संघीयताको अर्थराजनीति

हिजो राजा महेन्द्रको गमलामा हुर्काइएका बुद्धिजीवीहरू आज पनि दृष्टिकोण निर्माणमा काम गरिरहेका छन्, उनीहरू नै जान्ने जस्ता देखिन्छन्, उनीहरूलाई नै आधार मानेर संघीयता महँगो भयो भनेर भनिएको, केन्द्रीकृत राज्य व्यवस्थामा जनताले राज्य खोज्दै हिँड्नुपर्थ्यो, संघीयता मात्रै यस्तो राज्य व्यवस्था हो, जसले जनता खोज्दै हिँड्छ

भाद्र १७, २०८२

सोमत घिमिरे

The economic politics of federalism

What you should know

लामो संघर्षपछि नेपाली राजनीतिले बाटो फेर्‍यो । संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता संवैधानिक रूपमा स्थापित भयो । यी सबै कुनै कागतालीले भएको थिएन । लामो समय नागरिकको आकांक्षाका रूपमा रहेको विषय स्थापित भएको थियो ।

अहिले चारै विषयलाई विवादमा पार्न खोजिएको छ । कसले विवादमा पार्न खोज्दै ? किन खोज्दै छ ? गहिरो रचनात्मक छलफलमा हामी प्रवेश गरेका छैनौं । संघीयतालाई खर्चिलो राज्य व्यवस्थाका रूपमा चित्रित गरेर राज्यले धान्नै नसक्ने भन्ने स्वर बढाइएको छ । गणतन्त्रपछि झन् भद्रगोल भयो भनेर राजतन्त्रको वकालत गरिएको छ । राजनीतिक स्थिरता नहुनुमा समावेशितालाई दोष दिइएको छ ।

धर्मनिरपेक्षले धर्म परिवर्तनलाई मद्दत गर्‍यो भन्ने भाष्य बनाउन खोजिएको छ । के हाम्रो राजनीति आजभन्दा हिजो प्रगतिशील थियो ? त्यो हुँदै होइन । अहिलेको राज्य व्यवस्थाले जति गर्नुपर्ने थियो, त्यो नगरेको हो । हिजोभन्दा आज हामी अगाडि बढेकै हौं । किन यस्ता भाष्यहरू बन्दै छन् ? यो ठूलो खोजबिनको विषय छ ।

राज्य सञ्चालनमा राज्य कि नागरिकको खर्च

सर्वप्रथम संघीताको चर्चा गरौं । प्रदेशका कारणले संघीयता महँगो भएको र धान्नै नसकिने जस्तो गरिएको छ । प्रदेशले आखिर जम्मा १० प्रतिशत मात्रै खर्च गर्छ । प्रदेश संघीयताको मर्मअनुसार कामकाजी हुन सकेको छैन भन्ने सत्य हो । तर प्रदेशकै कारणले संघीयताको अवधारणामाथि प्रश्न उठाउनु नाजायज कुरा हो । कुनै मधेशी नेताले संघीयता खर्चिलो भयो भनेर भन्दैन । कुनै जनजाति बौद्धिक वा नेताले संघीयता खर्चिलो भयो भनेर भन्दैन । कुनै दलित नेता वा बौद्धिकले संघीयताको खर्चको कुरा गर्दैन । बरु सुदृढीकरणको कुरा गर्छ ।

त्यसो हो भने संघीयता खर्चिलो भयो भनेर कसले भनेको छ ? जो हिजो राजाको छाता ओढेर केन्द्रीकृत शासन व्यवस्थामाथि रजगज गरेको थियो । जसले समानुपातिक र समावेशिताको अर्थ नराखी राज्यलाई एकछत्र कब्जा गरेको थियो । जसले हिन्दु धर्मका आडमा शासकीय आडम्बर देखाउन पाएको थियो । स्पष्ट छ, जसले संघीयता खर्चिलो भयो भनेको छ, ऊ संघीयतालाई निसानी बनाएर समानुपातिकतालाई पनि सिकार गर्न चाहन्छ ।

संघीयता खर्चिलो भयो भन्ने जताततै सुनिन्छ, किन ? नेपालको ज्ञान निर्माणको प्रक्रियामा अत्यन्तै थोरै मान्छेहरूको मात्रै पकड भयो । दैनिक रूपमा आज जो बोल्दछन्, ती अधिकांश हिजोको सत्ताबाट प्रत्यक्ष वा परोक्ष लाभमा थिए । आफूले व्यहोर्नुपरेको हानिलाई स्विकार्न कसैले पनि सक्दैन । त्यसलाई राजनीतिक रूप दिइएर यी मुद्दा उठाइएको छ । हिजो राजा महेन्द्रको गमलामा हुर्काइएका बुद्धिजीवीहरू आज पनि दृष्टिकोण निर्माणमा काम गरिरहेका छन् । उनीहरू नै जान्ने जस्ता देखिन्छन् ।

उनीहरूलाई नै आधार मानेर संघीयता महँगो भयो भनेर भनिएको छ । मधेश प्रदेशको नामकरण गरेर ठूलो संख्यामा मधेशी समुदायको आत्मसम्मान स्विकारिएको छ । त्यसको मूल्य कति होला ? आदिवासी जनजाति समुदायको आत्मसम्मान र पहिचानको दिशा एक हदसम्म सोझिएको छ । त्यसको मूल्य कति होला ?

वर्षौंदेखि नेपाली हुन रोकिएका मधेशी समुदायको नेपाली हुने यात्रा सुरु भएको छ, त्यसको मूल्य कति होला ? व्यवहारमा हिन्दु धर्मको अभ्यास गरे पनि सैद्धान्तिक रूपमा धर्मनिरपेक्षता फराकिलो हुँदै छ । आदिवासी जनजाति समुदायले आफ्ना भाषा, संस्कृतिमा रमाउन पाउँदा त्यसको मूल्य कति होला ? गाउँगाउँमा स्थानीय सरकारहरूले शिक्षा, स्वास्थ्यमा प्राथमिकताका साथ काम गरिरहेका छन् ।

हिजो स्वास्थ्य चौकी जान दुई दिन लाग्ने व्यक्तिहरूले आज आफ्नै पालिकाको अस्पतालमा उपचार पाउने स्थिति बनेको छ, त्यसको मूल्य कति होला ? अर्थशास्त्रभित्र यसको मूल्य छैन होला । तर बृहत् राजनीतिक परिवेशमा यसको मूल्य ठूलो छ । हिजोसम्म संसद्मा विरलै महिलाहरू पुग्थे, आज ३३ प्रतिशत पुगेका छन् । ५० प्रतिशत पुर्‍याउन त बाँकी छ । तर ३३ प्रतिशत सांसदको मूल्य कति होला ? प्रत्येक पालिकामा मेयर, अध्यक्ष वा उपाध्यक्ष, उपमेयर महिला छन्, तिनको मूल्य कति होला ?

अहिले प्रतिगमनका एजेन्डासँग उपल्लो तहका कर्मचारीतन्त्रको लय मिलेको छ । उपल्लो तहका कर्मचारीतन्त्र पनि संघीयता रुचाउँदैन । अघोषित गठबन्धन छ, उपल्लो तहका कर्मचारी र प्रतिगमनका पक्षपोषकहरूको । एकाथरी छन्, गणतन्त्रको निसाना बनाएर चारै खम्बा (संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता) मास्न चाहन्छन् । केही छन्, संघीयतालाई निसाना बनाएर ती चारै खम्बा मास्न चाहन्छन् । जबकि, यो राज्य व्यवस्थाको जग नै यी चार खम्बामा आधारित हो ।

राज्य र जनताको सम्बन्ध

वास्तवमा केन्द्रीकृत राज्य व्यवस्थामा राज्य र जनताको सम्बन्ध सुमधुर हुन सक्दै सक्दैन । राज्य धेरै टाढा हुन्छ । नागरिकहरूको आवाज राज्यसम्म आई नै पुग्दैन । केन्द्रीकृत राज्य व्यवस्था भन्नुको अर्थ जनताले राज्य खोज्दै हिँड्नुपर्छ । बहुसंख्यक जनताले, सीमान्तकृत समुदायले राज्य फेला नै पार्दैन ।

यही तथ्यलाई आत्मसात् गरेर संघीयताको सैद्धान्तिक जग निर्माण भएको हो । भन्न खोजिएको कुरा के हो भने, संघीयता मात्रै यस्तो राज्य व्यवस्था हो जसले जनता खोज्दै हिँड्छ । राज्यले जनता खोजी गर्ने प्रणालीका रूपमा विकास गर्न खोजिएको हो, संघीयता । राज्य र जनताको सम्बन्धमा अवश्य पनि खर्च हुन्छ । केन्द्रीकृत राज्य व्यवस्थामा राज्य खोज्न जनताको खर्च हुन्छ ।

हिजो सामान्यतया बीउबिजन लिन जिल्लाको कृषि कार्यालयमा आउनुपर्थ्यो । जिल्ला सदरमुकाममा आउँदा–जाँदा बसदेखि खाजासम्म नागरिकको खर्च हुन्थ्यो । सामान्य बिरामी हुँदासमेत जिल्ला अस्पतालमा आउनुपर्थ्यो, जनताकै पैसा खर्च हुन्थ्यो । शिक्षकहरू तलब लिन जिल्ला सदरमुकाम आउनुपर्थ्यो, जनताकै पैसा खर्च हुन्थ्यो । नेपालभरि त्यस्तो खर्च कति हुन्थ्यो ? कहीं लेखाजोखा छैन ।

नागरिकको व्यक्तिगत खर्च हुन्थ्यो । खर्च विवरण संगठित थिएन, तथ्यांक छैन, पूरै अनौपचारिक हुन्थ्यो । अहिले राज्यलाई नागरिकको आँगनमा लैजाँदा अलिकति बढी खर्च भएको जस्तो देखिएको छ । तर नागरिकले पाएको सुविधाको मूल्य कति हो ? गाउँगाउँमा खोलिएको बर्थिङ सेन्टरहरू, जो स्थानीय सरकारको पहलमा खुलेका छन्, त्यसकै कारण सुत्केरी हुन नसकेका महिलाको मृत्यु कम भएको छ । त्यसको मूल्य कति हो ? बागमती, मधेश प्रदेशले विद्यालयमा नर्सहरू राखेर किशोरीहरूको काउन्सिलिङ गरिरहेका छन् र भविष्यको गोरेटो कोर्न मद्दत गरिरहेका छन्, यसको मूल्य कति हो ?

राज्य सञ्चालनमा खर्च हुन्छ । त्यो कसले गर्ने भन्ने प्रश्न मुख्य हो । हिजो गाउँमा पैसा पुगेकै थिएन, गाउँमा पैसा नपुग्नु भनेको माथि ठूलाबडाहरूको नियन्त्रण हुनु हो । आज स्थानीय सरकारकामा २८ प्रतिशत रकम पुगेको छ । तर यो अति कम हो, तैपनि माथिकाहरूलाई २८ प्रतिशत गुमाउनुपरेकामा ज्वरो आएको छ । संघीताको विरोध वित्तीय व्यवस्थापन र नियन्त्रणसँग जोडिएको छ ।

गाउँका मानिसहरूको पहुँचमा पैसा पुग्यो, यो माथिका लागि मिल्दै नमिल्ने कुरा भएको छ । केन्द्रीकृत राज्य व्यवस्थामा जनताले खर्च गर्छन्, त्यो कतै देखिँदैन । अहिले नागरिकको सजिलोका लागि राज्यले खर्च गरिरहेको छ, त्यो देखिन्छ । राज्य व्यवस्थालाई आर्थिक तराजुमा मात्रै जोखिनु हुँदैन । यसका सामाजिक र सांस्कृतिक पक्षहरू छन्, त्यसलाई लुकाइएको छ ।

वास्तवमा संघीयता भनेको अधिकारको पुनः वितरणको प्रयास हो । राज्य र नागरिकको न्यायपूर्ण हिसाबले अधिकारको बाँडफाँट हो । यी तमाम पक्षहरूलाई लुकाएर संघीयतालाई खर्चिलो भनिएको छ । कसले किन भन्यो भन्ने प्रश्न नै फेरि महत्त्वको हो । हिजोको सत्तामा पहुँच र नियन्त्रण गर्न सक्नेका लागि अहिले घाटा नै छ, जसलाई हिजोको तुलनामा घाटा परेको छ, तर पनि समाजको अग्रपंक्तिमा उनीहरू नै छन् र बोलिरहेका छन् ।

जसले संघीयताबाट लाभ पाएको छ । उसको बोली काठमाडौंमा सुनिँदैन । राज्य व्यवस्था परिवर्तन भए पनि बोल्नेहरू अधिकांश हिजोकै छन्, जो महेन्द्रमाला पढेर हुर्किए । महेन्द्रमाला पढेकाहरूले नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गरिरहेका छन् । हाम्रो विश्वविद्यालय वा विद्यालयमा नयाँ राजनीतिक व्यवस्थाको कुरा गरिँदैन ।

हिजैको कुरा पढाइ भइरहेको छ । राज्य व्यवस्थाको पुनःसंरचनापछि शिक्षाको पुनःसंरचना नहुनाले पनि यो अन्तरविरोध चर्किरहेको छ । ज्ञान उत्पादनका केन्द्रहरू नयाँ राज्य व्यस्थाको लयमा हिँडेकै छैनन्, योचाहिँ संघीयता पक्षधरताको ठूलो कमजोरी हो । सोझो रूपमा विश्लेषण गर्दा शोषित र उत्पीडितहरूका लागि संघीयता ठीक छ । तर ठीक हो भन्नलाई स्वर र ठाउँ उनीहरूसँग छैन । जोसँग स्वर र ठाउँ छ, उनीहरू संघीयताको विपक्षमा छन् । त्यसैले उनीहरूको स्वर सुनिएको छ ।

संघीयता र नागरिकको ठाउँ

वास्तवमा संघीयताको सबैभन्दा ठूलो सुन्दरता राजनीतिको बगैंचामा नागरिकहरूलाई ठाउँ दिनु हो । पहिचान र आत्मसम्मानलाई व्यवस्थित गर्नु हो । राज्य सञ्चालनमा नागरिकलाई स्वामित्व दिनु हो । तर अहिले संघीयताका बगैंचामा कुशल मालीहरू नपर्दा एकछिन अलमल भएको सत्य हो । तर फेरि हिजोको भन्दा समुदायले ठाउँ पाएकै छन् । पर्याप्त छैन, बनाउनु छ । तर हिजोभन्दा एक कदम अगाडि नै छ । बरु वर्तमान सरकारले नागरिक संगठनहरूलाई कस्न खोजेको छ ।

नयाँ ऐन ल्याएर सामाजिक संगठनहरूमाथि अविश्वास गर्न खोजिएको छ । स्वयंसेवी र गुठी जस्ता समूहहरूलाई अंकुश लगाउन खोजिएको छ । लोकतन्त्रलाई निर्देशित गर्न र साँघुरो बनाउन संघसंस्था ऐन, २०८२ बाहिर ल्याइएको छ । जुन ऐनले संघसंस्था, सांस्कृतिक समूह, स्वयंसेवी समूहहरूलाई गृह मन्त्रालयअन्तर्गत एउटा कोठाबाट निर्देशन गर्न खोजेको छ । अब लोकतन्त्रलाई खुम्च्याउन सम्भवै छैन ।

