सरकारले नबुझेको विवाह संस्था

सरकारका जिम्मेवार तहमा बसेका व्यक्तिले गहन विषयलाई पनि सामान्य चिया गफमा सीमित गर्नु र अमिल्दो तर्क दिएर बहुविवाहलाई बढावा दिने खालको अभिव्यक्ति दिनु विडम्बना र लाजमर्दो कुरा हो।

श्रावण २७, २०८२

सुनिता गाइसी

The institution of marriage that the government does not understand

What you should know

विवाह एक सर्वव्यापी महत्त्वपूर्ण सामाजिक कुरा हो । विवाहका सामाजिक, धार्मिक र कानुनी महत्त्वहरू रहेका छन् । मानवीय यौन सम्बन्धलाई नियन्त्रित रूपमा सञ्चालन गर्न विवाहको सुरुवात भएको समाजशास्त्रीहरू बताउँछन् । यसलाई परिवारको स्थापना र हेरचाह गर्न स्थापना भएको सामाजिक संस्थाका रूपमा परिभाषित पनि गर्नेहरू पनि छन् ।

हिन्दु धर्मअनुसार पनि विवाहलाई भौतिकवादीभन्दा पनि धार्मिक पवित्रताका आधारमा हेरिन्छ । यसको विकासक्रमलाई नियाल्ने हो भने आजको विवाहको स्वरूप एकैपल्ट विकास भएको होइन । यसका लागि इतिहासमा समाजको प्रकृतिअनुसार विभिन्न समयमा विभिन्न प्रकारका विवाह प्रचलित थिए । त्यो समयमा तिनको विशेष महत्त्व पनि रह्यो । 

समाजलाई सुचारु रूपमा सञ्चालन गर्न, सामाजिक समस्या कम गर्न, सामाजिक विकृतिलाई नियन्त्रण गर्न विवाहले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । मानव जीवनलाई व्यावहारिक परिवेशमा अगाडि लैजानका लागि, परिपक्वतातिर प्रवेश गराउनका लागि विवाहको खास महत्त्व छ । त्यसैले पहिले पहिले उमेर पुगेका छोराछोरी नराम्रो कुलतमा लागेमा विवाह गरिदिने चलन थियो । यसले ती व्यक्तिमा जिम्मेवारीबोध भई राम्रो बाटोमा लाग्थे । त्यतिबेला कुलतमा फसेका मानिसलाई राख्ने सुधार केन्द्रको व्यवस्था थिएन । त्यसैले विवाह नै एक यस्तो कुरा थियो, जसले खराब व्यक्तिलाई पनि सही दिशामा लैजान महत्त्वपूर्ण भूमिका खेलेको हुन्थ्यो । 

फ्रेडरिक एङ्गेल्सले ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ पुस्तकमा बाखोफनको पुस्तक ‘मातृसत्ता’ को प्रकाशनबारे चर्चा गरेका छन् । यसपश्चात् मात्र परिवारको इतिहासबारे अध्ययन सुरु भएको थियो । उनका अनुसार सुरुमा मानव जातिमा यौन स्वच्छन्दता थियो, यसैका कारण बच्चाको बुबा को भनी पत्ता लगाउन निकै कठिन थियो ।

यसको समाधानस्वरूप आमाका नामबाट वंशावली चलाउने प्रथाको सुरुवात भयो । यसै कारणले समाजमा महिलाको आधिपत्यको सुरुवात भएको बाखोफनले उल्लेख गरेका छन् । यस प्रक्रियाले नयाँ पिँढीमा एकै मात्र जन्मदाताको सुरुवात भयो । पछि सामूहिक विवाहको परम्परा बिस्तारै एकल विवाहमा परिणत हुँदै गयो । यसले समाजमा बेग्लै सकारात्मक प्रभाव पार्‍यो र मातृसत्तात्मक समाज पितृसत्तात्मक समाजमा परिणत हुन पुग्यो । 

हामीकहाँ मुलुकी अपराध संहिता लागू भएपछि २०७५ भदौ १ देखि पूर्ण रूपमा बहुविवाहलाई निषेध गरिएको थियो । नेपाली समाजको मूल्य, मान्यता, परम्परा, परिवार, श्रीमान्, श्रीमतीबीचको सम्बन्ध, माया, बालबच्चा, ज्येष्ठ नागरिकको हेरचाह गर्नमा यो कानुनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको परिस्थितिमा हाल यो नियमलाई उल्टाई बहुविवाहको नियम ल्याउन के हिसाबमा उचित होला ? यसले भोलिका दिनमा पारिवारिक जीवनमा कलह, सम्पत्तिमा झैझगडा, हत्या, हिंसा, सम्बन्धमा दरार, बालबालिकाका र ज्येष्ठ नागरिको अवस्थामा नराम्रो प्रभाव पार्ने निश्चित छ ।

यस्ता नियमले समाजमा विभिन्न किसिमका विकृति र विसंगतिका घटना पनि भइरहेको देखिन्छ । आज हामी महिला अधिकार, समानता, समताका कुरा गरिरहेका छौं । यसले त भोलिका दिनमा महिलाहरू अझ धेरै शोषित, पीडित हुने देखिन्छ । महिलाका व्यक्तिगत तथा पेसागत जीवनमा यसले विभिन्न किसिमका तनाव सिर्जना गर्न सक्छन्, जसले गर्दा आजको सुन्दर समाजमा विसंगतिको कालो बादल छाउने कुरामा दुईमत नहोला । 

हामीले समाज विकास र प्रगतिका कुरा गरिरहेका बेला फेरि जंगली युगमै फर्कने कुरा कसरी सोच्न पुग्यौं, उदेकलाग्दो कुरा छ । मानव समाजमा परिवार, नातासम्बन्धको महत्त्व कम हुँदै गएको त पक्कै होइन । यस्ता प्रस्तावित विधेयकले समाजमा विकृति ल्याउनेबाहेक अन्य सकारात्मक कुराको अपेक्षा गर्न सकिन्न । 

आजको समाज प्रगतितर्फ पाइला अगाडि बढाउनुपर्नेमा समग्र जनता वा समुदायको हितभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि नियम कानुन बनाउन उच्च पदमा पुगेहरूको होडबाजी चलेको देखिन्छ । बहुविवाहको कानुनको सन्दर्भमा कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले दिएको तर्क सुन्दा हामी कुन समाज वा कस्तो संस्कारमा हुर्केका रहेछौं भनी मनमा अनेका प्रश्न उठ्न थालेका छन् ।

विवाह व्यक्तिगत स्वतन्त्रता हो भन्दै समाजमा विकृति उत्पन्न गर्ने खालका क्रियाकलापलाई बढावा नदिइयोस् । मानिस सामाजिक प्राणी हो । उसले गर्ने निर्णयले उसको व्यक्तिगत जीवनमा मात्र प्रभाव नपारी समग्र समाजमा नै प्रभाव पार्ने गर्दछ । त्यसैले कतिपय सामाजिक कुरा हेर्दा व्यक्तिगत देखिए पनि यसले सामाजिक अर्थ र महत्त्व बोकेको हुन्छ । 

सम्मानित र उत्तरदायित्वपूर्ण पदमा बसेको व्यक्तिले मनमा आयो वा दबाब पर्‍यो भन्दैमा सस्ता कुरा बोल्न पाइँदैन । यसले समाज र समुदायमा कस्तो प्रभाव पर्छ भनी विचार गर्नु पनि जरुरी छ । झन् सरकारका जिम्मेवार तहमा बसेका व्यक्तिले त यस्ता संवेदनशील विषयमा निकै गहन अध्ययन, चिन्तन गरेर मात्रै सार्वजनिक अभिव्यक्ति दिनुपर्छ । वास्तवमा हाम्रा पुर्खाले यौन जीवनलाई व्यवस्थित पार्नका लागि नै विवाह, परिवार र नाता सम्बन्ध जस्ता नियम बनाएका हुन् र समयको कालखण्डमा त्यसमा विभिन्न परिवर्तन आई हाल एकल विवाहको पद्धतिमा हामी पुगेका छौं । यसले समाजमा सकारात्मक प्रभाव पनि पार्दै आएको छ । 

