निर्वाचनको वातावरण बनाऔं

सबै पक्षका बीच प्रभावकारी संवादका माध्यमबाट अहिलेको घृणा, आक्रोश र प्रतिशोधको राजनीतिलार्ई सम्मान, सहिष्णुता, भाइचारा र सहअस्तित्वको राजनीतिमा विकास गरौं । यसले तत्काल निर्वाचनको वातावरण मात्र बनाउने छैन, देश पुनर्निर्माणको यात्रालाई पनि सहज र प्रभावकारी बनाउनेछ।

आश्विन २९, २०८२

सुशील विके

Let's create an election environment

What you should know

‘मिसन ८४’ भन्दै अभियान सञ्चालन गरिरहेका राजनीतिक दलका लागि देशको बदलिँदो परिवेशले फागुन २०८२ मा निर्वाचनमा भाग लिनुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरुद्धमा जेन–जीले गरेको आन्दोलनले कांग्रेस र एमाले नेतृत्वको सरकार विस्थापित भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ भने प्रतिनिधिसभा विघटन गरिएको छ । यो सरकारको मुख्य म्यान्डेट नै फागुन २१ मा निर्वाचन गर्ने रहेको छ । 

शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक बनेपछि ठूलो जनधनको क्षति मात्र भएन, नेपालीले दशकौं संघर्ष र बलिदान गरेर निर्माण गरेको संविधानमाथि पनि प्रहार भएको छ । आमनेपालीले कल्पनासमेत नगरेको घटनाले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि समेत खतरा पैदा भएको छ । यस्तो अस्थिर र तरल राजनीतिक परिवेशमा देशी/विदेशी तत्त्वले खेल्ने, नेपाली जनताले अहिलेसम्म प्राप्त गरेका सबै उपलब्धि गुम्ने र देश अँध्यारो सुरुङमा प्रवेश गर्ने जोखिम पनि देखिँदै छ । 

यस्तो गम्भीर र जटिल अवस्थामा फसेको देशलाई आन्दोलनकारी, सरकार, राजनीतिक दलहरू र नागरिक समाजले अत्यन्तै जिम्मेवारीपूर्वक निकास दिन सक्नुपर्छ । यो निकासको एक मात्र उपाय भनेको निर्वाचन नै हो । कतिपय दलले प्रतिनिधिसभा पुनःस्थापनाको कुरा गरेको भए पनि अहिलेको गतिरोधको उचित निकास निर्वाचन नै हो । तर, निर्वाचन तोकिएकै मितिमा स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्नु अनिवार्य छ । यसका लागि सबैभन्दा पहिला प्रभावकारी सर्वदलीय सञ्चार र संवादमार्फत निर्वाचनको वातावरण बनाउन आवश्यक छ ।

जेन–जीका माग र निर्वाचन

पुराना दललाई सत्ताबाट हटाएर जेन–जीकै चाहनाअनुसार अन्तरिम सरकार गठन गरिनु, भ्रष्टाचार अन्त्य राष्ट्रिय मुद्दा बन्नु, सबै पार्टीमा नेतृत्व परिवर्तनसहित रूपान्तरणको बहस हुनु जेन–जी आन्दोलनका उपलब्धि हुन् । तर, जेन–जीका मागलाई दिगो रूपमा संस्थागत गरी जनतामा परिवर्तनको अनुभूति दिलाउने मुख्य माध्यम भनेको निर्वाचन हो ।

निर्वार्चनका माध्यमबाट जनताप्रति उत्तरदायी, सुशासनप्रति प्रतिबद्ध नयाँ जनप्रतिनिधि चयन गर्ने, दुईतिहाइ मत ल्याएर आफूअनुकूल संविधान संशोधन गर्ने र देशमा आमूल परिवर्तन गर्ने अवसर प्राप्त हुन सक्नेछ । आन्दोलनबाट प्राप्त उपलब्धिलाई गुम्न नदिन जति निर्वाचनको आवश्यकता छ, त्यति नै मात्रामा निर्वाचनको वातावरण बनाउन जेन–जीले नै अग्रसरता देखाउन पनि अनिवार्य छ ।

आन्दोलनपछि अन्तरिम सरकार गठन भएको र संसद् विघटन भएको छ । यो कदमलाई आन्दोलनले निम्त्याएको गम्भीर संकटबाट देशलाई निकास दिने सर्तमा तत्कालीन अवस्थामा सबै पक्षले स्वीकार गरेको देखिन्छ । यद्यपि, यसको संवैधानिक र न्यायिक परीक्षण हुन बाँकी नै छ । यो खालको संवैधानिक, कानुनी, राजनीतिक संकट र यसले सिर्जर्ना गरेको अस्थिरता, अन्योल र तरलताको अवस्थाले कति बेला के हुन्छ, अनुमान गर्न कठिन छ ।

