विद्रोहले दिएको रूपान्तरणको अवसर

चुनाव समयमै हुनुपर्दछ। चुनावको भोलिपल्ट के हो ? चुनावका भोलिपल्टदेखि राज्य रुपान्तरणको 'रोड म्याप' के हो ? त्यता नसोच्ने हो भने यो चुनावले कुनै समस्याको समाधान गर्न सक्दैन।

आश्विन २७, २०८२

सोमत घिमिरे

The opportunity for transformation provided by rebellion

What you should know

जेन–जीको नेतृत्वमा भएको विद्रोहले आम नेपालीको भावना प्रतिनिधित्व गरेको छ । खालि नेतृत्व मात्रै जेन–जीको हो । यस अर्थमा नेपालमा सहरिया विद्रोहको सबैभन्दा ठूलो स्वरूप एक महिनाअगाडि हामीले देख्यौं । यो एकाएक भएको होइन । कसैका लहडमा भएको होइन । षड्यन्त्रको माध्यमबाट पनि होइन । म आफैंले गत जेठमा लेखेको थिएँ, विद्रोह असम्भावी छ । कुन रूपमा कहिले ? कसरी र कस्तो ? हुन्छ भन्ने प्रश्न यसै दैनिकमार्फत राखेको थिएँ ।

 किनकि, राज्यका पूरै अंगहरू थिलोथिलो भएका थिए । नागरिकको पहुँचमा थिएनन् । त्यस्तो राज्य टिक्न सम्भव थिएन । जेन–जी विद्रोह किन भयो, यसमा धेरै नलागौं । नेपाली समाजले एकसरो छलफल गरिसकेको छ । छलफलको कोणमध्ये सबैभन्दा हानिकारक कोण विदेशीको षड्यन्त्रमा भयो भन्ने छ । बरु अब यस विद्रोहले उपलब्ध गराएका अवसरहरूको खोजी गर्न जरुरी छ । वास्तवमा नेपाली राजनीति र समाजका लागि यो ठूलो अवसर हो । 

दलहरूलाई रूपान्तरणको अवसर

नयाँ दलहरू आउलान्, आउनु पनि पर्‍यो । उनीहरूका लागि यस विद्रोहले ठूलो सिकाइ राखेर गएको छ । दल सञ्चालनको तरिका, निर्णय प्रक्रियामा कार्यकर्ताको सार्वभौमिकता, विचार–व्यवहारको तारतम्य जस्ता पक्ष नयाँ दलहरूले जन्मनुभन्दा पहिला सिक्ने अवसर पाए । अब बन्ने दल केवल उमेरले नयाँ बनेर हुनेछैन । विचार, मान्यता, आर्थिक पारदर्शिता र मुख्यतः जनतासँगको सम्बन्ध र सुशासनमा के गर्न सकिन्छ ? नयाँ दलका लागि ठूलो अवसर छ । पुराना दलहरूले धेरै भोगे ।

पार्टी कार्यालय जल्यो । नेताका घर जले । नेताहरू अलोकप्रिय छन् भन्नका लागि थप अब के गर्नुपर्छ र ? अलोकप्रियता विद्रोहले जुन सूचकमा देखाउनुपर्ने हो, देखाइसक्यो । अब पनि नदेख्नु भनेको ‘ओलीपथ’ हो । के यो अलोकप्रियतालाई महसुस गरी पुराना दलहरू रूपान्तरित हुन सक्छन् ? एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आधार मानेर हेर्दा, सक्दैनन् । पुराना दलहरू विघटनको अवस्थामा छन् । यसलाई ब्युँताउनु भनेको अनुहारको पुनःसंरचना मात्रै होइन । नेपाली कांग्रेसले अनुहारको पुनःसंरचना गर्न सक्छ होला । तर अनुहारसँगै विचार, रणनीति र कार्यक्रमहरूको पुनःसंरचना हो । जुन कुरा कठिन छ ।

यदि समग्र पुनःसंरचना गर्न सकेनन् भने दलहरू आफैंले आफैंलाई समाप्त पार्छन् । अनुहारकै पुनःसंरचना पनि पुराना दलका लागि असजिलो छ । पुराना दलका दोस्रो वा तेस्रो पुस्ताले पनि समाजमा वैधता गुमाइसकेका छन् । दलहरू महाधिवेशन वा कर्मकाण्डी केही प्रक्रिया अपनाएर अनुमोदित हुने विचारमा छन् । दलहरूले नबुझेको एउटा कुरा छ । महाधिवेशनले नेतृत्वलाई गरेको अनुमोदनले सामाजिक वैधता फर्काउन सक्दैन । यस अर्थमा दलहरूलाई उठ्न र हिँड्न मन लागे दलहरूको समग्र पुनःसंरचनामाथि बृहत् छलफलको सुरुवात हुनुपर्दछ । प्रश्न फेरि पनि पुराना दललाई मात्रै होइन, नयाँ आउने दलले पनि नयाँ गन्तव्य खोट्याउन जरुरी छ । 

नेपालको राजनीतिक आन्दोलन जुन बृहत् रूपमा हुन्छ, त्यहीअनुसार गन्तव्यमा पुग्न सक्दैन । २००७ मा त्यही भयो । २०४६ ले परिवर्तनको ठूलो ढोका खोलियो भने पनि भुइँतहमा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्न सकेन । माओवादी जनयुद्ध र २०६२/६३ को जनआन्दोलन एउटै नदी बनेपछि त्योभन्दा ठूलो आन्दोलन केही भएन भन्यौं तर त्यसले पनि गन्तव्यमा पुर्‍याउन सकेन र विद्रोह भयो । अहिलेको विद्रोह सहरिया जनसहभागिताको हिसाबले उल्लेखनीय छ । तर डर छ, यसले पनि गन्तव्यमा पुर्‍याउला वा नपुर्‍याउला ? यतिबेला जेन–जीको मात्रै होइन, सचेत नेपालीको कर्तव्य यसलाई गन्तव्यमा पुर्‍याउनु हो । गन्तव्य के हो ? जेन–जीलाई मात्रै घुर्की लगाएर हुँदैन । सार्वजनिक बहसको प्रारम्भ हुनुपर्दछ । 

नयाँ राज्यको रचना

२००७ को क्रान्तिपछि अलिकति राणाको चरित्र बोकेर राजनीति अगाडि बढ्यो । २०४६ पछि पञ्चायतकै चरित्र बोकेर राजनीतिक अगाडि बढ्यो । २०६२/६३ पछि पनि बहुदलीय संस्कृतिलाई नै बोकेर अगाडि बढ्यो, जुन संस्कृतिभित्र सांसद किनबेच भइसकेको थियो । हरेक आन्दोलनको इच्छा हुन्छ, नयाँ राज्यको रचना । तर, टुंगिन्छ पुरानैको निरन्तरतामा । यो राजनीतिक आन्दोलनको ठूलो दुर्भाग्य हो । हामीले बुझ्नुपर्दछ । लामो समयसम्म शासनको प्रतीक रहेको सिंहदरबार जल्यो ।

सिंहदरबारको ढुंगा–माटोसँग रिसाएर कसैले जलाएका होइनन् । पुरानो सिंहदरबारको प्रवृत्ति वा पुरानो शासकीय शैलीलाई जलाइएको हो । सर्वोच्च अदालतको रंग मन नपरेर अहिले जलाइएको होइन । यसले न्याय सम्पादन गर्ने जुन तरिका थियो, त्यसउपरको विद्रोह हो । कमजोरहरूले न्याय नपाएको सत्य थियो । बिचौलियाहरू प्रधानन्यायाधीशभन्दा माथि थिए । दलका कार्यकर्ताहरू न्यायाधीश थिए । यो नरुचाएर जलाइएको हो । सर्वोच्च अदालत आफैं बाठो भएर माग्दै नमागेको कुरा फैसला गर्थ्यो । नेपालमा सेना किन चाहिने हो ? कति चाहिने हो ? कहिले बहस भएन । आवरणमा नयाँ राज्य व्यवस्था देखियो । तर अन्तर्यमा नेपाली राज्य परिवर्तितै थिएन ।

उही पुरानो सडेगलेको मान्यतामा आधारित कर्मचारीतन्त्र, उही पुरानै संरचना, पुरानै अदालत, पुरानै सुरक्षा व्यवस्था, पुरानै ढाँचाको विरुद्ध अहिले विद्रोह भएको हो । यस विद्रोहले नयाँ राज्यको रचना गर्नका लागि अवसर दिएको छ । जेन–जीको माग भ्रष्टाचारविरुद्ध मात्रै जस्तो देखिए पनि नयाँ शासकीय स्वरूपको आकांक्षा हो । नयाँ राज्यको आकांक्षा हो । यो जेन–जीको मात्रै आकांक्षा होइन । जेन–जीले नेतृत्व गरे तर सबै उत्पीडित नेपालीहरूको, सीमान्तकृत नेपालीहरूको आकांक्षा हो ।

यही मौकामा राज्यलाई रूपान्तरित गरी सबै नेपालीको आकांक्षा पूरा गर्ने बाटो सोझ्याउनुपर्दछ । अहिले एकथरीलाई लागेको छ, समयमै चुनाव हुनुपर्दछ । यो सामान्य कुरा हो । चुनाव समयमै हुनुपर्दछ । चुनावको भोलिपल्ट के हो ? चुनावका भोलिपल्टदेखि राज्य रूपान्तरणको ‘रोड म्याप’ के हो ? त्यता नसोच्ने हो भने यो चुनावले कुनै समस्याको समाधान गर्न सक्दैन ।

चुनावपछिको राज्य रूपान्तरणका सिद्धान्त, मान्यता र रणनीतिमा बृहत् बहस हुनु जरुरी छ । संघीयताका लयमा पुराना संरचनाहरू पूरै खारेज गरी तीनै तहमा नयाँ संरचना जरुरी छ । अब मर्मतसम्भार र सर्भिसिङको कुरा होइन, पुराना खारेज गरी नयाँ रचनाको कुरा हो । यो विद्रोहले एउटा मात्रै चुनाव गरायो र सकियो भने विद्रोहमाथि ठूलो अपमान हुन्छ । 

संसद्को नयाँ स्वरूप

विघटित संसद्का प्रतिनिधिहरूले एउटा कुरा बुझ्नुपर्छ । संसदीय सार्वभौमिकता त्यतिबेलासम्म कायम रहन्छ, जतिबेलासम्म जनता सडकमा आउँदैनन् । विद्रोहले संसद्लाई पनि जलायो । यसबाट बुझ्नुपर्छ संसद्ले गर्नुपर्ने काम गरेन, संसद् केवल सरकार बनाउने र ढाल्ने औजार बन्यो । अधिकांश सांसदहरू बिचौलियाका खोपीबाट निर्देशित भए । नीति निर्माणमा दलहरूले सांसदलाई भूमिका दिएनन्, धेरै सांसदहरूले भूमिका खोजेनन् । संसद् संसद्जस्तो भएन ।

