स्वास्थ्य शिक्षा प्रतिष्ठानमा पनि राजनीतिक भागबन्डा

भागबन्डामा हुने राजनीतिक नियुक्तिलाई लिएर नेपाली समाजमा निकै आलोचना हुने गरेको छ । त्यसले सम्बन्धित व्यक्ति र संस्थाकै छविमा आँच पुर्‍याइरहेको छ । भागबन्डाबाट नियुक्ति पाएका व्यक्ति सक्षम नै भए पनि नैतिक आत्मविश्वास जोगाउन कठिन हुने गरेको छ ।

श्रावण ३०, २०८२

सम्पादकीय

Political participation in health education institutions too

What you should know

नेपालको नियुक्ति पद्धति आज त्यस्तो मोडमा पुगेको छ, जहाँ पद पाउने प्रमुख मापदण्ड क्षमता वा अनुभवभन्दा पनि दलगत निकटता र नेताविशेषप्रतिको बफादारिता भएको छ । सबैजसो सार्वजनिक पदमा दल र नेताविशेषले बन्डा लगाउने प्रवृत्तिले योग्य उम्मेदवारलाई किनारमा पु‍र्‍याइरहेको छ, जसले संस्थागत कार्यक्षमता घटाउने मात्र होइन, जनताको विश्वासमा पनि देखिन थालेको छ ।

यसरी पदलाई चुनौतीपूर्ण अवसरभन्दा बढी राजनीतिक सौदाबाजीको माध्यम बनाउने प्रवृत्तिले योग्य प्रतिभालाई निराश, निष्क्रिय र पलायन गराइरहेको छ । नेपालमा नयाँ चिकित्सक आउने र त्यसको अनुपातमा ७४ प्रतिशत विदेश पलायन हुने गरेको सरकारी तथ्यांक यसैको परिणति हो ।

नेपाल मेडिकल काउन्सिलमा सन् २०२० देखि २०२३ सम्म ८ हजार ६ सय २४ चिकित्सक दर्ता भएका थिए भने यही बीचमा ६ हजार ३ सय ६८ जनाले विदेश जान असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिएका थिए । नेपाली चिकित्सकले अमेरिका, बेलायत, माल्दिभ्स, यूएई, अस्ट्रेलिया, भारत, क्यानडा, जर्मनीलगायतका देशलाई गन्तव्य बनाइरहेका छन् । यस्तो अवस्था छँदाछँदै चिकित्सकलाई नेपालमै टिकाउनका लागि ठोस नीति र कार्यक्रम बनाउने र त्यसको कार्यान्वयन गर्नेतर्फ सरकारको ध्यान पुगेको देखिँदैन ।

कुनै पनि व्यक्ति विदेशिने अनेकौं सन्दर्भ हुन्छन् । अन्य देशमा पाइने उच्च तलब र सुविधा, व्यक्तित्व विकासको सम्भावना, सीपको कदर, सुरक्षित भविष्यजस्ता कारणले विदेशिनु अनौठो होइन । यो मानव सभ्यताका सबै कालमा र विश्वका सबै कुनामा भइरहेको नियमित उपक्रम हो । तर देशभित्र तलब सुविधाको समस्या, अवसरको कमी, कोपभाजनजस्ता कारणले टिक्न नसक्नु भने गम्भीर विषय हो ।

अन्य पेसामा जोडिएकाको सन्दर्भमा भन्दा चिकित्सकको सन्दर्भ बढी संवेदनशील छ । किनकि, दक्ष चिकित्सक तयार हुनका लागि व्यक्ति स्वयंको अथक मिहिनेत, परिवारको आर्थिक लगानी, राज्यको लगानी र सबैको धीरता अनिवार्य सर्त हुन् । ठूलो लगानी र धैर्यपछि तयार भएको काबिल चिकित्सक विदेशिँदा समाज र राज्य प्रतिफल पाउनबाट वञ्चित हुन्छन् ।

प्रेरणाको लहरो कमजोर बन्छ । दर्ता हुनेमध्ये ७४ प्रतिशत चिकित्सक विदेश पलायन हुने गरेको तथ्यांकले हाम्रा नीति र प्राथमिकतामा समस्या रहेको प्रस्ट हुन्छ । यही तथ्यांकका बीच हाम्रा राजनीतिक दलहरूको ध्याउन्न अन्तै कतै छ । उनीहरू देशभित्रै आशा दिलाउन, राम्रो हुँदै छ वा हुनेछ भनेर विश्वास जगाउन असफल भइरहेका छन् ।

राजनीतिक नियुक्ति दलहरूको अर्थोपार्जनको स्रोत बनेको विषय छर्लंग छ, जसको आलोचनाले उनीहरूलाई प्रभाव पारेको देखिँदैन । त्यसैले त सुधारको प्रतिबद्धता पनि छैन । बरु विश्वविद्यालयदेखि स्वास्थ्य प्रतिष्ठानका पदहरूमा खुलेआम भागबन्डा भइरहेको छ ।

जस्तो कि, चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये दुई–दुई वटामा कांग्रेस र एमालेले उपकुलपति पाउने निश्चित भएपछि मात्रै ‘सर्टलिस्ट’ सार्वजनिक गरिएको थियो । अन्तिममा, पाटनमा बुद्धिप्रसाद पौडेल, पोखरामा भरतबहादुर खत्री, बीपी (धरान) मा विक्रमप्रसाद श्रेष्ठ र कर्णाली (जुम्ला) मा पुजनकुमार रोकाया उपकुलपति नियुक्त भएका छन् ।

पाटन र पोखरामा एमालेबाट पौडेल र खत्री तथा बीपी र कर्णालीमा कांग्रेसबाट श्रेष्ठ र रोकाया नियुक्त भएका हुन् । नियुक्ति प्रक्रियामा प्रत्यक्ष जोडिने स्वास्थ्यमन्त्री प्रदीप पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली हुन् तर कांग्रेस सभापति शेरबहादुर देउवाले ‘मैले कसैलाई वचन दिइसकेको छु’ भनेअनुसार नै नियुक्ति भएको छ । यसले औपचारिक प्रक्रियालाई समेत भुत्ते बनाउँछ, नागरिकमा अविश्वास बढाउँछ ।

नियुक्ति पाएका व्यक्तिको मूल्यांकन आगामी दिनमा हुने नै छ, यति बेलाको प्रश्न भने दलहरूले कस्तो संस्कृतिलाई अपनाएका छन् र त्यसले समाजमा कस्तो मनस्थिति निर्माण गरिरहेको छ भन्ने हो । भागबन्डामा हुने राजनीतिक नियुक्तिलाई लिएर नेपाली समाजमा निकै आलोचना हुने गरेको छ । त्यसले सम्बन्धित व्यक्ति र संस्थाकै छविमा आँच पुर्‍याइरहेको छ । भागबन्डाबाट नियुक्ति पाएका व्यक्ति सक्षम नै भए पनि नैतिक आत्मविश्वास जोगाउन कठिन हुने गरेको छ ।

यी सबैको नकारात्मक असरबाट प्राज्ञिक संस्थाहरू पनि पीडित छन् । यसप्रति दलहरूको परवाह देखिँदैन । जसले गर्दा नियुक्तिका लागि सर्वमान्य विधि स्थापित हुन सकेको छैन । यसले अन्ततः व्यवस्थालाई नै बदनाम तुल्याइरहेको छ । त्यसैले दलहरूको मनमौजीलाई लगाम लगाउन दलभित्रकै सुधार चाहने शक्तिदेखि नागरिक समाजले आफ्नो आवाज अझै ठूलो बनाउन जरुरी छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully