मंसिरभित्रै महाधिवेशन

कांग्रेस राजनीति फगत गुटगत लडाइँ होइन, देश र जनताप्रतिको कर्तव्य निर्वाह पनि हो, कांग्रेसले मंसिर मसान्तभित्र महाधिवेशन सम्पन्न गरेर सम्पूर्ण देश र प्रजातान्त्रिक विश्वलाई रचनात्मक सन्देश दिनैपर्छ ।

कार्तिक १०, २०८२

गुरुराज घिमिरे

General convention to be held within November

What you should know

व्यक्ति, संस्था वा राष्ट्रको आ–आफ्नै सार्वभौमिकता हुन्छ र यो आफैं वा स्वयंमा निहित रहन्छ । तर, कहिलेकाहीँ व्यक्तिको सार्वभौमिकता संस्था वा राष्ट्रसामु गौण वा अन्तर्गत रहन्छ । देशसामु नागरिक, संस्थासामु सदस्य ‘सेकेन्डरी’ हुन्छ । यो विषय सबै क्षेत्रमा लागू हुन्छ, राजनीतिमा पनि । 

बहुदलीय शासन प्रणालीमा सधैंभरि राजनीतिक दल प्रमुख हो, सदस्य गौण । तर, सदस्यहरूको सामर्थ्य, योगदान, अठोट र निष्ठाको जगमा दल उभिएको हुन्छ । त्यसैले नेता सर्वोपरि र सदस्य गौण हुन सक्दैन । नेता पनि दलको सदस्य नै हो, भूमिका मात्रै तल–माथि हुन्छ । त्यसैले हरेक सदस्यको सार्वभौमिकता ऊ स्वयंमा निहित हुन्छ । समग्र दल वा संस्था मात्रै सर्वोपरि हुने भएकाले यहाँ कोही कसैको अधीनमा चल्ने, कोही मालिक र कोही कामदार हुन सक्दैन । झन् प्रजातान्त्रिक पार्टीमा त यस मान्यताको प्रत्यक्ष र प्रभावकारी अभ्यास हुनु असाध्यै जरुरी छ । संसारैभरि जहाँ इमानदार अभ्यास भयो, प्रजातान्त्रिक प्रणालीले जरो गाड्यो । जहाँ इमानदार अभ्यास भएन, त्यहाँका नागरिकले दुःख पाए । हामी नेपाली अझैसम्म यस्तो दुःख झेलिरहेकै छौं । अहिलेको मूल समस्या पनि यही हो । हाम्राजस्ता पछौटे मुलुकहरूमा प्रजातन्त्रका नाममा नेतातन्त्र चल्नुको कारण पनि यही नै हो ।

बहुमतको निवेदन 

अब थोरै चर्चा गरौं, कांग्रेसका महाधिवेशन सदस्यहरूले असोज २९ मा विशेष महाधिवेशन बोलाउन केन्द्रीय कार्यसमितिलाई निवेदन दिएको सन्दर्भमा । यो वर्षको प्रारम्भदेखि नै कांग्रेसका सदस्यहरूले समयमै महाधिवेशन हुनुपर्ने विषयमा जोड दिँदै आएका थिए । तर, यस विषयमा पार्टीको उच्च तह गम्भीर देखिएन । एक प्रकारले नसुनेझैं र थाहा नपाएझैं गर्‍यो । यो कुराले पार्टीका नेता–कार्यकर्ता निराश र तनावग्रस्त थिए । यो अवधिमै देशको अवस्था क्रमिक रूपमा बिग्रँदै गयो र अन्ततः दलहरूले सत्तामाथिको नियन्त्रण गुमाए । यसलाई जनविश्वास गुमाएको पनि मान्न सकिन्छ । आखिर यस्तो परिस्थिति किन आयो ? यसको कारण के हो ? यसका लागि जिम्मेवार को ? र, अब कसरी अगाडि बढ्ने ? यसको वस्तुनिष्ठ विश्लेषण गरी तार्किक निष्कर्षमा पुग्नु ऐतिहासिक आवश्यकता हो ।

अझ जनताले बारम्बार विश्वास गरेको कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीका निम्ति त अपरिहार्य नै हो । त्यसैले नेपाली कांग्रेसका बहुमत सदस्यहरूले गुट–निरपेक्ष भएर देशको पछिल्लो राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सकेसम्म मंसिर मसान्तसम्ममा नियमित १५ औं महाधिवेशन, नत्र विशेष महाधिवेशन आयोजना गर्न केन्द्रीय समितिसमक्ष लिखित निवेदन दिएका हुन् । यो पार्टी विधानले महाधिवेशनका सदस्यहरूलाई प्रदान गरेको सुविधा वा विशेषाधिकार हो र यो अनतिक्रम्य पनि छ । देशमा विद्यमान असामान्य परिस्थितिमा केन्द्रीय समितिसमक्ष विशेष महाधिवेशन बोलाउन पाउने अग्राधिकार सुरक्षित छँदै छ ।

बैठकमा ढिलाइ 

जेन–जी आन्दोलनले देशमा उथलपुथल ल्याएको एक महिनाभन्दा ढिलो, गत असोज २६ बाट कांग्रेसको केन्द्रीय बैठक सुरु भएर कात्तिक १३ सम्मका लागि स्थगित छ । पुराना केन्द्रीय नेता ऋषिकेश गौतमको निधनमा शोक व्यक्त गर्दै पार्टीका गतिविधि स्थगित गर्नु स्थापित परम्परा नै हो र यो स्वाभाविक पनि थियो । तथापि देशको अवस्था हेरेर यति लामो समय बैठक सार्नु वाञ्छनीय थिएन । यसले एकातिर हामी परिवर्तित राजनीतिक अवस्थाप्रति कति गम्भीर छौं भन्ने विषयको मापन गर्छ भने अर्कोतिर पार्टीभित्र उठेको विशेष महाधिवेशनको वैधानिक माग वा प्रचण्ड दबाबलाई नजरअन्दाज गर्न वा पन्छाउन खोजिँदै छ भन्ने आभास मिल्छ । त्यसैले यतिबेला पार्टी नेतृत्व मात्रै होइन, अन्य सबै राजनीतिक दलहरू र सचेत प्रजातान्त्रिक विश्वले समेत कांग्रेसका गतिविधिहरू नियालेर हेरिरहेको छ ।

सबैभन्दा दुःखको विषय त के छ धेरै वर्षदेखि पार्टी सञ्चालनमा निर्णायक रहेका नेता गण पार्टी बैठकभित्र र सार्वजनिक सञ्चारमाध्यममा महाधिवेशनका मागकर्ता आफ्नै साथीहरूप्रति शत्रुता–भावसाथ गाली गरिरहेका छन् । यसले नराम्ररी जग हँसाएको छ । यो कांग्रेसजस्तो उदार प्रजातान्त्रिक पार्टीलाई सुहाउने कुरा होइन । मुख्य कुरा त कांग्रेस राजनीति भनेको फगत गुटगत लडाइँ होइन, देश र जनताप्रतिको कर्तव्य निर्वाह पनि हो ।

महाधिवेशनको आवश्यकता किन ?

केही वर्षयता नेपाली कांग्रेसका आन्तरिक गतिविधिहरू तदर्थवादी ढंगले चलिरहेका छन् । समयको हरेक मोडमा हुने निर्णयहरूमा पार्टी नेतृत्वले कामचलाउ समाधान मात्रै खोजेको देखिन्छ । यसले पार्टीका सदस्यहरू र समग्र संस्थाको जुझारुपन अर्थात् ‘मिलिट्यान्सी’ मा खिया लाग्न थालेको छ । यसको प्रमाण पार्टीका भ्रातृ संगठन खासगरी नेविसंघ, तरुण दललगायत हुन्, जसको मैदान अन्ततः जेन–जी आन्दोलनले खोसेको वा ‘अकुपाइड’ गरेको छ । कांग्रेस र अन्य राजनीतिक दलका लागि योभन्दा लज्जाजनक अवस्था के हुन सक्छ ? केही रेडिमेड मान्छे भेला पारेर ‘आउटडेटेट’ नेताको वरिपरि उफ्रिपाफ्री गर्दैमा विगतको अकर्मण्यता छोपिन्छ र ? धन्न कांग्रेसले भने सार्वजनिक रूपमा त्यसो नगरेर थोरै भए पनि इज्जत जोगाएको छ ।

तर, पार्टीभित्रको आन्तरिक राजनीति भने निकै भद्दा र टीठलाग्दो देखिन्छ । आफ्नो दल र समग्र देशलाई लथालिंग पारेर निहित स्वार्थमा रमाउँदा आजको दिन आएको होइन र ? जति पटक काम बिगारे पनि पार्टी र राज्यको ओहदा छाड्नु नपर्ने सुविधा कुन प्रजातान्त्रिक मुलुकमा छ ? के यो प्रजातान्त्रिक प्रवृत्ति वा चरित्र हो र ? यसको उपयुक्त र समुचित जवाफ देश र जनताले खोजेका छन् । 

प्रजातान्त्रिक विश्वविद्यालय वा गुरुकुलको प्राचार्य वा अध्यापक मानिएको कांग्रेस पार्टी र यसको नेतृत्वले कार्यवाहक तोकिदिएर महाधिवेशन सम्पन्न गर्न मार्गप्रशस्त पनि गरिदिएको छ । अब हाम्रो परीक्षा सुरु भएको छ । लामो समय नेतृत्व दिएका वयोवृद्ध नेताले बाटो छाडिदिँदा हामी ऊर्जाशील ठान्ने नेतृत्व जमातले देशको विशेष परिस्थितिमा पार्टीलाई एकढिक्का राखेर अघि बढ्न सक्छौं कि सक्दैनौं, दुनियाँले नियालिरहेको छ । यसको स्पष्ट हिसाबकिताब इतिहास र नयाँ पुस्ताले राख्नेछ । आफ्नाविरुद्ध अनगिन्ती प्रश्न उठेका बेला एमाले नेतृत्वले पार्टी विधान नै परिवर्तन गरेर उमेरहद हटाउने काम गरेको छ । यसबाट ‘मेरो विकल्प मै हुँ’ भन्ने एमाले नेतृत्वको अधिनायकवादी चरित्र उदांगो भएको छ । माओवादी केन्द्र त यसै पनि झन्डै साढे तीन दशकदेखि पुष्पकमल दाहालको नेतृत्वमा चलिरहेको छ । मंसिरभित्र विशेष महाधिवेशनको डंका पिटे पनि केन्द्रीय समिति विगठन गरेर आफैं संयोजक बनेका दाहालले नेतृत्व छाड्ने कुनै सम्भावना छैन । मानिसहरूको अनुमान के छ भने पार्टी रसातलमा पुगे पनि दाहालले नेतृत्व छाड्दैनन् । उनीहरूको सिद्धान्तले नै ओहदा त्याग गर्न सिकाएको छैन । जुनसुकै साधन वा माध्यम प्रयोग गरेर भए पनि बढीभन्दा बढी हासिल गर्नु दाहालहरूको मुख्य धर्म हो ।

अरू राजनीतिक दलले के गर्लान् ? त्यो छुट्टै विषय हो । कांग्रेसले मंसिर मसान्तभित्र आफ्नो महाधिवेशन सम्पन्न गरेर सम्पूर्ण देश र प्रजातान्त्रिक विश्वलाई ठोस र रचनात्मक सन्देश दिनैपर्छ । अबको महाधिवेशनले केन्द्रीय समितिको निर्वाचन मात्रै होइन, आजसम्मको हाम्रो राजनीतिक यात्राको समग्र र वस्तुनिष्ठ विवेचना गर्नैपर्छ । अहिलेसम्म हासिल भएका राजनीतिक उपलब्धिप्रति गौरव गर्दै भएका कमीकमजोरी र गल्तीहरूलाई निःसंकोच स्वीकार गर्नुपर्छ । जनताले प्रत्यक्ष देखेको गल्ती र त्यसको कारण भोगेको दुःख छिपाउन खोज्नु हुँदैन । हामी ८० वर्षका भयौं । यो उमेरको संस्थाले आफ्नो गल्ती ‘रियालाइज’ गर्न हिचकिचाउनु हुँदैन । हामीबाट भएको होइन भन्न पाइँदैन । देशमा यत्रो भीषण जेन–जी आन्दोलनमार्फत अकल्पनीय राजनीतिक परिवर्तन भएको छ । अनेक मुद्दा र मागहरू सतहमा आएका छन् । यसको सम्बोधन कसरी गर्ने ? देशको आजसम्मको (सम्भवतः भोलि पनि) ठूलो र प्रजातान्त्रिक पार्टीले आजैबाट गहन छलफल र बृहत् तयारी गर्नुपर्छ ।

अबको हाम्रो घरेलु तथा वैदेशिक नीति के हुने, पार्टीको संरचनात्मक सुधार र यसका लागि विधान संशोधन, यसमार्फत नयाँ पुस्तालाई आकर्षक स्थान र भूमिकाको सुनिश्चितता र हाम्रो भविष्यको सुस्पष्ट मार्गचित्र तयार गर्नु आवश्यक छ । पार्टीका नेता–कार्यकर्ताहरूमा फैलिएको निराशा, तनाव र अन्योललाई कसरी चिर्ने ? यसको एउटा मात्रै माध्यम महाधिवेशन हो । महाधिवेशन १५ औं होस् वा विशेष, मंसिरभित्र गरिसक्नुपर्छ किन्तु, परन्तु गर्न पाइँदैन । र, यो हामी गर्न सक्छौं ।

परतन्त्रता अर्थात् दासताको पिँजडा 

‘परतन्त्रताको पिँजडा यति खतरनाक हुन्छ कि हरेक प्राणीको आफ्नो स्वत्व हराउँछ र दासतालाई नै जन्मको उद्देश्य, कर्तव्य र सार्थकता ठान्दछ ।’ –अज्ञात 

लामो समय पिँजडामा राखेको पन्छीको ढोका खोलिदिँदा पनि उडेर भाग्न वा पर जान सक्तैन, आफूलाई कैद गर्ने मालिककै वरिपरि घुमिरहन्छ किनकि उसले आफ्नो शक्ति थाहा पाउन र स्वतन्त्रतापूर्वक बाँच्न बिर्सिसकेको हुन्छ । वर्षौं दाम्लोमा बाँधेर राखेको गाईबस्तु दाम्लो खोलिदिए पनि दौडिन खोज्दैन, मालिककै वरिपरि घुमिरहन्छ । के हामी नेपाली र खासगरी राजनीतिक दलका सदस्यहरू मान्छेबाट दास भइसकेका हौं त ? के हामीले मानिस भएर सोच्न छाडिसकेका हौं त ?

नेपालमा अर्थात् हाम्रो देशमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको झन्डै चार दशक बित्न लागेको छ । यस अवधिमा विकासका सामान्य कामहरूबाहेक समग्र देशको प्रतिष्ठा, आत्मसम्मान र नागरिकको स्वाभिमान कायम हुन सकेन । नयाँ पुस्ताले आफ्नै देशमा भविष्य नदेख्नु सामान्य विडम्बना होइन । हरेक दस/पन्ध्र वर्षमा सम्पूर्ण नेपालीहरू एकैसाथ निराश भएर ठूलो संख्यामा सडकमा निस्किएर तातो गोली खानुपर्ने कुनै देशी/विदेशी षड्यन्त्र मात्र हुन सक्तैन । यो सरासर हाम्रो अकर्मण्यता, नालायकी र गैरजिम्मेवारी हो । यसको स्विकारोक्ति अझसम्म पनि छैन । यसलाई सामान्यीकरण गर्नु हुँदैन ।

नेपालले एक शताब्दीभन्दा ज्यादा जहानियाँ शासन झेलेको हो । सात दशकअघि नै राणातन्त्रको निरंकुशताबाट मुक्त गरी हामीले नेपालीहरूलाई रैतीबाट नागरिक बनाएको अकाट्य इतिहास छ, जसको परीक्षण फेरि आवश्यक छैन । त्यसैले अहिले नेपाली कांग्रेसका बहुसंख्यक नेता–कार्यकर्ता यथास्थितिबाट अघि बढ्न सहमत भएर, संस्थाको पुनर्जीवन र रूपान्तरणका निम्ति पार्टी पुनर्गठनको अग्रगामी कदम चाल्न अग्रसर भएका छन् । के हामी यतिबेला राजनीतिक रूपमा स्वस्थ छौं त भन्ने प्रश्न अहिलेको मुख्य प्रश्न हो । र, यसको उपचार कसरी गर्ने त ? यसको सही उपचार पार्टीको सर्वोच्च वैधानिक थलोमा एकैसाथ भेला भएर उपयुक्त समाधान खोज्नु हो । 

