परिवारमा पुरुषको सहयोगी र अधीनस्थका रूपमा मात्रै महिलालाई हेरुन्जेल महिलाको क्षमता विकासमा अवरोध सिर्जना भइरहन्छ।
What you should know
कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को व्यक्तिलाई शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना दिनु नै घरेलु हिंसा हो । घरेलु हिंसामा परिवारका पुरुष, महिला, बालबालिका, ज्येष्ठ नागरिक जोसुकै पनि पर्न सक्छन् । यद्यपि, हाम्रोजस्तो पितृसत्तात्मक समाजमा छोरी र महिला नै बढी पीडित र प्रभावित भएको पाइन्छ ।
परिवारभित्रैबाट शंका गर्ने, अनावश्यक लाञ्छना लगाउने, अवसरबाट वञ्चित गराउने, दुर्व्यवहार र शोषण गर्ने, विभेद गर्ने, नियन्त्रण गर्नेलगायतका हिंसाका कारण महिलाको सर्वपक्षीय विकासमा अवरोध सिर्जना भएको छ ।
आफ्नै परिवारमा सम्मान, संरक्षण, उत्प्रेरणा र अवसरका लागि साथ नहुँदा क्षमतावान् महिला पनि घरभित्रै खुम्चिएर बस्न विवश छन् । सामाजिक रूपमा प्रतिष्ठित महिलाले पनि परिवारको अविश्वास, शंका, नियन्त्रणमुखी सोच र व्यवहारका कारण आफ्नो जिम्मेवारी निर्वाह गर्नका लागि पर्याप्त समय दिन सकिरहेका छैनन् । आफ्नो क्षमता, दक्षता र रुचिभन्दा पनि आफ्नाको मनसाय र इच्छाबमोजिम महिलालाई चल्न र व्यवहार गर्न बाध्य पारिन्छ । यसरी परिवारको साँघुरो घेराभित्र रहेर बाँच्न विवश महिलाको सशक्तीकरणमा कसरी टेवा पुर्याउन सकिन्छ ?
महिला जब घरभित्रको निश्चित दायरा तोडेर बाहिर निस्कन्छन्, सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा आबद्ध हुन्छन्, तब शंकाको घेरामा राखेर हेरिन्छ । परिवारले अनावश्यक लाञ्छना लगाउँछ, मानसिक तनाव दिन्छ, दबाब दिन्छ । समाजमा हुने एकाध घटनालाई लिएर सबैलाई आरोप लगाउने वा फरक दृष्टिकोणबाट व्याख्या गर्ने परिपाटीका कारण स्वतन्त्र भएर आफ्नो क्षमता अभिवृद्धि गर्न, नेतृत्व, सीप तथा वृत्ति विकास गर्न पनि महिलाले सकिरहेका छैनन् । उच्च मनोबलका साथ काम गर्ने अवसर नपाउने महिला हरेक क्षेत्रमा प्रतिस्पर्धी कसरी बन्न सक्छन् र ?
गत साउन ३० मा विनयी त्रिवेणी गाउँपालिका–३ मा श्रीमान्ले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरे । सामाजिक रूपमा प्रतिष्ठित पूर्वजनप्रतिनिधिसमेत रहेकी श्रीमतीप्रति सधैं शंकालु दृष्टिकोणले हेर्ने, आरोप–प्रत्यारोप गर्ने, गालीगलौज गर्ने व्यवहारले सीमा नाघ्यो । त्यसैगरी बूढानीलकण्ठ नगरपालिका–२ बस्ने २८ वर्षीय सन्तोष सेन्चुरीले आफ्नै श्रीमतीको गोंगबुस्थित होटलमा हत्या गरे । यी प्रतिनिधि घटना मात्र हुन् । सम्बन्धविच्छेदको विकल्प हुँदाहुँदै पनि महिलामाथि कुटपिट, दुर्व्यवहार, हिंसा र त्यसपश्चात् हत्यासमेत भएका घटना छन् । यो ज्यादै चिन्ताको विषय हो ।
जुन परिवारमा महिलाको अस्तित्व स्वीकार गरिँदैन, निर्णय प्रक्रियामा सहभागी गराइँदैन, विचारको सम्मान गरिँदैन, उक्त परिवारमा महिला विकासको सम्भावना न्यून हुन्छ । सामाजिकीकरण प्रक्रियामा नै छोरा र छोरीमा गरिने फरक व्यवहारका कारण उनीहरूको व्यक्तित्व विकासमा असर परिरहेको हुन्छ । छोरा निडर हुन्छन्, साहसी हुन्छन्, उनीहरूमा आत्मविश्वास हुन्छ तर छोरीहरू कमजोर हुन्छन्, मायालु स्वभावका हुन्छन्, सधैं जोखिममा हुन्छन् भन्ने जस्ता भावले हुर्काउँदै लगिन्छ । जसरी उनीहरूलाई शिक्षा, दीक्षा दिइन्छ र व्यवहार गरिन्छ, त्यसरी नै व्यक्तित्व विकास हुँदै जाने हो ।
२१ औं शताब्दीमा आइपुग्दा पनि महिलाले घर व्यवहार चलाउनु, श्रीमान्भन्दा चलाख र क्षमतावान् हुनु, सामाजिक जिम्मेवारी वहन गर्नु, सक्रिय भएर राजनीतिमा लाग्नु, रोजगारी वा स्वरोजगारीमा आबद्ध हुनुलाई परिवारले सहज रूपमा स्वीकार गरिराखेको छैन । समस्या र चुनौतीसँग भिड्न र प्रतिकार गर्न सक्ने अनि नैतिकवान् र इमानदार महिलामा पनि हरेक क्षण र हरेक पल जोखिम नै रहेको अनुभूति गर्ने र गराउने काम परिवारबाटै भएको छ । श्रीमान् र श्रीमती दुवैको सहकार्य अर्थात् साझा अस्तित्वबाट मात्र जीवन सहज हुने हो तर परिवारमा पुरुषको सहयोगी र अधीनस्थका रूपमा मात्रै महिलालाई हेरुन्जेल महिलाको क्षमता विकासमा अवरोध सिर्जना भइरहन्छ ।
विज्ञान र प्रविधिको युगमा प्रवेश गरेसँगै धेरै छोरीहरू यस धर्तीमा जन्म लिन पाएका छैनन्, भ्रूण पहिचानसँगै गर्भमै निमोठिन्छन् । जन्मिएका केही छोरी पनि आफ्नै बाबु, काका, हजुरबा, दाइ, भाइबाटै यौनजन्य दुर्व्यवहारको सिकार बन्न पुगेका छन् । दाइजो प्रथा, बालविवाह र छाउपडी प्रथाका कारण कति छोरी र महिलाले अनाहकमा मृत्युवरण गरेका छन् भने कतिले बाँचेर पनि मरिरहेको अनुभूति गर्न बाध्य छन् । दाइजो प्रथाले गर्दा कतिपय परिवारले छोरीहरूलाई बोझका रूपमा लिन पुग्छन् भने कतिपय महिलाले दिन प्रतिदिन हिंसाको मार खेपिरहेका छन् ।
महिला विकासका लागि स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा थुप्रै पहल हुँदै आएका छन् । महिला अधिकारको प्रवर्द्धन गर्न नीतिगत, कानुनी, संरचनागत रूपमा आवश्यक व्यवस्था नभएका पनि होइनन् । समानताका लागि समतामूलक रूपमा कार्यक्रमहरू, बजेट, आरक्षण, समानुपातिक प्रतिनिधित्वलगायत विशेष अवसरको व्यवस्थासमेत राज्यबाट मिलाइएको छ ।
महिला सशक्तीकरणमा भएका यस्ता पहलका कारण हरेक क्षेत्रमा सहभागिता बढेको छ तर अपेक्षित रूपमा सक्रिय सहभागिता हुन सकेको छैन । राजनीतिक रूपमा प्रतिनिधित्व भएको छ तर निर्णायक भूमिका बढेको छैन । आर्थिक रूपमा क्रियाशीलता बढ्दै गएको छ तर आवाज सशक्त बन्न सकेको छैन । यसर्थ, महिला विकासका लागि राज्यस्तरबाट हुने प्रयासका अलावा घरभित्रको वातावरण पनि महिलामैत्री बनाउन जरुरी छ ।