संसारका कुनै पनि सभ्य समाजमा बहुविवाहलाई कानुनी मान्यता छैन । ठूलो जोडबलबाट २०७५ देखि नेपालमा बहुविवाहलाई पूर्णरूपमा निषेध गरिएको हो । अब त्यसलाई फेरि कायम गर्नु भनेको संसारका अघिल्तिर लाजमर्दो अवस्था आउने पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेलको मत समय–सान्दर्भिक छ । यसैगरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले यो प्रस्तावित व्यवस्थाले पुरुषले जतिवटी राखे पनि हुन्छ भन्ने पितृसत्ताको पुरानै मान्यता पुनः ब्युँताउन खोजिएको र यसले महिला हिंसा थप बढाउनेबारे गरेको चर्चा मनासिव छ । बुढापाकाले भनेझैं ‘जसको हातमा डाडुपन्युँ, उसैको बोलवाला’ भन्ने उखान बहुविवाहको प्रस्तावले पनि पुष्टि गरिदिएको छ । 

महिलाहरू मात्र नभई पुरुषहरूले पनि बहुविवाहप्रति विमति जनाइरहेका छन् । पहिले बुढापाकाले ‘दुई जोइको पोइ कुना पसी रोइ’ भन्ने उखान त्यसै चलाएका होइनन् । बहुविवाहले विभिन्न तनाव सिर्जना गरी आत्महत्या गर्न बाध्य भइरहेका घटना पनि सार्वजनिक भइरहेका छन् । 

संसद्देखि सडकसम्म प्रस्तावित बहुविवाहबारेको विधेयकको विरोध भइरहेको अवस्थामा सरकार किन कान थुनेर बसिरहेको छ ? यस्तो कानुन कसले कसका लागि, कुन उद्देश्यले अनि कसको हित हुन्छ भनेर ल्याइएको हो ? स्पष्ट पार्नु जरुरी छ । प्रस्तावित बहुविवाहको विरोधमा सामाजिक सञ्जाल अहिले तातिएको छ । महिलाहरूले यसको विरोधमा अझ कडा रूपमा प्रस्तुत हुँदै टिकटक, रिल आदिमार्फत थप विरोध गर्नु जरुरी छ । 

कहिले यौनधन्दालाई कानुनी मान्यता दिनुपर्छ त कहिले सडकका महिलाको उद्धार हुन्छ भन्दै बहुविवाहको प्रस्ताव ल्याउने हो भने समाज कहाँ पुग्ला ? कुनै पनि विधेयक वा नियम कानुन बनाउँदा त्यस नियमले कुन वर्ग, क्षेत्र र जातका मानिसलाई के कस्तो असर पार्छ, त्यसको दीर्घकालीन असर के पर्छ भनी अध्ययन अनुसन्धान हुनु जरुरी छ । कुनै एक व्यक्ति वा समूहलाई आधार मानेर कुनै पनि विधेयक नल्याइयोस् । कानुनले समग्र जनताको हकहितका बारेमा सोच्नुपर्छ । नत्र यसैका आधारमा समाज विभिन्न किसिमका हिंसा र विचलनको सिकार हुन सक्छ ।

सरकारका जिम्मेवार तहमा बसेका व्यक्तिले यस्तो गहन विषयलाई पनि सामान्य चिया गफमा सीमित गर्नु र अमिल्दो तर्क दिएर बहुविवाहलाई बढावा दिने खालको अभिव्यक्ति दिनु विडम्बना र लाजमर्दो कुरा हो । भविष्यमा यसले पार्ने प्रभावबारेमा बेलैमा सोचिएन भने पछि पछुताउनुको औचित्य रहने छैन ।

सुनिता गाइसी सुनिता गाइसी ख्वप कलेजमा प्राध्यापन गर्छिन्।

Link copied successfully