हिजो नेतृत्वमा रहेकाहरूका राम्रा पक्षलाई अनुसरण र अवलम्बन गर्ने र नराम्रा कुराबाट टाढा हुने परिपाटी नभएसम्म जुनसुकै संगठनको अवस्था पनि दयनीय बन्छ ।
What you should know
परिवारको जेठो सन्तान, जो अरूभन्दा उमेर र व्यवहारका हिसाबले पाको मानिन्छ, त्यसैलाई ठुल्दाइ भनिन्छ । तर, ठुल्दाइको प्रसंगलाई केवल एउटा परिवारभित्र मात्रै भन्दा पनि व्यावसायिक, राजनीतिक, धार्मिक, सांगठनिक क्षेत्रको विषयसँग विषयान्तर गर्दा धेरै ठुल्दाइहरूका व्यवहारलाई नजिकबाट नियाल्न सकिन्छ ।
ठुल्दाइका अव्यावहारिक व्यवहारको चक्रव्यूहमा रुमलिन पुगेका देखिन्छन् सांगठनिक परिवारका सहस्यहरू । संगठनका ठुल्दाइहरू जो हिजो आफू पनि समकक्षी भाइबहिनीसरह एउटै चाल, एउटै तालमा हिँड्नुपर्दा नेतृत्वका कामको टिप्पणी गर्थे, काम गर्ने विधि, प्रक्रिया तथा तरिका सिकाउँथे, नेतृत्वले कसरी ‘सक्सेसर’ को विकास गर्नुपर्छ भन्ने फरक मत राख्थे । त्यति मात्र होइन, आफूलाई म ठूलो हुँ भन्ने आभास गराउनु हुन्न पनि भन्थे तर आज उनै नेतृत्वरूपी ठुल्दाइको स्थानमा पुग्दा पहिलेको नेतृत्वले गरेजस्तै गर्न खोज्छन् तर उनीसँग पहिलेको नेतृत्वमा भएकाको जत्तिको धैर्यता छैन, अध्ययन छैन, उनी सधैं कसैलाई च्याप्न र कसैलाई पाखा लगाउन मात्रै तल्लीन देखिन्छन् ।
तर, त्यसैमा पनि मेसो पाउँदैनन् र बेलाबेलामा विवादमा आउँछन् । के के नै गर्छु जसरी सबै एकैपटक मेरो तरिका प्रयोग गर्छु भनी लाग्छन् तर भत्ताभुंग हुन्छन् किनकि उनी त्यो आफूले कहिल्यै गरेनन् र गराउँछन् कसरी ?
म भएको भए यसो गर्थें, त्यसो गर्थें भन्ने ठुल्दाइ आज समकक्षी, सहयोगीहरूलाई तिमीहरूले मैले भनेको मान्नुपर्छ, मैले नै सबै जानेको हुँ र म नै सर्वेसर्वा हुँ भन्ने व्यवहार देखाइरहेका छन् । फरक मत राख्नेलाई भित्तामा पुर्याउन कत्तिबेर लगाउँदैनन्, उनको अगाडिपछाडि लाग्नेलाई मात्रै उनीहरूले संरक्षण गर्दै आइरहेको देखिन्छ । ठुल्दाइ न त उनीहरूको मनसाय बुझ्नतिर लाग्छन्, न उनीहरूको क्षमताको पहिचान नै गर्नतिर लाग्छन् । न आफूले जानेका छन्, न अरूलाई सिकाउन र काममा लगाउन ढंग पुर्याउँछन् । आजका अधिकांश संगठनमा यस्तै ठुल्दाइहरू रहेका छन् ।
आजको नेतृत्वरूपी ठुल्दाइहरूले आत्मसमीक्षा गर्न ढिला भइसकेको छ । हिजो नेतृत्वमा रहेकाहरूका राम्रा पक्षलाई अनुसरण र अवलम्बन गर्ने र नराम्रा कुराबाट टाढा हुने परिपाटी नभएसम्म जुनसुकै संगठनको अवस्था पनि दयनीय बन्छ । आजका संगठनका ठुल्दाइलाई नेतृत्वको स्थानमा समय र परिस्थितिले पुर्यायो तर व्यावहारिक भने हुन जानेनन् र सकेनन् पनि । जसले गर्दा सोचेअनुरूपको उपलब्धि हासिल हुन नसक्दा संगठन तथा देशकै अवस्था सन्तोष मान्ने ठाउँ छैन । समयको परिवर्तनसँगै हरेक क्षेत्र, पक्ष, विषय, मानिसको स्वभाव, व्यवहार, समाज, राजनीतिलगायत सबैमा परिवर्तन भएको छ । न हिजोका राम्रा सबै आज काम लाग्छन्, न त आजका विषयले भोलि नै उत्तिकै महत्त्व पाउँछन् ।
ठुल्दाइहरू समयको मागअनुसार परिस्थिति बुझ्ने, चिन्ने, सोहीअनुसार व्यवहार गर्ने र उपलब्धि हासिल गर्ने हुनुपर्छ । फरक नतिजाका लागि काम पनि फरक ढंगबाट गर्न सक्नुपर्छ । उस्तै कामबाट नतिजा पनि उस्तै आउने हो । परिवर्तित समयमा सीमित व्यक्ति तथा समूहलाई मन पर्ने शैलीमा काम गर्न खोज्ने हो भने नतिजा सबैलाई हित हुने अनुरूपको आउन सक्दैन । हिजोका व्यवस्था परिवर्तन तथा स्वतन्त्रता प्राप्तिका लागि नेतृत्वले गरेका अभ्यास जायज थिए होलान्, संरक्षकत्व सांगठनिक परिवारका लागि उचित पनि भए होला तर आजको समयमा व्यवस्था परिवर्तनले आर्थिक, सामाजिक, राजनीतिक, सांगठनिक संरचनामा परिवर्तन आएको छ ।
समाजको आवश्यकता फरक छ । कार्यकर्ताको सोच र मनस्थितिमा भिन्नता छ । हरेक नागरिकले आफ्नो ‘स्पेस’ खोजेको छ । तसर्थ, चेतनाको विकास भएको आजको अवस्थामा सबैलाई एकताबद्ध गरेर लैजान सकियोस्, सबैको भावना बुझ्न सकियोस् र सबैलाई सम्मान गर्न सकियोस् । समग्रतामा समृद्ध समाज निर्माणको आधारस्तम्भ तयार गर्न सक्नु नै आजको परिवार, संगठन र देशका ठुल्दाइहरूको कर्तव्य बनेको छ ।
