नेताहरूले धराशायी बनाएको कम्युनिस्ट आन्दोलन

ओली, दाहाल र नेपालको नेतृत्वमा कम्युनिस्ट पार्टी र आन्दोलन अगाडि बढ्छ भनेर अझै पनि कसैले सोचेको छ भने त्यो व्यक्ति या त महाभ्रममा छ, या कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने योजनामा सहमत छ ।

भाद्र ३, २०८२

हरि रोका

Communist movement crushed by leaders

What you should know

कम्युनिस्ट आन्दोलनमा यति ठूलो आयतनमा विभाजन, अन्योल, निराशा र पलायन यसअघि कहिल्यै देखिएको थिएन । त्यसो त मुलुकमा छाएको राजनीतिक निराशाले नेपाली कांग्रेससहित पुराना पार्टीमाथि पनि ठूलो प्रश्न उठाएको छ ।

खासगरी नेपालको कम्युनिस्ट आन्दोलनबारे कलम चलाउँदै आएको यो पंक्तिकार पछिल्लो कालको कम्युनिस्ट आन्दोलनमा सहभागी भएर सबैजसो पार्टी र तिनका नेतासँग परिचित छ । कुनै पार्टीमा नरहेर सबै पार्टीलाई हेरिरहेको एउटा सक्रिय व्यक्तिका हिसाबले कम्युनिस्ट आन्दोलन कस्तो देखिन्छ भन्ने कुरा केही घटना र सन्दर्भसहित संक्षिप्तमा यस आलेखमा समेट्ने प्रयत्न गरिएको छ :

घटना–१

नेकपा एमालेमा केपी शर्मा ओलीको मनपरीतन्त्र मडारिएको एक दशकभन्दा बढी भयो । त्यसबाट आजित भएकाहरू विद्या भण्डारीलाई अगाडि राखेर जम्मा हुन खोजे तर ओलीले दुई वर्ष पहिल्यै नवीकरण भएको भण्डारीको पार्टी सदस्यतासमेत खारेज गरिदिए । 

पूर्वराष्ट्रपति राजनीतिमा आउनु लोकतन्त्रका लागि ठिक हो वा बेठिक भन्ने कुरा अलग्गै छ । तर, एमालेले उनको पार्टी सदस्यता नवीकरण गरिसकेको थियो । भण्डारीको सदस्यताले ओलीको महत्त्वाकांक्षाको धरहरा हल्लियो । ओलीको मनपरीतन्त्रले आहत भएका तल्लो तहका बहुसंख्यक कार्यकर्ताले भण्डारीलाई साथ दिन्छन् भन्ने लागेपछि ओलीले केन्द्रीय कमिटीलाई ह्वीप लगाए र निर्णय सुनाए । 

बहालवाला अध्यक्षको प्रतिस्पर्धी हुन सक्ने सम्भावनाकै आधारमा कुनै पनि पार्टीको सदस्यता कसरी खारेज गर्न मिल्छ ? यो स्वयं एमालेको विधानको खुला उल्लंघन हो । तर मुलुकको संविधानकै विरुद्ध संसद् विघटन गर्न सक्ने ओलीका लागि एमालेको विधान करेसाबारीको सागबराबर हुने नै भयो । 

नेकपा एमालेमा ओलीको राजनीतिक उकालो यात्राका लागि र राज्यसत्ताको ओलीकरणका लागि भण्डारीको योगदान जगजाहेर छ । ओलीले तिनै भण्डारीको सदस्यतासमेत खारेज गर्न सक्छन् भने उनले कसैलाई बाँकी राख्दैनन् भन्ने कुरामा शंका रहेन । 

घटना–२

गएको ३६ वर्षदेखि पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) मा अहिले एउटा प्रश्नले भूकम्प ल्याइदिएको छ । त्यो प्रश्न हो– १७ वर्ष पहिले ३१ लाख भोट पाएको माओवादी पार्टी अहिले ११ लाख भोटमा थन्किनुपरेको छ, यसको जिम्मा कसले लिने हो ? जनार्दन शर्माले करिब १३ महिना पहिले सोधेको यस प्रश्नको उत्तर दाहालले हालै स्थायी कमिटीको निर्णयबाट दिए– ‘सार्वजनिक रूपले नेतृत्वका विरुद्ध बोलेको हुँदा जनार्दन शर्माले आत्मालोचना गर्नुपर्छ ।’ 

