नयाँ सरकारसँग युवा पुस्ताको अपेक्षा

पहुँच र चिनजानका आधारमा मात्र जागिर पाउने अवस्था सिर्जना भइदिँदा उच्च शिक्षा हासिल गरेको बौद्धिक पुस्ता विदेशिन बाध्य छ ।

आश्विन २४, २०८२

गोविन्द मरासिनी

Expectations of the young generation from the new government

What you should know

जेन–जी आन्दोलनपश्चात् अन्तरिम सरकार बनेसँगै आमयुवाहरू देशमा स्थायित्व, सुशासन र भ्रष्टाचारको अन्त्य हुने आशामा बसेका छन् । पुराना पार्टीहरूप्रति बढ्दो वितृष्णा, चरम भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दका विरुद्धमा भएको जेन–जी पुस्ताको आन्दोलनका केही नकारात्मक पक्ष पनि होलान् तर यो आन्दोलनका उपलब्धिलाई सकारात्मक रूपमा हेर्दा यो सरकारप्रति युवा आशा अझ बढिरहेको छ ।

पुराना राजनीतिक दल र पुराना राजनीतिक दलका पनि बुढा पुस्ताका नेता सदैव नेतृत्व तहमा बसेर राज्य सत्ता चलाइरहँदा आजित युवा पुस्ताले स्थापित गरेको वर्तमान सरकारसँग थप आशा राख्नु स्वाभाविक पनि हो । 

यसरी युवाहरूको आशा र भरोसा अझ बढ्दा यो सरकारको कार्यभार र जिम्मेवारी थप अर्थपूर्ण बनेको छ । यससँगै राजनीतिमा सधैंभरि बुढा पुस्ता हावी हुँदा चिन्तित भएका युवा पुस्ताले भोलिका दिनमा देशको नेतृत्वमा युवापुस्ताको बाहुल्य हुने अपेक्षासमेत गरेका छन् । हुन त ६ महिनाको समयावधि र चुनावी म्यान्डेट लिएर आएको वर्तमान सरकारले लामो समयसम्म नेतृत्वमा रहन पाउने छैन, तर पनि दर्जनौं युवाको बलिदानबाट प्राप्त सरकारबाट युवाहरूले कम्तीमा पाँच महिनाभित्रै कुनै न कुनै तबरबाट देशमा परिवर्तनको आभास महसुस गर्न चाहेका छन् । 

जेन–जी आन्दोलनको मूल एजेन्डा नै सुशासन, पारदर्शिता, जवाफदेही नेतृत्व र भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित थियो । नेपालमा पछिल्ला दशकमा भ्रष्टाचारले अत्यन्तै विकराल रूप लिएको मात्र थिएन, जरो नै गाडेर बसेको थियो । वडा तहमा सरकारी निकायदेखि ठूला परियोजनासम्म, शिक्षा र स्वास्थ्यदेखि कानुन तथा सुरक्षा क्षेत्रसम्म भ्रष्टाचार व्याप्त छ ।

देशले विकासको गति लिन नसक्नुमा यसको गहिरो प्रभाव देखिन्छ । नेपाली नागरिकताको प्रमाणपत्र बनाउँदादेखि माथिल्लो तहका जुनसुकै काममा पनि भ्रष्टाचार व्याप्त छ । स्थानीयको काममा अवरोध नै अवरोध छ । जेन–जी आन्दोलनका क्रममा भ्रष्टाचार र बेथिति बढाएको आरोपमा राजनीतिक दलका नेता बढी टार्गेटमा परे पनि कर्मचारी प्रशासन पनि ‘करप्सन’ मा कम छैन । त्यसैले भ्रष्टाचारको अन्त्यका लागि यस सरकारले यथाशीघ्र ठोस कदम चाल्नुपर्ने अपरिहार्य छ । 

