त्यसको स्वीकार्यता र फैलावट पनि बढ्दै गएको छ । नेपालमा पनि एउटा धर्मावलम्बी र समुदायले मनाउने चाडपर्वलाई अन्य धर्मावलम्बी र समुदायले मनाउन थालेको पाइन्छ । नेपाल जस्तो इन्द्रेणी समाजमा लागि यो ठूलो सामाजिक पुँजी हो । यसले फरक समुदायप्रति समभाव राख्न र राष्ट्रिय एकता निर्माण गर्न भूमिका खेल्छ ।
What you should know
मौसम चिसो हुँदै गएको छ । घरघरमा झिलिमिली बत्ती सजाइएका छन् । रंगोली बनाइएका छन् । सेलदेखि अनरसासम्मका मिठाई पाक्न थालेका छन् । ढकमक्क फुलेका सयपत्री तथा मखमली सुन्दर मालामा उनिन थालेका छन् । बजारमा किनमेलको घुइँचो छ । मेला लागेका छन् ।
चाडपर्वहरू मिथकका वर्णन, तिथिमितिका नियमित उपक्रम र क्यालेन्डरका सूचना मात्रै नभएर प्रकृतिमा आउने परिवर्तन र मानिसका अनुभूतिको संयुक्त स्वरूप पनि हुन् । यतिबेलाको माहोल त्यसैगरी तिहारमय छ । हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो पर्वमा मानिस मग्न भइरहेका छन् ।
तिहारको मिथक मृत्युका देवता भनिने यमराज र बहिनी यमुनासँग जोडिन्छ । यमराजले आफ्नो कार्यभारबाट विश्राम लिएर बहिनी यमुनाको घरमा गएका थिए । यमुनाले यमराजको उपस्थितिबाट हर्षित भएर पूजा गरेकी थिइन् । पाँच दिनसम्म पूजा गरेकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तर मिथक त सन्दर्भ सामग्री मात्रै हुन्, चाडपर्वले समयक्रमअनुसार आफूलाई बदल्दै गएका छन् ।
त्यसको स्वीकार्यता र फैलावट पनि बढ्दै गएको छ । नेपालमा पनि एउटा धर्मावलम्बी र समुदायले मनाउने चाडपर्वलाई अन्य धर्मावलम्बी र समुदायले मनाउन थालेको पाइन्छ । नेपाल जस्तो इन्द्रेणी समाजमा लागि यो ठूलो सामाजिक पुँजी हो । यसले फरक समुदायप्रति समभाव राख्न र राष्ट्रिय एकता निर्माण गर्न भूमिका खेल्छ ।
तिहार पाँच दिनसम्म मनाइन्छ । पहिलो दिन यमराजको सन्देशवाहकका रूपमा शुभ समाचारको आशा राख्दै कागलाई मीठो खुवाएर काग तिहार मनाइन्छ । दोस्रो दिनको यमराजको द्वारपालका रूपमा कुकुरलाई टीका र माला लगाउँदै मिठो खुवाएर कुकुर तिहार मनाइन्छ । तेस्रो दिन गाई र चौथो दिन गोरुलाई पनि टीका र माला लगाउँदै खानेकुरा दिइन्छ । गाई तिहारकै दिन धनकी देवी लक्ष्मीको पनि पूजा गरिन्छ । अन्तिम दिन दिदी–बहिनीले दाजुभाइको दीर्घायु र समृद्धिको कामना गर्दै टीका र माला लगाइदिन्छन् । मिठाई तथा फलफूल दिन्छन् । दाजुभाइले पनि उपहार दिन्छन् ।
मिथकमा जस्ता व्याख्या गरिएको भए पनि तिहार मानव र प्रकृतिबीचको अन्तरसम्बन्धदेखि पारिवारिक एकता र सौहार्दको प्रतीक पनि हुन् । जस्तो कि, काग, कुकुर, गाई र गोरुलाई पूजा गरेर मान्छे र जीवजन्तुबीचको सहअस्तित्व र सम्मानलाई उजागर गर्छ । पर्यावरण र प्रकृतिको संरक्षणको सन्देश दिन्छ । भाइटीकाले पारिवारिक एकता अभिवृद्धि गर्छ । गाई पूजाकै दिन नेवार समुदायले ‘म्हः पूजा’ पनि गर्छन् । आफ्नो पूजा आफैंले गर्ने यस पर्वले स्वयंप्रति विश्वास जगाउन, आफैंप्रति कृतज्ञ हुन र आत्मचेतना अभिवृद्धि गर्न भूमिका खेल्छ । व्यक्तिले आफैंलाई निरीक्षण गर्दै सबलता अभिवृद्धिका लागि यसको भूमिका छ नै, एकअर्को समुदायको चाडपर्वको अन्तरघुलनलाई पनि प्रस्ट्याउँछ । यो अन्ततः सामुदायिक एकताको जग हो ।
तिहारको माहोल उज्यालो हुन्छ । त्यसैले पनि यसलाई प्रकाशको पर्व भनिन्छ । यो उज्यालो बाह्य वातावरणमा मात्रै होइन, मनभित्रको उज्यालो खोज्ने अवसर पनि हो । पारिवारिक भेटघाट गर्ने र फरकफरक खालका मिठाई पकाएर सामूहिक रूपमा खाइने भएकाले तिहार सामूहिक उत्सवको अवसर पनि हो । यसले पारिवारिक सम्बन्धलाई कसिलो र सौहार्द बनाउन भूमिका खेल्छ । धनतेरसदेखि लक्ष्मी पूजा जस्ता सन्दर्भले समृद्धिका लागि अग्रसर हुने अवसरका रूपमा अर्थ्याउँछ । यसले प्रकृतिप्रति चिन्तनशील हुन मद्दत गर्छ । सामुदायिक एकतालाई बलियो बनाउँछ । त्यसैले तिहारलाई धार्मिक मिथकको व्याख्यामा मात्रै सीमित राखेर खुम्च्याउनु हुँदैन । बरु यथाशक्य वर्तमान समय सन्दर्भ र प्राकृतिक/पर्यावरणीय संरक्षण र महत्त्वसँग जोड्नुपर्छ । यसप्रति जनजागरण बढाउनुपर्छ ।
तिहारको सांस्कृतिक महत्त्व जति छ, वर्तमान समयमा यसमा विकृति पनि भित्रिँदै गएको छ । मानिसले आफ्नो आर्थिक हैसियतभन्दा बढीको गतिविधि गर्दा ऋणमा फस्ने र पारिवारिक विग्रह निम्तिने गरेका पाइन्छन् । अनावश्यक खरिद गर्ने वा गर्नुपर्छ भन्ने मानसिकताले परिवार नै आर्थिक र सामाजिक दबाबमा पर्न थालेको छ । जसले चाडपर्वलाई खुसीको अवसरभन्दा पनि बोझका रूपमा परिणत गर्दै गएको छ । धेरै घरमा चाडपर्वमा अझै पनि पुरुषहरू रमाउने र खानपिनदेखि अन्य व्यवस्थापनको बोझ महिलालाई थपिने गर्छ । त्यसैले परिवारको आर्थिक क्षमताअनुसार समान सहभागितामा मनाउन सकियो भने समान खुसी प्राप्त गर्ने अवसर बन्छ ।
तिहारमा पटका पड्काउने अभ्यास पनि छ । यसले बालबच्चा र चराचुरुङ्गीलाई गम्भीर असर पुर्याउने गरेको छ । धूवाँ र ध्वनिले प्रदूषण फैलाउने गरेको छ । पटका पड्काउने क्रममा अंगभंग हुने र ज्याने जाने जोखिम पनि हुने गर्छ । अवैध रूपमा हुने यसको खरिदमा ठूलै रकम देशबाट बाहिरिन्छ । चाडपर्वमा जुवातास अर्को खराब अभ्यास हो । खासगरी पुरुषहरू जुवातासमा व्यस्त हुने गर्छन् ।
यसले व्यक्तिलाई चाडपर्व जस्तो अवसरमा पनि परिवारबाट अलग्याउँछ । सम्भावित हारले व्यक्ति र परिवारलाई नकारात्मक मनस्थितितर्फ धकेल्छ । चाडपर्वको उल्लासलाई निराशामा परिणत गर्छ । देउसी–भैलोले पनि परम्परागत महत्त्व गुमाउँदै गएका छन् । चर्को ध्वनिसहितका गीत बजाउने र पैसा असुल्नेतर्फ केन्द्रित देखिन्छ । तसर्थ तिहारको सांस्कृतिक महत्त्व जोगाउँदै, आधुनिक समय सन्दर्भअनुसार व्याख्या गर्दै र विकृतिलाई न्यूनीकरण गर्दै जान आवश्यक छ । तिहारको सबैलाई शुभकामना ।
