जबसम्म बाछिटालाई देखाएर विभेदकारी व्यूह रचिराख्ने छुट वर्चस्वशालीलाई रहिरहन्छ, तब–तब घाँसजस्तै कुल्चिएर, पिल्सिएर वा सुकाइएको अवस्थाबाट कोही न कोही उपेन्द्र यादवहरू टुसाइरहन्छन्, मौका पाएर तन्किरहन्छन् नै।
What you should know
यतिखेर मानौं समय पर्खाल बनेर खडा देखिएको छ । र, त्यो पर्खालमा मुख्य राजनीतिक दलहरू छेपारो बनेर त्यसमा केवल टाँसिन पुगेजस्तो देखिन्छ । दलहरूले भुइँ यथार्थ चियाउन सकिरहेका छैनन् । यता आममधेशीजनका आँखामा दलीय कारिन्दाहरू निकै छोटा–छोटा नजर आउँछन् ।
यो सन्दर्भलाई सरलीकरण गर्न सकिँदैन । यहाँ मधेशलाई फगत प्रयोग गर्ने, फेरि त्यसलाई कमजोर बनाउने–रहन दिने बेइमानीको मार्मिक चित्र छ । मधेशको आलीमा बसेर आफ्नो खेती किसानी र अर्थ राजनीतिक अवस्थाको गुणा–भाग गरिरहेका एक किसान यस पीडाको चरम सीमालाई यस प्रकार भन्छन्– ‘मधेशको हालत सामान्य छैन ।’
मधेशलाई फोटो स्टेट मेसिनमा राखेर राज्यले रिड्युसवाला बटन थिचिरहन्छ बेलाबखत । मधेश प्रतिपल आफ्नो हैसियत रिड्युस हुँदै आएको अनुभूति गर्न अभिशप्त छ । तर, राजनीतिको चरित्र नफेरिनुको जडबारे कमै विश्लेषण सार्वजनिक वृत्तमा हुन्छ यहाँ । पछिल्ला समयका केही तथ्यांक मात्र देखाएर मधेशको हालतलाई ठम्याउन गाह्रो हुन्छ । सदाबहार नेताहरूका ती उखान–टुक्काहरू जो मधेशमाथि भनिने गरिन्छ, त्यसलाई भुइयाले स्वात्तै खारेज गर्दै आएका छन् ।
बहिष्करणको चक्रव्यूहमा परेका जनगणको ठूलो हिस्सा भित्रभित्रै मुर्मुरिँदै छन् । मधेश घुम्न आउने प्रत्येक नेताहरू एक–एक ‘पगहा’ (त्यो डोरी जसमा गाईबस्तु बाँधिन्छ) छाडेर हिँड्छ । मधेश फगत ‘हैसटैग’ भएको छ । टोकरीभरिका उम्मिदहरूले आकार लेला भन्ने प्रतीक्षामा ती पगहाहरूसँग टाँसिरहन्छन् भुइँमान्छेहरू । शासकीय चरित्र नफेरिने भ्रूण मधेशको भौगोलिक अवस्थितिमा नै रोपिएको छ । उसो भए के यो मधेशको मोहभंगको कालखण्ड आएको हो ?
मधेश झर्नेहरूले यहाँका उम्मिदहरूका अनुसार अच्छा–खराब सपनाहरू बेचे । तर, त्यसको यहाँको राम्रो शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षित भविष्यसँग कुनै सम्बन्ध थिएन । मधेश बुझ्न र अपेक्षित बाटो पहिल्याउन राज्य सत्ता र राष्ट्रियतासम्बन्धी काठमाडौं केन्द्रित मानसको पराभव आवश्यक थियो तर अद्यावधि कायम छ । आज मधेशको सांस्कृतिक विरासत तथा भौगोलिक समृद्धिलाई नष्ट गरिँदै छ ।
नेपालको राजनीतिलाई ‘मधेशीमुक्त’ बनाउन खोजिँदै छ । आज संविधान निर्माता दलहरू नै बिर्सिरहेका छन् मधेशीमुक्तको सोझो अर्थ हो लोकतन्त्रमुक्त । मधेशी नेतृत्वलाई दृश्यबाट हटाउन खोज्नु भनेको विपक्षमुक्त । एक दृष्टि, एक लक्ष्य, एक राष्ट्रको कुरा गर्नेहरू वास्तवमा यो नेपाल भूगोलका आत्मालाई मार्न चाहन्छन्, जो अनेक राष्ट्र, भाषा, संस्कृति र दृष्टिहरूको एउटा सुन्दर समूह हो ।
नेपालको इतिहास लेखनमा कैयौं समस्या छन् । यी समस्यामध्ये कतिपय त यस देशको इतिहासका जटिलताका कारण र कैयौं इतिहास लेख्नेवालाका कारण । मधेशको राजनीतिक इतिहासलाई उसका जटिलताका साथ बिनाकुनै विचारधारात्मक आग्रह राखेर हेर्नुपर्ने समय हो यो । एक गलत इतिहास दृष्टिलाई फैलाइएको छ, जो एक सीमित भूखण्ड केन्द्रित दृष्टिलाई नेपालीय बनाएर राखिएको छ । देशज स्मृतिलाई ओझेलमा राखेर वर्तमानका व्यूहलाई बुझ्न सकिँदैन ।
अहिलेको बखत द्रुत, अधैर्य र उन्मादी निर्णायक प्रहर हो । तत्कालै ठोकुवा गरिहाल्ने । को दोषी, को राजद्रोही किटान गरिदिने । अचानक राष्ट्रवादी नशामा लट्ठिहाल्ने । जो वर्चस्वशाली छन्, उनैका संयन्त्र सामाजिक सञ्जालमा पोस्ट्स, स्टोरिज, रिल्स, विचार निर्माणका टिप्पणीमा प्रभावी हुन्छन् ।
जब नागरिक कर्तव्य बिर्सिन पुगिन्छ, अलिकति पर्खाइ हुँदैन, तब हामी नजानिँदो तरिकाले वर्चस्वशाली सत्तालाई नै ताकतवर बनाइराखेका हुन्छौं । हमला पनि अनेक थरीले गरिन्छ । अख्तर नज्मीको शेर छ– ‘वो जहर देता तो सब की निगाह में आ जाता/सो ये किया कि मुझे वक्त पे दवांए न दीं ।’ अदृश्य हमला । सोझै हमला । जो औपनिवेशिकता कायम राख्नका लागि हुँदै गर्छ, भइरहेको छ, अझै बढी हुँदै गर्छ ।
सत्ताजन्य प्राथमिकता बदलिँदै रहन्छ । दुर्बलताहरू पहिल्याउने मौकाको छनोट, विरोधाभासमा खेल्ने, कठपुतली पात्रलाई सुमसुम्याई राख्ने यिनका मुख्य ल्यान्डमार्क हुन् । असहमतिलाई टाउकोमा गोली हानेर समाप्त पार्ने उही पुरानो बासी तरिकालाई हाल स्थगनमा राख्दै अहिले बिलकुलै लोकतान्त्रिक तरिकाबाट कुल्चिने यत्न गरिन्छ ।
हिजोका सडक संघर्ष गर्नेहरू आज वर्चस्वशालीको स्वार्थ रक्षामा भासिए । जबसम्म बाछिटालाई देखाएर विभेदकारी व्यूह रचिराख्ने छुट वर्चस्वशालीलाई रहिरहन्छ, तब–तब घाँसजस्तै कुल्चिएर, पिल्सिएर वा सुकाइएको अवस्थाबाट कोही न कोही उपेन्द्र यादवहरू टुसाइरहन्छन्, मौका पाएर तन्किरहन्छन् नै ।
वर्चस्वशाली राज्य भएको समाजमा बज्दै गरेको मादलका धुनभन्दा फरक तबला ताल गुन्जाउन खोजियो भने त्यस्तो गर्नेलाई एक्लो पारिन्छ । अक्सर सामाजिक सञ्जालमार्फत ‘ट्रोल’ को सिकार बनाइन्छ, कसैले ‘देशविरोधी’ भन्लान् त कसैले मधेशलाई उक्साउने । तर पनि मधेशको हकिकत बताउने खतराको बाटो रोज्नै पर्छ । मधेश नेपालको अभिन्न हिस्सा हो र मधेश सामान्य नहुन्जेल नेपाल उकासिँदैन । इतिहासदेखि वर्तमानसम्ममा भएका गल्तीलाई अब कसरी सच्याउने भन्ने प्रश्नमा बहस उठ्नै पर्छ । ‘हाइफन’ अंग्रेजी शब्द हो, जो एक प्रकारको लेख्य चिह्न हुन्छ ।
यसले लिखित शब्दलाई जोड्ने काम गर्छ । यसलाई नेपालीमा योजक चिह्न भनिन्छ । समास चिह्न पनि भनिन्छ । यो चिह्नले दुई वा सोभन्दा बढी समान महत्त्वको अर्थ भएका स्वतन्त्र शब्दलाई जोड्ने काम गर्छ । नेपालमा हाइफन पात्रहरूको कमी छैन, तिनीहरू नै प्रचलित भाष्यलाई निफन्न सक्छन् । मधेश जोखिमउन्मुख छ भन्न दक्षिण एसियाकै अमूक क्षेत्रसँग तुलना गरिरहनै पर्दैन, एकफेर मधेशका सूचकांकतिर नियाले हुन्छ । यी खतराका घण्टी समयमै नसुन्ने हो र सुधारको पहल नथाल्ने हो भने संकट भोग्न अब धेरै कुर्नुपर्ने छैन ।
मधेशलाई हेर्ने काठमाडौंको दृष्टिकोण र उसलाई राज्य संयन्त्रमा समावेश गर्ने रवैया कस्तो छ ? पुरानै चस्माका आधारमा मधेशको उन्नति र प्रगति के सम्भव छ ? राज्यको मधेश हेर्ने सोचमा प्रतिरोधी भावना कत्तिको छ ? राज्यको मधेश नीति कसरी निर्धारित हुन्छ ? के कुन तत्त्वले राज्यलाई मधेशबारे सोच्न प्रेरित गर्छ ? बजेट निर्धारणका प्राथमिकता कसरी तय गरिन्छ ?
मुख्य दलहरूका मधेशी स्वर को–को हुन् ? यी दलहरूमा जो–जो मधेशी मुहार छन्, तिनीहरू आफ्नो दलभित्र मधेशको कस्तो चेहरा पस्किरहेका छन् ? तजबिजी अधिकार बोकेको कर्मचारीतन्त्रको मानसिकता अद्यापि कस्तो छ ? मूलधारका मिडियामा विचार निर्माण गर्नेहरूमा कुन समूहका छन् ? दाताहरूलाई फिडब्याक दिने हैसियतमा कुन वर्गका छन् ? इतिहासका तथ्यहरू बग्रेल्ती छन्, जसले स्थापित गर्छ– मधेशको किनारीकरण र गरिबी कसरी पर्याय भयो भन्नेजस्ता प्रश्न काठमाडौंका पोकामा छैनन् ।
मधेशमा सामाजिक असमानताको जुन स्वरूप छ र यो जति व्यापक छ, त्यसले नेपाली लोकतन्त्रलाई कमजोर बनाई दिएको छ । राज्य सत्ताको समतामूलक बंटवारा नभएसम्म लोकतन्त्र फगत चुनावी अंकगणितमा खुम्चिन पुग्छ । मधेशमा थाती रहेका सवाल त जिउँदो छँदै छन्, यससँगै नयाँ–नयाँ असन्तुलन उम्रिएका
छन् । देशको भविष्य मधेशका मुद्दाहरूको लोकतान्त्रिक तरिकाबाट समाधानमाथि निर्भर छ । मधेशका मुद्दाका कुरा गरिराख्दा ती मुद्दा मात्र होइनन्, जो बेलाबखतमा मधेश आश्रित दलहरूले उठाउने गर्छन् ।
मानव विकास सूचकांकमा मधेश कहाँ छ ? सन् २०२६ मा नेपाल कम विकसित मुलुक (एलडीसी) बाट उकासिने प्रक्रिया र मधेशको भुइँ यथार्थबीच तारतम्य कसरी हुन्छ ? सुक्खाको निकै चर्चा भयो तर गम्भीर कुपोषण, स्थायी लिंगभेद र जातिभेद, गुणवत्तायुक्त सार्वजनिक स्वास्थ्य सेवाको अनुपलब्धता, सार्वजनिक शिक्षाको स्तर रसातल पुग्नु, दलितहरूको भूमिहीनताजस्ता समस्याले मधेशको अवस्था खस्किँदो छ । कस्तो समाज बन्दै छ ? थानागिरी र सिडियोशाहीले मधेश अझै मौजा कसरी छ ?
अदालत धाउनु कत्तिको महँगो छ ? अदालतको अग्रसक्रियता के कुन अवस्थामा हुँदो रहेछ ? कुन शक्तिको ओत लाग्यो भने वासिङ मेसिनजस्तो निर्मलीकरणको अवसर आउँछ ? मधेशको दैनिक जीवनलाई प्रभाव पार्ने तत्त्वहरू के–के हुन् ? आर्थिक संरचनामा को हाबी हुँदै छ, को विस्थापनमा परे ? रैथाने उद्यमहरू कसरी धराशायी बने ? रैथाने अन्न कसरी हराए, थाली विषले कसरी भरियो, बीउमाथिको स्वामित्व कसरी गायब गरियो, माटोको मौलिकता कसरी मासियो ?
कथित विकासका मोडलले मधेशमा निम्त्याएको गरिबी र विस्थापनका लागि जिम्मेवार को ? राज्यसँगको सम्बन्ध मापनका लोकतान्त्रिक आधार एउटा पक्ष हो, सँगै मधेशको आन्तरिक जीवन कसरी जेलिँदै गएको छ ? नागरिकता वा मिटरब्याजी समस्या हलका प्रयत्न आममधेशी पिल्सिने नयाँ उपक्रम कसरी बन्दै छन् ?
नेपालमा लोकतन्त्र बचाउने हो भने त्यो नयाँ सोचका आधारबाट नै बाँच्ने हो । सांस्कृतिक विविधतालाई आत्मसात् नगरुन्जेल लोकतन्त्र फगत देखावटी रहिरहन्छ । बहुतहको सरकार छ तर संकथन कसले निर्माण गर्छ ? मधेशको समाज कसरी निरन्तर खिइँदै र घिस्सिँदै गइरहेको छ ? मधेशको हालत सामान्य छैन भन्नु केवल राजनीतिक आरोह–अवरोहको विषय होइन । अझै पनि राज्यले सबैथोक गरिदिन्छ भन्ने मनोदशा छ । आफ्नो सामाजिक ‘सफ्ट पावर’ लाई स्वयंले चिन्न र पर्गेल्न सकिरहेको छैन भने किन ?
मधेशमा चिडचिडापन बढ्दै छ । आमजनमा उम्मिद, भविष्य र लड्ने जरुरतका बारे विश्वसनीय तरिकाले बताउने कोही देखिँदैन ।