देशको राष्ट्रियतामाथि प्रहार हुने र थप द्वन्द्व निम्तिने सम्भावना पनि उत्तिकै छ । यसैले तोकिएको समयमा निर्वाचन गरी वैधानिक सरकारलाई सत्ता हस्तान्तरण गर्ने र अहिलेको संक्रमणकालबाट देशलाई संवैधानिक र लोकतान्त्रिक दिशामा फर्काउने कार्यभार पूरा गर्न जेन–जीहरू अत्यन्तै जिम्मेवार बन्न आवश्यक छ । स्मरण रहोस्, जेन–जीको उग्रता, प्रतिशोध र सानो असावधानीले कथम् निर्वाचन हुन सकेन भने अहिलेभन्दा थप जटिल समस्या आउने र त्यसको दोष जेन–जीमाथि आउने खतरा पनि रहनेछ । 

निर्वाचनको वातावरण 

लोकतन्त्रमा जनताको मत नै सर्वोपरि हुने हुँदा निर्वाचनका माध्यमबाट नयाँ जनमत लिने कुरालाई दलहरूले अन्यथा लिन मिल्दैन । तर, यसका लागि आवश्यक भरपर्दो वातावरण भने अनिवार्य हुन्छ । जेन–जी आन्दोलनमा भदौ २३ मा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा भएको ठूलो मानवीय क्षति र २४ को प्रदर्शनका क्रममा जेन–जीका नाममा देशी–विदेशी प्रतिगामी र आपराधिक तत्त्वले गरेको विध्वंसले क्षणभरमा देश खरानी बनेको दृश्यले नेपाली मन अहिलेसम्म विक्षिप्त नै छ । 

राष्ट्रिय एकताको प्रतीकका रूपमा रहेको राष्ट्रपति भवनदेखि देशको धरोहर, इतिहास, गौरवका रूपमा रहेका संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतदेखि देशभरका कैयौं सरकारी भवन, प्रहरी कार्यालय, उद्योग र व्यापारिक भवन, राजनीतिक पार्टीका कार्यालय र नेताका घर जलाएर खरानी बनाउने काम भयो । जेन–जीको आडमा आपराधिक भीडले गरेको तोडफोड, आगजनी, लुटपाट र कुटपिटले आमनेपालीमा ठूलो डर, त्रास र भय पैदा भएको छ । नेपालको इतिहासमै नभएको भयंकर ठूलो दुर्घटनाले आमनेपालीमा पारेको मानसिक असर कम भएको छैन । यस्तो मानसिक असरबाट मुक्त नभई जनता कसरी मतदान गर्न तयार होलान् त ?

लोकतन्त्रका महत्त्वपूर्ण अंगका रूपमा रहेका दलहरू अहिले आफैं असुरक्षित छन् । आफ्ना नियमित राजनीतिक काम गर्न र खुलेर आफ्ना अभिव्यक्ति राख्ने वातावरण बनेको छैन भने निर्वाचनमा कसरी भाग लिन सक्छन् ? निर्वाचनमा आफ्ना उम्मेदवारलाई सुरक्षित रूपमा जनताका बीचमा प्रस्तुत गर्ने र आफ्ना कुरा कसरी राख्न सक्छन् ? अहिले जसरी दलका नेतामाथि आक्रोश र प्रतिशोधसहितको दबाब छ, यसले दलहरूलाई निर्वाचनतर्फ डोर्‍याउन कठिन छ ।

त्यसो त संसारभर निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या र भ्रामक समाचारको साम्राज्य र घृणास्पद अभिव्यक्तिले वातावरण उत्तेजित बनाएर निर्वाचनको वातावरण नै बिग्रनेसम्मको अवस्था आउने गर्छ । एआईले चुनावमा उथलपुथल ल्याउने गरेको तथ्य पनि छँदै छ । विकसित देशहरूसमेत यसबाट प्रभावित हुने गरेको सन्दर्भमा नेपालजस्तो अति कम विकसित, चेतनाको स्तर कमजोर भएको पछौटे समाज प्रभावित हुनु स्वाभाविक हो ।

अझ जेन–जी आन्दोलनपछिको राजनीतिक वातावरण, दल र तिनका नेताहरूमाथिका आरोप र घृणास्पद अभिव्यक्तिले समस्या थप जटिल हुने देखिन्छ । नेपालमा सामाजिक सञ्जाल नियमनसम्बन्धी ठोस कानुन नभएका कारण अहिलेको गम्भीर अवस्थामा मिथ्या र भ्रामक सूचना तथा घृणास्पद अभिव्यक्ति नियन्त्रण गर्न पनि कठिन हुने देखिन्छ । यस्तो परिवेशमा निर्वाचनको वातावरण तयार गरी शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न निकै चुनौतीपूर्ण छ । 

निर्वाचन आयोगले निर्वाचन तयारीका लागि सामान्यतया १ सय २० दिनको समय आवश्यक पर्ने बताउने गरेको छ । सरकारले घोषणा गरेको फागुन २१ लाई आधार मान्दा यो समय पर्याप्त छ । तर, माथि विश्लेषण गरिएका तथ्यले अहिलेको राजनीतिक परिवेशमा निर्वाचन सम्पन्न गर्न निकै चुनौतीपूर्ण देखिन्छ । यसैले तोकिएको मितिमा निर्वार्र्चन गर्ने हो भने निर्वाचनका लागि राजनीतिक विश्वासको वातावरण निर्माण अनिवार्य र पहिलो सर्त हो ।

सरकार र दलहरूबीचमा रहेको संवादको खाडललाई जोड्ने, उनीहरूलाई चुनावी प्रक्रियामा आउने वातावरण तयार गर्ने र त्रासमा रहेको समाजलाई लयमा फर्कार्एर स्थितिलाई सहज गराउनुपर्नेछ । यसका लागि सबै सरोकारवालासँग सरकार र निर्वाचन आयोगले निरन्तर संवाद गर्न आवश्यक छ । यसका साथै लुटिएका हतियार फिर्ता ल्याउने, फरार कैदीलाई जेलमा फर्काउने, प्रहरीको मनोबल उच्च बनाउने र घटनाका दोषीलार्ई कानुनी कारबाही गर्ने क्रमसँगै बिस्तारै शान्तिसुरक्षाको वातावरण बन्न सक्छ । यसमा सरकार तीव्र रूपमा लाग्नुपर्ने देखिन्छ ।

सरकारले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने निर्वाचन कानुनमा रहेका बाधाहरू हटाउनका लागि काम गर्नुपर्दछ । अहिले राष्ट्रपति र प्रधानमन्त्रीले दलहरूसँग छलफल गरी निर्वाचनमा सहभागी हुन आह्वान गर्ने र मतदाता नामावली संकलनसम्बन्धी अध्यादेश जारी गर्ने काम भएको छ । अब निर्वाचन आचारसंहिता, निर्वाचन तालिका, मतदाता शिक्षामा काम गर्दै शान्तिपूर्ण रूपमा निर्वाचनमा भाग लिने वातावरण तयार गर्न सरकार र निर्वाचन आयोगले दलहरूसँग प्रभावकारी संवाद र सहकार्य गर्न आवश्यक छ । 

तोकिएको समयमा निर्वाचन र दलहरूको सहभागिता

अहिले नेपाली समाज जुन अवस्थामा छ, जस्तो राजनीतिक वातावरण छ, जसरी राजनीतिक दलहरूले यो सरकारको संवैधानिक र कानुनी वैधतामा प्रश्न उठाउँदै प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा उठाउने तयारी गर्दै छन्, जसरी सरकारले पूर्वाग्रह साधेको आरोप लगाएका छन्, त्यो हिसाबले तोकिएको मितिमा निर्वाचन हुनेमा सन्देह छ नै ।

दलहरू निर्वाचनप्रति सकारात्मक भएको देखिए पनि औपचारिक रूपमा निर्वाचनमा भाग लिने/नलिने जानकारी गराएका छैनन् । यस्तो परिवेशमा सरकार र आन्दोलनकारीले खेल्ने भूमिकाले दलहरूको आगामी यात्रा निर्धारण हुने देखिन्छ । यसैले दलहरूलार्ई चुनावी प्रक्रियामा सहभागी गराउने काममा सरकार गम्भीर बन्न जरुरी छ । आन्दोलनमा भएको जनधनको क्षति, विध्वंस, अराजकता र लुटपाटले सन्नाटा छाएको समाजलाई सामान्य बनाउने, सद्भाव र सहिष्णुता कायम गर्ने र राजनीतिक दलहरूलगायत समाजमा शान्तिसुरक्षाको प्रत्याभूति गराउने काम सरकारले सुनिश्चित गर्नुपर्दर्छ । जब दलहरूले आफ्ना नियमित राजनीतिक गतिविधि सञ्चालन गर्न थाल्छन्, बिस्तारै चुनावी वातावरण तयार हुनेछ । 

लोकतन्त्रमा राजनीतिक दलहरू राज्यका अभिन्न अंग हुन् । संसद् र सरकारमा दलहरूले आफ्ना प्रतिनिधि पठाउने हुन् । जनताका मतबाट प्रतिनिधि चुनिएर दलहरूले शासन सञ्चालन गर्ने हुन् । दलहरूले जनताका बीचमा गरेका प्रतिबद्धतालाई कति कार्यान्वयन गरे र आउने दिनका लागि कस्तो भिजन प्रस्तुत गर्छन्, त्यसकै आधारमा जनताले मतदान गर्ने हुन् । सार्वभौम जनताले राम्रो काम गरेका दलका प्रतिनिधिलाई निर्वाचनमा पुनः निर्वाचित गराउँछन् भने नगरेका नेतालाई सजाय दिन्छन् । यो नै जनता सार्वभौम भएको लोकतन्त्रको महत्त्वपूर्ण विशेषता हो । 

वर्तमान सरकार गठन र राजनीतिक घटनाक्रममा असहमति भए पनि अहिलेको गम्भीर संकटबाट देशलाई बाहिर निकाल्न निर्वाचनमा सहभागी हुने संकेत सबै राजनीतिक दलले गरेका छन् । यही बिन्दुबाट सरकार र निर्वाचन आयोग प्रभावकारी संवाद र सहकार्य गर्दैर्र् दलहरूलाई विश्वासमा लिने र देशलाई निर्वाचनको बाटोमा लैजान सकारात्मक वातावरण निर्माणमा अविलम्ब लाग्न आवश्यक छ । यसैगरी दलहरूले युवा पुस्ता र आमजनताले उठाएका सबै प्रश्नको जवाफ आफूमा व्यापक रूपान्तरण गरी निर्वाचनमार्फत दिन आवश्यक छ । दलहरूले नयाँ सोच, विचार, कार्यर्शैली र प्रतिबद्धतासहित निर्वार्चनमा उत्रने योजना निर्माण गर्नुपर्दछ ।

अत्यन्तै कठिन र असाधारण अवस्थामा हुन लागेको निर्वाचन देश, लोकतन्त्र, गणतन्त्र र संविधानको जीवन–मरणको दोसाँधमा उभिएको छ । तोकिएको मितिमा निर्वाचन सम्पन्न हुँदा जेन–जीसँगै सिंगो देशले जित्नेछ र देश एक कदम अगाडि बढ्नेछ । यदि कथम्कदाचित् निर्वाचन हुन सकेन भने जेन–जीसँगै सिंगो देश हार्नेर्छ र हालसम्मका सबै योगदान, बलिदान र उपलब्धि सिंहदरबारजस्तै खरानी बन्नेछन् । सिंहदरबारलाई खरानी बन्नबाट त जोगाउन सकिएन, अब बाँकी देशलाई बचाउन सबै पक्ष जिम्मेवार भएर लागौं । सबै पक्षका बीच प्रभावकारी संवादका माध्यमबाट अहिलेको घृणा, आक्रोश र प्रतिशोधको राजनीतिलार्ई सम्मान, सहिष्णुता, भाइचारा र सहअस्तित्वको राजनीतिमा विकास गरौं । यसले तत्काल निर्वाचनको वातावरण मात्र बनाउने छैन, देश पुनर्निर्माणको यात्रालाई पनि सहज र प्रभावकारी बनाउनेछ । 

हामीसँग विगतमा माओवादी द्वन्द्वकालीन समय, तराईमा हतियारधारी समूहको आतंक भएको समय, देशमा जातीय, क्षेत्रीय र धार्मिक अतिवाद मौलाएको समयमा समेत उत्साहजनक रूपमा निर्वाचन सम्पन्न गरेको अनुभव छ । यस पटक पनि विगतको त्यो अनुभवबाट शिक्षा लिँदै देशलाई अग्रगामी समावेशी लोकतन्त्रको यात्रामा अगाडि बढाउने संकल्पसहित स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्ष लाग्न जरुरी छ । यसको विशिष्ट जिम्मेवारी आन्दोलनमार्फत अगाडि बढेको जेन–जी र युवा पुस्ताको काँधमा छ ।

सुशील लैंगिक समानता तथा सामाजिक समावेशीकरण, मानवअधिकार, दलित अधिकार र समावेशी विकासको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएका विके नीति अध्ययन र विश्लेषण गर्छन् ।

Link copied successfully