यसभन्दा पहिले पनि जनार्दनलाई ‘पार्टी छोड्न सक्छौ तर प्रश्न गर्न पाउन्नौ’ भनेर धम्क्याइएको थियो । अर्थात्, जनार्दन शर्माले माओवादी पार्टीको भविष्य के हुन्छ ? हामीले बाटो किन बिरायौं ? यसको जिम्मेवारी कसले लिन्छ भनेर सोधेका थिए । दाहालले पार्टी छोड्न वा आत्मालोचना गर्न आदेश दिए । 

शर्माको प्रश्न र दाहालको उत्तरले माओवादी पार्टी कसरी बनेको छ, त्यसको नेतृत्वले कसरी सोच्ने गर्छ, त्यो पार्टी कसरी चलेको छ वा कसरी चल्नेवाला छ भन्नेबारेमा धरै उत्तर दिन्छ । 

घटना–३

सधैं ठूला झगडा भइरहने सानो पार्टी नेकपा एकीकृत समाजवादीमा अहिले अध्यक्ष माधव नेपालले दोस्रो वरीयताका नेता झलनाथ खनाललाई पार्टीबाट निस्कन फर्मान जारी गरेका छन् । झलनाथ खनालले माधव नेपालको नेतृत्वमाथि प्रश्न उठाउँदै ‘विद्रोहको औचित्य पुष्टि नभएको’ बताएका थिए । 

माधव नेपालले पार्टी चलाउन सकेनन् भन्ने कुरा स्वयं नेपालले बाहेक अरू सबैले बुझेका छन् । अझ अहिले उनीमाथि भ्रष्टाचार मुद्दा लागेको छ । धरौटी बुझाउन नसकेको भए उनी अहिले जेलमा हुन्थे । जेलमा बस्नुपर्ने मुद्दामा अर्कोलाई वारेस राख्न नपाउने गरी अदालतले आदेश दिएपछि उनी आफैंले तारिख धाउनुपर्ने भएको छ । उनै नेपाल ललिता निवास जग्गा काण्डमा समेत आरोपित छन् । 

पार्टी चलाउन नसकेर दाहाललाई बुझाउन तम्सेका नेपालले पार्टी चलाउन सकेनन्, उनी वैचारिक वा सैद्धान्तिक नेता होइनन् भनेर खनालले प्रश्न गर्नु अस्वाभाविक थिएन । तर, माधव नेपालले ‘पार्टी छोड’ भनेर उत्तर दिए ।

माथिका घटना बेग्लाबेग्लै पार्टीमा तर एकै महिनामा घटेका हुन् । ती घटनामा एउटा समानता के छ भने ती पार्टीका नेताहरू– केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव नेपालको चरित्र एउटै छ । उनीहरूका लागि पार्टी आफ्नो जिमदारी हो, अरू सबै तिनका रैती हुन् । तिनले पार्टीका केन्द्रीय कमिटीमा 

आफ्ना चाटुकार भरेर ‘केन्द्रीय नेता’ बनाएका छन् । ती कहिल्यै अल्पमतमा पर्दैनन् । ती ‘केन्द्रीय नेताहरू’ वास्तवमा होटल/रेस्टुराँका बाउन्सरजस्ता छन् । मालिकको आदेशअनुसार तिनले आक्रमण गर्छन् । यी पार्टी र ठूला व्यावसायिक घराना उस्तै हुन् । कम्युनिस्ट पार्टी व्यावसायिक घरानामा बदलिएको हुँदा तिनले कम्युनिस्ट पार्टीको चरित्र गुमाएका छन् । यो एकाएक भएको भने होइन । कुनै बेला ती पार्टी र त्यसका नेता इतिहासको आवश्यकता थिए । समयक्रममा नेताहरू बिग्रिँदै गए र पार्टीमा धमिरा लाग्दै गयो । 

