दृष्टिविहीनमैत्री ट्राफिक-लाइटको खाँचो

सडकका ट्राफिक लाइट दृष्टिविहीनको पहुाचमा छैनन्, बत्तीले पैदल यात्रीलाई संकेत गरिरहँदा दृष्टिविहीनहरू त्यो देख्न सक्दैनन्, लाइटसँगै आवाज पनि जडान गरे तिनलाई बाटो काट्न सहज हुने थियो

कार्तिक १३, २०८२

कल्पना नेपाल आचार्य

Need for visually impaired-friendly traffic lights

What you should know

चौडा, फराकिला र चिल्ला सडकहरूमा सवारी चाप व्यवस्थापन गर्न ट्राफिक लाइट जडान गरिएका छन् । सवारी चाप उच्च भएकाले सुरक्षा दृष्टिले पनि ट्राफिक लाइट आवश्यक हुन्छ । तर, साँघुरा गल्ली र भित्री सडकमा ट्राफिक लाइट जडान भएको खासै देखिन्न । 

सडकका खम्बामा जडान गरिएका रातो, पहेंलो र नीलो ट्राफिक लाइटले बाटोको संकेत गर्छन् । र, सडकमा बल्ने हरियो बत्तीले सवारीलाई अघि बढ्न संकेत गर्छ । हरियोपछि पहेंलो बल्छ र केही सेकेन्डमै रातो, जसले सावधान भई सवारी रोक्नुपर्ने जानकारी दिन्छ । हरियोले पैदल यात्रीलाई बाटो काट्ने सूचना दिन्छ र रातोले ‘जथाभावी बाटो नकाट्नु’ भनी खतराको जानकारी । सडकमा जथाभावी बाटो नकाट्न र जेब्राक्रसबाट मात्रै काट्न ट्राफिक नियमले भनिरहेकै हुन्छन् । 

तर, एउटा गम्भीर सवाल छ– सडकका ट्राफिक लाइटहरू दृष्टिविहीनको पहुँचमा छैनन् । रातो, पहेंलो र हरियो ट्राफिक लाइटले पैदल यात्रीलाई संकेत गरिरहँदा दृष्टिविहीन त्यो देख्न सक्दैनन् । लाइटसँगै आवाज पनि जडान गरे दृष्टिविहीनलाई बाटो काट्न सहज हुने थियो । र, जीवनको क्षति हुनबाट जोगिने थियो । 

हरेक वर्ष ट्राफिक सप्ताहको नारा हुन्छ– तीव्र गति जीवन क्षति, सडकमा ट्राफिक नियमको पालना गरौं, हतार गरी सवारीसाधन कहिल्यै नचलाऔं, हतारमा सडक पार नगरौं... । तर, विडम्बना के भने सवारी दुर्घटनामा पैदल यात्रीको मृत्यु हुनेको संख्या घटेको छैन । सवारी चालकको गल्तीले जीवन गुमाउनुका साथै कैयौं यात्री अंगभंग भएर बाँचिरहनुपरेकै छ । ट्राफिक लाइट जडान भएर पनि नियम पालना नहुँदा ट्राफिक प्रहरीले चोक–चोकमा हात र सिटीको सहारामा लाखौं सवारीसाधनको चाप व्यवस्थापन गर्नुपर्ने बाध्यता छँदै छ । 

नेपाल प्रहरीको तथ्यांकअनुसार, पछिल्ला ६ वर्षमा सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत पैदल यात्रु छन् । २०८१ फागुनसम्मको तथ्यांकले भन्छ– सडक दुर्घटनामा परेका १ हजार १ सय १८ जनामध्ये ४ सय ३४ पैदल यात्रु छन् । आकाशे पुल, ट्राफिक बत्ती र जेब्राक्रसको अभावमा जथाभावी बाटो काट्न बाध्य पैदल यात्रु नै धेरै दुर्घटनामा परेका छन् । कतिपय ठाउँमा चाहिँ जेब्राक्रस हुँदाहुँदै जथाभावी बाटो काट्ने पैदल यात्रु छँदै छन् । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को परिच्छेद ७ अन्तर्गत दफा १२६ मा पैदल यात्रुले पेटीबाट हिँड्नुपर्ने स्पष्ट उल्लेख छ । मानिस हिँड्ने पेटी भएको सडकमा पैदल यात्रीले पेटीबाटै हिँड्नुपर्छ । पेटी नभएको सडकमा हिँड्दा दायाँ किनारा च्यापेर हिँड्नुपर्छ भन्ने उक्त दफामा लेखिएको छ । त्यस्तै दफा १३७ मा निर्धारित ठाउँबाट बाटो काट्नुपर्दा जेब्राक्रसिङ, सब–वे, ओभरहेड ब्रिज वा निर्धारण गरिएको ठाउँबाट मात्रै काट्नुपर्छ भन्ने उल्लेख छ । तर, पैदल यात्री जथाभावी बाटो काट्छन् । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक महाशाखाले जथाभावी सडक पार गर्ने यात्रुलाई २०० देखि १००० रुपैयाँसम्म जरिवाना गर्ने, सडकमै प्रशिक्षण दिने, तिनलाई सडकमै स्वयंसेवकको काममा लगाउने र सचेतना अभिवृद्धि कक्षा लिने कार्य गर्दै आएको छ । तर, कानुन कार्यान्वयन नहुँदा दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

दुःखद के छ भने ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काट्ने पैदल यात्रीले उन्मुक्ति पाइरहेका छन् । २०६३ सालमा पैदल यात्रुसमेतलाई दुर्घटनामा दोषी मानी कारबाहीको व्यवस्था गर्न ‘सडक सुरक्षा ऐन’ ल्याइएको थियो । त्यसैले दुर्घटना रोक्न सवारी चालकझैं पैदल यात्रुले पनि आफ्नै सुरक्षाका लागि ट्राफिक नियम पालना गर्नुपर्छ ।

अब विद्यालय तहको पाठ्यक्रममै ट्राफिक सचेतना शिक्षा पढाउनु आवश्यक छ । ‘कारबाहीमा पर्छु’ भनेर होइन, बरु आफ्नै सुरक्षाका लागि पैदल यात्रु र चालक दुवैले सडक नियम पालना गर्नुपर्छ । र, ट्राफिक नियम पालना गर्नुलाई सडक–संस्कृतिकै रूपमा अघि बढाउनुपर्छ । यो असल नागरिक बन्ने मार्ग पनि हो । 

माथि विमर्श गरिएजस्तो ‘आवाजसहितको ट्राफिक लाइट’ को अवधारणा एक दृष्टिविहीन व्यक्ति रमेश पोखरेलले ल्याएका थिए । २०५८ सालमा तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री राजेन्द्र खरेलले भद्रकाली नजिकै भोटाहिटीको आकाशे पुलनेर ‘आवाजसहितको ट्राफिक लाइट’ कार्यक्रम उद्घाटन पनि गरेका थिए । तर, ३ दशकअघिको दृष्टिविहीनमैत्री त्यो ट्राफिक कार्यक्रम ओझेलमा पर्नु दुःखद छ । कतै–कतै प्रयास गरिए पनि यो अभियान प्रभावकारी ढंगले अघि बढेको छैन । र, ‘आवाजसहितको ट्राफिक लाइट’ ले अपांगता भएका व्यक्तिमा हौसला पनि थप्नेछ । 

–आचार्य राष्ट्रिय मानवअधिकार आयोग, कर्णाली प्रदेश– जुम्लाकी कार्यालय प्रमुख हुन् ।

कल्पना

Link copied successfully