हिजो नारायणहिटीको परमादेश कानुनसरह अकाट्य हुने कालखण्डमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको भूमिका र स्थान भिन्न थियो । त्यसै परिवेशमा शोक र समवेदनाबोधक गाईजात्रालाई महोत्सव बोध गराउने गलत भाष्य निर्माण गरियो ।
What you should know
काठमाडौँ — ‘गुणिला’ बाटै गुँला भनियो । गुँला अर्थात् श्रावण शुक्ल प्रतिपदादेखि श्रावण कृष्णपक्षसम्मको एक महिनालाई जनाउँछ । प्राचीन नेपालमण्डलभित्रको सामाजिक जीवनमा यस महिनाको विशेष महत्ता छ । यद्यपि, पर्व, जात्रा, चाड अनि अन्य सांस्कृतिक क्रियाकलापमा नेपालमण्डलका रैथानेहरू बाह्रै महिना कुनै न कुनै रूपमा व्यस्त हुन्छन् । त्यसैले मूर्त–अमूर्त सम्पदाका लागि संस्कृतिविद्हरू नेपालमण्डलको सरहदलाई एक खुला संग्रहालय नै मान्छन् ।
रैथानेहरू गुँला पर्वका रूपमा विविध सांस्कृतिक कर्ममा एक महिनासम्म क्रियाशील रहने यस समयावधिको बहुआयामिक महत्त्व छ । त्यसैगरी तिनका अनेकन् आस्थागत तथा प्रथाजन्य मूल्य मान्यता पनि त्यत्तिकै छन् । विशेषतः बौद्ध धर्मावलम्बीहरूमा पनि बज्रयानी समाजमा आफ्नै मौलिक कथन छन्, जसमध्ये स्वयम्भू पुराणा र श्रृङ्गेभेरी जातक कथाबाट अभिप्रेरित हुँदै न्येकु बाजं (जनावरको सिङलाई फुक्ने बाजाका रूपमा प्रयोग गर्ने) फुक्दै बौद्ध चैत्यको महिना दिनसम्म विशेष आराधनामा सहभागी हुने प्रचलन छ । यसबाट आफ्ना मृतक परिवारजनको सुखावती बास हुनेछ भने आस्था पाइन्छ ।
गुणिला अर्थात् गुँला मासअन्तर्गत रैथानेहरूले मनाउने मुख्य पर्व हो– गुँपुन्हि (जनैपूर्णिमा) । महायानी बौद्ध आस्था र अन्य स्थानीय संस्कारअनुसार यो पर्व नौ अंकसँग सम्बन्धित छ । स्थानीय भाषामा नौ अर्थात् गु । तसर्थ पूर्णिमाका दिनदेखि कृष्णाष्टमीसम्म नौ दिन रहने यो पर्व नै गुँपुन्हि हो नेपालमण्डलका रैथाने बौद्धजनहरू उज्यालो नहुँदै बाजागाजासहित यो महिनामा स्वयम्भू चैत्य, बौद्ध, साँखु बज्रयोगिनी, रातो मच्छिन्द्रनाथ आदि आफ्नो नजिकमा रहेका प्रमुख बौद्ध आराध्यस्थलमा पूजाआजा र दर्शनका लागि पुग्छन् । यसै पर्वमा बजाउने विशेष बाजा गुँला बाजा, धाः बाजा र धमोखिँ हुन् । त्यसो त अन्य बाजा पनि बजाइन्छन् । स्तूप, चैत्य अनि बुद्धमूर्तिको दर्शन र पूजाआजा गरिँदा जीवनमा गुण अभिवृद्धि हुन्छ भन्ने आस्थाले नै यस महिनाको पहिचान नै गुणिला वा गुँला रहन गएको किंवदन्ती छ ।
कृषि पेसामा लागेकाहरू खेतीपातीमा सहयोगात्मक भूमिका निर्वाह गरेकामा भ्यागुताप्रति कृतज्ञता ज्ञापन गर्न आ–आफ्नो खेतमा पुगेर ब्याँजानकेगु (भ्यागुता पूजा) प्रकृति पूजा गर्नेहरू पनि छन् । रैथाने वैष्णवहरू भने यसै महिनामा आफ्ना रीति र परम्पराअनुसार अन्य हिन्दु धर्मावलम्बीहरूले जस्तै नागको पूजा, रक्षाबन्धन अनि जन्माष्टमीमा श्रीकृष्ण भगवान्को पूजा–आराधनामा समेत संलग्न हुन्छन् । कतिपयले ऋषि तर्पणीका दिन यज्ञोपवित पनि धारणा गर्छन् । शैवहरू रसुवा जिल्लासम्मको पैदल यात्रा गरेर गोसाइँकुण्डमा शिवको दर्शन गर्छन् । कतिपय ललितपुरको कुम्भेश्वर धाउँछन् । आस्थाजन्य विविधता र बहुलताका स्वरूप यस महिनाभरिका मेलापर्वमा पनि झल्किन्छन् । यस अतिरिक्त बुबाको मुख हेर्ने र बौद्धहरूको पञ्चदान पर्व पनि यसै महिनाअन्तर्गत नै पर्छन् ।