एउटा लोकतान्त्रिक पार्टीको पतन

२०४८ सालमा सम्पन्न संसदीय निर्वाचनमार्फत एमाले दोस्रो पार्टीका रूपमा उदायो । २०४९ मा एमालेको पाँचौं महाधिवेशन सम्पन्न भएर जनताको बहुदलीय जनवादको कार्यक्रम पारित गरेर संसदीय मूलधारमा समाहित भयो । पार्टीको आन्तरिक लोकतन्त्र पनि फराकिलो बन्दै गयो । मदन भण्डारीको अस्वाभाविक देहावसान भयो । 

२०५१ मा भएको मध्यावधि निर्वाचनमा एमाले संसद्मा ठूलो दलका रूपमा उपस्थित भयो र कमरेड मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको कम्युनिस्ट सरकार बन्यो । आफ्नो गाउँ आफैँ बनाऔं र वृद्धभत्तालगायत केही जन्ड सुधारका कार्यक्रम लागू गरिए । लोकतान्त्रिक ढाँचाभित्र पनि कम्युनिस्ट पार्टीलाई व्यापक जनताको बीचमा स्थापित गर्न सकिन्छ भन्ने उदाहरण एमाले बन्यो । तर, माधव नेपालको नेतृत्व र केपी शर्मा ओलीको अग्रसरतामा भएको महाकाली सन्धिसम्म आइपुग्दा नेकपा एमाले वैचारिक रूपमा ओरालो लाग्न थालिसकेको थियो । 

परिणामतः २०५४ मा पार्टी विभाजित झयो । माधव–ओलीको नेतृत्वमा ब्युरोत्रेटिक बन्दै गएको एमालेले जनमत गुमाउँदै गयो । राजा र माओवादीका बीचमा खेलेर नेपाल प्रधानमन्त्री हुन चाहन्थे । तर राजाले ‘कू’ गरेपछि नेपाल माओवादीतिर लाग्न थाले भने ओली राजालाई खुसी पारेर प्रधानमन्त्री हुने मेसोमा लागे । अन्ततः २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाल–ओलीको एमाले नराम्ररी पराजित भयो ।

पार्टीमा वैचारिक समस्या भए पनि एमालेको आन्तरिक लोकतन्त्र सबैका लागि उदाहरणीय थियो । एमालेको आठौं महाधिवेशनमा नेपाल–ओलीको गठबन्धनलाई पराजित गर्दै झलनाथ खनाल पार्टी अध्यक्षमा निर्वाचित हुनु त्यसको उदाहरण हो । तर त्यही पार्टीमा खनाल अध्यक्ष र संसदीय दलको नेता छँदाछँदै दुई–दुई निर्वाचन क्षेत्रबाट पराजित भएका नेपाललाई ‘भित्र–बाहिर’ का शक्तिले प्रधानमन्त्री बनाए । २०७१ सालको नवौं महाधिवेशनमा झलनाथ खनालको राजनीतिक प्रतिवेदन पारित भयो तर त्यही महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित गर्‍यो । त्यसपछि एमालेको पतन सुरु भयो । 

प्रधानमन्त्रीको कुर्सी सुरक्षित गर्न ओलीले माओवादीसँग एकता गरे र पार्टी र राज्यलाई कब्जा गर्न थाले । पार्टीमा विवाद चर्किंदै गएपछि भारतीय खुफिया एजेन्सीका प्रमुखसँग साँठगाँठ गरेर संसद् विघटन र पार्टी विभाजनसम्म गरे । एकलौटी हैकम कायम भएको एमालेमा प्रश्न गर्नेहरूलाई एकपछि अर्को कारबाही गर्दै गए । अहिले उनका विरुद्ध देशभित्र र बाहिर नारा लागिरहेको छ । उनी मुलुकको प्रधानमन्त्री छन् तर उनका बदनामीको बोझले थिचिएर एमाले अब उठ्नै नसक्ने अवस्थामा पुग्दै छ । 

