जेन–जी औपचारिक र लामो प्रक्रिया होइन, संक्षिप्त–रचनात्मक–प्रयोगात्मक सिकाइ मन पराउँछ । त्यसैले परिवर्तित प्रविधि र समयअनुरूप पाठ्यक्रम अद्यावधिक गर्नु आवश्यक छ ।
What you should know
भीषण आन्दोलनपछि जेन–जी पुस्ताले प्रश्नहरूको बर्सात् गरेका छन्– किन नीति र योजनाहरू व्यवहारमा आएनन् ? किन प्राविधिक–व्यावसायिक शिक्षा ओझेलमा छ ? किन व्याप्त छ शैक्षिक बेरोजगारी ? तिनले उठाएका यी प्रश्न जायज छन् ।
हामी भन्छौं– शिक्षा नै गरिबीबाट समृृद्धितर्फ डोर्याउने शक्ति र साधन हो । तर, अपेक्षित रूपमा हामीले नीति कानुन र योजनालाई व्यवहारमा लागू गर्नै सकेनौं । नीति र योजना राम्रा हुँदाहुँदै कार्यान्वयन कमजोर भयो । हुर्कंदो पुस्ताको विशेषताअनुरूप शिक्षा सुधारमा नीति निर्माता र कार्यान्वयनकर्ता दुवै पक्षबाट ‘माइन्डसेट’ गर्न सकिएन ।
र, यथास्थितिमै रमाउने अनि सुधार रोक्ने नेतृत्वकर्ताको पुरानो मानसिकतामा परिवर्तन नै भएन । जस्तो आफ्ना मान्छे, भनसुन, चाकडी–चाप्लुसी र संरक्षणको घेरामाथि उठेर क्षमतालाई प्राथमिकतामा राख्ने र त्यस्तो जनशक्ति नेतृत्वमा आउन सक्ने अनुमानयोग्य वृत्तिपथ तय गर्नै सकिएन ।
परिणामस्वरूप शिक्षा प्रणालीमा आमूल सुधारको बहस त चल्यो, तर कमजोरी रहिरह्यो– सबैका लागि गुणस्तरीय शिक्षा, समान अवसर, शिक्षा र रोजगार–स्वरोजगारबीचको प्रत्यक्ष सम्बन्धसहित नीति–योजनाको प्रभावकारी कार्यान्वयनमा । अब जेन–जी आन्दोलनपछिको खास आवश्यकता हो– आजका विद्यार्थी र युवाको भविष्य सुरक्षित रहनेमा तिनलाई विश्वस्त गराउनु र शिक्षा प्रणालीमा आमूल सुधार गर्नु ।
जेन–जी आन्दोलनसँगै उठेका आवाजहरूले बहस गरिरहेको छ– विद्यार्थी र युवा भविष्य निर्माणको । जेन–जीले देशको समृद्धिसँगै
आफ्नो सुन्दर भविष्यको सपना देखिरहेका छन् । देश समृद्ध बनाउने शिक्षाले नै हो र शिक्षापछि प्राप्त हुने प्रमाणपत्रले जीवन बदल्ने सामर्थ्य राख्नुपर्छ । तर, विडम्बना आजको नेपालको शिक्षा प्रणाली प्रश्नहरूको घेरामा छ । केही अपवादबाहेक सामुदायिक शिक्षण संस्थामा खोजी भइरहेको छ– गुणस्तरीय शिक्षाको । संस्थागत शिक्षण संस्थाको शुल्कको भारले अभिभावकको जीवन असन्तुलित छ । हजारौं युवा राम्रो शिक्षा र भविष्य निर्माणको खोजीमा विदेशिनुपरेको छ । विदेशिएका युवाको तथ्यांकले देखाउँछ– हाम्रो शिक्षा प्रणालीमा गहिरो समस्या छ ।
हुर्कंदो पुस्तालाई पाठ्यपुस्तकको रटन्ते ज्ञान होइन, ‘लाइफस्किल’ र ‘रियल वर्क एक्सपिरियन्स’ चाहिएको छ । ‘टेक्नोलोजी’, ‘क्रिएटिभिटी’, ‘प्रोजेक्ट’ र उद्यमशीलतामा रमाउँदै सिक्न खोज्ने यो पुस्ता कलेजको पर्खालभित्र सीमित हुन चाहँदैन । उसलाई चाहिएको छ– प्रविधि, उद्यमशीलता, उद्यम व्यवसाय र बजारसँग आफूलाई जोड्ने शिक्षा ।
