विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई विशेष बनाउन जरुरी

सबै पक्ष ख्याल राखी अहिले भने सरकार घोषित मितिमै निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन गराउने मूल जिम्मेवारीमै केन्द्रित हुनुपर्छ । असामान्य राजनीतिक परिस्थितिलाई ‘ट्र्याक’ मा ल्याउने प्रतिनिधिसभा निर्वाचनले नै हो । सिंगो मुलुकलाई निर्वाचनमा होम्ने मूल दायित्व पनि सरकारकै हो ।

आश्विन २२, २०८२

सम्पादकीय

It is necessary to make the election special under special circumstances

What you should know

जेन–जी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले स्पष्ट म्यान्डेट दिएका थिए– ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन । संविधानमा दख्खल परेको र प्रतिनिधिसभा पनि विघटन भएको अवस्थामा तोकिएको समय अर्थात् २१ फागुनमा निर्वाचन गर्नु अति महत्त्वपूर्ण काम हो ।

यसपछि मात्रै जेन–जीले खोजेजस्तो जनप्रतिनिधिमूलक संस्था गठन हुने र मुलुक पनि संवैधानिक र राजनीतिको मूल मार्गमा फर्किने विश्वास गर्न सकिन्छ । हुन त निर्वाचन आयोगले चुनावी कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ । यसअघि नै सरकारले मतदाता दर्ताको मौका दिन अध्यादेशमार्फत कानुन पनि संशोधन गरेको छ । यी सबै पृष्ठभूमिले मुलुक आगामी दिनमा निर्वाचनको माहोलमा होमिने निश्चित छ । यो नियमित निर्वाचन होइन, विशेष समयमा हुन लागेको निर्वाचनलाई सबैले विशेष बनाउन जरुरी छ ।

निर्वाचनलाई विशेष बनाउनलाई सरकार र निर्वाचन आयोगले ख्याल राख्नुपर्ने मुद्दा युवा मतदाताको संख्या र विघटित संसद्मा युवाहरूको प्रतिनिधित्वको आँकडा हो । नेपालको कुल मतदाताको ५२ प्रतिशत हिस्सा १८ देखि ४० वर्ष उमेर समूहका छन् । जनसंख्या र मतदातामा बाहुल्यता रहेका युवाको देशलाई हाँक्ने, दिशानिर्देश गर्ने र नीति निर्माण गर्ने थलो संसद्मा भने प्रतिनिधित्व न्यूनप्रायः छ । हाम्रो नीतिमै समस्या छ । २५ वर्ष उमेर पुगेका व्यक्तिले मात्र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिन पाउँछन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ४० वर्षमुनिका युवा सांसदको संख्या ११ प्रतिशत अर्थात् ३० मात्रै थियो । प्रदेशका सभाहरूमा पनि युवाहरूको उपस्थिति २० प्रतिशत मात्रै छ ।

हाम्रो निर्वाचन प्रणाली, पद्धति र प्रतिनिधित्व युवाकेन्द्रित हुन सकेको छैन । अर्थात्, समाजको जनसंख्याको ढाँचा र त्यसले बोक्ने चिन्तन प्रणाली एकातिर, जनप्रतिनिधिमूलक संस्थाको ढाँचा र त्यसको गतिविधि अर्कैतिर रहेको प्रस्ट छ । त्यसैले पनि संसद्प्रति समाजको ठूलो संख्याले अपनत्व लिनै सकेन । अब संसद्ले जनसंख्याको ढाँचालाई आत्मसात् गर्ने स्थिति बनाउनुपर्छ । राजनीति तथा नेतृत्वले देशलाई डोर्‍याउने भएकाले जनप्रतिनिधिमूलक संस्थामा युवाको उपस्थिति बढ्न नदिन अघोषित ढंगले गरिएका नियन्त्रणको प्रयासमाथि पुनर्विचार गरिनुपर्छ । संवैधानिक व्यवस्था नै तत्काल परिवर्तन सम्भव छैन तर अन्य सबै कोणबाट निर्वाचनलाई युवाकेन्द्रित बनाउन भने सकिन्छ ।

आयोग र सरकारले भुल्न नहुने अर्को विषय दलीय व्यवस्थासम्बन्धी विषय पनि हो । जेन–जी आन्दोलनपछि दलीय सरकार ढलेपछि ‘आवश्यकताको सिद्धान्तका आधारमा’ बनेको गैरदलीय सरकार छ । जनप्रतिनिधिहरूको थलो प्रतिनिधिसभा विघटित भएकाले नयाँ निर्वाचनमार्फत राजनीतिक प्रणालीलाई ‘ट्र्याक’ मा ल्याउने मुख्य जिम्मेवारी सरकारको हो । राजनीतिक दलहरू पनि ‘विभिन्न आन्दोलनका उपलब्धि संस्थागत गरिएको संविधान र अहिलेको व्यवस्था रक्षाका लागि’ चुनावमा जाने मनस्थितिमा देखिएका छन् । निर्वाचनमा जाने तयारी गरिरहेका दलहरूको निर्णय प्रशंसायोग्य छ । अलमलमा रहेका दलले पनि आफूलाई निर्वाचनतर्फ अग्रसर गर्नुपर्छ । झमेला सिर्जना गर्ने कामले उनीहरूमाथि थप प्रश्न उठ्नेछ । जेन–जी आन्दोलनबाट पनि पाठ नसिकेको ठहर्छ ।

निर्वाचनको माहोललाई थप परिपक्व बनाउन राजनीतिक दलहरूसँग सरकार र निर्वाचन आयोगले औपचारिक संवाद–छलफल सुरु गर्नुपर्छ । सबैको सरोकार सुन्नुपर्छ । विश्वास दिलाउनुपर्छ । दलहरूसँग नै समन्वय नहुँदा निर्वाचन हुने वा निष्पक्ष हुने विषयमा संशय सिर्जना हुन्छ । किनकि, कोही कसैलाई निर्वाचनबाट बाहिर राखेर अघि बढ्न सम्भव छैन । उचित पनि हुँदैन । त्यस्तो निर्वाचनको अर्थ पनि रहँदैन । तर सबै दल र पक्षले आपसी समझदारी कायम गर्न सक्ने हो भने सिंगो मुलुक चुनावमा होमिने माहोल तयार हुन्छ । निर्वाचनको वातावरण बनाउन र अस्थिरता नलम्ब्याउन पनि सरकार र आयोगले सबै राजनीतिक दलसँग समन्वय गर्न जरुरी छ । यसको अर्थ अनुशासनहीन नेताहरूसँग समन्वय गर भनेको हैन, दलीय व्यवस्थालाई नभुली त्यसको वातावरण बनाऊ भनेको हो ।

अहिले नै कतिपय नेताले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा बोल्न थालिसकेका छन् । २०४६ सालको राजनीतिक परिवर्तनयताका प्रायः सबै प्रतिनिधिसभा विघटनको निर्णयमाथि न्यायिक परीक्षण भएको थियो । जनआन्दोलनको बलमा समेत २०५९ मा विघटित प्रतिनिधिसभा २०६३ सालमा पुनःस्थापना भएको थियो । प्रदर्शनकारीले २४ भदौमा आगजनी गरेका कारण सर्वोच्च अदालतले सीमित सेवा मात्र थालेकाले यसपालिको प्रतिनिधिसभा विघटनसम्बन्धी निर्णय न्यायिक परीक्षण प्रक्रियामा गएको छैन, जाने सम्भावना पनि टरेको छैन । आफ्ना कदमले मुलुकलाई कस्तो ठाउँमा पुर्‍याउनेछ भनेर सबै नेताहरूले सोच्न भने जरुरी छ । 

सरकार र आयोगले ध्यान दिनुपर्ने अर्को विषय विदेशमा रहेका नेपालीहरूलाई निर्वाचनमा सहभागी गराउनेसम्बन्धी पनि हो । झन्डै ४० लाख नेपाली विदेशमा छन् । उनीहरूलाई पनि मतदानमा सहभागी गराउने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिइसकेको छ । तर पनि विगतका निर्वाचनमा आयोग र सरकारले सम्बोधन गरेको थिएन । अहिलेको सरकारले त्यो सम्बोधन गर्ने संकेत देखाइसकेको छ । तर त्यसको ठोस कार्यान्वयन हुन जरुरी छ । 

सबै पक्ष ख्याल राखी अहिले भने सरकार घोषित मितिमै निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन गराउने मूल जिम्मेवारीमै केन्द्रित हुनुपर्छ । असामान्य राजनीतिक परिस्थितिलाई ‘ट्र्याक’ मा ल्याउने प्रतिनिधिसभा निर्वाचनले नै हो । सिंगो मुलुकलाई निर्वाचनमा होम्ने मूल दायित्व पनि सरकारकै हो । त्यसैले सरकारले संवाद–छलफलमार्फत राजनीतिक दलसहित आम नागरिकलाई विश्वासमा लिएर निर्वाचनको वातावरण तयार गर्नुपर्छ । मुलुकमा अस्थिरता र अन्योल थप नलम्बियोस्, राजनीतिक व्यवस्था नबिटुलियोस्, मुलुक विकास र आर्थिक वृद्धिमा बढोस् भन्नेमा सम्बन्धित सबै पक्ष सचेत र सजग हुनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully