हामीले बहस र छलफल गर्नुपर्ने मुद्दा भनेको कसरी एकल विवाह संस्थालाई मर्यादित र सम्मानित बनाउने भन्ने हो । यहाँनिर बहुविवाहको कानुन ल्याएर अझ वैवाहिक हिंसा थप गर्ने कुरा कहाँबाट आयो ? विवाह संस्थालाई आपसी सम्मान र समानताको संस्था बनाउन पहल गरौं । हराइसकेको बहुविवाह प्रथालाई पुनर्जीवित गर्ने कोसिस नगरौं
What you should know
सम्बन्ध मानिसले बनाउँदै जाने हो । सम्बन्ध बनाउँदा त्यहाँ सहकार्य हुन्छ, सहकार्यमा छलफल, कुराकानी र साझेदारी अनि जिम्मेवारी हुन्छ । यी सब निभाउन दृढ अठोट चाहिन्छ । यसमा मतविभाजन हुन थाले, एक पक्षले अर्को पक्षलाई दमन गर्न थाले, अन्याय, अत्याचार, शोषण, विभेद र हिंसा हुन थाले अनि विषाक्त हुन थाले भने त्यो सम्बन्ध सम्बन्ध रहँदैन– बरु कलह, बेमेल र झैझगडा हुन्छ । सम्बन्ध व्यक्ति–व्यक्तिबीच र समूह–समूहबीच बन्ने अथवा भत्किने गर्छ ।
सम्बन्धमा समझदारी, प्रतिबद्धता, सम्मान, विश्वास र अन्तर्क्रिया अनिवार्य सर्त हुन् । सम्बन्ध कुनै वंशानुगत स्वास्थ्य समस्या जस्तो या विभिन्न हर्मोनल परिवर्तनले आफैं हुने ‘प्रेम’ जस्तो पनि होइन रहेछ कि ! अचेल नमिलेका सम्बन्ध छताछुल्ल रूपमा सामाजिक सञ्जालमा पोखिइरहेका छन् ।
सम्बन्धमा दुई पक्षको अन्तर्क्रिया भएर मिल्ने र नमिल्ने हुन जान्छ तर अलि शक्तिशालीले कमजोरलाई बढी दबाबमा राख्ने त भई नै हाल्यो । सम्बन्धहरू विचार नमिलेर मात्र तिक्ततामा परिवर्तन हुने होइनन् । धन, सम्पत्ति, पद, स्रोतसाधन, पुस्तैनी इगो तथा अत्यधिक आशाले पनि सम्बन्धमा उँचनिच हुन जान्छ ।
हालसालै नेपाल सरकारले पुरुषले दोस्रो विवाह गर्न बाटो खुल्ने खालको कानुनको मस्यौदा ल्याउन लागेको कुरा व्यापक भयो । यस मस्यौदाले पुरुषको घरको श्रीमतीसँग कुरा नमिलेर खटपट भई बाहिरको महिलासँग हिमचिम भएर बच्चा जन्मिए ती बाहिरको महिलाको हरिबिजोग भएको पाइएकाले दोस्रो विवाह गर्न पाउनुपर्छ भन्ने आशयको वक्तव्य पनि आएको थियो ।
सम्बन्धमा पनि महिलालाई अड्को थापेर बहुविवाहको मोजमस्तीचाहिँ पुरुषले उठाउन पाउनुपर्ने कताकताको भित्री आशय पनि यस मन्तव्यमा देखिन्थ्यो । यहाँ पनि सम्बन्धकै कुरो आयो । यदि घरमा भएकी श्रीमतीसँग कुरो नमिल्ने, सम्बन्ध चिसिने, बनाउन खोज्दा पनि नबन्ने, मत नै नमिल्ने, एक ठाउँमा बस्नै नसक्ने अवस्था आइसकेको हो भने त कानुनी पारपाचुकेको बाटो छँदै छ नि, बहुविवाह किन थोपर्नुपर्यो र ?
विशेष अवस्था भनेको वैवाहिक जोडीका लागि आइन्दा एक ठाउँमा बसेर जीवन गुजारा हुन सक्दैन र आ–आफ्नो बाटो गरेर जाने पनि हुन सक्छ नि ! कहिले विवाहको उमेर घटाउने त कहिले बहुविवाहलाई स्वीकृति दिने कानुनी मस्यौदा ल्याउनेजस्ता कार्यले फेरि पनि महिला र पुरुषको सम्बन्धमा ‘यौन’ र ‘प्रजनन’ मात्र एक विषय भएको जस्तो भान हुन्छ ।
यस मस्यौदाको विषयमा पनि विभिन्न मत आइरहेका छन्, धेरै त सरसल्लाह र पाल्न सक्नेले १० वटी पनि ल्याउन सक्छन् भन्ने पो छन् त ! महिलाहरू बहुश्रीमती बन्न जाने या पालिन पर्ने मात्रै हुन् त ? महिलाहरू नै विशेष गरेर संवेदनशील हुनुपर्ने देखिन्छ यस्ता मतमा । केही पुरुषको सोचाइमा कानुनले पुरुषमाथि अन्याय गरेको छ, यो बहुविवाहसम्बन्धी कानुनले अलिकति भए पनि राहत दिन सक्छ भन्ने पनि धारणा रहेछ । शताब्दीऔंदेखिको महिलामाथिको एकपक्षीय दबदबा थियो र अझै कतिपय अवस्थामा निरन्तर नै छ भन्ने कुरा नै पुरुषहरूले बुझ्नै बाँकी छ ।
सामाजिक सञ्जालहरूमा आफूलाई राष्ट्रवादी र धार्मिक भन्ने अगुवाहरू नै पनि नारी र पुरुषको सम्बन्ध भनेको पुरुष दिने र महिला लिने अनि पुरुष शक्तिशाली र महिला कमजोर भन्नेमै अल्झिरहेका छन् । उनीहरूलाई महिलाहरू अगाडि बढेको, बराबरी रूपमा आफ्ना सीप र क्षमताले गरिखाएको, पुरुषसँगसँगै वार्तालाप गरेको, अन्यायको विरोध गरेको विषय नै मन परिरहेको छैन । अझ कतिपय पुरुष त महिलालाई कोमल, हेरचाह गर्ने, जगेर्ना गर्ने, ममत्व प्रदर्शन गर्ने, गुणी हुने, संस्कार, शृंगार लय मिलाएर गर्ने, त्याग र समर्पणको प्रतिमूर्तिकै रूपमा हेर्न चाहन्छन् ।
२१औं शताब्दीमा यस्ता कल्पना गर्ने पुरुषको जमातले पक्कै पनि महिलाका विषयलाई विषय नै ठान्दैन र समयसँगै महिलाका विभिन्न आन्दोलनले प्राप्त उपलब्धिलाई अपनाउनै नसकेर महिलामाथि नानाभाँती गालीगलौज र गुनासोमा उत्रिन पनि बेर लगाउँदैन । महिला मुखरित हुनु भनेको केही पितृसत्तात्मक सोच भएका जमातलाई लाग्छ कि समाज भाँडिइरहेको छ । महिला र पुरुषबीच समानता हुनु सार्वभौम मान्यता हो । खराब मान्छे त पुरुष र महिला दुवै हुन सक्छन् । तर महिला भएकैले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्दै केही आफूलाई ज्ञानी मान्ने मान्छेले पुराण छाँटिरहेका पाइन्छन् ।
सम्बन्ध र विवाह भन्ने कुरा एकअर्काका पर्यायजस्तै हुन् । विवाह एक सामाजिक पहिचान पाएको पारिवारिक संस्था हो । जसलाई कानुनी र सांस्कृतिक मान्यता प्राप्त हुन्छ । विवाहमा जोडिनु केवल महिला र पुरुषलाई यौनको स्वीकृति दिनुमात्र होइन कि विवाहसँगसँगै परिवार–परिवारबीचको सम्बन्ध र जिम्मेवारी पनि थपिएका हुन्छन् । त्यसैले पनि विवाह समझदारीपूर्वक, निर्णय गर्न सक्ने क्षमता भएको उमेरमा मात्रै गर्नुपर्ने हुन्छ ।
विवाह महिला र पुरुषले जिन्दगीभर सँगसँगै जीवन बिताउने, सन्तान जन्माउने, हुर्काउने, सुखदुःख बाँड्ने कार्यको प्रतिबद्धता पनि हो । विवाह गरिसकेपछि जीवनसाथीप्रति बफादार र विश्वासिलो हुनु पनि विवाहका नियमभित्रै पर्ने कुरा हुन् । यसैले एकै पटकमा धेरै जनासँग एक व्यक्तिले विवाह गर्न सक्दैन । संयुक्त रूपमा सम्पत्ति तथा आयआर्जन पनि विवाहको महत्त्वपूर्ण पाटो हो ।
बाल विवाह, मागी विवाह, भागी विवाह, अनमेल विवाहजस्ता प्रथाले गर्दा मानिसका वैवाहिक जीवनमा धेरै नै अप्ठ्यारो आएको पनि हामीले देखेभोगेकै कुरा हुन् । एकअर्कालाई बुझेर परिपक्व र प्रतिबद्ध भएर मात्र विवाहको निर्णयमा पुग्नुपर्छ भन्ने पाठ विवाहभित्रका नमिठा र हिंसात्मक घटनाले पढाउँछन् । रहँदाबस्दा विवाहका नियममा दुईमध्ये कोही एक या दुवै जना समाहित हुन सकेनन्, वैवाहिक सम्बन्ध तिक्तता र विषाक्ततातिर उन्मुख भएमा त पारपाचुकेका नियम छँदै छ नि !
आदिम समाजमा मानिसको जीवन आजको जस्तो जटिल थिएन । उनीहरूको स्थायी घर थिएन । गुफाजस्ता ठाउँमा ओतिएर उनीहरू बस्थे । स–साना समूह या झुन्डमा मानिसहरू बस्थे । मानिसको आपसी सहकार्य भने आदिमकालदेखिकै देन आजसम्म पनि निरन्तर छ । आदिम समाजमा विवाह भन्ने संस्था थिएन । आफ्नै समूहभित्रै महिला–पुरुषको सम्बन्ध हुन्थ्यो । बिस्तारै रक्त सम्बन्धभन्दा टाढा समूह बाहिरका मानिससँग सम्बन्ध बनाउन सुरु गरे । मानिस बोल्न सक्ने, कल्पना गर्न सक्ने भएकैले व्यावहारिक रूपमा सम्बन्ध बनाउँदै खोज गर्दै अगाडि बढिरहेको यथार्थ हो ।
कृषि युग सुरु भएपछि मानिसले खेतबारी र स्थायी बस्ती, सम्पत्ति, पशुपालन गर्ने कार्यको थालनीसँगै विवाहको पनि महत्त्व बढ्न थालेको हो । कृषि युगपछि नै विवाह परिवारबीचको आर्थिक–सामाजिक सम्झौतामा बदलिएको पाइन्छ । त्यसबेलादेखि नै दाइजो दौलतको विनिमय पनि सुरु भएको हो । विभिन्न धर्म परम्पराको विकासपश्चात् विवाहलाई एक बन्धनका रूपमा मानिन थालियो । साथसाथै विवाहसम्बन्धी उत्सव रिवाजको चलन सुरु भयो । नेपाललगायत एसियाली मुलुकमा मागी विवाह पद्धति कायम रहे । धार्मिक र जातीय रूपमा पनि विवाहको स्वीकृति र बन्देजका नियम बनाइए ।
तुलनात्मक रूपमा वैवाहिक जीवनमा महिलाले उत्पीडन सहन गर्न परेको यथार्थ हो । विशेष गरेर महिला श्रीमान्ले दुई–चार वचन र दुई–चार झापड हान्न सक्छन् भन्ने सामाजिक मान्यताको पनि सिकार हुने गर्छन् । अझै पनि कतिपय विवाहित महिला आर्थिक नियन्त्रण र आश्रयमा बस्न बाध्य छन् । वैवाहिक बलात्कारजस्ता घटना पनि कतिपय महिलाले नभनेका र सहन गरेका उत्पीडनभित्रै पर्छन् । पितृसत्तात्मक सोच, आर्थिक परनिर्भरता, दाइजोजस्ता कुरीति, सामाजिक लाज र डर पनि वैवाहिक जीवनमा महिलाले भोग्ने हिंसा नै हुन् ।
विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार विश्वभर लगभग ३ जनामध्ये १ जना महिला आफ्नो जीवनकालमा कुनै न कुनै हिंसाको सिकार भएको देखाउँछ । नेपालका विवाहित महिला पनि यस आँकडामा परी नै हाल्छन् । हामीले बहस र छलफल गर्नुपर्ने मुद्दा भनेको कसरी एकल विवाह संस्थालाई मर्यादित र सम्मानित बनाउने भन्ने हो ।
यहाँनिर बहुविवाहको कानुन ल्याएर अझ वैवाहिक हिंसा थप गर्ने कुरा कहाँबाट आयो ? विवाह संस्थालाई आपसी सम्मान र समानताको संस्था बनाउन पहल गरौं । हराइसकेको बहुविवाह प्रथालाई पुनर्जीवित गर्ने कोसिस नगरौं । बरु विवाहमा स्वनिर्णय, अन्तरजातीय विवाहलाई प्रोत्साहनजस्ता विषयबारे व्यापक छलफल गर्दै अगाडि बढ्ने वातावरण राज्य तहबाट निर्माण होस् ।
