भूमिहीन बनकरियाको आवाज !

के संसद्मा छलफलमा रहेको भूमि ऐनले भूमिहीनहरूका बारेमा स्पष्ट व्यवस्था गर्ला त ? आशा गरौँ, अब छिट्टै बनकरियालगायत अन्य त्यस्तै आवास तथा भूमिहीनलाई स्थायी बसोबासको व्यवस्था सुनिश्चित हुनेछ र उनीहरूले पनि सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हकको उपभोग गर्न पाउनेछन् ।

श्रावण २८, २०८२

सम्झना वाग्ले भट्टराई

The voice of landless bankers!

What you should know

हेटौंडाबाट कान्ति लोकपथ हुँदै एक घण्टा गाडीको यात्रापछि मनोहरा गाउँपालिका–७ खोला किनारमा सिमेन्टका ब्लक र टिनको छाना भएका एकै किसिमका घरहरू भएको एउटा बस्ती भेटिन्छ । मुसेधाप नामको यस बस्तीमा २४ घरधुरी बनकरियाको बसोबास छ । 

विसं. २०५९ मा लोपोन्मुख आदिवासी जनजातिका रूपमा सूचीकृत भएको बनकरियाको बसोबास यहीँ मात्र छ । बनकरिया २० वर्षअघिसम्म पर्सा जिल्लाको मध्यवर्ती क्षेत्र चुरेघाँचमा बस्दै आएका थिए । २०६२ सालमा जंगली जीवनबाट मानवबस्तीमा ल्याउने योजनाअनुरूप यिनीहरूलाई यहाँ सारिएको हो । 

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका बनकरियालाई जिल्ला वन कार्यालय मकवानपुरले कबुलियती वन समूहअन्तर्गत ९ हेक्टर जमिन उपलब्ध गराएको थियो । त्यहीँ झन्डै २० वर्षदेखि बसोबास रहे पनि ‘कुन दिन यो ठाउँ पनि छोड्नुपर्ने हो !’ भन्ने अन्योल र त्रासमा छन् उनीहरू ।

किनभने बसेको जग्गा उनीहरूका नाममा छैन । स्थानीय सरकारले उनीहरूलाई लालपुर्जा उपलब्ध गराउने आश्वासन भने दिएको छ । यसै आश्वासनमा केही वर्षअघिसम्मका फिरन्ते बनकरियाले अहिले कुखुरा, बाख्रा र भैंसी पालेका छन् । कोही खेतीपाती गर्छन् भने कोही ज्यालादारी मजदुरीको काम गर्छन् ।

२०७८ सालको जनगणनाअनुसार बनकरियाको कुल जनसंख्या १ सय ८० र मातृभाषा बोल्ने जनसंख्या ८६ मात्र छ । बनकरिया समुदायकी एक अगुवा सन्तोषी भने हाल ४६ महिला र ४७ पुरुष गरी ९३ जना बनकरिया रहेको बताउँछिन् । मध्यवर्ती क्षेत्र छोडेर यस ठाउँमा आएपछि वातावरणसँग घुलमिल हुन नसकेर धेरै बालबालिका तथा वृद्धवृद्धाको मृत्यु भएको तथा छोरीहरू धेरै भएका र उनीहरूको विवाह अन्य जातिसँग भएपछि उनीहरूले पनि बनकरिया लेख्न छाडेका कारण संख्या कम देखिएको हुन सक्ने उनको दलिल छ । 

बनकरिया जातिमा पुरुषभन्दा महिला बढी सक्रिय देखिन्छन् । चाहे सीप विकासको तालिममा सहभागिता होस् वा हक अधिकारको पैरवीको नेतृत्व महिलाले नै गरेका छन् । वनकरिया समुदायमा सबैभन्दा पहिले एसएलसी पास गर्ने पम्फा हुन् । उनी अहिले अनमि पढ्दै छिन् । त्यसपछि एसएलसी पास गर्ने सन्तोषी बनकरियाले जेटीए पढेकी छन् भने जनजाति महासंघमा जागिर गर्छिन् । जागिरका अतिरिक्त बनकरिया जातिको हक अधिकारका लागि नेतृत्व गर्दै उनी धेरै ठाउँ पुग्ने गर्छिन् । 

बनकरिया समुदायले एक सानो साबुन उद्योग पनि चलाएका छन् र सन्तोषी यस उद्योगकी अध्यक्ष हुन् । साबुन बनाउने तालिम लिएर १४ जना मिली १५ हजार रुपैयाँ लगानीमा उनीहरूले काम सुरु गरेका थिए । साबुनका लागि प्रमुख कच्चा पदार्थका रूपमा तितेपाती, निमपत्ता र घ्यूकुमारी वनबाट ल्याउँछन् भने अन्य आवश्यक कच्चा पदार्थ बजारबाट नै किन्ने गर्छन् । उनीहरू अर्डरअनुसार लुगा धुने पाउडर र साबुन तथा नुहाउने साबुन बनाउँछन् । उनीहरूले बनाउने साबुनको बजार राम्रो छ । उनीहरूले बनाएको साबुनमा उपभोक्ताको कुनै गुनासो छैन तर राम्रो प्याकेजिङ गर्नुपर्ने सल्लाह पाइरहेको सन्तोषी बताउँछिन् । 

त्यति मात्र होइन, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले साबुन बनाउने तालिम र आवश्यक औजार पनि दिएपछि बनकरिया महिलाको समूहले उद्योग दर्ता गरी काम गर्ने योजना बनाएको थियो । तर उद्योग दर्ताका लागि पनि जमिनको लालपुर्जा चाहिने भएपछि सुरुमै उनीहरू निराश भए । पछि वडाध्यक्षको सहयोगमा उनकै जग्गाको लालपुर्जा राखी काम सुरु गरेको उनीहरूले बताए । 

उक्त जग्गामा भएको उब्जनीले तीन महिना पनि खान पुग्दैन । मासिक भत्ताले घर धान्न र बच्चालाई कापी कलम किन्न धौधौ पर्छ । कहिलेकाहीँ त सम्पूर्ण जीवन जंगलमा नै बिताएका बाबुबाजेको भन्दा स्थायी बसोबासपछिको आफूहरूको जीवन नै कठिन हो कि भन्ने लाग्छ रे उनीहरूलाई । भन्छन्, ‘जग्गाको लालपुर्जा देओस्, रोजगारी देओस् अनि शिक्षामा पहुँच देओस् । यत्ति भए बनकरिया पनि श्रम गरेर खान सक्छन् ।’ के उनीहरूको माग सरकारले पूरा गर्ला त ? 

बनकरियालगायतका यस्तै समुदायको व्यवस्थित बसोबासका लागि सरकारले नीतिगत व्यवस्था भने गरेको छ । नेपालको संविधानको भाग तीनमा आवासको हकअन्तर्गत प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने तथा राज्यले आवासविहीनलाई कानुनबमोजिम बसोबासको व्यवस्था गर्ने उल्लेख छ । त्यस्तै संविधानको भाग चारअन्तर्गत सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिमा मुक्त कमैया, कमलरी, हरवा, हलिया, भूमिहीन, सुकुम्बासीको पहिचान गरी घर घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापना गर्ने उल्लेख छ । साथै, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८१ ले पनि लक्षित वर्गलाई प्रक्रिया पुर्‍याएर लालपुर्जा वितरण गर्नुपर्ने भनेको छ । 

भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार ऐनको आठौँ संशोधन भएका मितिले कम्तीमा १० वर्षअगावैदेखि बसोबास गरेको प्रमाणित भएमा ऐन तथा नियमको अधीनमा रही जग्गा नापजाँच गर्ने गराउने व्यवस्था छ । त्यस्तै स्थानीय तहबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणसम्बन्धी तथ्यांक संकलन गर्ने र आयोगबाट नापजाँच भएपछि स्वीकृत कार्यविधिको अधीनमा रही भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवथित बसोबासलाई व्यवस्थापन गराउने तथा एकीकृत आवासका लागि जग्गा एकीकरण गर्ने उल्लेख छ ।

चालु सोह्रौँ पञ्चवर्षीय योजनामा पनि नेपालभर जग्गा नभएका र आफ्नो एवं पारिवारिक स्रोतमा समेत जीविकोपार्जन गर्न नसक्ने व्यक्तिका लागि सहकारी, साझा, भाडाका आवासको विकास गरी बसोबासको व्यवस्था गर्ने र क्रमशः त्यस्ता आवासको लागत उनीहरूलाई उपलब्ध गराइएको रोजगारबाट आर्जित आयमा आधारित बनाउने उल्लेख छ । त्यस्तै, आव २०८२/२०८३ को वार्षिक नीति तथा कार्यक्रममा पनि भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिने तथा आपत्कालीन आवास र आवासविहीन परिवारका लागि आवास निर्माण कार्यलाई निरन्तरता दिइने उल्लेख छ ।

यी नीति तथा योजनाको कार्यान्वयन भएमा बनकरियालगायतका आवासहीन, भूमिहीनका समस्या समाधान हुने देखिन्छ । तर यसको कार्यान्वयनमा वन ऐन, २०७६ बाधक देखिन्छ ।

भूमि ऐनमा साबिकको वन क्षेत्र नजिकको भए पनि आवादीमा परिणत भएको जग्गा यदि कुनै व्यक्तिले विगत १० वर्षदेखि भोगचलन गरी बसेको छ भने उसलाई त्यस्तो प्रकृतिको जग्गा भोगचलनका आधारमा दिन मिल्ने व्यवस्था भए पनि वन ऐन, २०७६ को दफा ७ मा ‘राष्ट्रिय वनभित्रको जग्गा कसैले पनि दर्ता गर्न वा गराउन हुँदैन, कसैले राष्ट्रिय वनभित्रको जग्गा दर्ता गराएको भएमा त्यसरी दर्ता भएको आधारमा त्यस्तो जग्गामा दाबी लाग्ने छैन र त्यस्तो दर्ता स्वतः बदर भएको मानिनेछ, यो ऐन प्रारम्भ हुनुभन्दा अघि कसैले राष्ट्रिय वनको कुनै भाग गैरकानुनी रूपले दर्ता गराएको रहेछ भने त्यस्तो दर्तासमेत यो ऐन प्रारम्भ भएपछि स्वतः बदर हुनेछ’ जस्ता व्यवस्था रहेका छन् ।

के संसद्मा छलफलमा रहेको भूमि ऐनले भूमिहीनहरूका बारेमा स्पष्ट व्यवस्था गर्ला त ? आशा गरौँ, अब छिट्टै बनकरियालगायत अन्य त्यस्तै आवास तथा भूमिहीनलाई स्थायी बसोबासको व्यवस्था सुनिश्चित हुनेछ र उनीहरूले पनि सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हकको उपभोग गर्न पाउनेछन् ।

सम्झना काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गर्ने समाजशास्त्री भट्टराई लैङ्गिक तथा सामाजिक समावेशिता विषयको अध्येता हुन ।

Link copied successfully