यस सन्दर्भमा पार्टीभित्र विवाद गर्नु उपयुक्त हुँदैन । पार्टी र देशमा संकट आइलागेका बेला घर सल्लाह गर्नुको विकल्प छैन । यो एक प्रकारले प्रायश्चित सभा पनि हो, जहाँबाट हामी नवीकृत एवं ऊर्जाशील भएर ब्युँझिने छौं, बेहोसीबाट होसमा आउने छौं र परतन्त्रताको दाम्लो सदाका लागि चुँडिनेछ ।

सुध्रिने अन्तिम मौका, नत्र पुरिन्छौं

प्रकृतिका नियमहरू शाश्वत अर्थात् अकाट्य र अनन्त हुन्छन्, जसलाई उल्लंघन गर्न खोजे धेरै तलबितल पर्न सक्छ । सामान्यतया यस्तो कसैले सोच्दैन र उसले हरेक नियमलाई निष्ठापूर्वक पालना गर्छ । यो आफ्नै गति र लयमा बग्ने र चल्ने गर्छ । मानिस प्रकृतिको सुन्दर उपज हो र एक प्रकारले गहना नै हो । मानिसकै कारण प्रकृति लोभलाग्दो देखिएको छ र कहिलेकाहीँ डरलाग्दो पनि देखिन्छ । र, मानिसको सिर्जनात्मक तथा अन्वेषणात्मक मस्तिष्कले अझ सुन्दर बनाउने परिकल्पना गरिरहन्छ तथापि भयानक संक्रमण आइरहन्छन् । 

प्रकृतिको अभिन्न भूभागका रूपमा रहेको एउटा देश विशेष पनि मानव मस्तिष्ककै उपज हो । उच्च चेतना वा महत्त्वाकांक्षा भएका अग्रणी मानिसहरूले यसको रचना गरेका हुन् । यसमा वैयक्तिक र सामूहिक दुवै स्वार्थ अन्तर्निहित छन्, जसका कारण बेलाबेलामा यहाँ उतारचढाव आइरहन्छन् । समय क्रममा शासन सञ्चालनका विधि र प्रणाली बनेका हुन् । यसैको सहउत्पादन हुन् विभिन्न शासन प्रणाली र राजनीतिक दलहरू । दलहरू विधायक संस्था हुन् । दल नेता विशेष वा गुट विशेषका प्रभाव क्षेत्र होइनन् । त्यसैले यिनीहरू विधिपूर्वक चल्नुपर्छ । अहंकार, उन्माद र आधारहीन महत्त्वाकांक्षा प्रजातान्त्रिक शासन प्रणालीका मुख्य शत्रु हुन् । यस्तो चरित्र दलहरूमार्फत अभिव्यक्त हुने गरेका छन् । संसारभरि यस्ता प्रवृत्तिहरू देखिने गर्छन् । जहाँ–जहाँ देखिए, त्यहाँ–त्यहाँ ठूल्ठूला दुर्घटना भए । हामी पनि अपवाद रहन सकेनौं । यसबाट चेत्ने कि नचेत्ने ? 

यति ठूलो सबकपछि नियतिले हामीलाई सुध्रिने अन्तिम मौका दिएको छ । यसको हेक्का रहोस्, नत्र आफैंले सिर्जना गरेका विकृतिका इमारत र त्यसैको भयानक भग्नावशेषमा पुरिने छौं । कुनै अवतार, वाद, विज्ञान वा प्रविधिले हाम्रो उत्खनन गर्न सक्ने छैन ।  

गुरुराज गुरुराज घिमिरे नेपाली कांग्रेसका नेता हुन् ।

Link copied successfully