राजनीति, प्रशासन र नीति निर्माणमा युवाको उपस्थिति कम हुँदा उनीहरूका समस्या पनि ओझेलमा परेका छन् ।
What you should know
युवा भन्नेबित्तिकै चुनौतीलाई सहजै बहन गर्न सक्ने आँट, साहस, क्षमता, धैर्यता, सिर्जनशीलता र उच्च आत्मविश्वासका साथ जिम्मेवार भएर राष्ट्र निर्माणका लागि योगदान दिइरहेको समुदायको छवि आउँछ । जल्दोबल्दो ऊर्जा, सौर्य र शक्तिको प्रतीक युवासँग समाज र राष्ट्रको रूपान्तरण गर्न सक्ने क्षमता हुन्छ । सरकारले १६ देखि ४० वर्ष र संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्षको जनशक्तिलाई युवा मानेको छ । पछिल्लो जनगणना अनुसार युवाको जनसंख्या ४२.५६ प्रतिशत छ ।
परिवर्तन र विकासका संवाहक, उन्नतिको आधारशिला तथा राष्ट्र निर्माणका प्रमुख स्रोत र साधनसमेत रहेका युवाको समग्र क्षेत्रको अवस्था भने सन्तोषजनक छैन । राज्यले आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणको अभिभारा युवाको काँधमा सुम्पिए पनि उनीहरूका समस्याप्रति चासो दिएको छैन । युवाहरू अनेकथरी समस्याको चक्रव्यूहमा फसेका छन् ।
हरेक वर्ष पाँच लाख युवा श्रमबजारमा प्रवेश गर्न योग्य हुन्छन् तर सरकारी सेवामा सीमित पहुँच हुँदा तथा निजी क्षेत्रमा स्थायित्व र तलबको ग्यारेन्टी नहुँदा पर्याप्त रोजगारी सिर्जना भएको छैन । बेरोजगार भएपछि अधिकांशले विदेशतर्फको बाटो सोझ्याउँछन् । दैनिक २ हजार युवा वैदेशिक रोजगारीका लागि बाहिरिन्छन् भने कतिपय युवा उच्च शिक्षका लागि विदेश गई उतै पलायन भइरहेका छन् । युवामैत्री लगानीको अभाव र लैंगिक, क्षेत्रीय, जातीय असमानताका कारण युवाहरू पलायन हुन बाध्य भएका छन् । विदेशमा पनि दक्षता अनुसारको अवसर पाएका छैनन् । सीप र शिक्षाको कमीका कारण अत्यन्त न्यून ज्यालामा तल्लोस्तरको काम गर्नुपरेको छ ।
स्वदेशमै रहेका युवाहरूले पनि गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक शिक्षाको अभावका कारण भनेजस्तो काम पाएका छैनन् । नेपाल श्रमशक्ति सर्वेक्षण अनुसार बेरोजगारी दर ११.४ प्रतिशत छ भने श्रम शक्तिको ३६.५ प्रतिशत औपचारिक क्षेत्रमा संलग्न छ । व्यावसायिक सीप र प्रविधिमा सबै तह र क्षेत्रका युवाको समान पहुँच छैन ।
युवाको विकासका लागि बनाइएको नीति प्रभावकारी रूपले कार्यान्वयन गरी युवाका समस्या सम्बोधन र अवस्थामा सुधार ल्याउनेतर्फ राज्यको ध्यान नपुग्दा पिछडिएको वर्ग र क्षेत्रका युवाको राज्यका केन्द्रीय निकायमा प्रतिनिधित्वसमेत न्यून छ ।
जनगणना अनुसार कुल जनसंख्यामध्ये १५ देखि ५९ वर्ष उमेर समूहको ६७ प्रतिशत जनसंख्याले उत्पादनशील श्रममा संलग्न रहेर राज्य निर्माणमा योगदान दिइरहेको छ । श्रमबाट मात्रै समृद्धि आउने हुँदा देशको उन्नतिका लागि श्रम गर्न सक्ने सबैभन्दा बढी क्षमता र सम्भावना भएका युवाको उचित परिचालन हुनुपर्छ ।
राष्ट्रिय युवा नीति, २०७२ ले युवाका आधारभूत अधिकारको प्रत्याभूति गर्दै युवा सशक्तीकरणका माध्यमबाट उद्यमशील, सिर्जनशील, वैज्ञानिक एवं सकारात्मक सोचयुक्त युवा तयार गर्ने परिकल्पना गरेको छ । सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासका माध्यमबाट युवालाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्न युवाको भूमिका र उनीहरूमा अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउने लक्ष्यका साथ यो नीति कार्यान्वयनमा ल्याइएको हो ।
देशको कुल जनसंख्याको ४२ प्रतिशत हिस्सा ओगट्ने युवाका सवाललाई जीवन्त बनाइराख्न हरेक वर्ष अगस्ट १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा १९९९ देखि विश्वव्यापी रूपमा युवाका मुद्दामा बहस गर्दै उनीहरूको सशक्तीकरणका लागि समान धारणा स्थापित गर्न यो दिवस मनाइन्छ । नेपालमा पनि हरेक वर्ष यस दिवसमा युवाशक्तिलाई परिवर्तनको सारथि बनाई देशलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन गर्नुपर्ने प्रयासबारे चर्चा गरिन्छ । तर युवाहरू कस्तो अवस्थामा छन्, के चाहेका छन् भन्नेबारे सार्थक छलफल भएको देखिँदैन ।
राजनीति, प्रशासन र नीति निर्माणमा युवाको उपस्थिति कम हुँदा उनीहरूका समस्या पनि ओझेलमा परेका छन् । यसले गर्दा युवाको नेतृत्व क्षमता उजागर हुनै पाएको छैन । परिवर्तनका लागि जोस, जाँगर र क्षमताका साथ आन्दोलनको अग्रपंक्तिमा उभिएका युवा देशको खम्बा बनेर उभिरहन दरिलो टेको खोजेका छन् । तर राज्यले सही मार्गदर्शन, अवसर, विश्वास र अधिकार दिएर उनीहरूको सक्षमता उपयोग गर्न सकेकै छैन । युवाको विकासका लागि ल्याइएका प्रधानमन्त्री रोजगार कार्यक्रम, स्वरोजगारका कार्यक्रम, सीप विकास तालिम, स्टार्टअपमा लगानी, ग्रामीण युवाका लागि तालिमजस्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा यस्ता समस्या दोहोरिइरहेका छन् ।
अब भने युवाहरूले सरकारले गरेका हरेक क्रियाकलापको पहरेदारी गर्दै विधान, कानुन, नीति तथा कार्यक्रमको कसरी कार्यान्वयन भएको छ भनेर खोज्न थालेका छन् । युवा शक्ति नै राष्ट्रको आधारस्तम्भ भएकाले यो शक्तिलाई सही दिशामा सदुपयोग गरेमा मात्र युवा पलायन रोकी देशलाई समृद्धितर्फ डोर्याउन सकिन्छ ।
