पटाका नपड्काऔं, मिठाई स्वास्थ्यमैत्री बनाऔं

तिखो आवाजले फिर्ता हुन नसक्ने गरी कानको भित्री नसा कमजोर हुन सक्छ भने पड्काइले कानको जाली फुटन सक्छ, जुन आफैं वा शल्यक्रियाद्वारा ठीक हुन्छ । यसले कान कराउने समस्या स्थायी वा अस्थायी रूपमा देखिन सक्छ । ५० डेसिवलभन्दा बढी आवाज कान तथा स्वास्थ्यका लागि हानिकारक हुन्छ भने १२५ डेसिवल बढीले कानको पर्दालाई नोक्सान पार्छ र तथा श्रवणशक्ति गुम्न सक्छ ।

कार्तिक ४, २०८२

डा. प्रकाश बुढाथोकी

Let's not burst crackers, let's make sweets health-friendly

What you should know

तिहार, न्युँदया भिन्तुना, छठलगायत चाडबाड नेपालीहरूमा प्रिय छ । जति उज्यालो र सफा मिठाई हुन्छ– पर्व त्यति नै सुन्दर र सुस्वादु हुन्छ । लक्ष्मी खुसी हुन्छिन् भन्ने मान्यताले नै सरसफाइ, झिलिमिली र गुलिया–रंगीन मिठाईलाई महत्त्व दिइएको हो । 

पटाका दीपावली, तिहार र छठमा अत्यधिक खपत हुने पटाकाका नकारात्मक पक्ष अनगिन्ती छन् । यसबाट प्रताडित हुनेमा अधिकांश महिला, १८ वर्ष कम उमेरका बालबालिका र त्यसमा पनि मधेशमा बढी हुन्छन् । पटाकामा एउटा आवाजको र अर्को पड्काइ वा ब्लास्टको प्रभाव हुन्छ ।

तिखो आवाजले फिर्ता हुन नसक्ने गरी कानको भित्री नसा कमजोर हुन सक्छ भने पड्काइले कानको जाली फुटन सक्छ, जुन आफैं वा शल्यक्रियाद्वारा ठीक हुन्छ । यसले कान कराउने समस्या स्थायी वा अस्थायी रूपमा देखिन सक्छ । ५० डेसिवलभन्दा बढी आवाज कान तथा स्वास्थ्यका लागि हानिकारक हुन्छ भने १२५ डेसिवल बढीले कानको पर्दालाई नोक्सान पार्छ र तथा श्रवणशक्ति गुम्न सक्छ । 

पटाकामा भएको नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, क्याडमियम, सिसा, तामा, म्यागनिज, सोडियम, सल्फर, म्याग्नेसियम, पोटासियमलगायत हानिकारक प्रदूषकले ब्रोङ्काइटिस जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउँछन् । सास र दमको समस्या हुनेहरू धूवाँबाट बच्नुपर्छ । बच्चाहरू संवेदनशील हुन्छन् । त्यसैले पटका पड्कँदा निस्कने आवाज, हानिकारक प्रदूषकसँगै बारुदका कण फैलिँदा बालबालिकामा केही समय सास फेर्न अप्ठ्यारो हुने, आँखा, नाक सुक्खा हुने समस्या हुन्छ । आतिशबाजी र पटकाले आगजनी मात्र हुँदैन बरु आँखामा चोट पुग्न सक्छ, आँखाको ढकनी च्यातिन सक्छ, दृष्टि गुम्न सक्छ, हृदयाघात, रक्तचाप, दम, छाला, सास, नाकको एलर्जी, ब्रोङ्काइटिस, निमोनिया, कानको जाली च्यातिने, कान कराउने, श्रवणशक्ति नोक्सान हुने, हात–खुट्टा जल्ने, टाउको दुख्ने, अनिद्रा हुने तथा कहिलेकाहीं ज्यानै जानेसमेत दर्जनौं स्वास्थ्य समस्या आउन सक्छ ।

गुलिया मिठाई 

चाडपर्वको बेला खानेकुरामै ज्यादा ध्यान केन्द्रित हुन्छ र जीवनशैली अनियमित हुन्छ । हामी पर्व मनाउने तरिका अस्वस्थकर बनाउँछौं र विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिन्छौं । जस्तो– ट्राइग्लिसिराइड, युरिक एसिड, सुगर, उच्च रक्तचाप । 

पर्वमा गुलियो खानेकुराको स्थान सबैभन्दा उच्च छ, चिनी गुलियो हुन्छ, सबैलाई मन पर्छ तर चिनीले तत्कालै शक्ति दिनेबाहेक कुनै फाइदा दिँदैन तथा स्वास्थ्यका लागि उपयुक्त हुँदैन । गुलियोले सेतो रक्तकोषहरू कमजोर बनाउँछ । ग्लुकोजको रासायनिक बनोट भिटामिन सीसँग मिल्दोजुल्दो भएकाले रगतमा ग्लुकोज बढ्दा कोष कोषमा बस्छ, जसले एकातिर भिटामिन सीको कमी भई रोगविरुद्ध लड्ने शक्तिमा ह्रास हुन्छ भने अर्कोतिर इन्सुलिन बढाई ग्रोथ हर्मोनको उत्पादन कम हुन्छ र इम्युनिटी घटाउँछ ।