यस गुणिला अर्थात् गुँला मासअन्तर्गत रैथानेहरूले मनाउने मुख्य पर्व हो– गुँपुन्हि (जनैपूर्णिमा) । तिथि गणनाअनुसार श्रावण शुक्ल पूर्णिमाका दिन नै गुँपुन्हि मनाइन्छ । अन्यत्र आ–आफ्ना आस्थाअनुसार पूर्णिमा एक दिन पर्वका रूपमा लिइन्छ र सामाजिक रीति र परम्पराअनुसारका अनुष्ठानहरू गरिन्छन् । तर नेपालमण्डलभित्र गुँपुन्हि पर्व अलि भिन्न र मौलिक छ । यहाँका रैथानेले गुँपुन्हिलाई एकदिने पर्वका रूपमा लिँदैनन् ।
महायानी बौद्ध आस्था र अन्य स्थानीय संस्कारअनुसार गुँपुन्हि पर्व नौ अंकसँग सम्बन्धित छ । स्थानीय भाषामा नौ अर्थात् गु । तसर्थ पूर्णिमाका दिनदेखि कृष्णाष्टमीसम्म नौ दिन रहने यो पर्व नै गुँपुन्हि हो । यस अवसरमा नौवटा विभिन्न गेडागुडी मिसाएर क्वाँटीका रूपमा खाइन्छ । नौ दिनभित्र नौ जोर लुगा फेर्ने र नौ वटा बौद्ध बहाल, विहारको दर्शन गर्ने चलन पनि छ । नौ जना दीपंकर बुद्धको आराधना गर्ने, नौ वटा अन्न र बस्त्र दान गर्ने । नाम संगीति पाठ गर्ने आदि । यिनै नौ वटा अंकसँग गाँसिएका गुँपुन्हिका प्रचलन र महत्ता हुन् ।
गुँपुन्हिका नौ दिनअन्तर्गत ललितपुरवासीहरू तेस्रो दिन मतयाः (दीपयात्रा) मा नगर परिक्रमा गर्छन् । यता नवौं दिन ललितपुरमै कृष्णाष्टमीका दिन मनाइने कृष्णजात्राको आफ्नै विशेषता छन् ।
सायाः सा अर्थात् गाई अनि याः अर्थात् यात्रा (गाईजात्रा) गुँपुन्हि पर्वअन्तर्गत दोस्रो दिनको अनुष्ठान हो यो । गुँपुन्हि पर्व मनाउँदै गर्दा शाक्त मतका रैथानेहरूले लाखेनाच पनि प्रदर्शन गर्छन् । बौद्ध समुदायहरू बाजागाजासहित टोलटोलका मानिस जम्मा भएर बिहार, वहाल, गुम्बा पुगेर बजिद्यः (दीपंकर बुद्ध) को दर्शन गर्छन् । त्यहाँ प्रदर्शनमा राखिएका प्रज्ञापारमिताका अतिरिक्त अन्य सुन/चाँदीका अक्षरले लेखेका ग्रन्थ, अमूल्य मूर्ति र पौभाः चित्रहरूसमेत अवलोकन गर्छन् । यी सबै प्रक्रिया प्रत्येक वर्ष हुन्छ ।
गुँपुन्हिअन्तर्गत स्थानीय सहभागी हुने अर्को महत्त्वपूर्ण सांस्कृतिक क्रियाकलाप हो– डबलीहरूमा हुने नाटक प्रदर्शन । यद्यपि यस्ता सडक नाटक केही वर्षअगाडिसम्म इन्द्रजात्राका अवसरमा पनि हुन्थे, तर अहिले ती रोकिएका छन् । गुँपुन्हिका सिलसिलामा दोस्रो दिन प्रातःकालदेखि मध्याह्नसम्म बाजागाजासहित सहरका मूल सडकमा प्रस्तुत गरिने एउटा विशेष परम्परा हो–सायाः (गाईजात्रा) ।
गाईजात्रामा शैव र वैष्णव नेवार मात्र संलग्न हुन्छन्, बौद्धहरू भने यसमा भिन्न मत राख्छन् । वर्षभरिमा परिवारका कुनै सदस्य दिवंगत भएमा उनको सम्झनामा सांस्कृतिक रूपमा गरिने नगर परिक्रमाको एक मौलिक परम्परा हो– गाईजात्रा । भक्तपुरमा तायमचाका रूपमा भिन्न छन् । त्यस्तै फरक–फरक नगरबस्तीमा आ–आफ्ना मौलिकता पनि पाइन्छन् । अहिले प्राचीन नेपालमण्डल सरहदका अतिरिक्त नेवार समुदाय बसोबास गरेका मुलुकभित्र र बाहिर गाईजात्राको प्रचलन छ । बाजागाजासहित परिवारजन र आफन्तको सहभागितामा निकालिने गाईजात्रा कहिलेबाट प्रारम्भ भयो, कसरी प्रचलनमा आयो भन्नेबारेमा कुनै खास ऐतिहासिक लिखत पाइँदैन । यद्यपि, अनेकन् कथन नभएका होइनन् । एकथरि संस्कृतिविद्हरू जयस्थिति मल्लद्वारा लिपिबद्ध गराइएको ‘गोपालराजवंशावली’ मा एउटा प्रसंगमा ‘सा यात’ पर्वको उल्लेख भएको कुरा नै सायाःको पूर्वइतिहास हो भन्ने दाबी गर्छन् । कतिपयले भने आफ्नी प्रिय रानी अनन्तप्रभाका छोराको मृत्यु शोकमा सान्त्वनाका लागि राजा प्रताप मल्लले यस प्रचलनको सुरुवात गरेको बताउँछन् ।
यसरी मृतात्मा वा पूर्वजप्रति श्रद्धा र सम्मान जाहेर गरिने विशेषतः पूर्वीय सामाजिक जीवनको मौलिक परम्परा नै हो । चीनमा कन्फुसियस र बौद्ध धर्मका अनुयायीहरू हजारौं वर्षदेखि जिचेन पर्व मनाउँछन् । जापानीहरूमा पनि मृतकहरूप्रति श्रद्धा व्यक्त गर्ने मौलिक संस्कार मियनचि, कोरियालीहरूको जेरे, भियतनामीहरूको गियाओ समान प्रकृतिका पितृपूजक संस्कृति हुन् । दिवंगत वा पितृजनको स्मृति र सम्मानमा धार्मिक आस्था र विश्वासमा मात्र होइन, आधुनिक युगमा पनि श्रद्धेय, सम्मानित तथा विशिष्ट व्यक्तिको मृत्युपछि स्मृतिका अनेकन् गतिविधि गर्ने चलन नै छ । आफन्तजनप्रतिको स्मृति, श्रद्धा र आस्था सभ्य मानव समाजको एउटा आधारभूत पहिचान पनि हो । सायाः पनि नेपालमण्डलभित्र विकसित सभ्यताको एक अंश हो ।
प्राचीन नेपालमण्डलका रैथानेहरूमा प्रचलित परम्परागत यो पर्व पनि मृतात्मा, पूर्वज र दिवंगत परिवारजनसँगको बिछोडको स्मृतिस्वरूप सम्पन्न गरिने आफ्नै फरक प्रचलन हो । हिन्दु वा बज्रयानी सम्प्रदायले पितृतर्पण, मोक्ष र सद्गति प्राप्तिका कामनामा गर्ने पिण्ड तर्पण वा श्राद्ध अनुष्ठानभन्दा यो मौलिक छ । यसको फरकपन भन्नु नै निजी घरको चार किल्लाभन्दा बाहिर नगर बस्तीका सार्वजनिक स्थल, सडक र चौबाटोमा परिवारजनको सामूहिक सहभागितामा सांस्कृतिक झाँकी, बाजागाजासहित गरिने एक खालको वियोग अभिव्यक्ति हो । नगरवासीहरूबीच वर्षभरिमा को को बिते, कहाँका थिए ? आदि कुराबारे जनाउ दिलाउने एक प्रकारको यो मृतक गणना अभिलेखीकरणको रैथाने शैली पनि हो ।
फेरि पनि गाईजात्रा नितान्त शोकजन्य यात्रा हो । यसको समायोजन, व्यवस्थापन, सडक प्रदर्शनका अन्तर्यमा श्रद्धा, समवेदना र पीडा हुन्छ । आफन्तसँगको वियोग, स्मृति तथा करुणाका अनेक अव्यक्त कथा गाईजात्राका पदचापसँग गाँसिएका हुन्छन् । गाईजात्रा कुनै मनोविनोद, उत्सव वा उल्लासको विम्ब होइन, मात्र आफ्ना प्रियजनको आत्माको चिरशान्तिको कामनास्वरूप गरिने स्मृति मात्र हो । धार्मिक आस्थाअनुसार थरीथरीका आख्यानात्मक प्रसंग गाईजात्रासँग गाँसिने गर्छन् । ती आफ्ना ठाउँमा छन्, सारमा यो संस्कार, परम्परा र रीतिभित्र लुकेको निःशब्द अभिलाषा हो– मृतकको मोक्ष वा मुक्ति ! मृत आत्माप्रति जीवित परिवारजनमा अद्यावधि सञ्चित सम्बन्ध र सम्झनाका शिष्ट अनि सुसंस्कृत प्रस्तुति हुन् ।
विडम्बना ! समय र घटनाक्रमसँगै एउटा पंक्तिमाझ गाईजात्राको भाष्य आज त्यही नै रहेन । हिजोको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा यसको अगुवाइ गरियो । केही वर्षयताबाट प्रतिष्ठानको सरकारी डबली सजिन थाले, परम्परागत गाईजात्रा मनाइने दिन अवसरकै वरपर । स्वयं दरबारियाहरूसमेतको जमघट हुने गरी प्रतिष्ठानका रंगमञ्च झकिझकाउ गरिए– रमाउन, हाँस्न, ख्यालठट्टा, हँसिमज्जाकमा समय बिताउन । कलाकर्मी उभ्याइए, नाचगान पनि गरिए । त्यत्तिकै राज्यको ढुकुटी पनि खर्चियो– एउटा उत्सव ! एउटा महफिल ! अनि त्यस क्षणको नामकरण गरियो– गाईजात्रा महोत्सव ! आजपर्यन्त त्यो क्रम जारी छ– पात्र, परिवेश फेरिए । तर गाईजात्रालाई महोत्सव नै भन्दै आइएको छ ।
पुर्खाले बसालेको त्यो गाईजात्रा जुन आँसुको व्यथा थियो, आज सजिएका रंगमञ्चभित्र कसरी हाँसोको प्रथा बने ? गाईजात्रा रैथानेहरूका नितान्त ट्राजेडी मञ्चन हो । व्यवसायिकीकरणमा अहिलेका क्षणमा कसरी कमेडी बन्न सके ?
परम्परा थियो गाईजात्राकै दिनबाट साँझपख उपत्यका तीनै सहरमा स्थानीय स्वस्फूर्त रूपमा रंगीविरंगी पहिरन र भावभंगिमा समूह–समूहमा सडकमा निस्किन्थे । अनि टोल–टोलमा रोकेर उनीहरूले आफ्ना अभिनय प्रस्तुत गर्थे, नाच्थे, गाउँथे । उनीहरू दर्शकलाई हँसाउन अनेकथरी, अलि अश्लील संवाद पनि बोल्थे । भक्तपुर, कीर्तिपुरतिर यो प्रचलन अझै छ । कतिपय स्थानमा फरक तरिकाले रोपाइँ नाच, रोपाइँ जात्राका रूपमा पनि प्रस्तुत गरिने चलन छ । यसखाले सडक प्रदर्शन न त गाईजात्राका अंश हुन्, न त गाईजात्राजस्तै कुनै मृतकजनको स्मृतिसँग जोडिएका छन् ।
तत्कालीन सामाजिक, राजनीतिक कुरीति, विसंगतिप्रति घोचपेच गरिने यी प्रस्तुति मूलतः मनोरञ्जनात्मक, रसिलो, ठट्यौली हुन् । तर यी गाईजात्रा होइनन् । यी स्थानीय जनजीवनमा प्रचलित ख्यालः हुन्– गुँपुन्हि ख्यालः– प्रहसन, हास्यव्यंग्य । सायाः र ख्यालः प्रसंग, परम्परा र प्रवृत्तिअनुसार पनि नितान्त पृथक हुन् । सायाः अर्थात् गाईजात्रालाई ख्यालः र ख्यालःलाई गाईजात्रा भन्ने जुन भाष्य निर्माण गरिएको छ, यो विडम्बनापूर्ण छ । यो त स्थानीय संस्कृतिको विकृत प्रस्तुति हो, जुन त्याज्य छ ।
हिजो नारायणहिटीको परमादेश कानुनसरह अकाट्य हुने कालखण्डमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको भूमिका र स्थान भिन्न थियो । त्यसै परिवेशमा शोक र समवेदनाबोधक गाईजात्रालाई महोत्सव बोध गराउने गलत भाष्य निर्माण गरियो । त्यसैको अनुकरणमा कतै संकोच देखिएन । आज प्रतिष्ठानका अतिरिक्त अन्य संस्था, व्यक्ति र क्षेत्रबाट पनि गाईजात्रालाई महोत्सवकै रूपमा प्रस्तुत गर्ने प्रचलन बसालिएको छ, जुन सही होइन । आज त्यसमा सुधार आवश्यक छ । गाईजात्रा संस्कृति तथा परम्पराका संवाहक रैथाने समुदाय र विज्ञहरूसँग यस सम्बन्धमा संवाद तथा सहकार्य हुन जरुरी छ । अबको परिवर्तित परिस्थितिमा यसमा सुधार गर्न कुनै विलम्ब गरिनु हुन्न ।
