हाम्रा चाडपर्वलाई बजारले गर्लम्मै अँगालो हालेको छ । हामी बजारको किनबेचमा फसेका छौं । बजारले नै हाम्रा आत्मीय भावनाहरूमाथि हस्तक्षेप गर्ने त होइन ?
What you should know
तीज, दसैं, तिहारले आफ्नै विशेषता बोकेका छन् । विशेषतः चाडपर्वमा महिलालक्षित सामग्रीको बिक्रीवितरण र प्रदर्शनको बाढी नै आएका हुन्छन् । गरगहना, फेसनअनुसारका परिधान चाडपर्वका लागि अत्यावश्यक सामग्री नै बन्ने गरेका छन् ।
टिकटकलगायतका सामाजिक सञ्जालका कारण पनि थरी–थरीका गरगहना, फेसन र कपडाहरूको माग बढ्दो छ, बजारमा । यी चाडबाडहरू कम खर्चिला भने छैनन् ।
हुन त यस्ता पर्वहरू उत्सव मनाउने क्रममा खर्चिलो बनाउने श्रेय पनि समाजका मानिसलाई नै जान्छ । अहिले तिहारको माहोल छ । विभिन्न खालका चाडपर्वहरू हाम्रा मौलिक सांस्कृतिक पहिचान हुन् भनिन्छ तर वर्गीय हिसाबले हेर्दा भने यिनै चाडपर्वहरू सम्पन्न र हुने–खाने वर्गका लागि उल्लास, हर्ष, उत्सवका रूपमा आउँछ । निम्न आय भएका समुदायलाई समाजमा आफ्नो उपस्थिति धान्न पनि मुस्किल पर्छ ।
कसैले धनवन्तरि दिवस, कसैले धनतेरस भन्दै तिहारको पहिलो दिनलाई स्वागत गरिरहेका छन् । देशका प्रमुख बजारमा किनमेलको भीडभाड छ । धनतेरसका दिन केही न केही ‘धन’, सुन, चाँदीका सिक्का या भाँडाकुँडा किन्न हतारिइरहेका मानिस निकै हुन्छन् । सोध्नेहरूले पनि सोधिदिन्छन्– धनतेरसमा के किनियो ?
धनतेरस या धनवन्तरि के हो भन्ने कुरा हामीले केलाएका छैनौं । तर धनतेरसको दिन केही न केही धन जोड्नुपर्छ भन्ने मनोविज्ञानमा भने हामी लागेका छौं । धनवन्तरि दिवस भनेर मिथक रहेछ, शास्त्रमा चाहिँ ।
धनवन्तरि देवतालाई आयुर्वेदका पिता पनि भनिने रहेछ । धनवन्तरिको अर्को कथामा देवता र राक्षसको समुद्र मन्थन कथा जोडिएको रहेछ । समुद्र मन्थन गरेर प्राप्त गरेका १४ वटा कलशमध्ये विषको कलशको व्यवस्थापन भगवान् शिवले गरेका र अमृतको कलश भगवान् धनवन्तरिमार्फत देवताहरूले अमृतपान गरेर स्वर्गलोकको पुनर्प्राप्ति गरे भन्ने किंवदन्तीअनुसार धनवन्तरि अमृतका या आयुर्वेदका देवताका रूपमा पुजिन थाले । समुद्र मन्थनकै समयदेखि कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिमा भगवान् धनवन्तरिको पूजा गरिन्छ भन्ने लोकोक्ति रहिआएको छ । धनको पूजा गर्ने कि धनवन्तरिको ? कहिलेकाहीँ लाग्छ, हामीलाई मिथकहरूले गोलचक्करमा घुमाएका छन् ।
तिहारकै महत्त्वपूर्ण दिन ‘लक्ष्मी पूजा’ पनि छ । धनसम्पत्तिलाई सम्मान गर्ने, पूजा आराधना गर्ने, घरपरिवार धनधान्यले भरिपूर्ण होओस् भनेर स्वैरकल्पना गर्ने दिन । लक्ष्मी खुसी पार्न धुमधाम दीपावली गरेर लक्ष्मीका पाइला बनाएर प्रतिमूर्ति स्थापित गर्दै दीपावलीका साथ लक्ष्मीको पूजाआजा गरिने यो पर्वले धनसम्पत्ति हाम्रो जीवनमा कति महत्त्वपूर्ण छ भन्ने कुरा छर्लंग पार्दिन्छ । हामी लक्ष्मी पूजास्थलमा त्यस्तै परे हामीसँग भएका नगद पनि फिँजाएर अर्चना गरिरहेका हुन्छौं । तर यी सबमा सहभागी भइरहँदा ‘लक्ष्मी पूजा’ गर्ने नगद या जिन्सी नभएका वर्गलाई मनोवैज्ञानिक असर त परिरहेको छैन ? जसरी पनि धनसम्पत्ति जोड्नुपर्ने दबाब त सिर्जना भएको छैन, देउसी–भैलो खेल्ने चलन तिहार पर्वको विशेषतामध्ये हो ।
पुरुषले देउसी अनि महिलाले भैलो खेल्ने भन्दै औंसीको रातमा छरछिमेकको आँगनमा गएर नाचगान गर्ने दन्त्य कथा गीतमार्फत भन्ने चलन आफैंमा एक भिन्न संस्कृतिका रूपमा त मान्न सकिएला । तिहारको देउसी–भैलोलाई नै उपयोग गरेर कतिपय समाजका महिला–पुरुषहरूले क्लब र समूहमार्फत पुस्तकालय निर्माण, एम्बुलेन्स खरिदजस्ता सामाजिक सेवाका लागि आवश्यक साधनको जोडजाम गरेका उदाहरणहरू पनि छन् । यसरी रमाइलो गरेबापत तिहारमा बनेका परिकार, दक्षिणा–भेटीहरू देउसी–भैलो समूहलाई दान गर्ने परिपाटीले समाजमा एकआपसमा मिलेर रहने शुभेच्छा पनि बाँडिरहेको हुन्छ ।
तर देउसी–भैलो कन्सर्टका रूपमा परिवर्तन भएको पनि धेरै भइसक्यो । एक थरी खुलेर दान गर्न सक्ने, अर्का थरी नसक्ने । यसतर्फ पनि हामीले विचार गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । देउसी–भैलोजस्ता पर्वलाई हस्तान्तरण गर्दै जाने हो भनेचाहिँ धेरैभन्दा धेरै परोपकारी कार्यमा सहभागिता गर्दै आगामी पुस्तालाई संस्कृति र परिमार्जनको उदाहरणका रूपमा पनि प्रस्तुत गर्नुपर्ने हुन्छ ।
तिहारमा थपिँदै आएका पटाका संस्कृति पनि सोचनीय छ । तिहार सुरु हुनअघि नै पटाका पड्काउने कार्यले बालबालिकालगायत पाल्तु र अन्य जनावरलाई पनि हानिनोक्सानी पुर्याउन सक्छ भन्नेमा विचार पुर्याएका छैनौं । विभिन्न नाकाबाट जसरी पनि यी पटाकाजन्य पदार्थ भने आयात भइरहेकै हुन्छन् । हाम्रा परिवारका बालबालिका पनि यस्ता पटाकाका लागि आफ्ना अभिभावकसँग हारगुहार गरिरहेका देखिन्छन् । यस्ता हानिकारक प्रथालाई निरन्तरता दिने कि रोक्ने ? विषय सोचनीय छ ।
तिहारको अन्तिम दिन अर्थात् भाइटीकाको कुरा छ । दाजुभाइ, दिदीबहिनीमा सद्भाव बढाउन भाइटीकाले मद्दत गर्छ भन्ने मान्यता पनि रहिआएको छ । प्रमुख कुरो परिवारमा दाजुभाइ, दिदीबहिनीको समान हैसियत छ या दाजुभाइ, दिदीबहिनीबीच स्वार्थरहित प्रेम छ ? यस्ता कुराले पनि अर्थ राख्छ कि ? होइन भने भाइटीकाको एक दिन साटासाट गरिएका उपहार र आशीर्वादहरू के काम ? दाजुभाइ, दिदीबहिनी विशुद्ध, क्लेशरहित, आपसी सम्मान, विश्वास र मित्रवत् सम्बन्ध छ भने भाइटीकामा उपहार र दक्षिणाको बोझ नबोकीकन फूल साटासाट गरेर पनि ‘सिवलिङ डे’ सेलिब्रेसन गर्न सकिन्छ ।
हाम्रा चाडपर्वलाई बजारले गर्लम्मै अँगालो हालेको छ । हामी बजारको किनबेचमा फसेका छौं । बजारले नै हाम्रा आत्मीय भावनाहरूमाथि हस्तक्षेप गर्ने त होइन ? हाम्रा पारिवारिक माया, प्रेम अनि सद्भावमा पनि बजारको रङ लतपतिएका छन् । चाडबाडभित्रैबाट खर्चिला चाडबाडबारे मन्थन पनि गर्ने कि ?