एउटा क्रान्तिकारी पार्टीको विघटन

दसवर्षे जनयुद्धमा लगभग १७ हजार नेपालीले सहादत प्राप्त गरेको अनुमान छ । सयौं बेपत्ता र हजारौं घाइते छन् । लाखभन्दा बढी परिवार आफ्नो गाउँठाउँबाट विस्थापित भए । समाजको मूलधारबाट बहिष्कृत महिला, दलित, आदिवासी–जनजाति, मधेशी, सीमान्तकृतहरूको सक्रिय सहभागिताकै कारण माओवादीको जनयुद्ध राजनीतिको मूलधार बन्दै गयो । 

संविधानसभा र गणतन्त्रको घोषणासम्म माओवादी विजयी भयो । तर गणतन्त्रको पहिलो सरकारकै बेलादेखि माओवादी संसद् वा विद्रोहको सैद्धान्तिक अन्योल र अन्तरद्वन्द्वमा फस्दै गयो । यही अन्योलबीच नेताहरू सुखसुविधामा लहसिन थाले । जति ठूलो नेता, त्यति विलासी जीवन हुन थाल्यो । कांग्रेस र एमाले पहिलेदेखि नै कमाइधमाइमा लागेका थिए । छोटै समयमा उनीहरूजस्तै हुन माओवादीका नेताहरू सबैतिर लसपस गर्न थाले । 

जनयुद्धको नैतिक बल खस्किँदै गयो । पार्टी र जनता, नेता र कार्यकर्ता, ठूला नेता र साना नेता, क्रान्तिलाई बिर्साउन लागेका नेता र क्रान्ति पर्खिरहेका नेता, नेताका परिवार र कार्यकर्ताका परिवारका बीचमा वर्ग विभाजन बढ्दै गयो । त्यही अनुपातमा पार्टीमा विवादहरू देखा परे । सबैसँग उस्तै देखिने दाहालको कार्यशैलीले केही समय काम गर्‍यो । तर जसले दाहालको असली रूप देखे, तिनले प्रश्न उठाउन थाले र पार्टीमा विभाजन सुरु भयो । अहिलेसम्म मोहन वैद्य, नेत्रविक्रम चन्द, बाबुराम भट्टराई, गोपाल किराती, विश्वभक्त दुलाल, रामबहादुर थापाहरूसमेत ५० प्रतिशतभन्दा बढी कार्यकर्ताले पार्टी छोडे ।

पहिलो संविधानसमा प्रत्यक्ष निर्वाचनतर्फ ५० प्रतिशत सिट ल्याएको माओवादी दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो भयो । २०७४ को आमनिर्वाचन परिणामले पार्टीको अस्तित्वमाथि नै प्रश्न उठ्ने देखेका दाहालले ओलीसँग एकता गरे । सिंगो नेकपाको नेता बन्ने सपना बोकेका दाहाल ओलीले बेवास्ता गर्न थालेपछि झस्किए । तर ओलीले सबै ठाउँबाट 

लखेट्दै गएपछि अदालतले ब्युँताएको माओवादीलाई २०७९ को निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेर संसद्मा ३२ सिट हात पारे र तेस्रो पटक प्रधानमन्त्री भए । ओलीले त्यहाँबाट पनि लखेटेपछि दाहाल अहिले माओवादी पार्टी चलाउन नसक्ने अवस्थामा पुगेका छन् । 

के कुरा दाबीका साथ भन्न सकिन्छ भने यही माओवादीले २०८४ सालको आमनिर्वाचन थेग्न सक्दैन । त्यसैले उनले नेत्रविक्रम चन्दको नेकपा र माधव नेपालको एकीकृत समाजवादीसँग एकता गर्न प्रयास गरेका छन् । दाहाललाई राम्ररी चिनेका चन्दले माओवादीसँग एकता नहुने बताएका छन् । कदाचित एकता भइहाल्यो भने दाहालले चन्दसहित त्यो पार्टी पनि कतै बुझाउने सम्भावना उत्तिकै छ । यसरी एउटा क्रान्तिकारी पार्टीको अवसान हुँदै छ ।

