प्रतिनिधिसभा पुन:स्थापनाका लागि न्यायिक प्रक्रियामा जाने चर्चा पनि कांग्रेस, एमाले वृत्तमा चलेको छ। त्यो अधिकारको प्रयोग गर्ने स्वतन्त्रता छ। तर त्यो यतिखेर चुनावको विकल्प बन्न सक्तैन।
What you should know
देशको अत्यन्त कठिन परिस्थितिमा सरकारको नेतृत्व सम्हालेको करिब दुई सातापछि प्रधानमन्त्री सुशीला कार्कीले ९ असोजमा राष्ट्रका नाममा गरेको सम्बोधनबाट सरकारको ६ महिने कामको सिमाना र दिशालाई स्पष्ट गरेको छ । २१ फागुनका लागि निर्धारित चुनावमा जेन–जीले उठाएको कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन के हुन्छ भन्ने कौतूहल थियो ।
कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन नै हुने हो कि भन्ने भ्रम पनि थियो । प्रधानमन्त्री कार्कीले प्रस्ट गरेकी छन्, ‘जेन–जी पुस्ताले आन्दोलनका क्रममा उठाएका शासकीय प्रणाली संशोधनलगायत विषय अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको हो र त्यसको सम्बोधन आगामी निर्वाचनका माध्यम संवैधानिक प्रक्रियाबाटै हुनेछ ।’
सम्बोधन सुनेपछि म अलि विस्मयमा परेको छु । के जेन–जी आन्दोलनको प्रयोजन प्रतिनिधिसभाको मध्यावधि चुनावमै सीमित हुन लागेको हो कि भन्ने भान पनि दिन्छ । स्थितिलाई उकास्ने मेरो उद्देश्य होइन, तर राजनीतिको अध्येता भएकाले योसँग जोडिएका राजनीतिक आयामको विवेचना गर्नु मेरो कर्तव्य पनि हो । चुनावका एजेन्डा पार्टी र समूहपिच्छे फरक हुन्छन् । त्यो स्वाभाविक पनि हो । मतदानका माध्यमबाट तिनको प्राथमिकीकरण गर्ने बाटो खुल्छ । तथापि यस सन्दर्भमा केही कुरा सम्बन्धित सबैका लागि विचारणीय छन् ।
राजनीतिक वातावरण निर्माण
लोकतन्त्रमा आमचुनाव एक महत्त्वपूर्ण राष्ट्रिय राजनीतिक पर्व हो । यसमा सबै राजनीतिक दल र नागरिकको उत्साहपूर्ण सहभागिता अपेक्षित हुन्छ । यसले राष्ट्रिय राजनीतिको दिशा निर्धारण गर्ने मात्र होइन, आगामी अवधिका लागि देशको शासन–प्रशासन, विकास निर्माण र समुन्नतिको मार्गसमेत कोर्छ । त्यसमाथि यो चुनाव एउटा विशेष राजनीतिक परिस्थितिको उपज हो ।
यस पटक नयाँ युवा मतदाताको उल्लेख्य सहभागिता हुने अनुमान गर्न सकिन्छ । यसले जेन–जी (नवयुवाहरू) को आकांक्षा र सपनालाई नयाँ राजनीतिक मार्गमा डोर्याउन सक्नुपर्छ । तसर्थ चुनावको वातावरण निर्माण गर्न सर्वप्रथम पृष्ठभूमिमा रहेको युवा पहल, रक्तरञ्जित बलिदान र आकांक्षाको त्यो परिस्थितिलाई मनन गर्नुपर्छ । अन्यथा यो चुनाव संसद्को मध्यावधि निर्वाचनजस्तै एउटा अभ्यासको प्राविधिकतामा सीमित हुनेछ । पुरानै प्रवृत्ति, बेथिति र भ्रष्टाचार अरू मौलाउनेछ । देशको कर्णाधार मानिएका नवयुवामा आक्रोश र तुस कायमै रहनेछ । कुनै बेला अरू विस्फोटक भएर आउन सक्छ ।
