हैजा नियन्त्रणका लागि रोगीको मलमूत्रलाई पानीको मुहान नजिक वा जथाभावी नफाली खाल्डोभित्र पुर्नुपर्दछ । विशेष गरेर संक्रमण फैलिएका स्थानमा भाँडाकुँडा उपयोग अघि उमालेको पानीले सफा गर्नुपर्छ । लुगाफाटा पनि उमालेको पानीले पखाल्नुपर्छ ।
What you should know
वीरगन्जमा १० वर्षपछि पुनः हैजाको संक्रमण फैलिएको छ । आइतबार साँझसम्ममा डेढ सय बढी शंकास्पद बिरामी उपचारका लागि विभिन्न अस्पतालमा उपचार भर्ना भएका छन् । हालसम्म ३ जनाको झाडापखालाकै कारण मृत्यृ भएको छ भने ९ जनाको आईसीयूमा र ७० जनाको एचडीयूमा उपचार भइरहेको छ । वीरगन्जका विभिन्न अस्पताल शंकास्पद बिरामीले भरिएका छन् ।
जिल्ला संकट व्यवस्थापन समितिले डेडिकेटेड शय्या छुट्याई उपचार गर्न जनशक्ति व्यवस्थापन गरेको छ । शनिबार बसेको जिल्ला समन्वय समितिको बैठकले संक्रमण नियन्त्रणका लागि सचेतना बढाउने, स्वास्थ्यकर्मी परिचालनलगायतका सबै उपाय अवलम्बन गर्ने निर्णय गरेको छ । संघीय खानेपानीमन्त्री प्रमोद यादव वीरगन्ज पुगेर अवस्थाका बारेमा जानकारी लिँदै विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरेका छन् । स्थानीय तहले पानीको शुद्धीकरणका लागि पानी निर्मलीकरण गर्ने पीयूष पनि वितरण गरेको छ ।
हैजाले महामारीकै रूप लिन सक्ने देखिएपछि स्थानीय तहले विद्यालयहरू २ दिनका लागि बन्द गर्ने निर्णयसमेत गरेका छन् । साथै, पानीपुरी, चाट, चटपटे आदि जस्ता खुला रूपमा बिक्री गरिने खानेकुरामा पनि रोक लगाइएको छ । वीरगन्ज महानगरपालिकाले शनिबार त्यहाँका अस्पतालसँगको बैठक गरेर १ देखि १६ वडालाई जोखिम वडा तथा ११, १२, १३ र १६ मा प्रकोप भएकाले जनशक्ति, औषधि, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । महानगरपालिकाले हब स्याटेलाइट सञ्जाल सक्रिय बनाउँदै झाडापखालाका बिरामीलाई प्राथमिकता दिन र २४ सै घण्टा हेल्प डेस्क तथा सूचना केन्द्र र स्वास्थ्यकर्मीहरूको २५ वटा टोली परिचालन गर्ने निर्णय गरेको छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जहाँ मलमूत्रको सफाइ र खानेपानीको समुचित व्यवस्था हुँदैन, त्यहाँ तीव्र गतिमा संक्रमित व्यक्तिको दिसाबाट झाडापखाला तथा हैजा जस्ता विभिन्न संक्रामक रोगहरू फैलिन्छन् । विश्व स्वास्थ्य संगठन अनुसार पनि फोहोर छोएपछि, खानेकुरा पकाउँदा तथा खाना खाँदा साबुनपानीले राम्ररी हात धोएमा झाडापखाला हुने दरलाई आधा गर्न सकिने बताउँछ । नगर क्षेत्रमा नै झाडापखाला वा हैजा फैलनुको अर्थ खानेपानीको स्रोत दूषित भएर हो भन्नेमा कुनै द्विविधा छैन । यस्तोमा व्यक्तिगत सरसफाइमा पनि ध्यान नदिँदा जोखिम झनै बढेको देखिन्छ ।
हैजा ब्याक्टेरियम भिब्रियो कोलेरीले आन्द्रामा संक्रमण गर्दा हुने गम्भीर प्रकारको रोग हो । संक्रमित आहार र दूषित पानीबाट हैजाका जीवाणु स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्छ र आन्द्रामा तीव्र गतिले संक्रमण गर्छ । आन्द्राको कोशिकाबाट बढी मात्रामा पानी निस्कन थाल्छ र चौलानी जस्तै दिसा हुन थाल्छ । शरीरमा तीव्र रूपमा तरल पदार्थको कमी हुँदै रक्तचाप कम हुन्छ र रोगी गम्भीर रूपले अचेत हुने अवस्थामा पुग्छन् । विभिन्न प्रमाणित तथ्यांकका अनुसार हैजाबाट संक्रमित भएका प्रत्येक २० जनामध्ये १ जनालाई यसले निकै सिकिस्त बनाउँछ । स्वस्थ वयस्कलाई पनि केही घण्टामै मृत्युको मुखमा पुर्याउन सक्छ ।
हैजाको लक्षण देखिएका वा विकसित भएकामा ८० प्रतिशत रोगीलाई भने सामान्य झाडापखाला मात्रै हुने गरेको पाइन्छ । तर समयमा उपचार नगर्ने हो भने गम्भीर संक्रमण देखिएका ५० प्रतिशत बिरामीको मृत्यु हुने जोखिम हुन्छ । करिब ८० प्रतिशत हैजा संक्रमितको उपचार ओआरएस वा जीवनजल, नुन, चिनी, पानी दिएर गरिन्छ ।
बान्ता पनि भएर गम्भीर अवस्था भयो भने शरीरमा पानी तथा खनिजको मात्रा सन्तुलित राख्न सलाइनपानीका साथै अन्य औषधि पनि दिइने गरिन्छ । अवस्था हेरेर बिरामीलाई एन्टिबायोटिक औषधिहरू पनि दिइने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार उपयुक्त र उचित उपचार गरे हैजाको मृत्युदर एक प्रतिशतभन्दा तल रहन्छ ।
हैजा नियन्त्रणका लागि रोगीको मलमूत्रलाई पानीको मुहान नजिक वा जथाभावी नफाली खाल्डोभित्र पुर्नुपर्दछ । विशेष गरेर संक्रमण फैलिएका स्थानमा भाँडाकुँडा उपयोग अघि उमालेको पानीले सफा गर्नुपर्छ । लुगाफाटा पनि उमालेको पानीले पखाल्नुपर्छ । खानेकुरालाई झिंगाबाट बचाउनुपर्दछ । झिंगा लागेको, बासी, सडेगलेका, नपाकेका, चिसिएको खाद्य पदार्थ खानु हुँदैन । दिसा गरिसकेपछि, खाना अघि तथा पछि साबुनपानीले हात पखाल्नुपर्दछ । खाना घरमै राम्ररी पकाएको खानुपर्दछ । जुनसुकै स्रोत र मुहानको पानी भए पनि हात धुने तथा खानेपानी पहिले कम्तीमा ५ मिनेटसम्म उमालेर वा क्लोरिन चक्कीले संक्रमणमुक्त बनाएर मात्रै प्रयोग गर्नु उचित हुन्छ ।