एउटा विद्रोहको गर्भपात

महासचिव मदन भण्डारीको आकस्मिक निधनपछि काकतालीले एमालेजस्तो ठूलो पार्टीको नेतृत्वमा पुगेका माधव नेपाल राजनीतिक सोच र कार्यक्रमले भन्दा पनि टिकडमका आधारमा १५ वर्षसम्म महासचिव रहे । महाकाली सन्धिसम्म यिनले सीपी मैनाली र अरूलाई लडाए । त्यसपछि वामदेव गौतम र केपी ओलीलाई भिडाए । २०६४ सालमा आफू र पार्टीको लज्जाजनक पराजयपछि महासचिवबाट राजीनामा गरे । आठौं महाधिवेशनमा ओलीको ओत लागेर राजनीतिमा टिके । नवौं महाधिवेशनमा ओलीसँग पराजित भएपछि असान्दर्भिक हुँदै गएका नेपाल ओली–दाहालको विवादमा दाहालतिर लागे ।

ओलीले संसद् विघटन गरेपछि एमालेकै एउटा समूहका नेता भए । देशभरि ओलीको विरोध भइरहेका बेलामा शेरबहादुर देउवा र दाहालको ओत लागेर नेकपा एकीकृत समाजवादी बनाए । २०७९ सालको स्थानीय र आमनिर्वाचनमा ३ प्रतिशत पनि मत ल्याउन नसकेपछि त्यो पार्टी असान्दर्भिक भइसकेको थियो । देउवा र दाहालको सरकार फेर्ने खेलमा साथ दिँदै केही थान मन्त्री बनाएर पार्टी चलाउँदै आएका नेपाल ओली–देउवा गठबन्धनको सरकारपछि संकटमा परेका छन् । नेता खनालले नेपाल विचारहीन र सिद्धान्तहीन नेता हुन् भनेका छन् र ठिकै भनेका छन् । तिकडमले काम नगरेपछि र आफैंमाथि भ्रष्टाचारको मुद्दा लागेपछि जीवनको उत्तरार्द्धमा नेपाल सबैभन्दा ठूलो नैतिक संकटमा छन् । माओवादीसँग आफ्नो हैसियतको टुंगो लाग्नासाथ नेपालले पार्टी बुझाउन कुनै बेर लगाउन्नन् । स्थापनाको करिब ३ वर्षमै नेपाल–खनालले भन्ने गरेको ‘विद्रोहको गर्भपात’ भइसकेको छ ।

अब के हुन्छ ?

एउटा राजनीतिक पार्टीका लागि विचार, सिद्धान्त र संगठन सबैभन्दा महत्त्वपूर्ण हुन्छ । तर त्यसको ग्यारेन्टी नेताले गर्छ । नेता खराब भयो भने राम्रो सिद्धान्तलाई पनि आफ्नो स्वार्थमा प्रयोग गर्न थाल्छ । कार्यकर्तालाई भ्रष्ट, चाटुकार, शक्तिपूजक बनाउँछ । नेता असल भयो भने उसले गलत सिद्धान्तलाई पनि सुधार्दै लैजान्छ । त्यस्तै कार्यकर्ता खोज्न थाल्छ र पार्टीलाई क्रान्तिकारी बनाउँछ । पुष्पलाल पहिले नेपाली राष्ट्रिय कांग्रेसमा थिए, उनले श्रमजीवी वर्गको सिद्धान्त खोज्दै कम्युनिस्ट पार्टी बनाए । ओली, दाहाल र नेपालहरूले क्रान्तिकारी पार्टीहरूलाई आफूजस्तै सिद्धान्तहीन, विचारहीन, बुर्जुवा बनाइदिए । विस्कनसिन विश्वविद्यालयका प्राध्यापक नोम लुपाले सन् २०१६ मा एउटा किताब लेखेका छन्– पार्टी ब्रान्ड इन क्राइसिस(् । उनका अनुसार जुन पार्टी सत्तामा पुगेर लक्ष्य बिर्सिन्छ वा अपवित्र गठबन्धन गर्छ वा आफ्नै वैचारिक प्रतिद्वन्द्वीसँग साँठगाँठ गर्छ वा 

आफ्नो घोषणापत्रविपरीत नीतिहरू अँगाल्छ, त्यस्तो पार्टीको अवसान हुन्छ । उपरोक्त पार्टीहरू राजनीतिशास्त्री लुपाले उल्लेख गरेका यी सबै खराबीमा डुबिसकेका छन् । ओली, दाहाल र नेपालको नेतृत्वमा कम्युनिस्ट पार्टी र आन्दोलन अगाडि बढ्छ भनेर अझै पनि कसैले सोचेको छ भने त्यो व्यक्ति या त महाभ्रममा छ, या कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने योजनामा सहमत छ भन्न सकिन्छ । निष्कर्ष के हो भने यिनै नेता राखेर अब कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सम्भव छैन ।

यसको अर्थ के अब कम्युनिस्ट आन्दोलन समाप्त भइसकेको हो त ? त्यो होइन । पहिलो कुरा, नेपालको कम्युनिस्ट आन्दोलन नेपालको राष्ट्रिय स्वाधीनताको आन्दोलनको अगुवा हो । राष्ट्रियताको आन्दोलनमा यसको अर्को जोडा छैन । जनताका अनेकौं आर्थिक समस्यालाई राष्ट्रिय राजनीतिको मुख्य विषय बनाउने काम यही आन्दोलनले गरेको छ । गणतन्त्रसम्म आउँदा लोकतन्त्रको आन्दोलनमा पनि समग्र कम्युनिस्ट पार्टी कांग्रेसभन्दा अगाडि नै छ । अर्को महत्त्वपूर्ण पक्ष के छ भने कम्युनिस्ट आन्दोलनले नेपालका महिला, आदिवासी–जनजाति, मधेशी, पिछडिएका क्षेत्र, अल्पसंख्यक जाति, भाषा, संस्कृतिलाई राजनीति र संविधानको मूल प्रवाहमा ल्याउने काम कम्युनिस्ट आन्दोलनले नै गरेको छ ।

दोस्रो कुरा, नेपाली समाजको वर्गीय बनोट, विकासको अवस्था, विश्व परिस्थितिले वामपन्थी तथा कम्युनिस्ट आन्दोलन अपरिहार्य छ । तेस्रो, एमालेको स्कुलिङ र माओवादी स्कुलिङबाट प्रभावित भएर राजनीति बुझेको धेरै ठूलो पंक्ति देशभित्र र बाहिर छ । श्रमजीवी वर्गको राजनीतिक पार्टी नभएको अवस्थामा पुष्पलालले एउटा नयाँ सुरुवात गरेका थिए । विभाजित कम्युनिस्ट आन्दोलनले निराशा छाएको अवस्थामा सीपी मैनालीहरूले अर्को नयाँ जमर्को गरेका थिए । तेस्रो पहलकदमी दाहालहरूले गरेका थिए ।

यहाँसम्म आइपुग्दा मुलुकले सामन्तवादबाट मुक्ति पाएको छ । अब कम्युनिस्ट आन्दोलनले समाजवादी कार्यक्रमको नेतृत्व गर्ने नयाँ पहलकदमी खोजेको छ । यो नयाँ कार्यक्रम हुनेछ र त्यसको नेतृत्व पनि नयाँ हुनेछ । अहिलेका कुनै नेताले वा कुनै एउटा पार्टीबाट यो नयाँ पहलकदमी हुन सक्दैन । त्यसैले सबै सच्चा कम्युनिस्ट तथा वापन्थीहरूको ध्रुवीकरण अनिवार्य भइसकेको छ । तर यिनै नेता र कम्युनिस्ट आन्दोलन सँगसँगै जान अब सम्भव छैन ।

हरि हरि रोका अर्थ राजनीतिक विश्लेषक हुन् ।

Link copied successfully