जेन–जी र हुर्कंदो पुस्ताले खोजेको छ– हातमै भएको मोबाइलजस्तै सहज र प्रयोगमुखी शिक्षा । अब शिक्षालाई प्रविधिसँग जोड्दै पढाउने प्रशिक्षित शिक्षक र सक्षम शैक्षिक पूर्वाधारको खाँचो छ । पाठ्यक्रम र कक्षालाई विद्यार्थीमैत्री बनाउनु छ । शिक्षाको मापन अंकले होइन, सिकाइ र सीपमा हुने विधिले गर्नुपर्छ ।
शिक्षा प्रणाली बलियो बनाए देश स्वतः समृद्धिको दिशामा अघि बढ्छ । तर, गुणस्तरीय शिक्षाको बहस छ, प्राथमिकता छैन । योजना र दस्ताबेज छन्, विद्यार्थी जीवनमा तिनको प्रत्यक्ष असर न्यून छ । यथार्थमा नीति, कानुन, दस्ताबेज धेरै छन्, प्रभाव सीमित छ । गुणस्तर र अवसर स्वदेशमै भए विदेश अध्ययनको आकर्षण स्वभावैले घट्ने निश्चित छ । तसर्थ जेन–जी र जेन–अल्फाको विशेषता र चाहनालाई केन्द्रमा राखेर शिक्षा–सुधार जरुरी छ । हामीले बिर्सनु हुँदैन, समृद्ध राष्ट्रको इन्जिन नै शिक्षा हो ।
हुर्कंदो पुस्ता जन्मदेखि नै परिचित छ– स्मार्टफोन, इन्टरनेट, सामाजिक सञ्जाल र भिडियो कन्टेन्टसँग । नयाँ प्रविधि प्रयोग गर्न अग्रसर यो पुस्ता जहिल्यै सूक्ष्म सिकाइ चाहन्छ । यो पुस्ता रुचि राख्छ– अनलाइन कोर्समा । अझ छोटकरी, दृश्यात्मक र ‘इन्टरएक्टिभ–कन्टेन्ट’ (टिकटक, युट्युब, इन्स्टाग्राम, रिल) मा बढी रुचि राख्छ । औपचारिक र लामो प्रक्रिया होइन, संक्षिप्त–रचनात्मक–प्रयोगात्मक सिकाइ मन पराउँछ । त्यसैले परिवर्तित प्रविधि र समयअनुरूप पाठ्यक्रम अद्यावधिक गर्नु आवश्यक छ ।
जेन–जीको आन्दोलन, विध्वंस, अभिव्यक्ति र अपेक्षाहरू हुन्, प्राविधिक–व्यावसायिक शिक्षा र शिक्षा प्रणालीको पुनःसंरचना । औपचारिक वा अनौपचारिक जुनै पद्धतिबाट सिकेको सीपको पनि शीघ्र परीक्षण र प्रमाणीकरण खोज्छ यो पुस्ता । सीपविहीन शिक्षा, बेरोजगार युवा र नागरिकको फुर्सदिलो समयबाट सिर्जना भएका यो आन्दोलन र विध्वंसबाट राष्ट्र निर्माण दशकौं पछाडि धकेलिएको छ ।
अब जरुरी छ– यस्ता क्षति नदोहोरिने गरी सुशासनसहित अग्रगमनको दिशा तय गर्न वर्तमान पुस्ताको विशेषताअनुरूप शिक्षा प्रणालीमा सुधार । विद्यालय तहदेखि नै प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठ्यक्रम, प्रायोगिक, डिजिटल र रोजगारमुखी शिक्षा आजको असली प्राथमिकता हो ।
पटक–पटकका आन्दोलनबाट पाठ सिक्दै राष्ट्रिय जीवनको समृद्धिका लागि शैक्षिक सुधार र पुनःसंरचना आवश्यक छ । यही हो– समग्र राष्ट्र विकासको आधारस्तम्भ । दिगो उद्योग, आधुनिक कृषि सेवा विस्तारसहित नवप्रवर्तनलाई प्रोत्साहन गर्न युवा उद्यमशीलता चाहिन्छ । त्यसका लागि प्राविधिक तथा व्यावसायिक शिक्षालाई मूलधारमा स्थापित गर्नु जरुरी छ । समृद्धि हाम्रै पालामा, हामीले भोग्ने–देख्ने गरी सम्भव छ । त्यसका लागि नीति निर्माता, कार्यान्वयनकर्ता, सेवा प्रदायक र सेवा प्रापकले समयमै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।
