दमन र टकरावको वातावरणको स्थानमा आशा, विश्वास र आस्थाको वातावरण आवश्यकता छ र युवाशक्तिलाई यसतर्फ संगठित गर्न अग्रसर गरिनुपर्छ । किनभने अन्यको तुलनामा जोखिम लिन सक्ने साहस युवामा दोब्बर हुने निष्कर्ष रहेको छ ।
What you should know
अहिलेको युवा असन्तोष मोहभंग रोषको स्थिति हो । सामाजिक असन्तोष एक गुट, समुदाय वा समाजको सामूहिक मोहभंग, रिसको आवेग र कुण्ठाको अभिव्यक्ति हो । यदि क्याम्पसका विद्यार्थीमा असन्तोष छ भने विद्यार्थीको प्रवेश (परीक्षा), पाठ्यक्रम, परीक्षा प्रणाली, अतिरिक्त क्रियाकलाप, शैक्षिक प्रणालीमा विद्यार्थीको प्रतिनिधित्व जस्ता सामूहिक मामिलामा छ र त्यसको प्रकट विभिन्न स्वरूपमा हुने गर्छ ।
युवाद्वारा समाजमा सामूहिक कुण्ठाको अभिव्यक्ति युवा असन्तोष हो । उनीहरूमा भएको मोहभंगले स्थापित मापदण्डलाई भत्काउनुपर्ने आवश्यकता प्रतीत हुन्छ । यो दुई खाले हुन्छ : समस्या अभिमुख र मूल्य अभिमुख । विद्यार्थी विश्वविद्यालयको उपकुलपति हटाउनका लागि आन्दोलन गर्छन् तर उपकुलपति चयन प्रणालीमा परिवर्तन गर्न संघर्ष गर्दैनन् ।
परीक्षा स्थगितका लागि लड्छन् तर परीक्षा प्रणालीको पुनः संरचनाका लागि आन्दोलन गर्दैनन् । शिक्षक–प्राध्यापकप्रति निरादर, सहपाठी युवतीलाई दुर्व्यवहार, क्याम्पसको सम्पत्तिमा हानि–नोक्सानी पुर्याएर शैक्षिक संस्थाको लक्ष्यमा आफ्नो रुचि नभएको प्रदर्शन गर्छन् ।
युवा आन्दोलनको उद्देश्य मौजुदा सिकायत र अन्यायका प्रति सत्तारूढको ध्यान आकृष्ट गर्नु, सचेत गराउनु, प्रभावित गर्नु, उत्तेजित पार्नु, चिन्तित तुल्याउनु र अस्तव्यस्त एवं आकुलव्याकुल पार्नु हो । प्रदर्शन, नाराबाजी, हडताल, भोक हडताल, चक्काजाम, सडक अवरोध, घेराउ र परीक्षा, कक्षा बहिष्कारजस्ता स्वरूपमा युवा आन्दोलन हुने गर्छन् । अदालत, प्रहरीजस्ता कानुन लागू गर्ने निकायमाथि आन्दोलनकारीको भरोसा हुँदैन र प्रहरीको उपस्थिति प्रत्युत्पादक हुन सक्छ ।
‘कानुन हातमा लिएका’ युवा आन्दोलनकारीमा त्वरित न्याय हुनुपर्छ भन्ने सोच रहन्छ । भीडको व्यक्तिले आफ्नो व्यक्तिगत पहिचान हराएर भीडको एउटा हिस्सा बन्न पुगेपछि उसको स्वत्व बिलाएर भीडमा प्रवाहित हुन्छ र भीडले गरेका कसुरजन्य कार्यका लागि आफू पक्राउ पर्छु भन्ने डर उसलाई लाग्दैन । कानुन लागू गर्ने निकायलाई पनि भीडमा भएको अपराधमा कसलाई जिम्मेवार बनाउने ठहर्न मुस्किल पर्छ । यस्तो अवस्थामा तर्क वा बुद्धिले नभएर भावनात्मक अपिलले मात्र आन्दोलनकारीलाई प्रभावित गर्छ ।
युवा विरोध, उत्तेजना र आन्दोलन एक यस्तो विचार, व्यवहार र नीतिको अस्वीकृतिको अभिव्यञ्जना हो, जसलाई रोक्न वा टाल्न एक व्यक्ति शक्तिहीन हुन्छ । यो प्रत्यक्ष कारबाही होइन, असन्तोष व्यक्त गर्ने एक तरिका हो । यो अन्यायविरुद्धको घृणाको अभिव्यक्ति हो । देशका विभिन्न भूभागका युवाका उत्तेजनापूर्ण आन्दोलन र उनीहरूको कुण्ठाको अवलोकनपश्चात् के भन्न सकिन्छ भने दशकौंअघिदेखिका सरकारका नीति र कार्यक्रमले आगामी धेरै दशकपछिसम्म आममानिसको जीवनस्तरमा सुधारको गुञ्जायस नदेख्दा अधिकांश युवा यति कुण्ठित र निराशावादी भएका हुन् ।
जब देशका अधिकांश युवा न केवल आफ्नो भविष्य र सुरक्षाका बारेमा अपितु देशको आर्थिक भविष्य र सामाजिक प्रगतिका बारेमा निराशावादी छन् भने के युवाको उत्तेजनापूर्ण आन्दोलनलाई रोक्न र छेक्न सकिन्छ ? देशको आर्थिक आवश्यकता र शैक्षिक प्रणालीमा दरार भयो भने युवामा भविष्यका बारेमा असुरक्षाको भाव हुन्छ । शैक्षिक प्रणाली, विद्यार्थीको आकांक्षा र उपलब्धिका बीच तालमेल नहुँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्छ । राम्रो अंक ल्याएर पनि रोजेको विषय पढ्न नपाउँदा विद्यार्थीमा निराशा बढ्छ । विद्यार्थीलाई आन्दोलनका लागि उक्साउने र आन्दोलन टुंगोमा नपुगी सामसुम पार्ने राजनीतिक हस्तक्षेपले पनि युवामा निराशा बढाउने अर्को कारण हो ।
समाजमा विद्यमान स्थितिसँग सबै व्यक्ति सन्तुष्ट हुँदैनन् । समाजलाई विद्यामा प्रबुद्ध, प्राविधिक ज्ञानमा निपुण र राजनीतिक रूपले परिपक्व युवाको खाँचो छ । एक सामान्य युवा व्यक्तिवादी, कल्पनाशील र प्रतिस्पर्धी हुन्छ । जोस र उत्साह नियन्त्रित गर्ने मार्गदर्शनको मात्र उसलाई खाँचो हुन्छ । उसका असन्तुष्टि, रोष र सिकायतहरूको अभिव्यक्ति गर्ने तरिका सिकाउनुपर्छ, निकास खोज्नुपर्छ, साधन उपलब्ध गराउनुपर्छ । युवालाई अहानिकारक भावात्मक अभिव्यक्तिको अवसर दिनुपर्छ । समस्या विद्यमान छन् भनेर अन्यलाई विश्वास दिलाउन सकियोस् भनेर, स्थिति सुधारका लागि कारबाहीको थालनी होस् भनेर र दुःखद स्थिति एवं त्यसको कारण समाधान गर्न सकियोस् भनेर पनि आन्दोलन हुने गर्छ ।
विश्व स्वास्थ्य संगठन अनुसार अहिलेको विश्व जनसंख्यामा २५ वर्षमुनिको युवाको प्रतिशत मानव सभ्यताको सबैभन्दा बढी हो । ७.२ अर्ब विश्व जनसंख्यामा २५ वर्षमुनिका युवा ३ अर्ब छन् र यो ४२ प्रतिशत हो । जीवनको यसै कालखण्डमा स्वतन्त्र व्यक्तिमा रूपान्तरण हुने, नयाँ सम्बन्धको थालनी गर्ने र जीवनपर्यन्त निरन्तरता पाउने सामाजिक सीप र व्यवहारको विकास हुन्छ ।
युवालाई शिक्षा, रोजगारी र उद्यमशीलताको खाँचो छ । युवाहरूको नैतिक मूल्य, लोकाचार र निजहरूको पारिवारिक पृष्ठभूमिले पनि आन्दोलनको स्वरूपलाई निश्चित गर्छ । विपन्नता, समाजबाट अलग सम्झिने, अध्ययनमा पर्याप्त रुचि जागृत गर्न नसकेका, आफ्ना बाबुआमासँग घनिष्ठ र सन्तोषप्रद सम्बन्धको अभाव भएका वा अध्ययन वा रोजगारीका लागि घर परिवार छाडेर अन्यत्र बसेका युवाहरू आफ्नो जीवनमा खालीपनलाई भर्न, साथीभाइको लहैलहैमा उत्तेजनापूर्ण आन्दोलनमा भाग लिने गर्छन् ।
अहिलेसम्म उपेक्षित रहँदै आएको यो विशाल युवा शक्तिलाई विकासका लागि र सामाजिक अन्याय हटाउन, राष्ट्रिय सामूहिक लक्ष्य प्राप्तिका लागि लगाउन आवश्यक समय अब भइसकेको छ । दमन र टकरावको वातावरणको स्थानमा आशा, विश्वास र आस्थाको वातावरण आवश्यकता छ र युवाशक्तिलाई यसतर्फ संगठित गर्न अग्रसर गरिनुपर्छ । किनभने अन्यको तुलनामा जोखिम लिन सक्ने साहस युवामा दोब्बर हुने निष्कर्ष रहेको छ ।
आज नेपाली समाजमा नयाँ अनुहारहरूको खोजी भइरहेको छ । गत निर्वाचनमा युवा र नयाँ उम्मेदवारप्रति मतदाताको चाहना प्रकट भएको थियो । स्थानीय सरकारका लगभग ४० प्रतिशत जनप्रतिनिधिमा ४० वर्षमुनिका युवा नै निर्वाचित भएका छन् । सत्तासीनले युवा समस्याका प्रति संवेदनशीलता देखाएर तर्कसंगत निकास दिन सहयोग गर्नुपर्छ । कानुन कार्यान्वयन गर्ने निकायले पनि युवा आन्दोलनलाई दबाउनेभन्दा युवा मनोविज्ञान बुझ्न अब ढिला गर्नु हुँदैन ।
