आफ्नो अधिकारका लागि शक्तिशाली प्रदर्शन गर्नु नागरिकको अधिकार हो तर समाजमा उत्पात मच्चाउने गरी आन्दोलनलाई किन दुरुपयोग गरियो ? जेन–जीको प्रतिष्ठाका लागि पनि विश्वासिलो अनुसन्धान आवश्यक छ ।
What you should know
जेन–जी आन्दोलनले सत्ता उथलपुथल ल्याएको एक महिना नाघिसकेको छ । तर दोस्रो दिन भएको आगजनी, तोडफोड र लुटपाटको रहस्य खुलस्त भइसकेको छैन । खासगरी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका युवाहरूमाथि किन क्रूर दमन भयो ? अर्को दिन विशाल प्रदर्शन हुने अपेक्षा गरिए पनि यो कसरी आगजनी, तोडफोड र लुटपाटमा परिणत भयो ? नेपाली समाजले चित्तबुझ्दो जवाफ पाएको छैन ।
केही घण्टाकै अन्तरालमा मानव सिर्जित यति ठूलो मानवीय र भौतिक क्षति नेपाली समाजले कहिल्यै देखेको थिएन ।तसर्थ, २३ र २४ भदौका मृत्युदेखि आगजनीसम्मका सम्पूर्ण घटनाको वैज्ञानिक अनुसन्धान अपरिहार्य छ ।
२३ भदौमा भएको जेन–जी आन्दोलनका लागि सबैभन्दा प्रभावशाली प्लाटफर्म थियो– ‘डिस्कर्ड’ । यहीँबाट आन्दोलन जन्मियो नै, आन्दोलनलाई यतैबाट निर्देशित गरियो । यद्यपि, भ्रष्टाचारविरुद्ध जेन–जीको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन कतिपय व्यक्ति सक्रिय रहेको देखिएको छ ।
उनीहरूले मोलोटोभ (पेट्रोल ककटेल बम) बनाउन सिकाउने, त्यसको प्रयोग गर्न उत्प्रेरित गर्ने, हतियार तस्करी गर्नुपर्ने, राष्ट्रिय सम्पत्ति र व्यक्तिका घरमा आगजनी गर्नुपर्ने, नेताहरूको हत्या गर्नुपर्ने, मन्त्री क्वार्टर लुट्नुपर्ने, विमानस्थलभित्रको पेट्रोल पम्प पड्काइदिनेजस्ता अभिव्यक्ति राखेका छन् । आफ्नो अधिकारका लागि शक्तिशाली प्रदर्शन गर्नु नागरिकको अधिकार हो तर समाजमा उत्पात मच्चाउने गरी आन्दोलनलाई किन दुरुपयोग गरियो ? जेन–जीको प्रतिष्ठाका लागि पनि विश्वासिलो अनुसन्धान आवश्यक छ ।
छद्म नाममा छलफलमा सक्रिय भएर हिंसात्मक गतिविधिलाई प्रेरित गरिएको छ । आन्दोलनलाई हिंसात्मक बनाउन गर्ने यी प्रयोगकर्ताको उद्देश्य अहिले सर्वत्र चासोको विषय बनेको छ । मुख्यतः ती प्रयोगकर्ता को हुन् ? हतियार निर्माण, तस्करीदेखि हिंसात्मक गतिविधिका लागि उत्प्रेरित गर्ने उनीहरूको मनसाय के हो ? उनीहरूका अभिव्यक्ति आन्दोलनका क्रममा देखिएको स्वाभाविक आक्रोश हो वा शंकास्पद पृष्ठभूमि पनि छ ? कतै पहिचान गोप्य राखेर स्थिति भड्काउन खोजिएको त थिएन ? सरकारले खोज्यो भने ती प्रयोगकर्ताको विस्तृत विवरण पत्ता लगाउन सक्छ । व्यक्ति पहिचान गरेर थप अनुसन्धान गर्ने हो भने थुप्रै रहस्य छिनोफानो हुनेछ ।
२४ भदौको आगजनीअघि ‘डिस्कर्ड’ संवादमा सोडियम, केमिकल, हतियार, मोलोटोभजस्ता शब्दहरू पटक–पटक प्रयोग भएका छन् । पेट्रोल बमको चर्चा पटक–पटक चल्नु, प्रदर्शनकारीले त्यसलाई व्यवस्थित ढंगले बोकेर हिँड्नु र ठाउँ–ठाउँमा पेट्रोल बम प्रयोग गर्नुले पूर्वतयारी थियो भन्ने देखिन्छ । राष्ट्रका महत्त्वपूर्ण भवन जलाउन विभिन्न रसायन प्रयोग गरिएको हुन सक्छ भन्ने आशंका बलियो छ । त्यसका लागि गम्भीर अनुसन्धान आवश्यक छ । रसायनको प्रयोग भए वा नभएको बारे यकिन गर्न प्रहरीले केन्द्रीय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट पर्खिरहेको छ । उसले केही नमुना प्रयोगशालामा पुर्याइएको र केही अझै संकलन गरेर पठाउँदै छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यको नेतृत्वमा ९ सदस्यीय छानबिन समिति गठन भएको छ । सरकारले समेत विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको छ । प्रयोगशालादेखि आयोगसम्मका रिपोर्टले धेरै रहस्यको जवाफ दिने अपेक्षा छ ।
२३ भदौमा भएको दमनको यथार्थ बाहिर आउनुपर्छ र दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ भन्नेमा शंका छैन । त्यस्तै २४ भदौको प्रदर्शनलाई उत्तेजक बनाउनेमाथि पनि कठोर अनुसन्धान हुनुपर्छ । आगजनीमा रसायनहरू प्रयोग भए वा नभएको पनि अनुसन्धान गरेर स्पष्ट पार्न सकिन्छ । विदेशमा आगजनीका भग्नावशेषबाट नमुना संकलन गरी फरेन्सिक जाँचमार्फत कस्ता रसायन प्रयोग गरिएको थियो भन्ने यथार्थ पत्ता लगाउने गरिन्छ । नेपालमा पनि अहिले त्यही अभ्यास जरुरी छ ।
२४ भदौमा देशभर नै आगजनी भएकाले नमुना संकलन कठिन काम होइन, यद्यपि यसका लागि ढिलाइ भने भएको छ । तर, यो प्राविधिक विकासको उपयोगको मात्रै सवाल होइन, समाजप्रतिको दायित्व पनि हो । किनकि, यति ठूलो घटनाको बढीभन्दा बढी विवरणका सत्यतथ्य खुलस्त हुनुपर्छ । नेपालीहरू आफ्नै अगाडि भएको आन्दोलनको प्रामाणिक सांगोपांगो थाहै नपाई षड्यन्त्रका पोका बोकेर बस्ने स्थिति बन्नु हुँदैन । षड्यन्त्र थियो भने कसले र कसरी गर्यो ? स्वाभाविक थियो भने कसरी स्थिति त्यस्तो बन्यो भन्ने खुल्नुपर्छ । यस्ता घटना कसरी गराइए, प्राविधिक रूपमा कसरी सम्भव भयो भन्ने पनि खुल्नुपर्छ । यो अहिलेको घटनाको रहस्य फुकाउन र भविष्यप्रति सचेत रहनका लागि आवश्यक छ ।
