भूमिहीनलाई जहिल्यै अन्याय

भूमिहीनता अन्त्य गर्ने विषय विस्तृत शान्ति सम्झौताको पनि म्यान्डेट हो, यो मौलिक हक कार्यान्वयनको विषय हो।

आश्विन २२, २०८२

जगत देउजा

Never injustice to the landless

What you should know

जेन–जी आन्दोलनको मर्म पक्डने हो भने भूमि मन्त्रालयको पहिलो काम मालपोत र नापी कार्यालयमा सुशासन कायम गर्नमा केन्द्रित हुनुपर्ने हो । तर भूमि आयोग खारेजीको खबर बाहिरिएको छ । सरकार फेरिएपिच्छे आयोग विघटन गर्ने, खारेज गर्ने, अर्को बनाउने खेल चलिरहेको छ । यो देशमा सबैभन्दा मजाकको विषय नै यही आयोगलाई बनाइएको छ ।

काम गर्न नसकेका अनेक निकाय छन्, तिनका विषयमा कतैबाट पनि प्रश्न उठ्दैन तर यही भूमि आयोग जुनसुकै सरकारको पहिलो निसाना बन्ने गरेको छ । यसबाट सारमा सरकार, कर्मचारी, आयोगका पदाधिकारी कसैलाई पनि खासै असर पर्दैन । कसैलाई पर्छ भने भूमिहीनलाई पर्छ ।

दलहरूले त गरे, गरे । हामी छुट्टै ढंगले गर्छौं भन्नेहरूले समेत राम्ररी नबुझी किन हतारिएर भूमि आयोग विघटन गर्नतर्फ लागेका होलान् ? थिति बसाल्न भनेर आएको सरकारले पनि भूमि आयोगप्रति पूर्वाग्रह राख्नु उचित होइन । आयोगलाई तोकिएको अवधिसम्म काम गर्न दिनुपर्छ । काम नगर्ने पदाधिकारीलाई फेर्न मिल्ने व्यवस्था छ । यसरी विघटन गर्दा राज्यको स्रोत नोक्सानी हुन्छ । आयोगमा रहेकाहरू पनि जवाफदेही हुनुपर्दैन । हामी गर्दै थियौं, सरकारले विघटन गरिदियो भनेपछि थप जवाफ दिइरहनु परेन । लक्ष्य के थियो ? उपलब्धि के भयो ? काममा सुशासन छ कि छैन ? त्यो हेर्नुपर्थ्यो । 

 भइरहेको काम के हुन्छ ? 

आयोग खारेज गर्ने त भनिएको छ तर अहिले भइरहेको कामको निरन्तरता सम्बन्धमा के हुने हो ? ज्यादै अन्योल छ । फेरि अर्को आयोग बनाउने हो कि होइन ? नबनाउने हो भने यो कामलाई टुंगोमा कसरी पुर्‍याउने ? गैरभूमिहीनलाई यसले खासै धेरै फरक नपरे पनि भूमिहीनका लागि त यो जीवन र मरणको विषय हो । यसको मार सबैभन्दा बढी स्थानीय तहलाई पर्ने देखिएको छ, लगत संकलन गरेका उनीहरूले हो, नापजाँच गरेको पनि उनीहरूले नै हो, भोलि भूमिहीन र अव्यवस्थित बसोबासी स्थानीय तहमा जग्गाधनी पुर्जा माग्न आउने स्थिति छ । 

भूमि आयोगको वेबसाइटका अनुसार अहिलेसम्म भूमिहीन दलितको ८८,८९५, भूमिहीन सुकुम्बासीको १,६८,४४१ र अव्यवस्थित बसोबासीको ८,७२,१८१ निवेदन कम्प्युटीकृत प्रणालीमा इन्ट्री भइसकेको छ । १ हजार सर्वेक्षक र अमिन नापीको कार्यमा खटाइएका छन् । त्यत्तिकै संख्यामा स्थानीय सरकारले जनशक्ति राखेर काम गरिरहेका छन् । स्थानीय तहले भूमि शाखा नै स्थापना गरेका छन् यस्तै कार्यका लागि भनेर । करार जनशक्ति भर्ना गरेका छन् । नापजाँचका लागि मेसिन खरिद गरेका छन् ।