हरेक दिन चुनाव नजिकिँदै जान्छ, समयको अपव्यय गर्ने सुविधा हामीलाई छैन । चुनावको राजनीतिक वातावरण बनाउने पहिलो जिम्मेवारी सरकारको हो । त्यसको पहल प्रधानमन्त्री स्वयंले गर्नुपर्छ । निर्वाचन आयोगलाई निर्देशन दिएर मात्र पुग्दैन । यो सरकार दलहरूलाई विस्थापन गरेर बनेको छ । दल र सरकारका बीच एउटा मनोवैज्ञानिक दूरी कायम छ ।
चुनावको अनुकूल वातावरण बनाउन त्यो दूरी मेटिनु आवश्यक छ । दलहरूको सहयोग र सहभागिताबिना न चुनाव सम्भव छ, न संवैधानिक प्रणालीले पूर्णता नै पाउँछ । तसर्थ दलहरूसँग संवादको पहल ढिलो नगरी प्रारम्भ हुनुपर्छ । त्यस्तो संवादको आह्वान राष्ट्रपतिले गरे पनि हुन्छ । तर राष्ट्रपतिलाई राजनीतिक मुद्दामा घरीघरी संलग्न गराउनु उपयुक्त हुन्न । आह्वान राष्ट्रपतिको र संवादको निरन्तरता प्रधानमन्त्री र गृहमन्त्रीलगायत उहाँको टिमले दिनुपर्छ ।
चुनावी वातावरण निर्माणको अर्को महत्त्वपूर्ण पक्ष शान्ति सुरक्षा विश्वासिलो प्रत्याभूति हो । जेन–जी आन्दोलनका क्रममा देशमा जुन किसिमका तोडफोड, आगजनी र विध्वंस भए त्यसले सुरक्षा संयन्त्रको भौतिक क्षति मात्र होइन उसको मनोबलमा पनि गम्भीर आघात परेको छ । सुरक्षा संयन्त्रको मनोबल बढाउने, भौतिक शक्तिको पुनःस्थापनालगायतका काम चुनावका सन्दर्भमा थप प्राथमिकतासाथ अघि बढाइनुपर्छ । शान्ति सुरक्षाको वातावरण आश्वस्त पार्न जेन–जी अभियन्ताको भूमिका पनि महत्त्वपूर्ण हुन्छ ।
यो चुनाव उनीहरूको आन्दोलनको परिणाम हो । भावी गन्तव्यलाई विश्वसनीय बनाउने र यो चुनावको मर्यादा कायम राख्ने दायित्व उनीहरूको काँधमा छ । निष्पक्ष छानबिन र पर्याप्त कानुनी आधारमा हिजोका जिम्मेवार पदाधिकारीलाई गिरफ्तार गर्ने, उनीहरूका गतिविधिमा रोक लगाउने काम सरकारको हो । जेन–जी अभियन्ताले त्यसका लागि आन्तरिक दबाब जारी राख्न सक्छन् । तर त्यसकै लागि घेराउ र प्रदर्शन अहिले अपेक्षित होइन । त्यसले चुनावको वातावरण बिगार्छ ।
निर्धारित चुनाव सम्पन्न हुन सकेन भने जेन–जी आन्दोलन एउटा हुण्डरी साबित हुनेछ । मुलुक थप राजनीतिक रिक्तता र संकटमा धकेलिनेछ । यो सरकारको पनि औचित्य सकिन्छ । भ्रष्टाचारमुक्त राजनीति, सुशासन, स्थिरता जुन जेन–जी आन्दोलनको अपेक्षा हो, त्यो पनि धूमिल हुन्छ ।
जेन–जीको राजनीतिक मार्गचित्र के हो ?