इन्सुलिनले शरीरमा ट्राइग्लिसिराइडको मात्रा बढाउँछ, बोसो भण्डारण गर्छ, जसले मुटुधमनीका रोगहरू र उच्च रक्तचाप निम्त्याउन सक्छ । धेरै वा पटक पटक चिनी वा गुलियो परिकार खानेहरूमा चाँडै नअघाउने, मोटोपना हुने, खनिज तत्त्वको सञ्चित र भण्डारणमा कमी हुने समस्या देखा पर्छन् ।

शिशुहरूमा दाँतको समस्या देखिन्छ । अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमी, झर्किने तथा डिप्रेसनदेखि मिर्गौलामा नकारात्मक असर पार्ने, शरीर सुन्निने, पेटको समस्या हुने, हड्डी खिइने, टाउको दुख्ने, माइग्रेसनसम्मका समस्या बढी हुन्छ । आजकल त झनै खाद्य सचेतना तथा दीर्घरोगको जोखिम कम गर्न भन्दै चिनीभन्दा ५ सय गुणा बढी गुलियो रसायन स्याकरिनको प्रयोग बढ्दो छ । केही रुपैयाँमा पाइने ५० ग्राम स्याकरिनले ३० किलो बढी चिनीको काम गर्ने बताइन्छ । मासुले पनि विभिन्न रोग निम्त्याउँछ, तनका साथै मन पनि अस्वस्थ बनाउँछ । पर्वहरूमा मासु पनि बढी खपत हुन्छ । 

रंगीन मिठाई 

अखाद्य मिठाई–पदार्थले शरीरमा दीर्घकालीन असर पारिरहन्छ । सडकको धूवाँ, धूलोले एकातिर मिठाई दूषित बनाउँछ, अर्कोतिर झिंगा, कीराले त्यसलाई विषाक्त र संक्रमित पनि । 

कुनै पनि परिकार पहिले आँखाले नै देख्छ र राम्रो लागेमा जिब्रो रसाउँछ, मुखमा र्‍याल आउँछ यो कुरा रंगीबिरंगी मिठाईमा झनै लागू हुन्छ । किन्दा इन्द्रिय आँखाले ‘यो खाऊ’ भनेर माग्छ र किन्छौं । आँखालाई के थाहा उपयुक्त छ कि छैन, स्वाद जिब्रोले थाहा पाए पनि शुद्ध र गुणस्तर त पछि शरीरले थाहा पाउने हो । रङको चाड होली भए पनि रङको बढी चर्चा तिहारमा हुने गर्दछ ।

मृत्यृको कुनै रङ हुँदैन, तर मृत्यृका लागि कारणचाहिँ पक्कै पनि हुन्छ । दैनिक रूपमा ताजा तरकारी र फलफूलको उपभोग गर्दा हुने फाइदाबारे हामी सबै अनभिज्ञ छैनौं तर यिनमा मिलाइने विभिन्न रङ मानिसको मृत्यृको कारक बन्दैछ ।

विभिन्न प्रकारका रङ– सिम्रिक, सिन्दुर, अबिर, नीर, रोडामिन बी, ब्रिलियन्ट ग्रीन, मालाचिट ग्रिन, मेटालिन एल्लो, ओरेन्ज, जी नेप्थोल, एल्लो एस, अउरामिन, केशरी तथा चम्पारङ र बढी मात्रामा खाद्य रंगहरू क्यारोटिन, एनाटो, विकजिन, कार्नेन, खैरो चिनी इत्यादि तथा एडेटियो पिर्जरभेटिभहरू प्रयोग गरिएका खानेकुरा खाँदा कतिपय अवस्थामा प्रत्यक्ष हानि गर्छ, कतिपय बेला स्वास्थ्यमा दीर्घकालीन असर पर्छ ।

रङमिश्रित वा दूषित घिउ, तेलको प्रयोगले रक्तकोषिकाहरू विषाक्त भई शरीरमा रगत कम हुने समस्या बढ्छ, रोगसँग लड्ने क्षमता घट्छ । भित्री कोमल अंगहरू जस्तै कलेजो, मुटु, मिर्गौला, कमजोर हुन्छन् । क्यान्सर हुने सम्भावना बढेर जान्छ । चर्मरोग लाग्ने प्रबल सम्भावना हुन्छ । बाँझोपन हुन सक्छ, आँखा, कान कमजोर हुन सक्छ । सन्तान लुला, लंगडा हुन सक्छन्, ट्युमर, क्यान्सर हुन सक्छ । पुरुषत्व नाश हुने, मिर्गौला तथा कलेजोमा घाउ हुने र छालामा दीर्घरोग देखिन सक्छ । 

मानवीय संवेदनाको ख्यालै नगरी चाडबाडको मौका छोपी बढी नाफा कमाउन खाद्य पदार्थमा खतरनाक रङ, रसायन, औषधि प्रयोग, कालोबजारी रोक्न सरकारको कडा नियम–कानुन, अनुगमन र नियन्त्रण जरुरी छ । उपभोक्तामा पनि सचेतना आउनुपर्छ । जबसम्म उपभोक्ता सचेत हुँदैनन्, तबसम्म खाद्य विषाक्तता र कालोबजारी बढेको बढ्यै हुनेछ ।

डा. प्रकाश बुढाथोकी बुढाथोकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन् ।

Link copied successfully