नापी विभागबाट लाइडर म्याप खरिद गरेर लगेका छन् । कम्प्युटर, प्रिन्टर खरिद गरिएका छन् । कैयन् अव्यवस्थित बसोबासीले आयोगको जिल्ला समितिले तोकेको रकमसमेत बुझाइसकेका छन् । स्थानीय तहबाट सबै काम सम्पन्न भएर हजारौं फाइल जिल्ला समितिबाट निर्णयका लागि पठाइएका छन् । यिनको विषयमा के हुन्छ ? स्थानीय र प्रदेश सरकारको समन्वयमा हुनुपर्ने काम संघले जतिखेर मन लाग्यो त्यतिखेर खारेज गरिदिन पाइन्छ ? के यो संघीयताको मर्मविपरीत छैन ? यो सामान्य नभएर करिब १५ लाख परिवार र कम्तीमा पनि ६० लाख जनसंख्यासँग प्रत्यक्ष जोडिएको विषय छ । 

भूमिहीनता गहिरो, असर बहुआयामिक 

भूमिहीनलाई हँसिमजाकको पात्र पनि बनाउने गरिएको छ । जसले पुस्तौंदेखि आफू बसेको जमिन आफ्नो भन्न पाएन, उनीहरूलाई अधिकार दिने कुरामा यो हदसम्मको खेलाँची सह्य हुन सक्दैन । यो गरिबप्रतिको मजाक पनि हो । अति भएपछि धैर्यको बाँध कसैले रोक्न सक्दो रहेनछ भन्ने त भर्खरको जेन–जी आन्दोलनले पनि देखाइ नै सक्यो ।

भूमिहीनताका अनेकन कारण छन् । सामन्ती भूमि व्यवस्था यसको मुहान हो । जसले जमिनको स्वामित्व थोरै मानिसको हातमा केन्द्रित गरेको छ । यसले मुख्यतः दलित, आदिवासी, जातीय अल्पसंख्यक र सीमान्तकृत समूहलाई भूमिहीन बनाएको छ । परिणामस्वरूप गरिबी, असमानता र खाद्य असुरक्षा बढेको छ । यीमध्ये धेरै परिवार जोखिम क्षेत्रका सरकारी जग्गामा अस्थायी वा कामचलाउ घर बनाएर बस्ने गरेका छन् ।

जमिनमा पहुँच, स्वामित्व र नियन्त्रण, साथै जमिन बेच्ने वा हस्तान्तरण गर्ने अधिकार आधारभूत मानव अधिकार सुनिश्चितताका लागि आवश्यक छन् । जमिनको स्वामित्व पहिचान, शक्ति, समतामूलक समृद्धि र राजनीतिक पहुँचको मुख्य आधार हो । 

भूमिहीन सुकुम्बासीले भोगिरहेका अन्याय, अभाव र गरिबीको पहाड ठूलो छ । उनीहरूमध्ये धेरैजसो असुरक्षित जमिनमा बसिरहनुपरेको छ । सरकारी सेवा/सुविधा लिन पनि उनीहरूलाई जग्गा भएकाहरूभन्दा थप प्रक्रिया पूरा गर्नुपर्ने अवस्था छ । जग्गा धितो राखेर पाउने वित्तीय सुविधाबाट पनि वञ्चित हुनुपरिरहेको छ । शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिक हैसियत सबै नै कमजोर छ ।

अन्य मुलुकमा जस्तै द्वन्द्वको कारक पनि हो, भूमिहीनता । २००७ सालदेखि आजसम्म भएका आन्दोलनमा भूमिहीनको योगदान सानो छैन । भूमिसम्बन्धी छुट्टै आन्दोलन पनि भइरहेका छन् । भूमिहीनतालगायत समग्र भूमि सुधारको विषय नेपालको आर्थिक समृद्धि, लोकतन्त्रको स्थायित्व र सामाजिक न्याय सुनिश्चित गर्ने विषयसँग सघन रूपमा जोडिएको छ । 

ऐच्छिक विषय होइन भूमिहीनताको सम्बोधन 

भूमिहीनता अन्त्य गर्ने विषय विस्तृत शान्ति सम्झौताको पनि म्यान्डेट हो । यो मौलिक हक कार्यान्वयनको विषय हो । संविधानको धारा ४०, दलितको हकअन्तर्गत राज्यले भूमिहीन दलितलाई कानुनबमोजिम एक पटक जमिन उपलब्ध गराउने र राज्यले आवासविहीन दलितलाई कानुनबमोजिम बसोबासको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

यसैगरी धारा ५१ (ञ) मा सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिअन्तर्गत मुक्त कमैया, कमलरी, हरूवा–चरुवा, हलिया, भूमिहीन, सुकुम्बासीहरूको पहिचान गरी बसोबासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापना गर्ने नीति लिइएको छ । संविधानको यो व्यवस्थाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधन राज्यको अनिवार्य दायित्वका रूपमा रहेको छ । त्यसैले यो संवैधानिक दायित्वको विषय हो । कुनै व्यक्ति, संस्था वा सरकारको इच्छा वा लहडको विषय होइन । 

मौलिक हककै रूपमा आवासको हकको सुनिश्चितता पनि भूमिको हकसँग अन्तरसम्बन्धित छ । संविधानको मौलिक हक सजाएर राख्न उल्लेख भएको विषय पक्कै होइन । यो कार्यान्वयन गर्नका लागि हो । एउटै देशमा हजारौं नागरिक भूमिहीन रहिरहनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुनै सक्दैन । संविधान बनेको १० वर्षसम्म दलित समुदायको भूमिहीनताको समस्या जहाँको त्यहीँ छ । तसर्थ, हक अधिकार कार्यान्वयनमा रहेको यो उदासीनता तत्काल तोड्न आवश्यक देखिन्छ । यो हक प्राप्तिको प्रक्रिया अघि बढेको स्थितिमा रोक्नु थप अन्याय हुन जान्छ । 

 स्थायी संरचना बनाऔं

अहिलेको आयोग विघटन गर्ने हो भने अब आयोग नबनाऔं । फेरि अर्को सरकार आएर सबैभन्दा पहिले यही आयोग विघटन गर्ने भएपछि किन बनाइरहने ? चुस्तखालको स्थायी संरचना बनाऔं । काम हुनेखालको संरचना बनाऔं । सरकार फेरिएपिच्छे फेरिने आयोगको प्रयोग अब असफल भयो । अब अति भयो । भूमिहीन र अव्यवस्थित बसोबासीहरू पनि यो खेलोमेलोबाट वाक्कदिक्क भइसकेका छन् । राजनीतिक दलहरूले पनि यसको समीक्षा गरून् । हालसम्मका प्रयास पनि राजनीतिक असहमति र स्वार्थकै कारण असफल भएका छन् । दलको मान्छे राख्दा गर्न सक्नेलाई जिम्मेवारी दिनबाट दलहरू चुकेकै हुन् । जसले गर्दा केही गर्नेको पनि मूल्यांकन हुने स्थिति भएन । 

मन्त्रीसँग अनुरोध 

काबिल र अध्ययनशील मन्त्री पाएको छ, यस पटक भूमि मन्त्रालयले । विवेकले निर्णय गर्ने मन्त्री पाएको छ । विनम्र अनुरोध छ– खारेजको निर्णय भइसकेको छैन, खारेजी समाधान होइन, सकिन्छ यही आयोग पुनर्गठन गरौं । कामको मूल्यांकन गरेर मान्छे फेरौं । सकिँदैन भने काम निरन्तर हुने वैकल्पिक व्यवस्था गरौं तर अहिलेसम्मको काम अलपत्र पार्ने र शून्यमा जाने काम कदापि नगरौं । यसो गर्नु बिल्कुल बेठिक हुन्छ । 

स्रोत किफायतीका पनि उपाय छन् । संघमा सानो आयोग राखेर स्थानीय तहलाई सम्पूर्ण कार्य गर्ने गरी जिम्मेवारी तोकौं । स्थानीय तहले गर्न सक्छन् पनि । जिल्ला समिति नराखौं । स्थानीय तहले सबै प्रक्रिया पूरा गरी जग्गाधनी पुर्जा तयार गर्न सक्छन् । यसरी तयार पारिएको जग्गाधनी वितरणपूर्व मालपोत र नापीले रुजु गर्ने र स्वीकृति दिने प्रावधानमा जान सकिन्छ । तर स्थानीय तहले सिफारिस गरेको १५ दिनभित्र मालपोत र नापीले स्वीकृत दिइसक्ने गरी तोकिनुपर्दछ । अहिलेको काम नरोकिने प्रबन्ध अति जरुरी छ, नभए भूमि अधिकारबाट वञ्चितका लागि अन्याय हुन पुग्छ ।

–देउजा भूमि समस्या समाधान आयोगका पूर्वविज्ञ सदस्य हुन् ।

जगत देउजा

Link copied successfully