बिचौलियाका प्रतिनिधिहरूको जमघट गर्ने थलो जस्तो भयो । घटीमा ९० प्रतिशत सांसदको भूमिका बिचौलियाकै प्रतिनिधिको जस्तो बन्यो । सांसदजीहरूले चुनावमा धेरै तिकडम गर्नुभयो । धेरै खेल खेल्नुभयो । धेरै पैसा बगाउनुभयो । यो प्रक्रिया नै नक्कली थियो । यसलाई दलहरूले बुझ्नुपर्दछ । जित्नका लागि अपनाइएको नक्कली प्रक्रियाको परिणाम के आयो ? यही नक्कली प्रक्रियाको परिणाम हो, विद्रोह । भोट हालेका जति सबै मानिस दलसँग हुन्थे भने दलका कार्यालयहरू जोगिन्थे, दलका नेताका घर जोगिन्थे । कार्यकर्ताहरूलाई कार्यकर्ताको व्यवहार गरिएको थिएन, दासको व्यवहार गरिएको थियो ।

सबैको प्रतिनिधित्व गरेर ओलीले बारम्बार छनक दिइरहेका छन्, संसद्को भूमिकाको मात्रै कुरा गरेर हुँदैन । चुनाव पनि असफल भयो । त्यसो हो भने हाम्रो चुनावी प्रक्रिया कस्तो हो । कम खर्चबाट चुनाव कसरी सम्पन्न गर्न सकिन्छ ? कस्ता मानिसहरू उम्मेदवार हुन लायक र कस्ता नालायक हुन् । समग्र हामीले एकैचोटि खोज्नुपर्नेछ ।

अन्यथा चुनावबाट लिएर आएको वैधानिकता दुई वर्षमै जान सक्छ । यदि सांसदलाई ऐन, नियममा मात्रै केन्द्रित गरेर मन्त्री बन्ने ढोका नखोल्ने हो भने आधा विकृति आफैं सच्चिन सक्छ । त्यसले संसद्मा मानिसको उपर्युक्त छनोट गर्न सक्छ । अहिलेको विद्रोहले संसद्को भूमिका, निर्वाचन पद्धति र पार्टीहरूको उम्मेदवारहरू बनाउने शैलीलाई एकैचोटि प्रश्न गरेको छ । यदि यो प्रश्नको उत्तरमा हामी आजैदेखि छलफल गर्न थालेनौं भने नेपाल अस्थिरता र संकटको भुमरीमा फस्नेछ । यस अर्थमा संसद् पुनःस्थापनाको माग जति प्रतिगामी माग अर्को छैन ।

सामुदायिक सार्वभौमिकता 

अब नेपाली राज्य व्यवस्थाको परिकल्पना गर्दा माथि बलिया संरचनाहरूको जरुरी देखिँदैन । विगतमा पनि माथि बलिया थिए । राजा महेन्द्र, वीरेन्द्र बलियै थिए । एकताका गिरिजाबाबु बलियै थिए । एक बेला प्रचण्ड पनि बलिया नै थिए । अन्तिम समयमा ओली आफूलाई बलिया नै ठान्थे । बालुवाटारबाट भाग्नुपरे पनि अब माथि बलिया संरचना र शक्ति केन्द्रीकरण होइन, अधिकारलाई जतिसक्दो जनताकोमा व्यवस्थित गर्नु, लोकतन्त्रको सामुदायिकीकरण गर्नु हाम्रो बाटो हुनुपर्दछ ।

नेपालजस्तो विविधतायुक्त देशमा सामुदायिक सार्वभाविकतालाई अगाडि बढाउनुपर्दछ । द्वन्द्व सानो इकाइमा भए पनि तलै समाधान होस् । सामुदायिकताका आधारमै द्वन्द्व समाधान हुन् भन्ने मान्यता राख्नुपर्दछ । मूल कुरा राजनीतिक दृष्टिकोण र सामुदायिक दृष्टिकोणमा ठूलो अन्तर देखियो । यो अन्तर मेट्न, तलै अधिकारको व्यवस्थापन हुनुपर्दछ । चाहिएका साना कुरा छन्, ठूलो जस्तो समाधान देखाइन्छ । जसको समाजको लयसँग मेल खाँदैन । पार्टीहरूको केन्द्रीकरण र राज्यसंरचनाको केन्द्रीकरणले नागरिकहरूको आकांक्षा सम्बोधन गर्न सक्दैन । अहिलेको विद्रोह त्यसैको विस्फोट हो । विद्रोहका केही माग थिए, केही आकांक्षा थिए ।

