हामीलाई जीवित व्यक्तित्वहरूप्रति त्यति विश्वास र डर छैन, जति भय मृत आत्मा या पितृसित छ
What you should know
जसरी मौसमको वर्गीकरण गरिएको छ, त्यसैगरी हाम्रा धर्म, संस्कृतिअनुसारका चाडपर्व पनि बाँडिएका छन् भन्दा अत्युक्ति नहोला । साउन महिना लागेसँगै हाम्रो समाजमा अब चाडबाड, तिथि, श्राद्ध आयो भन्दै सोका लागि सरसामान, दुना–टपरी, दक्षिणाको जुगाड गर्नुपर्ने हुन्छ ।
दुई छाकको जोहो गर्न कठिनाइ परिरहेका वर्गलाई थप खर्च र ऋणको भार पनि यिनै चाडपर्वले थपिदिएका छन् । गच्छेभन्दा पनि बाहिरी देखासिकी र समाजको लाज राख्नकै लागि ऋणपान गरेरै भए पनि दसैं र तिहारजस्ता ठूला तथा तीज, साउने सोमबारजस्ता मझौला चाडबाड मनाइरहेका हुन्छौं हामी । यस्ता चाडबाडमा नाइँनास्ति गर्ने त गुन्जाइस नै देखिँदैन किनकि यो हाम्रो संस्कृति हो र यसलाई नमान्दा कि गैरधर्मी भइने कि असामाजिक भइने डर पनि छ ।
खास गरी हिन्दु धर्म तथा संस्कृतिले मानिसको मृत्युपछि पहिले पितृलोकमा आत्मा पुग्छ भन्ने विश्वास गर्छ । मानिसको मृत्यु भइसकेपछि पितृ बनेर पितृलोकमै बसिरहँदा जीवित मानिसले के के गरेको छ, पितृलाई खुसी बनाएको छ कि छैन, पितृको कार्य होसियारीपूर्वक गरिरहेको छ कि छैन भन्ने हेरिराखेका हुन्छन् र यदि भनेजस्तो भएन भने बाँचिरहेका मानिसका जीवनमा अनेक विपद् र दुःख आइपर्छन् भन्ने मान्यता रहिआएको छ । पितृले दुःख देलान् भन्ने भयले पनि यस लोकका जीवित पितृका सन्तान भने शास्त्रका विधिविधानअनुसार कर्मकाण्ड गरिराखेका हुन्छन् । हाम्रो संस्कृति अनुसार प्रत्येक वर्षको तिथिमा आफ्ना बितेर गएका पिता–पुर्खाको स्मरण गर्ने चलन छ, जसमा श्राद्धको नाम दिएर पिण्ड बनाएर दान गर्ने, खोलामा लगेर विसर्जन गर्ने गरिन्छ । यसो गर्दा सो खाना पितृले प्राप्त गर्छन् र पितृ खुसी हुन्छन् भन्ने मान्यता छ ।
हाम्रा धर्म–संस्कृतिले हामीलाई नजानिँदो तरिकाले मनोवैज्ञानिक भय पनि सिर्जना गरिरहेका छन् । आफ्ना बितेर गएका आफन्तजन, प्रियजनको सम्झना गर्नु, सम्मानस्वरूप दियो बाल्नु, दान–दक्षिणा गर्नु आफन्तजन भेला भएर ती गुमेका आफन्तजनको स्मरण गर्नु हाम्रा संस्कृतिका सकारात्मक र मनोवैज्ञानिक पक्ष हुन् ।
पितृकर्म भनेपछि बडो होसियारीपूर्वक गर्नुपर्छ, नत्र सात जुनी दुःख दिन्छन् भनेको पनि हामीले हाम्रै गाउँ–समाजमा सुन्न सक्छौं । जिउँदो हुँदा निकै हेला–होचो गरेका, अपमान र तिरस्कार अनि बेवास्ता गरेका आफन्तजनको पनि तिनै जिउँदा मानिसले मृत्युपछि भने बडो सतर्कतासाथ विधिविधानपूर्वक श्राद्ध कर्म, दान–दक्षिणा गरेको पनि हाम्रै समाजमा देख्न सकिन्छ । फेरि हिन्दुशास्त्र अनुसार पितृहरू एकैपटक स्वर्ग जाने होइनन्, उनीहरू केही समय पितृलोकमा रहन्छन्, त्यसपछि सूर्यलोकमा जान्छन्, अनि मात्र स्वर्गलोक जान्छन् भन्ने पनि शास्त्रमा उल्लेख गरिएको छ । यो जगत्प्रतिको कौतूहलतामै बनेका धर्मशास्त्रले रहस्य बनाई उल्लेख गरेका कुराले हाम्रा मनमा नराम्रो गरी जरो गाडेर बसेको छ र आजपर्यन्त हामी पितृकर्मलाई होसियारीसाथ, डरका साथ, तन्मयका साथ अगाडि बढाइरहेका छौं ।
आमसर्वसाधारणले आफ्नो जीवनकालभरिमा अनेक संघर्ष गरिरहेकै हुन्छन् । संघर्षकै दौरान कसैको जीवन सुध्र्रिएको हुन्छ भने कतिपयको जीवनमा अनेक पारिवारिक, स्वास्थ्य, आर्थिक र मानसिक समस्याले गाँज्दै गएको हुन्छ । यिनैमध्येमा पनि जसलाई अलि बढी समस्या हुन्छ, उनीहरू दैव र भाग्यको खेल भन्दै अनेक देवदेवी भाकल गर्नेदेखि लिएर धामी, झाँक्री, ज्योतिषीकहाँ पनि धाइरहेकै हुन्छन् । यिनै धामी, झाँक्री तथा ज्योतिषीले पनि समस्यामा परेका मानिसका वास्तविक मनोविज्ञान र उसको अन्धविश्वासप्रतिको डिग्रीलाई नापेर नै समस्याका कारणहरू हात हेरेर, चिना हेरेर बताइदिने गर्छन् । अधिकांश समस्याले ग्रसित मानिसलाई ग्रहदशा बिग्रेको, शनि गएर मंगलमा बसेको, पितृदोष देखिएको, पितृले राम्ररी खान नपाएको जस्ता जवाफ दिने गर्दछन् । यतिमात्र होइन, अब ती पितृदोष या ग्रहदशा फुकाउने उपाय पनि बताइदिन्छन् । यो बार यो पूजा गर्नु, शान्ति स्वस्ति गर्नु, फलानो देवताको जप गर्नु, लाखबत्ती बाल्नु आदि, आदि ।
कुण्डलीमा पितृदोषको कारण मानिसले दैनिक जीवनमा बाधा, कष्ट र पीडा भाग्नुपर्दछ भनेर हेराउनेले भन्दिएपछि त झन् हामीलाई कहिले यसबाट छुटकारा पाउने भनेर छटपटी नै हुन्छ । विवाहमा विलम्ब हुनु, विवाहपछिको सम्बन्धमा दरार आउनु, समयमा काम नहुनु, व्यवसाय, जागिरमा राम्रो प्रगति नहुनु, काम बिग्रनु, परिवारको सदस्य कुलतमा फस्नु, अपांगता भएका बालबालिका जन्मनु, रिसाहा तथा घमण्डी सन्तान हुनुलाई पितृदोषको कारणले सिर्जना भएका समस्या भनेर भनिने रहेछ । हाम्रो परिवारमा कुनै अग्रज तथा पूर्वजको असामयिक वा अकालमा मृत्यु हुँदा मृत्यु भइसकेपछि मृत्युवरण गर्ने मानिसको विधिविधानले अन्तिम संस्कार भएन भने वा जीवित रहँदा उसले गरेका कुनै भाकल वा इच्छा पूरा हुन सकेनन् भने त्यस्ता मृतक मानिसको आत्मा उसको पहिले बसोबास भएको घर वा वंशजमा नै भौंतारिने गर्दछ भन्ने मान्यता हाम्रो शास्त्रले राख्दछ । यिनै मान्यताको जगमा हाम्रा मनभित्र पसेका त्रासहरूले हामी बाँचुन्जेल मिलेर, छलफल गरेर, एकअर्कालाई माया र विश्वास अनि सहयोग गरेर बस्नुभन्दा पनि मृत भइसकेका कथित आत्माले दुःख दिएको भन्दै फेरि पनि हाम्रा परिवारका या व्यक्तिगत समस्याहरू निराकरण गर्नका लागि थरीथरीका ज्योतिषी, धामी, झाँक्री माता, बाबा, पण्डितहरूको शरणमा गइरहेका हुन्छौं । स्वास्थ्य समस्या छ र उपचार गरिरहँदा पनि ठीक भएन भने त उपचार नै छोडेर धामीझाँक्रीकहाँ धाइरहेका पनि कैयौं समस्याग्रस्त मानिस हाम्रा गाउँठाउँमा देख्न सकिन्छ । हाम्रा मनोविज्ञान नै यिनै विश्वासले डोर्याएको छ । हामीलाई जीवित व्यक्तित्वहरूप्रति त्यति विश्वास र डर छैन, जति भय मृत आत्मा या पितृसित छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन पूर्णिमा तिथिको श्राद्ध गरी त्यसपछि आश्विन कृष्ण पक्षसम्म १५ दिनसम्म तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिने चलन छ । पितृहरूलाई प्रसन्न पार्न तथा जानेर या नजानेर पितृलाई अनादर भएको छ भने क्षमा माग्न पनि यो श्राद्ध गर्ने धार्मिक चलन छ । अब यी सब चलनका साथसाथै हामी हाम्रा मृत भइसकेका पूर्वजको हार्दिक स्मरण पनि गर्दै व्यावहारिक जीवनमा पनि फर्कौं न त । निम्न वर्गीयदेखि मध्यमवर्गीय परिवार अनि समाजलाई नै बाँचुञ्जेल, बाँच्नकै लागि आफ्नो गच्छेअनुसार काम गर्नुपर्ने हुन्छ ।
परिवारमा सबै स्वस्थ हुँदैनन्, हरेकको शारीरिक क्षमता र बनावट फरक हुन्छन् । शारीरिक, मानसिक आर्थिक, सामाजिक अवस्था, पुर्ख्यौली सम्पत्ति, कमाइले जीवन कस्तो बन्दै छ भन्ने निर्क्यौल गर्दछ । मानव विकासका क्रममा मानव सिर्जनाप्रति मान्छेले भूत र भविष्यबारे गरेका रहस्यमय कल्पनाशीलता, सामाजिक नीति नियम, धार्मिक कानुन हुँदै हामी आजको समयसम्म आइपुगेका छौं । सामाजिक विकासमा विश्व समाजका भिन्न–भिन्न बुझाइ र मूल्यमान्यता छन् । पितृहरूलाई सम्मानका रूपमा स्मरण गरौं तर भर र विश्वास अनि समस्या समाधानको छलफलचाहिँ जीवितहरूमाझ नै गरौं ।
आफू र आफ्ना परिवारमा परेका अनेक संकटको जड हामीले जीवित मान्छेभित्रैबाट खोजेमा र पारिवारिक छलफल, कोसिस गरेमा, राज्यसँगको समस्या भएमा आवाज उठाएमा, सम्बन्धित क्षेत्रको सहयोग लिएमा नै समस्याका दीर्घकालीन समाधानका बाटा खुल्थे कि ? नत्र त मृत भइसकेका अग्रजको ‘भय’ ले उही भाग्यवादी बाटोमै हामीलाई पुर्याउँछ र समस्याका ठोस कारणको खोजी नै नगर्ने बानीकै निरन्तरता हुँदै जानेछ ।