नेपालमा रोजगारीको अवसर नहुँदा देशका खम्बाका रूपमा रहेका युवा पुस्ता दिनानुदिन खाडी मुलुकलगायत विदेश जान बाध्य छन् । कैयौं युवक, युवती बिहान–बेलुकाको छाक टार्नकै लागि आफ्नो परिवारसँग बिछोड भई विदेश जान बाध्य छन् । यसको प्रमुख कारण बेरोजगारी नै हो । चुनावका समयमा युवालाई रोजगारी दिलाउने भनेर चर्को नारा र घोषणापत्र बनाउने दलका नेता सत्तामा पुगेपछि देश होइन, आफू र आफ्ना नातागोता मात्र कसरी सुखी र सम्पन्न हुने भन्नेमा ध्यान केन्द्रित गर्दा आजको परिणाम आएको हो ।

यस पटक युवा आन्दोलनबाटै निर्मित सरकारले नेपालमा बढ्दो बेरोजगारीको अन्त्य गर्न कदम चाल्नेमा युवा पुस्ता ढुक्क छ । युवाका लागि नयाँ सरकारले मुख्य एजेन्डा बनाउनुपर्ने नै रोजगारी हो । यसका लागि केन्द्रीय सरकारले युवाका लागि युवा उद्यम, स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषि र पशुपालनमा अनुदानको व्यवस्था, उद्योग र कलकारखाना स्थापना, स्थानीय तहसम्मै युवाका लागि तालिमको अवसर दिनेलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्नेछ । 

जेन–जी प्रदर्शनका क्रममा भड्किएको हिंसाका कारण कतिपय देशले कामदार भिसा नदिनेलगायतका घोषणा गरेका छन् । यसले अझ बढी युवा बेरोजगार बन्ने, रोजगारीका लागि विदेश जाने बाटोसमेत बन्द हुने र राजनीतिक पहुँचका आधारमा विभिन्न सरकारी निकायमा जागिर खाएका करिब १० हजार बेरोजगार हुने निश्चित छ । 

प्रदेश र स्थानीय सरकारको समन्वयमा युवालाई उद्यमी बनाउने कार्य महत्त्वपूर्ण कार्यभार सम्झेर अगाडि बढाउँदा थप युवालाई रोजगारमुखी बनाउन सकिन्छ । विकासको मूल प्रवाहमा रहेका युवालाई प्रत्यक्ष सहभागी गराउनु भनेको स्थानीय सरकार मात्र नभई मुलुक नै समृद्धिको बाटोमा अघि बढ्नु हो । उद्यमशीलताले नै देशमा रोजगारी सिर्जना गर्नेछ । उद्यमीहरूको उद्यमशीलता र लगनशीलताले नै आज विश्वका धनी राष्ट्रको अर्थतन्त्रमा बृहत्तर विकास सम्भव भएको हो । राज्यले स्थानीयस्तरमा उत्पादन हुने वस्तुलाई प्राथमिकतामा राखेको भए पनि धेरै स्थानीय तहले यो लागू गर्न सकेका छैनन् । जसका कारण स्थानीयस्तरमै युवा पुस्ताले उत्पादन गरेको सामग्रीले बजार नपाउने र आफ्नै स्थानीयस्तरमा बाहिरबाट आयातित वस्तुको उपभोग बढ्दो रहेको छ । 

नेपाल एक कृषिप्रधान देश हो तर यहाँका खेतीयोग्य जमिन बाँझो छन् । सरकारको राम्रो साथ नपाउँदा खेतीयोग्य जमिन छाडेर युवाहरू खाडी मुलुक जान बाध्य छन् । स्थानीयस्तरमै पनि धेरै युवाले कृषि र पशुपालनको क्षेत्रमा काम गरेर आत्मनिर्भर हुन चाहेका छन् तर उनीहरूसँग लगानी गर्न पैसा छैन । जसका कारण उनीहरू आफ्नो गाउँ र देश नै छाडेर विदेश जान बाध्य हुने गरेका छन् । सरकारले कृषि र पशुपालनमा अनुदानको व्यवस्था गरेर युवाका लागि नेपालमै बस्ने वातावरण सिर्जना गर्न पनि यो सरकारले पहल गर्नुपर्नेछ । 

युवा पुस्तालाई रोजगारीका लागि प्रचुर सम्भावना रहेको उद्योग र कलकारखाना क्षेत्र पनि हो । हालसालै देशमा भएको जेन–जी आन्दोलनले अझ निजी क्षेत्रको व्यवसाय र कतिपय उद्योगमा क्षति नै भयो । जसका कारण नेपालमा लगानीको वातावरण नभएको भन्दै व्यवसायीहरू चिन्तित बनेका छन् ।

यस्तो अवस्थामा ती व्यवसायीलाई निर्धक्क लगानीको वातावरण बनाउँदै नयाँ उद्योगको स्थापना, बन्द रहेका ठूला उद्योग र कलकारखानालाई खुलाउन तदारुकता देखाएमा युवालाई रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । स्थानीयस्तरदेखि नै सानादेखि केन्द्रमा ठूला उद्योग सञ्चालनले रोजगारी बढाउन सकिन्छ ।

युवालाई स्थानीयस्तरमै दिन सकिने विभिन्न तालिमका अवसरसमेत प्रदान गरेर युवालाई प्राथमिकतामा राख्न सकिन्छ । यसका साथै विदेशबाट फर्किएको युवा शक्तिलाई त्यहाँ सिकेको ज्ञान, सीपलाई स्वदेशमै सदुपयोग हुने खालको व्यापार, व्यवसायमा लगाएर उनीहरूलाई विदेश जानबाट रोक्न सकिन्छ । 

हामीकहाँ उच्च शिक्षा हासिलपश्चात् पनि आफ्नो योग्यता र दक्षताअनुसार जागिर नपाउनु अर्को जटिल समस्याका रूपमा रहेको छ । पहुँच र चिनजानका आधारमा मात्र जागिर पाउने अवस्था सिर्जना भइदिँदा उच्च शिक्षा हासिल गरेको बौद्धिक पुस्ता विदेशिन बाध्य छ । यसका लागि पनि सरकारले युवाको योग्यता, क्षमताअनुसारको जागिरका लागि मापदण्ड बनाएर कसको विज्ञता केमा छ, त्यसैअनुरूपको जागिरको व्यवस्थापन गरेमा युवाहरूमा जाँगर पलाउनेछ । रोजगारीपछिको मूल समस्या भनेको शिक्षा हो । अहिले युवा पुस्ता आफ्नो शैक्षिक योग्यताकै लागि पनि विदेशिन बाध्य छ ।

नेपालको शिक्षा प्रणाली सुधार गर्नुपर्ने अर्को महत्त्वपूर्ण कार्य हो । नेपालमा गुणस्तरीय शिक्षा प्रणाली विकासका लागि विभिन्न सुधारका उपाय अपनाउनुपर्ने हुन सक्छ । विश्वविद्यालयबाट प्रवाह गरिने शिक्षा वैज्ञानिक, खोजमूलक र अनुसन्धानमूलक हुनुका साथै विश्वविद्यालयका पाठ्यक्रम अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्नेछ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि जाने युवाबाट नेपालको अर्बौं रकम विदेश पुगिरहेको छ । ती विद्यार्थीलाई कसरी यहीँ रोक्ने भन्नेतर्फ सरकारको चासो रहे पनि ठोस कदम चाल्न सकेको देखिँदैन ।

यसका लागि पनि यो सरकारले उचित कदम चालोस् भन्ने युवाको अपेक्षा छ । यसका अलावा खेलकुद, पर्यटन, निर्माणलगायतका क्षेत्रमा युवालाई सहभागी गराउँदै उनीहरूको जोस र जाँगरलाई आत्मसात् गर्दै उत्प्रेरणा जगाउने खालका कार्यक्रमप्रति आकर्षित गराउन वर्तमान सरकारले महत्त्वपूर्ण भूमिका खेल्न जरुरी छ ।

गोविन्द

Link copied successfully