अगाडिको बाटो पहिल्याउन सबैभन्दा पहिला जेन–जी आन्दोलनको राजनीतिक स्वरूप र उद्देश्यका बारेमा स्पष्ट हुनु आवश्यक छ । त्यसले नै भोलिको दिशा अर्थात् गन्तव्य निर्धारण गर्छ । सरल अर्थमा भन्ने हो भने यो आन्दोलनको मुख्य उद्देश्य सुशासन थियो । सडकमा देखिएका नारा सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिको विरोध भन्ने मात्रै प्रकट भएका थिए ।
तिनको सम्बोधन वा समाधान कसरी भन्ने पनि केही उल्लेख थिएन । तथापि भ्रष्ट र सत्तालुब्ध नेताका निरन्तरता एवं कुटिल खेलको अन्त्य गर्न देशको प्रमुख कार्यकारीको प्रत्यक्ष निर्वाचन हुनुपर्छ भन्ने राजनीतिक आकांक्षा त्यसमा सन्निहित थिए । त्यसको राजनीतिक एवं संवैधानिक स्वरूप कस्तो हुन्छ भन्ने कुरा प्रकट भएको थिएन ।
प्रदर्शनको व्यापकता, त्यसको शान्तिपूर्ण व्यवस्थापनमा सरकारी असफलता एवं दमन र प्रधानमन्त्रीको राजीनामापछि यो आन्दोलनका राजनीतिक माग देखिन थालेका हुन् । ‘अब देशमा पुरानो सत्ताको विकल्पमा नयाँ सत्ता निर्माणको अभिभारा पूरा गर्न अघि बढ्ने’ संविधानमा भएका गणतन्त्रलगायत आधारभूत संरचनालाई संरक्षण गर्दै प्रगतिशील पुनर्लेखन गर्ने भनियो ।
भ्रष्टाचारमुक्त अर्थात् सफा राजनीति, सुशासनका कुरा छन् । यी सब कामका लागि वैध राजनीतिक शक्ति आवश्यक पर्छ, त्यो भनेको राजनीतिक दल नै हो । हिजोका दल भ्रष्ट भए, सुशासन दिन सकेनन्, बेथिति बढ्यो भनेर दलमुक्त राजनीति र शासनको कल्पना गर्न सकिन्न । त्यो केही व्यक्ति वा गिरोहको निरङ्कुशता बन्छ । आफ्ना आकांक्षा, एजेन्डा, नेतृत्व र योजनाअनुसार नयाँ राजनीतिक शक्तिका रूपमा संगठित भएर नमुना राजनीतिक दलको खाका कोर्ने दायित्व अब जेन–जी अभियन्ताकै काँधमा आएको छ । संगठनको औपचारिक स्वरूप बन्दै गर्छ तर एउटा प्रारम्भिक राजनीतिक मार्गचित्र प्रस्तुत गर्न अब उनीहरू पछि पर्नु हुँदैन ।
आन्दोलनको रापताप सधैँ रहिरहन्न । यो कायम छँदै आन्दोलनको शक्तिले आफ्नो राजनीतिक मार्गचित्र नागरिकका बीच स्थापित गर्नुपर्छ । जेन–जी अभियन्तासामु चुनौती धेरै छन् । पहिलो कुरा, उनीहरू अन्तरिम सरकारमा प्रत्यक्ष सहभागी छैनन् । यो गैरदलीय व्यक्तिहरू रहेको अन्तरिम सरकार हो । यो सरकारका प्रधानमन्त्री, मन्त्रीले आन्दोलन अपेक्षित राजनीतिक मार्गचित्र दिन सक्तैनन्, चुनावबाहेक यसको अर्को राजनीतिक गन्तव्य बन्न सक्तैन ।
सरकारका केही सिमाना र समस्या छन् । जुन कुरा गत असोज ९ गते प्रधानमन्त्रीको सम्बोधनले देखाइसकेको छ । अन्तरिम अवधिमा सरकार र आन्दोलनका अभियन्ताबीचको यो अन्तरले पनि चुनावको राजनीतिक वातावरण निर्माण र अगाडिको गन्तव्य कोर्न कठिन भएको छ । त्यस कारणले पनि जेन–अभियन्ताले संगठित भएर शीघ्रातिशीघ्र आफ्नो राजनीतिक योजना सार्वजनिक गर्न आवश्यक भएको हो । जस्तोसुकै सरकार होस्, सधैं लोकप्रिय रहन्छ भन्ने जरुरी छैन । एजेन्डाले राजनीतिक बाटो निर्दिष्ट गर्न सकेन वा अनावश्यक ढिलासुस्ती भयो भने आन्दोलनको रापताप पनि सकिन्छ, जनतामा प्रभाव पनि ह्रास हुँदै जान्छ ।
संविधान बनेको १० वर्षपछि कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचनको विषयलाई जेन–जी आन्दोलनले पुनः चर्चामा ल्याएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारीको राजनीतिक संरचना राष्ट्रपति वा प्रधानमन्त्री को हुने भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ । संविधान निर्माणका बेला यी दुवै विकल्पमा पनि बहस भएको थियो ।
हाम्रोजस्तो देशमा राष्ट्रपति प्रणाली निकै जोखिमयुक्त पनि मानिन्छ । अर्को विकल्प भनेको राष्ट्रपतिलाई अहिलेजस्तै आलंकारिक कायम राखेर प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने हो । सोझै जनताबाट चुनिने हुँदा प्रधानमन्त्री आफ्नो कार्यकालको लागि प्रतिनिधिसभामा निर्भर हुनु पर्दैन र उनीविरुद्ध अविश्वासको प्रस्ताव लाग्दैन । तर कुनै गम्भीर गल्ती गरेमा उनीविरुद्ध संसद्ले महाभियोग प्रस्ताव पारित गरेर हटाउन सक्छ ।
सरकारका कार्यक्रम र बजेट संसद्ले अनुमोदन गर्नुपर्छ । उनी संसद् र जनता दुवैप्रति उत्तरदायी हुन्छन् । तर आसन्न प्रतिनिधिसभाको चुनावसँगै कार्यकारी प्रमुखको चुनाव सम्भव छैन । संवैधानिक र राजनीतिक कठिनाइबाहेक पनि यसले माग गर्ने संविधान संशोधनका प्याकेजको समग्रतामा विचार विमर्श आवश्यक हुन्छ । त्यतिखेर व्यवस्थापिका एवं न्यायपालिकाको वर्तमान संरचना र अधिकारमा सन्तुलन र नियन्त्रणका थप व्यवस्था गर्नुपर्ने हुन्छ । आगामी चुनावलाई जेन–जीले त्यो सम्भावनाको खोजी र पहल गर्ने ढंगले चलायमान बनाउन जरुरी छ । यसले संविधानमा अपेक्षित संशोधन र परिमार्जनका लागि जनमत पनि तयार गर्छ ।
राजनीतिक दलका जिम्मेवारी
जेन–जी आन्दोलनले विशेष गरेर हिजो प्रमुख भनिएका कांग्रेस, एमाले र माओवादी दलहरू सर्वाधिक रूपमा प्रभावित भएका छन् । कांग्रेस–एमाले सत्ता ढल्यो, सत्ताबाहिर रहेका माओवादी, रास्वपा, जसपासहित यी दलका शीर्ष नेतृत्व जनआक्रोशको निसाना बने । नेमकिपाको त भक्तपुरमा किल्लाजस्तै छ, उसमाथि आक्रोश पोख्नुपर्ने अवस्था पनि थिएन । राप्रपाबाहेक संसद्मा रहेका प्रायः सबै दल कुनै न कुनै रूपमा तोडफोडको सिकार हुनुपर्यो । वडादेखि संसद् भवनसम्म र सिंहदरबार, व्यापारिक प्रष्ठिानलगायतमाथि आक्रमण सुनियोजित पनि देखिन्छ । यी दलका नेतामा राजनीतिक विश्राम लिनेभन्दा आहतको कुण्ठा र प्रतिरक्षाको मानसिकता बढी देखिन्छ ।
आफूले भनेजस्तो नभए किन चाहियो संविधान र लोकतन्त्र भन्ने प्रवृत्ति पनि छ । तथापि यी दलहरूमा अहिले नेतृत्व परिवर्तन र आन्तरिक सुधारका लागि दबाब पनि चुलिएको छ । चुनावमा यी पुराना अनुहार बोकेर जान सकिन्न, पार्टी नै समाप्त हुन्छ भन्ने मत ती पार्टीभित्र व्यापक भएको छ । विद्यमान नेतृत्वले यसलाई रोक्न खोजे आन्तरिक विद्रोह तीव्र भएर निर्णायक हुने अवस्था छ । यो चुनावमा नेतासहित पार्टी पनि समाप्त गर्ने कि नयाँ र सफा नेतृत्वबाट पार्टीको पुनर्निर्माण गरेर जनताबीच आफ्नो साख जोगाउने विकल्पमा यी पार्टी पुगेका छन् ।
जेन–जी आन्दोलनअघिदेखि नै नेतृत्वका कारण कांग्रेस, एमाले, माओवादी अत्यन्त अलोकप्रिय भइराखेका थिए । उनीहरूको जनाधार झन्झन् स्खलित भइरहेको प्रस्ट देख्न सकिन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीले जनतामा आफ्नो समर्थन विस्तार गरिरहेको थियो । यो आन्दोलनपछि त्यो पार्टी पनि धरापमा परेको देखिन्छ । सभापति रवि लामिछानेका कारण पार्टीभित्र विवाद बढ्दो छ । पार्टीमा जुझारु छवि बनाएकी सुमना श्रेष्ठ बाहिरिइसकेकी छन् । तथापि चुनावलाई अर्थपूर्ण र सहज बनाउन यी सबै दलका सहभागिता र सहयोग आवश्यक छ । यिनलाई बाहेक गरेर चुनावको वातावरण बन्दैन ।
खास गरेर कांग्रेस, कम्युनिस्ट पार्टी युगीन परिवर्तनका वाहक भएर इतिहास बोकेका छन् । यिनको जनाधार पनि निकै फराकिलो छ । नेताका कारण अलोकप्रिय भएका होलान्, तर समाजबाटै विलोप हुने अवस्था होइन । यिनको विकल्पका रूपमा जेन–जी संगठित भइसकेकै छैन । नयाँ प्रतिस्पर्धीको सम्भावनासम्म देखिन्छ । नयाँ र सफा नेतृत्व, भरलाग्दा युवा उम्मेदवारसहित यी दलहरू प्रस्तुत हुनसके राम्रै चुनावी प्रतिस्पर्धा हुनेछ ।
निर्धारित चुनावका माध्यम संवैधानिक प्रणालीलाई पुनः क्रियाशील बनाउनु यी दलहरूको साझा दायित्व पनि हो । प्रतिनिधिसभाको पुनःस्थापनाका लागि न्यायिक प्रक्रियामा जाने चर्चा पनि कांग्रेस, एमाले वृत्तमा चलेको छ । त्यो अधिकारको प्रयोग गर्ने स्वतन्त्रता छ, तर त्यो यतिखेर चुनावको विकल्प बन्न सक्तैन । पुरानो प्रतिनिधिसभाबाट राजनीति पनि सुध्रिँदैन । अरू फोहोरी खेल बढ्ने बाटो दिन्छ । तसर्थ ती पार्टीहरूले यसैमा अलमलिनु प्रत्युत्पादक हुन सक्छ । पुराना नेता अवरोध बने तिनलाई पन्छाएर युवा पङ्ति आफैं अग्रसर हुन पनि सक्नुपर्छ । इतिहासको कठिन घडीमा चुक्ने वा पछि पर्ने छुट यी पार्टीलाई छैन । संविधानलाई जोड्ने, राजनीतिको कोर्स करेक्सन गर्ने अवसरका बेलामा अलमल गर्ने र बहानाबाजी गर्ने हो भने आफ्नो इतिहास आफैंले मेट्ने अवस्था आउन सक्छ ।
नयाँ गन्तव्यको राष्ट्रिय वाचा
जेन–जी आन्दोलनभन्दा निकै पहिलेदेखि यो पृष्ठलगायत सञ्चारमाध्यममा राजनीतिक दलमा नेतृत्व परिवर्तनसहित सुधार तथा शासकीय बेथिति, अस्थिरता र राजनीतिक तहमा व्याप्त भ्रष्टाचारको अन्त्यका लागि नागरिक अभिमत निरन्तर प्रकट भइरहेका हुन् । त्यसप्रति संवेदनशील हुनुको सट्टा नेतृत्वमा बस्नेहरू दम्भी र अकर्मण्य भए ।
परिणामस्वरूप जेन–जी युवा आक्रोश सडकमा विस्फोट भयो । शीर्ष भनिएकाहरू जनतामाझ मुख देखाउन नालायक भए । यी कुरालाई आत्मसात् गर्दै नेतृत्वको पुराना पङ्तिले अब विश्राम लिनै पर्छ । पार्टी भनेको केवल नेताका नाममा व्यक्ति व्यवस्थापनको संरचना होइन भन्ने कुरा प्रत्येक पार्टीले प्रस्टसित स्थापना गर्नुपर्छ । नयाँ आउनेले पनि लोकप्रिय मतका आधारमा आफ्नो निरन्तरता वा बाहिरिने स्वस्थ परम्परा बसाल्ने वाचा गर्नु जरुरी छ । पूर्व भइसकेपछि प्रधानमन्त्रीले चुनाव लड्न पनि जानु हुँदैन । पूर्वप्रधानमन्त्रीहरूकै व्यवस्थापनमा हाम्रा दलहरू फसेको दृष्टान्तलाई सबैले मनन गर्नु आवश्यक छ ।
आन्दोलनपछि मैले सार्वजनिक यातायात साधनमा होस् वा सडकमा हिँड्दा जेन–जी युवाहरूका बीच अब राजनीति फेरिन्छ, अस्थिर सरकारको शृंखला अन्त्य हुन्छ, देश नयाँ गतिमा जान्छ भन्ने आशा जागृत भएको पाएको छु । उनीहरूमा सञ्चारित यो उत्साह र निर्दोष भावनालाई जोगाउनु जरुरी छ । उनीहरूका आपसी संवादमा प्रत्यक्ष निर्वाचित कार्यकारी यसको अचुक सूत्र हो भन्ने सबैभन्दा टड्कारो आवाज सुनिन्छ ।
२१ फागुनमा हुने निर्वाचनमा कार्यकारी प्रमुखको प्रत्यक्ष चुनाव सम्भव पनि वर्तमान संविधान संशोधन गरेर शासकीय संरचनामा सुधार गर्ने दिशातर्फ यो चुनावलाई अग्रसर गराउनु आवश्यक छ । तसर्थ यो चुनाव धेरै किसिमबाट नेपालको राजनीतिमा युगीन महत्त्वको साबित हुन सक्छ । नवयुवाले जगाएको चेतना, नयाँ एवं सफा अनुहार र भरपर्दो वाचासहितको सहभागिताले चुनावलाई अर्थपूर्ण बनाउनेछ । संवैधानिक प्रणालीलाई पनि अरू सुदृढ भएर विकसित गर्ने अवसर दिनेछ ।
