लिग र लिक दुवै छाडेको नेपाली फुटबल

कसैले पनि लिग फुटबल किन हुन सकेन भनेर दबाब सिर्जना गर्न सकिरहेका छैनन् । सरोकारवाला धेरैलाई लिग फुटबलबारे वास्तै छैन । सबैलाई थाहा छ, नेपाली फुटबलमा विवाद, द्वन्द्व, विभाजन र चरम राजनीति छ । लिग नहुनुमा संस्थापन पक्ष जति दोषी छ, त्योभन्दा बढी दोषी आफूलाई अलग कित्ता मान्ने छन् ।

भाद्र ८, २०८२

सम्पादकीय

Nepali football left both league and league

What you should know

संसारभर नै फुटबललाई सबैभन्दा लोकप्रिय खेल मानिन्छ । विश्वकप, युरो कप तथा कोपा अमेरिका जस्ता प्रतियोगिता र विभिन्न लिगहरूको विश्वव्यापी चर्चा फुटबलकै लोकप्रियतालाई पुष्टि गर्ने सन्दर्भ हुन् ।

हरेक देशमा हुने प्रतियोगिताले खेलाडीलाई व्यस्त राख्न, आर्थिक आम्दानीको अवसर प्रदान गर्न, खेलप्रति आकर्षण बढाउन, सानो–ठूलो आकारको अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका खेल्छ । तर नेपालमा लिग नहुनु सामान्य भइसकेको छ । जसले गर्दा फुटबलले सिर्जना गर्ने ‘क्रेज’ देखि खेलाडीको वृत्तिविकासमा असर परिरहेको छ ।

नेपाली खेलकुद इतिहासकै सबैभन्दा पुरानो र आयोजना हुँदै आएको प्रतियोगितामा पर्छ, नेपाल सहिद स्मारक लिग फुटबल । यो नै नेपाली फुटबलको आधिकारिक लिग फुटबल हो । यसमा चार श्रेणी छन् । ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन । सँगै ‘सी’ डिभिजनको छनोट ।

यी सबै एकआपसमा जोडिएका हुन्छन् र सबैको अस्तित्व आवश्यक हुन्छ । त्यसमध्ये ‘ए’ डिभिजन नेपाली लिग फुटबलको सर्वोच्च संरचना हो । सहिद स्मारक लिगको सुरुआत २०११ सालदेखि भएको हो । त्यस अर्थमा यसको इतिहास नै सात दशकभन्दा पुरानो छ । यति भन्दाभन्दै पनि यो प्रतियोगिताको सबैभन्दा ठूलो कमजोरी भन्नु नै नियमित आयोजना नहुनु हो ।

‘ए’ डिभिजनको पछिल्लो संस्करण २७ जेठ २०८० मा टुंगिएको थियो । त्यसयता यसको अर्को संस्करण भएको छैन र दिन गन्तीमा ‘ए’ डिभिजन लिग नभएको आठ सय दिनभन्दा बढी भइसकेको छ । पछिल्लो १२ वर्षलाई आधार मान्ने हो भने जम्माजम्मी चारपल्ट ‘ए’ डिभिजन लिग आयोजना भएको छ, जब कि यो अवधिमा १२ पल्ट नै हुनुपर्ने हो ।

यस्तोमा पछिल्ला एक दशकभन्दा बढीको समयमा कोही पक्का राष्ट्रियस्तरको खेलाडीले ‘ए’ डिभिजन लिग खेल्न पाएको भनेकै चारपल्ट हो । यो असाध्यै निराशाजनक र अकल्पनीय स्थिति हो । यो स्थितिले समग्र नेपाली फुटबललाई नै असाध्यै नराम्रोसँग प्रभावित पारेको छ ।

कुनै पनि देशको फुटबलको मेरुदण्ड मानिन्छ, लिग । मेरुदण्डबिनाको मानिस उठ्न नसके जस्तै नेपाली फुटबल आफ्नो स्तर विकास र विस्तारका लागि उठ्नै सकेको छैन, किनभने यहाँ लिग फुटबल नै हुन्न । कुनै पनि देशको फुटबललाई व्यावसायिक बनाउने, विस्तार र लोकप्रिय गर्ने भनेकै लिगले हो । जति बेलासम्म नेपालमा लिग फुटबल हुन्न, त्यति बेलासम्म कसैले फुटबलका लागि काम गरें भन्छ भने झूट मात्रै हुन जान्छ ।

लिग फुटबल बर्सेनि नियमित नहुँदा सबैभन्दा बढी मार पर्ने भनेकै खेलाडी, प्रशिक्षक, रेफ्री र यससँग जोडिएका प्राविधिक पक्षलाई हो । लिग नहुँदा फुटबल खेलाडीमा व्यापक निराशा छ । उनीहरूका आयआर्जनको बाटो नै रोकिएको छ । यसै कारण धेरैभन्दा धेरै फुटबल खेलाडीले खेल्नै छाडेका छन् । त्यसमध्ये धेरै विदेश पलायन भएका छन् । फुटबल खेल्छु भन्नेले पनि राम्रोसँग खेल्न पाइरहेका छैनन् । खेलाडीले नै फुटबल खेलेर अब हुने केही होइन भन्न थालिसकेको अवस्थामा सम्बन्धित पक्ष गम्भीर हुन आवश्यक छ ।

नेपाली फुटबलले कहिल्यै आफूले सक्दो र अपेक्षित नतिजा आत्मसात् गर्न सकेन । यसको एउटै स्पष्ट कारण हुन सक्छ र यो हो, नेपालमा लिग फुटबलको बर्सेनि नियमित आयोजना नहुनु । लिग नै नभएपछि फुटबल खेलको विकास नहुनु स्वाभाविक बन्छ । कसैले यो खेलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले कामै गरेन भनेर आरोप लगाउँछ भने त्यो पनि ठीक हो, किनभने यसले लिग फुटबल नै गर्दैन ।

आन्तरिक रूपमा प्रतियोगिता नहुनेबित्तिकै सिधासिधा असर राष्ट्रिय टिमको प्रदर्शनमा पर्छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपाली पुरुष टिमले केही राम्रो गर्न नसकेको पनि धेरै भयो । कैयौं वर्ष भइसक्यो, नेपाली फुटबल आन्तरिक वा बाह्य प्रतियोगितामा चर्चा बाहिर छ । महिला फुटबललाई छाड्ने हो भने, फुटबल खेलले ऊर्जा दिनै सकेको छैन । स्थिति कस्तोसम्म भइसकेको छ भने राष्ट्रिय टिमका लागि खेलाडी चयन गर्न खुला आह्वान गर्नुपर्ने अवस्था भइसकेको छ । अहिलेका मुख्य प्रशिक्षक रस म्याटले केही समयअगाडि यस्तै विधि अपनाएका थिए, किनभने खेलाडी जाँच्न प्रमुख उपाय रहेको लिग फुटबल नै भइरहेको छैन । 

मूल प्रश्न हो, यसको दोष को त ? यसको पनि सिधासिधा उत्तर छ, एन्फा नै । एन्फाको मुख्य काम भनेकै लिग फुटबलको नियमित आयोजना गर्नु हो, तर उसले यही काम गर्न सकिरहेको छैन । दोष एन्फाको मात्र होइन, नेपाली फुटबलसँग आबद्ध सबैको हो ।

कसैले पनि लिग फुटबल किन हुन सकेन भनेर दबाब सिर्जना गर्न सकिरहेका छैनन् । सरोकारवाला धेरैलाई लिग फुटबलबारे वास्तै छैन । सबैलाई थाहा छ, नेपाली फुटबलमा विवाद, द्वन्द्व, विभाजन र चरम राजनीति छ । लिग नहुनुमा संस्थापन पक्ष जति दोषी छ, त्योभन्दा बढी दोषी आफूलाई अलग कित्ता मान्ने छन् । सबैको ध्यान विदेश जाने, सुविधा लिने र आफ्नो स्थिति बलियो बनाउनुमै छ, कसैले पनि लिग किन हुन सकेन भनेर भन्न सकेका छैनन् । सरकारले पनि एन्फालाई लिग किन भएन भनेर सोध्न सकेको छैन ।

यो सबै पृष्ठभूमिका बीच नेपाली खेलकुदको सर्वाधिक लोकप्रिय खेल, अझ पहिलो नम्बरको खेल फुटबल बिस्तारै अवसानतिर अग्रसर छ । जति बेला खेल्ने खेलाडी नै हुन्नन्, भए भने पनि नेपालको राष्ट्रिय टिमबाट खेल्न योग्य नै हुन्नन् भने नेपाली फुटबल साँच्चै कतातिर जाने हो, त्यसबारे सबैले गम्भीर भएर सोच्नै पर्छ । सोच्ने मात्र होइन, कामै गर्नुपर्छ । अनि यति काम गर्न असाध्यै हतारो पनि भइसकेको छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully