त्यागी, निःस्वार्थी र समाज रूपान्तरणका लागि क्रियाशील मानिसको संगठित स्वरूप नै राजनीतिक दल भएकाले उसको बााच्ने मूल आधार नै जनता र राष्ट्रप्रतिको निष्ठापूर्ण समर्पण हो।
What you should know
समान विचारधारा, उद्देश्य र नीतिप्रति विश्वास राख्ने व्यक्तिहरूको संगठित स्वरूप नै राजनीतिक दल हो । संविधानले रोकेको अवस्थामा बाहेक दलको विधान र कार्यक्रमलाई स्वीकार गर्ने सबै नागरिक त्यो दलको सदस्य बन्न सक्छन् । संविधानले बन्देज लगाएको अवस्थामा बाहेक दलको विधानले गैरसंवैधानिक आधार खडा गरेर कुनै पनि नागरिकलाई दलविहीन बनाउन सक्दैन ।
राजनीतिक दलसँग नागरिकको आबद्धता बडो संवेदनशील विषय हो । दलीय आबद्धतासँग आस्था र आस्थासँग समग्र जीवन जोडिएको हुन्छ । आस्थाका लागि मानिसले आफ्नो जीवन उत्सर्ग गर्न तयार हुन्छ । परिवार, भविष्य र कैयौं सुख सुविधा त्याग गरेर मानिसहरू राजनीतिमा होमिएका हुन्छन् । आस्थाको रक्षा र बचाउका लागि मानिस दशकौं दशक जेल जीवन बस्न तयार हुन्छन् । नेल्सन मण्डेला सम्भवतः आस्थाका आधारमा सबैभन्दा बढी जेल जीवन व्यतीत गर्ने राजनीतिज्ञ हुन् ।
नेपालका नेल्सन मण्डेला भनेर चिनिने मोहनचन्द्र अधिकारीले करिब १८ वर्ष र केपी शर्मा ओलीले १४ वर्ष जेल जीवन व्यतीत गरेको तथ्य हाम्रा अगाडि सचित्र छ । यदि उहाँहरूले दलको सदस्यता त्यागेको घोषणा गर्नुभएको थियो भने सम्भवतः एक साता पनि जेल जीवन बिताउनुपर्ने थिएन ।
नेपालमा विगत राजतन्त्रकालीन अवस्थामा जेल जीवन, यातना, भूमिगत, निर्वासन र बेपत्ता हुनेहरूको संख्या अझै पनि लाखभन्दा घटी छैन । यी सबै आस्था र आस्थासँग आबद्ध आफूले रोजेका राजनीतिक दलको जन्म उत्थान, प्रवर्द्धन र विकासका लागि गरिएका उत्सर्ग नै थिए र हुन् । तिनै उत्सर्गको जगमा राजनीतिक दलहरू जन्मे, हुर्के र शक्ति र सत्तामा पुगे । त्यसैले नागरिकको राजनीतिक आस्था त्यस्तो अभेद्य किल्ला हो, जो हतपत मर्दैन । रुसी कम्युनिस्ट नेता भ्लादिमिर इल्यिच लेनिनले त्यसै भनेका होइनन्, ‘आस्था दूबोजस्तै हो, जो कहिल्यै मर्दैन । कहिले सुषुप्त हुन्छ त कहिले मौलाउँछ ।’
राजनीतिक दलहरू मूलतः राजनीतिक आस्थाका आधारमा जन्मन्छन्, हुर्कन्छन् र बाँच्छन् । राजनीतिक आस्था दर्शनसँग जोडिएको हुन्छ । दर्शन जीवन र जगत् बदल्ने नीति, योजना, कार्यक्रम र कार्यदिशाको समग्र स्वरूप हो ।
अहिले पनि विश्वमा मूलतः मार्क्सवादी चिन्तनधारा र गैरमार्क्सवादी चिन्तनधारा गरी दुई वटा राजनीतिक दर्शनकै वरिपरि विश्व राजनीति घुमिरहेको छ र तिनै आधारमा राजनीतिक दलको जन्म, उत्थान र पतन हुँदै आएको छ । पुँजीवाद, उदारवाद, नवउदारवाद, उत्तरआधुनिकतावाद, राजनीतिक शून्यवाद वा लोकप्रियतावाद सबै विचारधारा गैरमार्क्सवादी चिन्तनधाराबाट निर्देशित र समाजवाद, साम्यवाद, माओवाद, जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने सबै दल मार्क्सवादी चिन्तनधाराबाट निर्देशित छन् ।
राजनीतिक दलको दर्शनसँग सम्बन्धित यी दुई कित्ताबाहेक तेस्रो कित्ता अहिलेसम्म पनि फेला पर्न सकेको छैन । त्यसैले राजनीतिक दलहरूको मूल प्रस्थानबिन्दु भनेकै राजनीतिक दर्शन र विचारधारा नै हो । त्यो विचारधारा केवल सत्ता प्राप्तिको साधन मात्र होइन, आर्थिक–सामाजिक रूपान्तरणको समग्र दृष्टिकोण र योजना पनि हो ।
राजनीतिक दलमा समाजको आर्थिक–सामाजिक रूपान्तरण गर्ने स्पष्ट भिजन र त्यागको भावना भएका व्यक्ति संगठित हुन्छन् । रूपान्तरणको त्यो ‘ब्लु प्रिन्ट’ कसैको प्रतिगामी र कसैको अग्रगामी हुन सक्छ । राजनीतिमा लाग्नु भनेको सेवाभावको उद्देश्यले लाग्नु भन्ने बुझिनुपर्छ । त्यसैले भनिन्छ– राजनीतिक दलमा आबद्ध व्यक्तिहरू लिन होइन, दिनका लागि आबद्ध हुन्छन् र आफ्नो भविष्य, परिवार र सम्पत्तिको पर्वाह नगरी पार्टीका लागि जीवन र समयको उत्सर्ग गर्छन् ।
त्यस्ता त्यागी, निःस्वार्थी र समाज रूपान्तरणका लागि क्रियाशील मानिसको संगठित स्वरूप नै राजनीतिक दल भएकाले उसको बाँच्ने मूल आधार नै जनता र राष्ट्रप्रतिको निष्ठापूर्ण समर्पण हो । त्यस्तो समर्पणलाई आदर्श र आधार मानेर हजारौं, लाखौं मानिस त्यो दलको सदस्यता लिन लालायित हुन्छन् । जसका कारणले राजनीतिक दल सदियौंसम्म पनि बाँचिरहन्छन् ।
समाज विकासको लामो चरण पार गरेर सामन्तवादी राजनीतिक व्यवस्थाको अन्त्य भएको हो । राजनीतिक दलहरूको जन्म नै सामन्तवादको विकल्पका रूपमा भएको हो । सामन्तवाद व्यक्ति, धर्म, भाग्य र अन्धविश्वासमा रमेको र जमेको व्यवस्था हो । राजनीतिक दलको जन्म हुनुभन्दा पहिलेको शासन व्यवस्था राजा, महाराजा, पादरी–पोप र गुरु–पुरोहित, पण्डित र जमिनदारको आदेशबाट चल्थ्यो । जहाँ हुकुम, आदेश, भजन, वंश परम्परा र प्रशंसाका पात्रको मात्र बोलवाला थियो । मानवीय मूल्य, मान्यता, चेतना, तर्क वितर्क, सहमति र असहमतिको कुनै गुन्जायस थिएन ।
त्यस्तो शासन व्यवस्थाको विकल्पमा चेतनायुक्त समाज नागरिक, मूल्य–मान्यतामा आधारित प्रणाली, विवेक र स्वतन्त्रतामा चल्ने छनोट प्रणाली अर्थात् आवधिक निर्वाचनबाट प्रतिनिधिको चयन गर्ने पद्धतिका लागि सामन्तवादको विरुद्धमा राजनीतिक दल र राजनीतिक दलले सञ्चालन गर्ने दलीय व्यवस्थाको जन्म भयो । यो पुँजीवाद विकासको सुरुवाती चरण थियो ।
सामन्तवादका विरुद्धमा दलीय व्यवस्थाको जन्म भएर नै आजसम्म पुँजीवाद टिक्ने आधार बनेको हो । समयक्रममा त्यो पुँजीवाद पनि चरम शोषणको माध्यम बन्न पुग्यो । यसले वर्ग विभेद र श्रम शोषणलाई आफू जिउने आधार बनाएर मानवीय मूल्य मान्यताभन्दा जसरी पनि पैसा कमाउने र धनी र गरिबबीचको खाडल झन् बढाउँदै लगेकाले कार्ल मार्क्स र फेडरिक एंगेल्सले पुँजीवादको विकल्पमा वर्गविहीन, शोषणरहित र समतामूलक समाजको निर्माणका लागि समाजवादी व्यवस्थाको परिकल्पना गरे ।
जहाँ पुँजीवादमा भन्दा ज्यादा मानवीय मूल्य मान्यता र स्वतन्त्रताको अभ्यास गर्न सकिन्छ भन्ने उनीहरूको दाबा रह्यो । तर्क, बहस, विवाद, आलोचना, आत्मालोचना र द्वन्द्वात्मक भौतिकवादका आधारमा समाज र राजनीतिक दलहरू सञ्चालित हुन्छन् र हुनुपर्छ भन्ने मूल मान्यताका आधारमा मार्क्सवादी विचारधारा र राजनीतिक दलहरू संसारभर फैलिन पुगे ।
यो सबै ऐतिहासिक पृष्ठभूमिको सार के हो भने दलहरू मूलतः दर्शन, विचार र मानवीय मूल्य मान्यताका आधारमा जन्मन्छन् र बाँच्छन् भन्ने नै हो । यदि राजनीतिक दलको अभ्यासमा यी विषयले मान्यता पाउन छाडे वा तिनलाई बेवास्ता गरियो भने राजनीतिक दलको स्थापनाको औचित्य नै समाप्त हुन्छ ।
यो सैद्धान्तिक आलोकमा आज हाम्रा प्रमुख राजनीतिक दलमा भइरहेको अभ्यासको विवेचना गर्ने हो भने यो वा त्यो दलको नाम लिनु पर्दैन, सबै दलले आफू बाँच्ने आधार क्रमशः गुमाउँदै गएको प्रतीत हुन्छ । दलीय अभ्यासमा होस् वा राज्य सत्ताको अभ्यासमा होस्– बहुमतले शासन गर्छ र अल्पमतको कदर गरिन्छ । दलीय व्यवस्थाको शासन शैलीको यही प्रजातान्त्रिक चरित्रले नै दलमा मानिस आबद्ध र क्रियाशील हुन्छन् । अल्पमतमा परेर पनि यस कारण त्यही दलमा रहन्छन् कि कालान्तरमा अल्पमत पनि बहुमतमा परिणत हुन सक्छ भन्ने जागृत भावनाले उसलाई क्रियाशील रहन प्रेरित गरिरहन्छ ।
अल्पमत कुनै पनि बखत बहुमतमा पुग्न सक्छ भन्ने ज्वलन्त उदाहरण एमालेको सातौं र आठौं महाधिवेशनमा कमरेड केपी शर्मा ओलीले राखेको पार्टी जीवनको लोकतान्त्रीकरणको एजेन्डा नवौं महाधिवेशनमा गएर बहुमतमा पुगेकोबाटै प्रस्ट छ । त्यसैगरी कम्युनिस्टहरूसँग कुनै हालतमा कार्यगत एकता हुन सक्दैन भन्ने गिरिजाप्रसाद कोइरालाको मत २०६२/०६३ को आन्दोलनमा पुग्दा अल्पमतमा परेको तथ्य पनि जगजाहेर नै छ ।
पार्टीमा क्रियाशील हुने वा पार्टीहरू जीवन्त हुने अर्को आधार हो– विचारमा अल्पमतमा परे पनि अवसरको समान वितरण हुन्छ र अवसरमा संस्थापन वा गैरसंस्थापन भनेर विभेद नगरिने विषयको प्रत्याभूति हुनु । विचार वा कार्यक्रममा फरक मत राखेको वा अल्पमतमा परेका कारणले अवसरमा विभेद गरियो भने त्यस्ता सदस्य, समर्थक वा नेता–कार्यकर्ता त्यस दलमा क्रियाशील रहने उत्प्रेरणा नै समाप्त हुन्छ ।
अल्पमतमा परेको नेता–कार्यकर्तालाई पार्टी सत्ताले दिने अवसर वा पार्टी राज्यसत्तामा पुगेको छ भने राज्यसत्ताले दिने अवसरमा वैचारिक वा गुटगत वा अन्य कुनै प्रकारको विभेद प्रकट रूपमा देखियो भने त्यस्तो विभेद सहेर वा स्वाभिमान गुमाएर त्यस्तो कार्यकर्ता सधैंभरि त्यही दलमा रहिरहोस् भन्ने कामना गर्नु व्यर्थ हुन्छ ।
आफ्नो स्वाभिमान र क्षमतालाई दलले कदर गर्छ वा विभेद गर्दैन भन्ने मान्यताका आधारमै दलमा नागरिक आबद्ध हुने वा क्रियाशील हुने गर्छन् । त्यसमा पनि मार्क्सवादी कित्ताका दल वा तिनका कार्यकर्तामा स्वाभिमानको विषय प्राथमिक विषय बन्दछ किनकि तिनीहरूमा पुँजीवादी दलमा भन्दा ज्यादा आलोचनात्मक चेत र दार्शनिक आस्था अनि विभेदविरुद्धको चेतना तुलनात्मक रूपमा बढी नै हुन्छ ।
दलहरू बाँच्ने अर्को आधार भनेको दलमा लागेबापत दलको विधानको अधीनमा रहेर स्वतन्त्रतापूर्वक प्रतिस्पर्धाका माध्यमबाट नेतृत्वको अवसर प्राप्त हुन्छ र नेतृत्वमार्फत सामाजिक रूपान्तरणको अभियानलाई अघि बढाउन सकिन्छ । विद्यार्थी, युवा र वयस्क जुनसुकै उमेर समूहका सदस्यलाई पनि दलमा लागेबापत मेरो क्षमताअनुसारको जिम्मेवारी र अवसर निष्पक्षतापूर्वक प्रतिस्पर्धाको माध्यमबाट प्राप्त गर्न सक्छु भन्ने उत्प्रेरणा हुन्छ र त्यही उत्प्रेरणा नै दलमा आबद्ध वा क्रियाशील रहने जीवन्त मार्ग पनि हो ।
जुन दलमा प्रतिवर्ष नयाँ प्रवेशीको प्रतिशतभन्दा पुराना नेता–कार्यकर्ताको प्रतिशत ज्यादा हुन थाल्छ, त्यस दलको भविष्यप्रति प्रश्न उठ्न थाल्छ । अनि जुन दलमा निष्पक्षतापूर्वक प्रतिस्पर्धाको अवसर हुँदैन वा भए पनि पार्टी सत्ताले त्यो अवसरलाई विचार वा गुटगत आधारमा नियन्त्रण गर्छ वा स्वच्छ प्रतिस्पर्धा होइन, पार्टी सत्ता वा राज्य सत्ताको दुरुपयोग गरेर उसलाई हराउन लाग्छ भन्ने कुरा जब प्रकट रूपमा देखिन्छ तब त्यस्तो व्यक्तिले या पलायन या त विद्रोहको बाटो रोज्न बाध्य हुन्छ ।
पार्टीहरू बाँच्ने अर्को आधार हो नेता वा पार्टीप्रतिको जनसमर्थनको निरन्तरता । दलीय व्यवस्थामा आवधिक निर्वाचनमा जनसमर्थन घटबढ हुनुलाई अन्यथा भन्न सकिँदैन । आफू आबद्ध दलले एक–दुई निर्वाचनमा पराजय भोग्यो भने पनि अर्को निर्वाचनमा पुनः विजयी हुने वैचारिक आधार, नेतृत्वको क्षमता र जनसमर्थन छ भने त्यस्तो दल बाँच्न सक्छ । तर वैचारिक आधार, नेतृत्व क्षमता वा सक्षमता वा जनसमर्थन पुनः प्राप्त हुने सम्भावना र आधार जब प्रकट रूपमा देखिँदैनन्, त्यस्तो दलको भविष्यलाई हेरेर त्यस दलमा आबद्ध हुने नागरिकको संख्या क्रमशः घट्दै जान्छ ।
नेतृत्वको लोकप्रियता र कौशलता पार्टी बाँच्ने अर्को महत्त्वपूर्ण आधार हो । कहिलेकाहीँ नेतृत्व असाध्यै लोकप्रिय छ भने पनि पार्टीको जनसमर्थन निरन्तर बढोत्तरी हुन्छ । तर ठीक विपरीत कहिलेकाहीँ पार्टीको नीति, विचार र सिद्धान्त ठीकै छ, नेतृत्व लोकप्रिय छैन भने पनि त्यो पार्टीको भविष्यमा प्रश्न उठ्न सक्छ । संसदीय राजनीतिमा नेतृत्वको लोकप्रियताले त्यस दलको वैचारिक धरातल मन नपराउने व्यक्ति पनि त्यो दललाई मतदान गर्न लालायित हुन्छ । म एउटा उदाहरण झलझल्ती सम्झन्छु । २०४८ सालको आमनिर्वाचनमा तत्कालीन एमालेले त्यत्रो सिट संख्या र मत प्राप्त गर्नुमा त्यस दलका त्यस बखतका नेता मदन भण्डारीको चामत्कारिक नेतृत्व क्षमता एक प्रमुख आधार थियो ।
निर्वाचनको केही दिनअघिको एउटा प्रसंग म यहाँ उद्धृत गर्न चाहन्छु । सुप्रसिद्ध संविधानविद् तथा बीपी कोइरालाका निकटस्थ वरिष्ठ अधिवक्ता गणेशराज शर्माले सर्वोच्च अदालतबाट बहस गरेर फर्किंदै गर्दा पुतलीसडकमा मसँग भन्नुभएको थियो, टीकाजी ! म यस पटक एमालेलाई होइन, सूर्य चिह्नलाई मज्जाले मतदान गर्छु ।’ सँगसँगै उहाँले त्यसको कारण पनि खोल्नुभयो, ‘मदन भण्डारीको व्यक्तित्वसँग म प्रभावित भएँ । यसले भविष्यमा केही गर्छ । कांग्रेस बलियो हुँदा राष्ट्रियता कमजोर हुन्छ, त्यसलाई चेक गर्न मदन भण्डारीको नेतृत्वले मात्र सक्छ ।’
गणेशराज शर्माजस्ता राष्ट्रवादी तर गैरएमाले धेरै व्यक्तिले त्यसबखत एमालेलाई मत दिए, जसका कारण एमाले शक्तिशाली हुँदै गयो । यहाँनिर भन्न खोजेको कुरा के हो भने दलको नेतृत्व कसले गरिरहेको छ र ऊप्रतिको जनसाधारणको दृष्टिकोण कस्तो छ भन्ने आधारमा पनि दलहरू बाँच्ने आधार बन्दो रहेछ ।
दलहरू बाँच्ने अर्को महत्त्वपूर्ण आधार हो– सुशासन, जवाफदेहिता र पारदर्शिताप्रति दल वा त्यसका नेताको साँचो अर्थको प्रतिबद्धता । ओठे प्रतिबद्धता सबै दल र सबै नेताको हुन्छ नै तर जब नेतृत्व गर्ने अवसरमा त्यो नेता पुग्छ, सुशासन र पारदर्शिता अनि जवाफदेहिताप्रतिको उसको साँचो अर्थको परीक्षण सुरु हुन्छ । कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको निष्कलंक छवि र नेतृत्व उहाँहरू प्रधानमन्त्री भएर बाहिरिँदा पनि बेदाग नै रह्यो र जीवनको उत्तरार्द्धमा पनि जनसाधारणको उहाँहरूप्रतिको सम्मान र समर्थनमा कुनै कमी यस कारण आएन कि अवसर पाउँदाको परीक्षणमा पनि उहाँहरू पास हुनुभयो ।
वास्तवमा दल बाँच्ने पहिलो आधार नै वैचारिक धरातल र त्यसप्रतिको निष्ठा नै हो । राजनीतिक दलको नीति निर्माण र नेतृत्व चयनमा सामूहिकता देखियो भने त्यस्ता दल टिकाउ र पारंगत हुँदै अघि बढ्छन् । दलको नेतृत्व चयन साँचो अर्थको स्वच्छ प्रतिस्पर्धामा आधारित छ भने योग्यता र क्षमता भएका व्यक्ति दलमा आतुरतापूर्वक नेतृत्वको लाइनमा पर्खेर बस्न लालायित हुन्छन् । तर प्रतिस्पर्धा नियन्त्रित र नाम मात्रको छ भने योग्य, सक्षम र स्वाभिमानी कार्यकर्ता दलमा बस्ने वा क्रियाशील हुने सम्भावना न्यून हुँदै जान्छ ।
नेता र नेतृत्वको लोकप्रियता, जवाफदेहिता, नीति प्रधानता, पार्टी सत्ता वा राज्य सत्ता सञ्चालनमा कार्यकर्तालाई गरिने बिनाभेदभाव, राज्य सत्ता वा पार्टी सत्ताबाट प्राप्त हुने अवसरको वितरणमा निष्पक्षता अनि आन्तरिक लोकतन्त्रमा उदार र समभाव राख्ने दल मात्र बाँच्छन् । नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वमा यी लक्षण वा चरित्र छन् कि छैनन् भनेर विश्लेषण गर्न हरेक वयस्क नागरिक अहिले सक्षम छन् । तिनै वयस्क नागरिकको रोजाइमा दल बाँच्ने वा नबाँच्ने निर्णय हुनेछ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढ भविष्यका लागि दलहरू बाँच्नु र तिनीहरूलाई बचाउनु उत्तिकै जरुरी छ । यदि दल र भजन मण्डलीमा फरक छुट्टिन छाड्यो भने त्यस दलको अस्तित्व खतरामा पर्ने निश्चित छ । गणतन्त्र पक्षधर दलहरू बाँच्नका लागि तिनमा नयाँ प्रवेशीको आकर्षण बढाउन जरुरी छ । त्यो आकर्षण ठेक्का, कमिसन, प्रलोभन र शक्ति आर्जनको लालसामा मात्र केन्द्रित भयो भने दलहरू बाँच्दैनन्, नेता मात्र केही समय बाँच्न सक्लान् ।
दलाल पुँजीवाद र बिचौलियाको प्रभावलाई नियन्त्रण गर्न सक्ने वैचारिक र सांगठनिक नेतृत्व भएका दललाई बचाउन लागिपरौं । राजनीतिक दलभित्र पनि गणतन्त्रको अभ्यास सहज र सरल बनाउने अठोट कायम राखौं । दलहरू नेताका लागि होइन, परिवर्तन र रूपान्तरणका लागि बाँच्नुपर्छ तर बाँच्ने वा नबाँच्ने विषयको निर्धारणको आधा हिस्सा नेतृत्वको क्षमता, योग्यता र कौशलतामा भर पर्छ ।
निषेध र प्रतिशोधको राजनीति दलको विनाशको प्रस्थानबिन्दु हो । सहकार्य, समभाव र सामूहिक नेतृत्व प्रणाली दलको प्राणवायु हो । त्यो प्राणवायुलाई कसले बचाउने हो ? प्रमुख राजनीतिक दलहरूमा यस विषयमा विमर्श सुरु होस् । संघीय गणतन्त्रको सुदृढीकरणका लागि यसका पक्षधर दल बाँच्नै पर्छ । दल बाँचे नेता स्वतः बाँच्नेछन् तर नेता मात्र बाँचे ‘नरहे बाँस नबजे बाँसुरी’ हुनेछ ।
