संवेदनशील यसअ र्थमा कि देशका ऐतिहासिक धरोहर जलेका छन्, सार्वजनिकदेखि व्यक्तिगत सम्पत्तिसम्ममा ठूलो क्षति पुगेको, ७५ जना होनहार युवाले जीवन–आहुती दिएका छन्, आन्दोलनका घाइते अस्पतालमा छटपटाइरहेकै छन् । राजनीतिक परिवर्तन संस्थागत गर्न निर्वाचनको जिम्मेवारीसहित अन्तरिम सरकार बनेको छ, निर्वाचन मिति पनि सार्वजनिक भइसकेको छ । नेपालको वर्तमान अवस्था र समस्या समाधानको एकीकृत मोडल निर्माणमा अलमल गरे हामीले राजनीतिक, सामाजिक र आर्थिक रूपमा धेरै क्षति व्यहोर्नुपर्नेछ । त्यसैले सबै एकजुट भएर योगदान गर्नुपर्ने समय हो यो ।
आजको नेपालको जनसांख्यिक संरचना हेर्दा जेन–जीले विशेष गरी राजनीतिक परिवर्तन र यो अवस्था निर्माणका लागि भएका त्याग, बलिदान र समर्पणको अनुभव गर्नुपरेन, संघर्षको भोगाइ बुझ्नुपरेन । तर, उसले विश्वव्यापी समानता र प्रविधि पहुँचसँगै पाएका अवसर उपभोगमा आफ्नो अधिकारको संघर्ष स्थापित गरेको छ । हिजोका अधिकार संविधान–दायरामा रहेर देशको परिधिभित्र थिए, तर आज विश्वव्यापी समानता, प्रविधि पहुँचसँगै वैश्विक तहमा समानताका आवाज उठेको छ । सुशासन, पारदर्शिता तथा आफ्नै देशमा बसेर युरोप, अमेरिका, कोरिया, जापानको झैं शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र अवसरको सुनिश्चितता खोजेको छ, जेन–जीले ।
नेपाली युवा सधैं परिवर्तन र प्रगतिशील तथा जनपक्षीय रूपान्तरणका पक्षमा उभिएका छन् । ००७ सालको जनक्रान्तिदेखि ०४६ र २०६२/०६३ को जनआन्दोलनसम्ममा उत्रिएका युवा सिर्जनात्मक परिवर्तन र अग्रगमनकै लागि लडेका हुन् ।
हरेक कालखण्डमा ऊर्जाशील समयलाई सामाजिक रूपान्तरणमा समर्पण गर्ने युवाको नजरअन्दाज गरिनु अन्याय हुन्छ । ‘हिजोका युवाले केही गरेका थिएनन्, गर्न पनि सकेनन् र उनीहरू झोले हुन्’ भन्ने भाष्यको स्थापना दुर्भाग्यपूर्ण छ । नेपाली समाज र राजनीतिमा युवाले सो समयको मागअनुसार आफ्नो भूमिका निभाउन कहिल्यै चुकेनन् ।
देशमा संविधान बन्छ कि बन्दैन ? यही चिन्तामा हामीले धेरै समय व्यतीत गर्यौं । राष्ट्रपतिदेखि विशेष वडा सदस्य छनोटसम्म, प्रदेशसभा, गाउँ/नगरसभा र न्यायिक समितिसम्म देशले कहिल्यै अनुभव नगरेका संस्था र पदको सिर्जनामा देश रुमल्लिएको थियो । प्रदेश संख्यालाई लिएर अहिलेजस्तै तनावको अवस्था थियो । त्यो बेला तोकिएको समयमै संविधान लेखन सम्पन्न गराउने दबाब दिनु हाम्रो राजनीतिक धर्म थियो । हामी त्यसबेला सडकमा जान्थ्यौं, नारा–जुलुस गर्थ्यौं । के हामी झोले थियौं ?
समय बितेपछि इतिहासका सबै क्रान्तिकारी घटना सामान्यझैं लाग्छन् । तर, भुल्नु हुँदैन, त्यो क्रान्तिकारी जग नभएको भए आजको आवाज उठ्नै सक्ने थिएन । नेपाली राजनीतिमा उठेका सबै सवाल हिजोका युवाको त्यागमा आधारित राजनीतिक विकासक्रमको परिष्कृत स्वरूप हो भन्ने स्वीकार गर्न हिच्किचाएर कसरी अघि बढ्न सकिन्छ ?
एउटा तितो सत्य पनि स्वीकार गर्नु आवश्यक छ । ‘सबै युवाको राजनीतिक सोच एकै हुन्छ’ भन्ने जुन भाष्य निर्माण गर्न खोजिँदै छ, त्यो अवैज्ञानिक–अव्यावहारिक मात्रै होइन, अत्यन्तै खतरनाक पनि छ । ‘झोले’ को भाष्यले त्यो सोचलाई प्रस्ट चित्रित गरिरहेको छ । कुल जनसंख्याको ३३ प्रतिशत जेन–जीले राजनीतिक रूपमा एकै चेत राख्छन्, राख्न सक्छन् वा सक्नुपर्छ भन्ने विचारमा को सहमत हुन सक्छ ? हामी किन यस्तो भाष्य निर्माण गर्न खोज्दै छौं ?
नेपाली युवा प्रगतिशील, दक्षिणपन्थी र लोकप्रियतावाद— सबै विचारबाट प्रभावित छन् । माथि चर्चा गरिएझैं नेपाली युवा मूलतः प्रगतिशील कित्तामा रहे । राजनीतिक परिवर्तनको आन्दोलन नेतृत्व गरे । तर, अहिले युवामाझ दक्षिणपन्थी र लोकप्रियतावाद जस्ता विचार पनि उत्तिकै लोकप्रिय छन् । युवाको राजनीतिक विचारमा आएको परिवर्तनको विश्लेषणमा हामीले कन्जुस्याइँ गर्नुहुन्न ।
त्यतिमात्रै होइन, एकै उमेर समूहका युवाको आर्थिक एवं सामाजिक अवस्था, दैनिक जीवन, समस्या, अपेक्षा फरक छन् । फरक मात्रै होइन, खासमा हामीसँग उनीहरूको अवस्था र समस्या वर्गीकरण गर्ने आधार र तथ्यांकसम्म पनि छैन ।
के हामी अहिले युवाका यस्तो विविधताको अवस्था, फरक समस्या र समाधानका उपायबारे चर्चा गरिरहेका छौं ? के फरक अर्थसामाजिक अवस्थामा हुर्केका युवाको राजनीतिक सुधार र परिवर्तनका उपाय पनि फरक हुन्छन् भन्ने तथ्य स्वीकार गरिरहेका छौं ? केले हामीबीचको विविधता स्वीकार गर्न कठिन भइरहेको छ ?
हो, इतिहासले युवालाई फरक राजनीतिक जिम्मेवारी दिएको छ । अहिलेको जिम्मेवारीलाई इतिहासको निरन्तरतामा राखेर हेर्नु नै विवेकपूर्ण हुन्छ । हिजोको पुस्तालाई व्यवस्था परिवर्तनको मुद्दाले थिचेको थियो । अहिले हामी सबै अवस्था परिवर्तनका अगाडि उभिएका छौं । तर, युवाको अवस्था परिवर्तन गर्न हाम्रा सबै युवाको अवस्थाको कुरा एकै पटक गरौं, यो तर्कलाई सबैले स्वीकार गर्नुपर्छ ।
तर, अहिले किन युवा, उनीहरूको अवस्था, विचार र धारणाका विविधतालाई ग्रहण गर्नेतर्फ अगाडि बढ्न हामी किन हिच्किचाइरहेका छौं ? यो प्रश्नको विमर्शपछि मात्रै इतिहासले युवालाई दिएको जिम्मेवारी पूरा गर्न सक्छ ।
स्वतन्त्रताका हिमायती युवाहरूको मुद्दाको बहस पनि स्वतन्त्र राखौं । तब मात्रै हामी इतिहासको जिम्मेवारी पूरा गर्न सक्नेछौं ।