सरकारको इच्छा होला संघसंस्था ऐनमार्फत सबै सामाजिक संस्थाहरूलाई अह्रनखटन गर्ने तर सामुदायिक स्वायतत्ता, लोकतन्त्रको फराकिलोपन अहिलेको आवश्यकता हो । संघसंस्था ऐन, २०८२ यदि पास भयो भने नागरिक समाज भन्ने रहने छैन । नागरिक संगठन भन्ने रहने छैन । सबै संगठनहरू सरकारीमा रूपान्तरित हुनेछन् र महाराजको सदीक्षा पूरा हुनेछ– सबै पञ्च नेपाली हुन्, सबै नेपाली पञ्च हुन् । नागरिक समाज र नागरिक संगठनको अस्तित्व स्वीकार नगरेपछि पथ महाराजकै हो ।

संघीयताको लयमा संस्थागत पुनःसंरचना

संघीयताको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षबारे माथि उल्लेख गरियो । तर यो होइन कि संघीयतामा खर्च घटाउने ठाउँ नै छैन । म आफैं पनि खर्च घटाउनुपर्छ भन्ने पक्षमा नै छु । सबैभन्दा पहिलो कुरा संविधानले चिन्दै नचिनेको जिल्ला समन्वय समिति खारेज गरेर अलिकति खर्च घटाउन सकिन्छ ।

संघीयतालाई नै हाँसो उठ्ने गरी राखिएका प्रमुख जिल्ला अधिकारीहरूलाई आजै हटाएर खर्च कटाए हुन्छ । खानेपानीको सबै अधिकार प्रदेशमा भएपछि खानेपानी मन्त्रालय संघमा राख्न जरुरी नै छैन । खानेपानीसम्बन्धी संघीय विशेष परियोजनाहरू विशेष तवरबाट अन्तरस्थानीय सरकार सहकार्यमा सञ्चालन गरे हुन्छ ।

कृषि मन्त्रालयको संघीय रूपमा यो तमासा जरुरी नै छैन, स्थानीय सरकारमाथि विश्वास गरेर गए हुन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संघीयतामा एउटा ठूलो मजाक हो । यस्ता परियोजनाहरू खारेज गर्नुपर्छ । हामीले संघीयताको लयमा संस्थागत पुनःसंरचना गरेकै छैनौं । पुनःसंरचना नभएका कारणले कृषि ज्ञान केन्द्र, वन डिभिजन जस्ता प्रदेशभन्दा बाहिर कार्यालय रहेका छन् । अब कार्यालयहरू तीन तहभन्दा बाहिर राखिनु नै हुँदैन, तर बाटो उल्टो छ ।

शिक्षामा स्थानीय सरकारलाई वित्तीय र मानव स्रोतले बलियो बनाएर जानुपर्नेमा जिल्ला शिक्षा समन्वय इकाइ बनाएर विगतको निरन्तरता दिइएको छ । संघीयताका दृष्टिकोण र वित्तीय दृष्टिकोणले पनि खारेज गर्नुपर्ने जिल्लालाई थप मजबुत बनाउन मिल्ने कुरै होइन । अब एक पटक संघीयताको लयमा संरचनागत पुनःसंरचना गर्नु जरुरी छ, जसले धेरै खर्च कटौती गर्छ । र, स्थानीय सरकार र प्रदेश सरकारलाई काम गर्न सजिलो हुन्छ । अन्यथा संघीयता खर्चिलो भयो भन्ने नाराको कुनै अर्थ छैन ।

सोमत घिमिरे घिमिरे प्राकृतिक स्रोत ब्यवस्थापनको अध्ययन र अनुसन्धानमा संग्लन छन् । उनकाे जुर्मराएको बखत, प्राकृतिक स्रोतमा नागरिक सर्वोच्चता, समृद्ध कर्णालीको दुःख जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully