‘झोले’ : भाष्य र भविष्य

विगतमा विचार र सिर्जना बोक्ने साधन र सामर्थ्यका रूपमा प्रयोग र पहिचान भएको झोला अब चेत–चिन्तन र विचारशून्य, वस्तु तथा सेवाको दोहनमा लिप्तहरूको सामूहिक समर्पणको सूचकका रूपमा परिणत भयो।

भाद्र ५, २०८२

इन्द्र अधिकारी

'Jhole': commentary and future

What you should know

यही वर्षदेखि नेपाली राजनीतिमा एउटा विचार जबर्जस्ती निर्माण, प्रयोग र स्थापित हुँदै आएको छ– ‘झोले’ । यो शब्दको प्रयोग भने यसकै उत्पत्ति, मर्म र भावसँग मेल खाने देखिन्न । बरु विचार नमिल्ने विरोधीप्रति वैरभाव पोख्ने हिसाबले यो शब्द समाज/बजारमा छ । यही शब्दको वरिपरि यस आलेखमा मतमन्थन गरिएको छ ।

झोलेको उत्पत्ति र प्रयोग

भूमिगत दलका भ्रातृ संघसंस्थाले २०४६ को परिवर्तनपछि विचार र नीतिका आधारमा राजनीतिक क्रियाकलाप सञ्चालनमा खुलापन अपनाउन थाले । भूमिगत राजनीति गर्दा समाज जगाउने पर्चा–पम्प्लेट, राजनीतिक र प्रगतिशील लेखकका पुस्तक तथा विचारोत्तेजक सिर्जना, सैद्धान्तिक ठेली र व्यक्तिगत सामग्रीसहितको झोला बोक्ने बाध्यता बहुदल घोषणा भएपछि पनि युवाको आदत बनिसकेको थियो ।

हरेक संगठनका आआफ्ना राजनीतिक विचार, एजेन्डा र झन्डा हुने भएकाले नयाँ राजनीतिक माहोल पूरापूर फरक थियो । त्यस बेलाका कार्यक्रम र क्रियाकलापमा चेतना थियो, आदर्श र विचार थिए । सीमित नेता–कार्यकर्ताको त्याग र संघर्षको परिणाम नै परिवर्तन थियो, नेताहरू मोडेल र मानक मानिन्थे भने तिनका विचार र व्यवहार मार्गनिर्देशन ।

राजनीतिक क्रियाकलाप र कामकारबाही तत्कालीन परिवर्तनका सन्देश सञ्चारित गर्ने माध्यम हुन्थे । यस्ता कामकारबाही नयाँ परिवेशमा राजनीतिक दिशानिर्देश गर्न, सर्वसाधारणलाई सूचित र सञ्चार गर्न र यस्तै यावत् विषयमा मन्थन र त्यही कामतर्फ प्रभाव र दबाब बनाउनका लागि हुन्थे । गोष्ठी, भेला, जुलुस, आमसभा र भाषणमा विजय भावको अभिव्यक्ति हुन्थे, परिस्थिति र परिणाममा बदल्ने प्रतिबद्धता पाइन्थे ।

‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ र ‘हाम्रो राजा..., प्राणभन्दा प्यारो छ’ भनेर सामाजिकीकरण भएको जनमानस अब राजनीतिक, धार्मिक, सांस्कृतिक र वैचारिक विविधता, राजनीतिक प्रतिस्पर्धा, सामूहिक अपनत्व र नेतृत्वको युगमा प्रवेश गरेको थियो । पुरातन राजनीतिक समाज र एकदलीय राजनीतिक प्रणालीमा अभ्यस्त व्यक्ति तथा विचारवाहकहरूले लामो समय भूमिगत भएर संगठित राजनीतिक क्रियाकलाप सञ्चालन गरिरहेका संघ–संगठनहरूका यी नवीन लाग्ने विशेषता र क्रियाकलापलाई होच्याउने र हेयको भावाव्यक्ति थिए– झोले र झन्डे जस्ता शब्द । 

जब देश बहुदलीय प्रतिस्पर्धामा प्रवेश गर्‍यो, राजनीतिक समाज खुल्न थाल्यो । पञ्चायती विरासत ढल्यो । दरबार आसपासका बाहेक अधिकांश नेपाली जनमानस दलहरूसँग आबद्ध भए । हिजो पञ्चायतबाट लाभान्वित र सामाजीकरण भएका स्वार्थ समूहको ठूलो तप्का दलहरूमै समावेश र समाहित भए । राजनीतिको अर्थ र महत्त्व नबुझेर होस् वा राज्य आतंक र भयले मौन बसेकाहरू दलमा संलग्न र शुभचिन्तक भए । यस अर्थमा दलहरूले नै आफ्नो संगठन ठूलो र मजबुद बनाउने क्रममा राजनीतिक भर्ती प्रक्रियालाई सशक्त मात्र बनाएनन्, फराकिला पनि भए ।

लामो परीक्षण र प्रशिक्षणपछि मात्र दलमा आबद्धता पाइने भूमिगत अभ्यास खुला र भोटको राजनीतिमा जोसुकै होस्, हूल बाँधेर भित्रिने स्वाभाविक अभियान चल्यो । परिणामस्वरूप दलहरूमा सिद्धान्तनिष्ठ, त्यागी, प्रतिबद्ध, दीक्षितहरू अल्पमतमा पर्दै गए । दलहरू ‘नयाँ’ हरूको बाहुल्यता र बहुबलीमा चल्ने परम्पराको सुरुवात भयो । फाइदा, ऐसआराम र सुखसुविधा, अनि शक्तिमा प्रवेश, पहुँच, प्रभाव, अभ्यास र अवसर जस्ता प्राप्ति र लाभमा आन्तरिक र अन्तरसमूह/दल प्रतिस्पर्धा चल्न थाल्यो ।

कष्टकर राजनीतिबाट आएकाले पनि अब सबैजसो बहुसंख्यकलाई परिवर्तन हुने गरी प्रभावित पार्न सकेनन्, बरु बहुसंख्यकबाटै प्रभावित हुँदै र लय पछ्याउँदै गए । त्यसमा अन्तरघुलन हुन नसक्ने कठोर सिद्धान्तनिष्ठहरू किनारा लाग्ने वा बाहिरिने माहोल बन्न थाले । दलभित्रै र राष्ट्रिय राजनीतिको केन्द्रमा पुग्न र टिक्न दलबल चाहिने भएपछि विवेक, विचार, विज्ञता र विश्वसनीयता भएका आलोचनात्मक कार्यकर्ताभन्दा विवेकशून्य, विचारविहीन, अवसरवादी भुत्ते कारिन्दाहरू नै नेतृत्वको रोजाइमा पर्ने र तिनैलाई संगठित र परिचालन गर्न सहज र सफल हुने परिस्थिति बन्दै गयो ।

विगतमा विचार र सिर्जना बोक्ने र जनमानसमा प्रवाह गर्ने साधन र सामर्थ्यका रूपमा प्रयोग र पहिचान भएको झोला अब चेत–चिन्तन र विचारशून्य, वस्तु तथा सेवाको दोहनमा लिप्तहरूको सामूहिक समर्पणको सूचकका रूपमा परिणत भयो ।

यसरी हरि (चेत र ज्ञान) बोक्ने झोला कालान्तरमा कर्मविहीन हरिलट्ठक झुन्डको प्रतीक र प्रयोजन बन्यो । अब चाहेअनुसार यस्तो झुन्ड निर्माण र परिचालन हुने भएपछि जसले जति सशक्त र सक्रिय रूपमा सञ्जाल र सडक हल्ला फिँजाउन यसलाई प्रयोगमा ल्याउन सक्यो उही बढी ‘पपुलर’ हुने, चर्चाको विषय बन्ने अवस्था बन्दै गयो । जुन राजनीतिमा अहिलेको चरम अभ्यासले देखाउँछ ।

झोले दुरुपयोग

सही–गलत नखोज्ने, विश्लेषण नगर्ने, सरकार र सत्तामा हुँदा कसले के काम गरे, को के किन बोलिरहेको छ चाल बुझ्न नलाग्ने तर चर्को बोल्ने र विरोध/प्रतिपक्षको राजनीति गर्ने जोकोहीको पछि लाग्ने नेपाली जनमानसको चरित्र भएको छ । त्यसैले हल्ला गर्ने र हौवा फैलाउने नै राम्रो र लोकप्रियतावादको राजनीति गर्नेले नै गरिखान्छ भन्ने आमधारणा बनिसकेको छ ।

राजनीतिक रूपले अति असहिष्णु, अतिवादी र अलोकतान्त्रिक नेतृत्वले नै लोकप्रियतावादको राजनीति गरेको थुप्रै अध्ययनहरूले देखाएका छन् । अधिकांशले यस्तो झुन्ड निर्माण र परिचालन गर्ने विश्वमै धेरै अभ्यास भइसकेको छ । आफ्ना प्रोपोगान्डाको औचित्यता देखाउनलाई देशलाई ठूलो संकट आइपरेको, चुनौती देखिएको, विदेशीको प्रभाव र दमन भएको, बैरीहरूको नजर र दबदबा बढ्दै गएको, राष्ट्रिय राजनीति डामाडोल भएको, देश वा सरकार असफल भइसकेको जस्ता उग्रराष्ट्रवादी, चरम निराश र जनता भड्काउने खालका एजेन्डा नियोजित निर्माण र प्रचार गरिइन्छन् ।

राजनीतिमा आफू स्थापित हुन र आफ्नो निरन्तरताका लागि जनताले आफ्नो कमजोरी खोज्न नलागुन्, बरु पत्याएरै बिनासर्त समर्थन र समर्पण गरिरहुन् भनेर नयाँ नयाँ हतकन्डा अपनाउँछन् । तिनको विगत, क्षमता, भिजन, मिसन र लक्ष्य केही वास्ता नगरी बिनासोचविचार ती हतकन्डाको प्रचारप्रसार र नेतृत्वको प्रतिरक्षाका लागि पनि सुझबुझविहीन भुत्ते फौज जरुरी हुन्छ । नेपालमा चलेको ‘म झोले हुँ’, राष्ट्रिय एकताका लागि राजसंस्था चाहिन्छ, आफू नै ‘कृष्ण बन्नुपर्ने’ जस्ता भाष्य र अभियान निर्माण गर्दै फौजी शैलीमा दस्ता परिचालन गर्ने प्रवृत्ति यसकै चरम रूप हो ।

राजनीतिक विषयमा गरिने डिसइन्फर्मेसन र मिसइन्फर्मेसनको उद्देश्य पनि यही हो । यही प्रयोजनका लागि विभिन्न स्वरूपका साइबर सेना, प्रविधिमैत्री दप्तरदस्तासमेत प्रयोग भएका छन् । पुरातन शक्तिका प्रतिनिधि ज्ञानेन्द्र शाह परिवार र राप्रपादेखि कान्छो दल रास्वपा नेतैपिच्छे ‘सपोर्ट अभियानमा’ छन् । रातदिन आफ्नाको प्रचार, प्रवर्द्धन र प्रतिरक्षमा अरूको हुर्मत लिएर सामाजिक सञ्जालमा पोस्ट गर्ने र प्रतिक्रिया दिने गर्छन् । सूचनाभन्दा धेरै अवफाह प्रवाह गर्छन्, स्मार्ट फोनका पहुँच हाम्रो हजुरआमा पुस्तासम्म पुगेको समयमा यस्ता गलत र भ्रामक सूचनाले समाजलाई सही ढंगले सूचित हुने अवसरबाट मात्र वञ्चित गर्दैन, गलत मानिसबाट शाषित हुने परिस्थितिसमेत सिर्जना भएको छ ।

झोले आतंक

हरेक मानिसको गुण र दोष हुन्छ, एउटै मानिसले एक पटक एउटा काम सही र अर्को काम गलत गर्न सक्छ । कामको परिणाम र गुणदोषका आधारमा आलोचना र प्रोत्साहन गर्ने संस्कृति बोक्नु र बनाउनु नागरिकको काम हो । नागरिकले सामाजिक सञ्जालको प्रयोग कामको परिणामको आधारमा गुण र दोष हेर्ने र समर्थन वा विरोध जनाउने गर्छन् । यसले राजनीतिकदेखि प्रशासनिक जिम्मेवारहरूलाई थप जिम्मेवार बनाउने र त्यसका लागि प्रोत्साहित गर्ने काम गर्दछन् ।

नागरिकको यस्तो सचेत राजनीतिले मात्र सुशासन स्थापित हुने र राजनीति सुध्रिनेतिर जान सक्छ । तर नेपालमा यस्तो असहिष्णु जमात बनिरहेका छन्, तिनले बुझ्न नसकेको र सुन्न नचाहेको कुनै कुरा कसैले गर्‍यो भने उसले स्वतः अराष्ट्रिय, दलाल, झोले आदिको संज्ञा पाइहाल्छ । मतलब मानिसहरू विषयगत र तर्कसंगत बहसमा हैन, व्यक्तिगत आक्रमणमै संगठित रूपमै उत्रिन्छन् । यसो गरिरहँदा कुनै एक दल वा नेताका झोले मात्र भने हैनन् । हरेक यस्ता झोलेले अर्का झोलेलाई झोले भन्नु त सामान्य भइहाल्यो, तर विचार अभिव्यक्त र विश्लेषण गर्ने तप्कासमेत यस्तो दुर्व्यवहारले भयभीत छन् ।

परिणाम, धेरैजसो सभ्य र सौम्य मानिसहरू अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत आफ्नो राय राख्न हिचकिचाउने अवस्था छ । सार्वजनिक जीवन जिउने र समसामयिक राजनीति विश्लेषण गर्ने एउटै व्यक्तिले राखेको विचार विषय र प्रसंगले कुनै समूहसँग मिल्यो भनेसमेत एउटै व्यक्ति फरक–फरक दिनमा ओली/एमालेको, दाहाल/शर्मा/माओवादी वा देउवा/थापा/कांग्रेसको झोलेको पगरी पाउँछ ।

सन्दर्भलाई गुणदोषका आधारमा बोल्ने–लेख्ने जोकोहीमाथि झोले आक्रमण गर्नेमा छद्म नामका, अनुहार लुकाएका, विदेश बस्ने, पेसागत अवकाश प्राप्तहरूको गुप्त समूह बढी देखिन्छन् भने नेताको पिछलग्गुदेखि पूर्वहरू (प्रशासन, सेना–प्रहरी, राजनीतिज्ञ/परिवार आदि) र अत्यन्त महत्त्वाकांक्षासहित राजनीतिमा लागेका वा आशा राखेका तर त्यताबाट पूरा नभए वा दण्डित भएपछि निष्क्रिय वा दलबदलमा लागेकाहरू नै धेरै देखिन्छन् ।

एन्टिबायोटिकको प्रयोगपछि पनि बचेको जीवाणुजस्तो, हाल परिवर्तनपछिको यो झोले प्रजाति जहाँ छ, थप सशक्त, आक्रामक, पुर्णान्ध बनेर परिचालित छ । तिनको चेत र मिसनमा मेल नखाने जोकसैलाई सिकार गर्न तत्पर छ ।

पछिल्लो चरणमा अहिलेको संविधानले बोकेका खास विशेषताप्रति अपनत्व लिने सबै झोले मानिएका छन् । अप्रत्यक्ष फेरि त्यसको श्रेय संस्थागत रूपले पुराना वा ठूला दललाई जान्छ भन्ने त एक हिसाबले सत्य पनि हो । अचम्म त अहिलेको संविधानवादीभन्दा पुरानो पृष्ठभूमिका राजसंस्थावादी र राप्रापाका लागि काम गर्नेसमेत झोले मानिँदैनन्, न त रास्वपालगायतका कान्छाहरूका । तर, यथार्थमा सबैभन्दा दूषित र महाझोले चरित्र यिनैभित्र देखिन्छ । यसरी हेर्दा, झोले दुई धार भएको औजारका रूपमा नेपाली राजनीतिमा प्रयोग भएको छ । एकातिर झोले विवेकविहीन बिकाउ झुन्ड वा सामूहिकता हो, चरित्र र संस्कार हो ।

मालिकका लागि मर्न/मार्नै तयार र तैनाथ झुन्ड हो भन्ने मानक बनेको छ । अर्कोतिर, एउटा चयनात्मक पूर्वाग्रह र नकारात्मकता बोकेको अर्को छ– महाझोले चरित्र । यसले फरक धार/विचार/अर्को पक्षप्रति घृणा अभिव्यक्त गर्ने र पक्षधरको प्रतिरक्षा गर्ने हतियारका रूपमा काम गर्छ । मालिक फेर्दैमा र दल/गुट/नेता अदलबदल गर्दैमा झोले चरित्र स्वतः समाप्त भएको हुँदैन र मानिँदैन भन्ने पनि त्यो समूह मान्दैन ।

आफ्नै पुराना झोले समूहकालाई पनि उसले झोले भन्छ, आक्रमणमा उत्रिन्छ । आफ्नो अनुकूल झोले परिचालित गर्ने सबै नेताले बुझ्न नसकेको वा हेक्का राख्नुपर्ने कुरा के हो भने पक्षमा गलत भाष्य बनाउन, सर्वसाधारण भड्काउन, दुष्प्रचार गर्न र आलोचकलाई आक्रमण/आतंकित गर्न ती तत्काललाई त काम लाग्छन् । तर कथम्कदाचित शक्ति र सत्ता प्राप्त भयो, तर तिनको महत्त्वाकांक्षा पूरा हुन सकेन भने कित्ता फेर्छन् र नेतृत्व खुइँलाउन प्रयोग हुने महाआक्रमण/आतंककारी पनि तिनै हुनेछन् । गान्धीले त्यसै भनेका थिएनन्– मिन्स डिटरमाइन दि इन्डस ।

राजनीतिक मूल्य

यहाँ प्रश्न उठ्छ, के राजनीति मूल्यहीन/विहीन हुन्छ ? स्वतन्त्रताको राजनीतिक पर्याय गैरराजनीतिक हुनु हैन, जुन झोले तहको चेतले बुझ्दैन र मान्दैन । यावत् कमजोरीका बाबजुद मूलधारको राजनीति पूर्वअभ्यासमा आएकामध्ये बेहत्तर छ र अझै सुधार गर्ने ठाउँ छ भन्ठान्ने राजनीतिकर्मीदेखि स्थापित लेखक, बुद्धिजीवी, पत्रकार, साहित्यकार, कलाकार जस्ता अब्बल चेत भएकाहरू नै अत्यधिक झोले आक्रमणको सिकार बन्छन् ।

किनकि ती प्रतिगमनको राजनीति गर्ने पुरातनवादी र भड्काउ/लोकप्रियवादको राजनीति गर्ने कान्छाहरूको खेलमा ढाल/अवरोध बनेर उभिएको भन्ठान्छन् । उता मूलधारको राजनीति/यथास्थितिमा रमाएका, यसलाई संस्थागत गर्न चुकेर पनि दल र देशका मियो ओगटेका पुरानाहरू, ती दलभित्रकै पुरातन र अतिवादी नेताका दस्ताले पनि त्यही समूहलाई झोले आक्रमण गर्छन् । फेरि तिनलाई लाग्छ, अवस्था परिवर्तनको बहस छेड्ने त्यो तप्काबाट तिनको हाल र हैसियत हलचल हुने भय छ । 

राष्ट्रिय राजनीतिको चिरफार गर्ने यो समूहको विवेक छ, विचार छ, विश्वदृष्टि पनि छ । राजनीतिक चेतले नै मानिस सचेत हुने र नागरिक बन्ने हो । ती उदारवादी, लोकतान्त्रिक, प्रगतिशील, कम्युनिस्ट जस्ता विचारधाराबाट प्रभावित वा कतै न कतै मेलखाने सोच र चेतका अवश्य छन् । राजनीति मूल्यविहीन पनि छैन र हुँदैन । न तटस्थता र स्वतन्त्रता निरपेक्ष हुन्छन् । गैरराजनीतिक सुरक्षा संगठनलाई समेत मताधिकार सुनिश्चित भएको देशमा तिनले आवधिक चुनावमा मत पनि हाल्छन् ।

तिनको दृष्टिकोण र मतदान नै तिनलाई झोले आक्रमण गर्ने कमजोरी वा आधार बनेको छ । हरेक दलभित्र निष्ठावान्, इमानदार, स्वच्छ र केही राम्रो गरौं भन्ने हुटहुटी बोकेर राजनीतिमा आएका मानिस छन्, तर ती तिनका दलाधीशहरूका खराबीमा बोल्न सक्दैनन् । यी–यी मानिस सापेक्षतामा राम्रा छन् भनेर तिनको समर्थन, प्रतिरक्षा र प्रवर्द्धनमा बोलेर संगठित झोले सामना गर्ने अवस्था छैन । स्वच्छमध्येका रास्वपा नेताहरू रविकाण्डमा उदासीन बस्नु पनि झोले आक्रमणको भय/त्रासले हुन सक्छ, तर यो उदासीनता अबको राजनीति स्वच्छ बनाउने परिकल्पनाका सन्दर्भमा अर्को दुर्दशा/बाधक नै हो ।

निष्कर्ष

सचेतहरू झोले आक्रमणबाट भयभीत भएर भाग्ने हैन, प्रतिकार र प्रतिवाद गर्ने हो । अन्य कसैले हाम्रो देशको राजनीति सुधार्दिदैन । नेतृत्व र प्रतिनिधि फेर्न जागेनौं–लागेनौं वा इमान र इरादा बदलिरह्यौं भने राजनीतिक यथास्थितिमा फेरबदल हुने देखिँदैन । बूढो राप्रापादेखि कान्छो रास्वपासम्म, अहिलेको शीर्षस्थहरूबाट भावी पुस्ताको राजनीतिक आकांक्षा पूरा गर्न सम्भव छैन ।

त्यसैले पहिले त दलभित्रैबाट विकल्प खोजौं । हरेकलाई गुण र दोषका आधारमा मूल्यांकन गरौं, दामासाहीमा समर्थन र विरोध गर्ने दलीय वा गुटको नजर पनि बदलौं । नेता र नेतृत्व आयात गर्न मिल्दैन, उपलब्धमध्ये सापेक्षताका आधारमा अ/कुशल, प्रतिबद्ध र क्षमतावानलाई दलका नेतृत्वमा र निर्वाचनमा प्रतिनिधिका रूपमा छानौं । अनुभव भन्छ, देशवासी नागरिक नबन्दासम्म औसत राजनीतिकर्मी राजनीतिज्ञ बन्दा रहेनछन् । फेरि रैती, प्रजा, दास हुने कि नागरिक बन्ने भन्ने कुरा हाम्रै हातमा छ ।

पाँच वर्षको सचेत मूल्यांकनपछि हाम्रो पक्षधरता मतद्वारा अभिव्यक्त गर्ने समझदारीका साथ नागरिक कर्तव्य पूरा गर्न सके मात्र नेता सुध्रिन्छन्, राजनीति सङ्लिन्छ । नेता र राजनीति सुध्रिए सुशासन स्थापित गर्न सकिन्छ, समुन्नति र समृद्धि स्वतः आउँछ । यहाँ यक्ष कुरा के हो भने नेतृत्वको चरित्रले जनताको चेत प्रतिबिम्बित गर्छ, महा/झोले हुनु भनेको महा/भ्रष्टबाट शाषित हुन चाहनु वा राजी हुनु हो । भनिन्छ नि जनता गुनाका नेता ! समय घर्किसकेको छ । सोचौं, २०८४ भित्र महा/झोले नै रहने कि नागरिक बन्ने ?

इन्द्र इन्द्र अधिकारी अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा विज्ञ हुन् । उनको 'मिलिटरी एन्ड डेमोक्रेसी इन नेपाल' पुस्तकसमेत प्रकाशित रहेको छ ।

Link copied successfully