माग भ्रष्टाचारमुक्त शासन व्यवस्थाको थियो । आकांक्षा राज्यको रूपान्तरणको हो । यसलाई यसरी विश्लेषण गरियो भने मात्रै ठाउँमा पुग्न सकिन्छ । बृहत् राजनीतिक पुनःसंरचना र सामुदायिकतालाई बलियो बनाइयो भने मात्रै हामी गन्तव्यमा पुग्न सक्छौं । राजनीति यति पछौटे भयो कि समाजको गतिलाई पक्रनै सकेन । हिजो कुनै जमाना थियो, अनुभवबाट ज्ञान आर्जन हुन्थ्यो । छोरो वा छोरी खेती गर्ने बेला हुँदा बाआमा ४० वर्ष खेती गरिसकेका हुन्थे, अनुभव धेरै हुन्थ्यो ।

आजको समाजले अनुभवले मात्रै सिक्दैन, त्यहाँमाथि अहिलेका युवाहरूले सानै उमेरदेखि संसारलाई सिक्ने सुविधा उपलब्ध छ । बाआमाको मात्रै भर पर्नुपरेको छैन । युवा र राजनीतिको लय नमिल्नुको एउटा कारण यही हो । त्यसैले अधिकारलाई वितरण गरेपछि राजनीतिलाई आफ्नो आकांक्षामा लैजाने ठाउँ सबैलाई हुन्छ । राज्य व्यवस्था भनेको सबैलाई ठाउँ दिने प्रणाली हो । यसलाई सीमित घेरामा राख्दा के भयो ? सबैभन्दा धेरै ओलीलाई थाहा छ । राज्य व्यस्थालाई फराकिलो अवसर यो विद्रोहले दिएको छ । के हामी त्यता हिँड्न सक्छौं ? 

अहिलेको विद्रोहबाट एउटा कुरा बुझ्नुपर्दछ, राजनीतिक दलहरूसँग विभिन्न वाद थिए, औपचारिक र आवरणमा लोकतन्त्र थियो । तर सहरिया मध्यमवर्गका युवालाई के गर्ने भन्ने कार्यक्रम थिएन । बसाइँसराइको चर्को प्रक्रियाले मानिसहरू सहरमा थिए । जीविकोर्पाजन थिएन । युवाहरू रचनात्मक रूपमा राज्ययन्त्रसँग जोडिने ठाउँ थिएन । जसले गर्दा सहर र सहरोन्मुख ठाउँहरूमा युवाको ठूलो जनसंख्यामा चरम निराशा थियो । तर युवाहरूले निराशालाई विद्रोहमा परिणत गरे ।

अब आउने नयाँ दलहरूका लागि पनि यो ठूलो चुनौतीको विषय हो । पुराना दलहरू यहीं चुके । पुराना दलहरू उठ्न खोज्छन् भने सहरमा बसोबास गर्ने मध्यमवर्गका युवाहरूका लागि कार्यक्रम के हो ? यो प्रश्नमा हामी प्रवेश गरेनौं । बीपीले भनिदिए, नेपाल गाउँगाउँले बनेको देश हो । कांग्रेसले गाउँलाई विकासको केन्द्रमा राखेनन्, घोके मात्र । माओवादीहरू माओको गाउँबाट सहर घेर्ने नीतिबाट प्रभावित भएर आए, सहरको कुरा गर्नु बिटुलिनु जस्तो भयो ।

एमालेलाई यो विषय सोच्ने विषय नै बनेन । गाउँमा मान्छे आनन्दपूर्वक टिकाउने र सहरमा माध्यमवर्गीय युवाहरूलाई आर्थिक, सामाजिक र राजनीतिक कार्यक्रमहरू के हुन् ? यसबारे छलफल बाँकी छ । यो प्रश्नको उत्तर दिन सकेनौं र अर्को विद्रोह खेप्नुपर्‍यो भने हामी उठ्न सक्दैनौं । युवाले देश नबसेर विद्रोह गरे, त्यसलाई अर्थशास्त्रीहरूले रेमिट्यान्सको मनमोहक अवसर देखे । नक्कली राष्ट्रवादीहरूले देशको माया नभएको भनेर हेपे । वास्तवमा त्यो विद्रोह थियो । उनीहरूले भनेका हुन्, यो देश बस्नलायक छैन । विद्रोह निरन्तर थियो, अहिले यो रूपमा आयो । त्यो पनि विद्रोह हो, यो पनि विद्रोह हो । लामो समय भयो, युवाहरू विद्रोहमा रहेको ।

नबदलिएको नागरिक समाज

नेपालमा नागरिक समाज र नागरिक अगुवा भन्ने अनौठो पदावली छ । यसले सबैलाई फेरिनुपर्ने नरम उपदेश दिन्छ । तर ऊ आफू फेरिँदैन । उसलाई आफू ‘फेज आउट’ भएको थाहा हुँदैन । किनभने आफैंले आफैंलाई नागरिक समाजको प्रतिनिधि र अगुवा भन्ने अधिकार आफैंसँग राखेका छन् । प्रायः यस्ता नागरिक अगुवाहरू राजनीतिक नियुक्ति खान दलका आँगनमा, नेताका खोपीमा पुग्छन् । पाएसम्म र मिलेसम्म नेतालाई माध्यम बनाएर राज्यसत्ताको दोहोन गर्छन् ।

जब दल कमजोर हुन्छन्, अनि कोटाको एउटा गोजीबाट नागरिक अगुवाको परिचयपत्र झिक्छन् । एकाथरी नागरिक अगुवाहरूलाई डर छ, कतै भ्रष्ट नेताहरूलाई सुशीला कार्कीको सरकारको कारबाही गर्ला कि भनेर । नागरिक समाजले त भन्नुपर्दछ, जसको प्रमाण पुग्छ कारबाही गर । तर त्यो कारबाहीमा पूर्वाग्रह नमिसाउ तर भन्दैनन् । हत्यारा प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाहीको माग बन्दैन नागरिक समाजको, नागरिक अगुवाहरूको । यिनीहरूलाई नयाँ राज्य संरचना होइन, दलहरूको पुनःस्थापना चाहिएको छ ।

फेरि आफ्नो राज्यमा पहुँच बढाउन जसरी नेताहरूले विश्राम लिने कुरा छ, पुराना नागरिक अगुवाहरूले विश्राम लिए के हुँदो हो ? आकाश खस्ला ? नखस्ला । किनभने लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनका मुख्य नेता देवेन्द्रराज पाण्डे चुपचाप सम्मानित जीवन बिताइरहेका छन् । जसरी पुराना नेताहरूबाट समाजको अग्रगमन सम्भव छैन, नागरिक अगुवाको पनि कुरा त्यही हो ।

अरू आलोचनात्मक चेत भएका मानिसहरूलाई स्वागत गर्न मिल्दैन र ? फेरि नागरिक शक्तिमाथि पनि विश्वास छैन । अब एक पटक बृहत् रूपमा नयाँ राज्य रचना गर्न सबै नेपालीको तागत लाग्नुपर्ने बेला भएको छ । अवसर नगुमाऊ । जेन–जी विद्रोह हाम्रा लागि अवसर हो ।

सोमत घिमिरे घिमिरे प्राकृतिक स्रोत ब्यवस्थापनको अध्ययन र अनुसन्धानमा संग्लन छन् । उनकाे जुर्मराएको बखत, प्राकृतिक स्रोतमा नागरिक सर्वोच्चता, समृद्ध कर्णालीको दुःख जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully