‘विकास भनेकै सडक र भवन’ भन्ने भाष्य बनाएर लैजान सफल त्यही वर्ग हो, जसले नेपाललाई आधुनिक समाजमा बदल्ने भनेर विगत ७० वर्षदेखि हालीमुहाली गरिरहेको छ
What you should know
विकास’ शब्द आफैंमा बहुआयामिक छ । कतिले यसलाई समग्रमा समाज या मानव जातिले लिएको या लिन खोजेको सकारात्मक परिवर्तन भन्छन् भने कतिले त्यसभित्रको कुनै वर्ग या समूहमा आएको परिवर्तन हो भन्छन् । कसैले त त्यसभित्रको एउटा पक्ष अर्थात् समग्रतामा सकारात्मक हुन आवश्यक पूर्वाधारमध्येको पनि एउटा अवयवलाई विकास भनेर हेरिरहेको पाइन्छ ।
विकासको अवधारणाबारे चर्चा गर्दा ‘कसको विकास’, ‘केको विकास’, ‘के उद्देश्यका लागि कसले चलाएको विकास’ भनेरसमेत हेर्नुपर्ने अवस्था आएको छ । किनभने यस्ता बहुआयामिक पाटा भएको अति बृहत् सन्दर्भलाई नजरअन्दाज गर्दै त्यसभित्रको एकाध स्वरूपलाई मात्र हेरेर कुनै ठाउँमा ‘विकास’ भएको वा कमजोर या ‘विकासमा पछि परेको’ को चर्चा गरिन्छ ।
समाज र संस्कृतिकै अध्येता देखाउन खोज्नेहरू पनि खासगरी समग्र समाज विकास जताउँदा हेरिने एउटा सानो पाटो अर्थात् भौतिक संरचना हेरेर ‘वाह’ भन्ने गर्छन् र त्यही बृहत् सन्दर्भको एउटा सामान्य पाटोलाई बोलीचालीको भाषामा परिणत गरी दह्रो सामाजिक भाष्य नै निर्माण गरिदिन्छन् ।
खासगरी ठूला र चौडा सडक अनि गगनचुम्बी घरहरू देखेर फलानो देशले या फलानो ठाउँले त ‘विकासमा चमत्कार नै गरेछ’ भन्नेहरू समाज बुझेकै तप्कामा छन् । नेपालमा पनि सडक सञ्जाल नै विकास हो भनेर लामो समय लगाएर निर्मित ‘विकासे भाष्य’ र यसबाट आइरहेको परिणामले नेपाली समाजले भोगिरहेको नियतिका बारे चर्चा गर्नु सान्दर्भिक छ ।
कतिपय सन्दर्भमा वैश्विक नै बनेको र खासगरी ‘अविकसित’ या ‘अल्पविकसित’ भनेर चिनिएका नेपाललगायतका देशमा विकास भनेकै भौतिक पूर्वाधारको विकास हो भन्ने भाष्यले मज्जाले जरा गाडेको छ । विकास बजेटका नाममा छुट्याइएको प्रायः सबै बजेट भौतिक पूर्वाधार अर्थात् सडक र भवन (कार्यालय, विद्यालय, मठमन्दिर र गुम्बालगायत) मा खर्च गरिरहेको नेपालमा यसबारे फरक मत धेरैलाई अप्रिय लाग्छ ।
अधिकांश रकम यसरी पूर्वाधारमा खर्च भयो, जसले समग्र समाजको विकासमा भन्दा पनि समाजका कुनै एक सानो पंक्तिको स्वार्थलाई मात्र सहयोग गरिरह्यो भनेर पछिल्ला दिनमा महिला तथा लैंगिक अल्पसंख्यकका हकहितमा काम गर्ने लैंगिक मैत्री, दलित मैत्री, युवा मैत्री काम या परियोजनाका लागि पनि बजेट राख्न भनियो । तर सडक सञ्जाल र भवनहरू सबै लिंग, उमेर समूह, जातजातिलाई अपरिहार्य भन्दै ती शीर्षकको बजेटलाई पनि कागजमा कायम राखे पनि खर्च गर्दा तोडमोड गरेर सडक र भवन बनाउने होडमै सरकार लागेको देखिन्छ ।
समाजमा आफ्नो स्वार्थलाई सबैको स्वार्थ हो भन्ने भाष्य बनाउन काबिल एक तप्काको ‘भौतिक संरचना सबै लिंग, उमेर समूह, जातजातिलाई अपरिहार्य’ भन्ने भनाइलाई आँखा चिम्लेर सही गरिदिने या कार्यान्वयनमा सहजीकरण गरिदिने ठालुहरू आजसम्म नेपाली समाजमा भइदिएका कारण ‘विकास भनेकै सडक र भवन’ भन्नेको बोली बिकिरहेको छ र यसलाई चिरेर जाने समूहको बोलवाला नभएसम्म आजको परिस्थितिमा परिवर्तनको सम्भावना छैन ।
समाजको विकास र अविकासमा एउटा मात्र कारणले काम गर्दैन, यो यथार्थ हो । तर लामो समय पूर्वाधारका नाममा सडक र सडककै नाममा जसरी काम गरिए, त्यसो गर्दा सम्हाल्नुपर्ने अन्य महत्त्वपूर्ण क्षेत्र खासगरी कृषि उत्पादनको क्षेत्र धराशायी बन्न पुगे भन्ने हो । जब उत्पादनमा ध्यान पुगेन, एकाएक उपभोगवाद हावी भयो । सडक सञ्जालले उपभोगवादलाई उत्पादनमा आधारितबाट आयातमा आधारित बनाउन प्रमुख माध्यम बनेर सहयोग गर्यो । उत्पादन या सीपमा टिकेको समाजमा एकाएक उत्पादन या सीपको भन्दा पैसाको महत्त्व बढाइदियो ।
गाउँघरमा उपलब्ध स्थानीय उत्पादनको माग बिस्तारै घट्न थाल्यो, सञ्चारमाध्यममार्फत विज्ञापन गर्दै समाजमा प्रयोग भई आएका सातु, चिउरा, सिरौंला, रोटी, मही, चुकौनी, जेरीजस्ता स्थानीय रूपमा उत्पादित र स्थापित खाद्य परिकारभन्दा कमसल कुरकुरे, कोकाकोलाजस्ता सामानलाई जनतासमक्ष स्थापित गराइए ।
स्वास्थ्य र पोषणका लागि अति उपयोगी लिटो, दुग्धजन्य परिकारका बदला हर्लिक्स र ल्याक्टोजिनहरू जनजनले सम्झन थाले र स्वास्थ्यका दृष्टिले कमसल अनि महँगो मूल्य पर्ने बाहिरबाट आयातित ती वस्तुलाई घरघर र टोलटोलसम्म पुर्याउन सडक सञ्जाल कामयाब भए । सडककै कारण नेपालका प्रायः गाउँ एकाएक संसारका सबै खाद्य सामग्रीका लागि बजार बने ।
संयोग नै होला, जब–जब हामी सडक सञ्जाललाई ‘विकास’ भनी त्यसकै सेरोफेरोमा काम गरिरहेका थियौं, त्यही बेला संसारमा भने पुँजीवादको पनि अरू अमानवीय रूप अर्थात् नवउदारवादले वर्चस्व बनाउँदै लगेको थियो । समग्र उत्पादन या सेवामा मानवताभन्दा मुनाफा खोज्ने उक्त नवउदारवादी व्यवस्थाले दैनिक उपभोग्य वस्तुको गुणस्तरमा कम्प्रोमाइज गरेर नाफा कमाउन उत्साहित गर्ने हो ।
सडक सञ्जालका कारण जब नेपाली गाउँघरमा नवउदारवादी उत्पादनको पहुँच पुग्यो, नितान्त नाफाका उद्देश्यले उत्पादित सामान र गाउँघरमा किसानले आफ्नै लागि भनेर आफैंले उत्पादन गरेका सामानको परल मूल्य उस्तै हुने कुरै थिएन । परिणाम, नाफाका लागि उत्पादित र तयार भएका सामानले बजार पायो भने स्थानीय उत्पादन बिस्तारै बिक्न छाडे ।
अलिक मिहिनेत गरेर केही बढी उत्पादन गर्न सके आफूले उपभोग गर्नेजति गरेर बाँकी उत्पादन बेचेर गर्जो टार्दै आएका स्थानीयको दैनन्दिनको इकोसिस्टममा नै यहाँनेर आएर एकाएक उथलपुथल भयो । परिवारका कोही बिरामी परेर या कुनै सामाजिक कार्य गर्न परेका कारण या परिवारका सदस्यको शिक्षामा गर्नुपर्ने खर्चलगायतमा किसानले अन्न बेच्ने गर्दथे ।
जब परिवारलाई वर्षभरि पुगेर बढी हुने सरप्लस उत्पादन स्थानीय रूपमा खपत हुन छाड्यो, कृषकले पनि थप उत्पादनका लागि मरिहत्ते गर्न या थप मिहिनेत गर्न छाडे । त्यही नै बेला कृषि पेसामा रहेको कृषकको एकाधिकार अथवा मलदेखि बीउ अनि आवश्यक मजदुरसम्म स्थानीय रूपमा नै जोहो गर्ने कृषकको स्वायत्ततामाथि पनि एकाएक बजार हावी देखियो ।
प्रांगारिक मलको बदला रासायनिक मल, स्थानीय रूपमा आफैंले उत्पादन र भण्डारण गरेर र कताकति ऐंचोपैंचो गरेर प्रयोग गरिने बीउका बदला बजारमार्फत प्याकेटमा ल्याइएका हाइब्रिड बीउहरू गाउँघरमा प्रवेश पाए । कृषि उत्पादनका लागि स्थानीयले विकसित गरेका आफैंमा स्वायत्त यो इकोसिस्टम भत्काउन स्वयं राज्य नै लागेर ‘विकासे’ मल र ‘विकासे’ बीउको प्रचार गर्यो । मल र बीउमाथिको कृषकको स्वायत्तता कमजोर पार्न पनि सडक सञ्जाल कामयाब भयो ।
अन्यथा रासायनिक मल र बीउको पहुँच गाउँ–गाउँमा पुर्याउन सम्भव थिएन । जब विकासे मल र अन्यत्रको बीउमा किसानको निर्भरता बढ्यो तब कृषि आत्मनिर्भर पेसा रहेन किनभने पलपलमा किसान पैसा र बजारसँग अन्तरक्रिया गर्न बाध्य भए ।
विकासे मल र अन्यत्रको बीउको एकाएक प्रयोगले स्थानीयस्तरमा पर्यावरणीय असन्तुलन देखियो । नियमित रूपमा उत्पादन भइरहेका कतिपय वनस्पति तथा झारदेखि सागपातसम्म बिस्तारै हराउन थाले भने कृषि बालीमा पनि नयाँ–नयाँ किराले आक्रमण गर्ने र रोग देखिने क्रम बढे । स्थानीय रूपमा उपलब्ध अम्बा, जामुनजस्ता फलफूलका बोट नै एकाएक खेतबारीका गरा र कान्लाबाट मरेर नष्ट भएको देखिए ।
बिस्तारै नयाँ बीउमार्फत आएका बालीमा देखिएका नयाँ–नयाँ समस्या र रोग नियन्त्रणका नाममा कीटनाशक विषादीले गाउँघरमा प्रवेश पायो । विकासे मल, अन्यत्रको ‘विकासे’ बीउ र कीटनाशक विषादी जब किसानका लागि अपरिहार्य भए, उसका हर पाइला पैसा र बजार केन्द्रित भए, उसले उपयोग गर्दै आएको स्वायत्तता अरू खुम्चियो भने स्थानीय रूपमा पर्यावरणीय समस्या अरू थपिँदै र जटिल बन्दै गए ।
त्यसो त रासायनिक मल र बीउले व्यापक रूपमा उत्पादन बढाएको तथ्यांक पनि एकातिर छ । यसकै कारण आमनेपालीलाई खान पुग्ने परिवारका रूपमा परिणत गराएको तथ्यांक पनि बेलाबेला पढ्न पाइन्छ । रासायनिक मलको प्रयोगसँगै धान, मकैजस्ता अन्नको उत्पादन प्रांगारिक खेतीमार्फतको उत्पादनको तुलनामा बढेको र बढ्नेमा शंका नहोला तर एकाएक खर्चिलो बनेको उत्पादनले जब स्थानीय रूपमा बजार पाएन, त्यो खर्च उठाउन नसक्ने खेती गरिरहन कृषकले चाहने कुरै भएन । निर्वाहका लागि मात्र उत्पादन गरौं न त भन्दा पनि त्यति परिणाममा उत्पादन गर्नभन्दा बजारमा किनेर खान सस्तो र सरल पर्ने अवस्था देखियो ।
त्यसको कारण थियो, देशबाहिरबाट आयात गरिएका चिल्ला बोराभित्र टलक्क टल्कने चामल, गहुँ तथा अन्य घरायसी प्रयोजनका सामानले भरिभराउ दोकान गाउँ–गाउँमा बढ्नुका साथै यस्ता सामान बोकेर ट्रक र ट्र्याक्टर ग्रामीण सडकमा दौडादौड गरिरहे ।
यसले स्थानीय उत्पादनभन्दा आधा मूल्यमा र हेर्दा पनि राम्रो अनि आकर्षक प्याकेजमा गाउँ–ठाउँमै सहज रूपमा समान पाइरहँदा कसैको पनि आँखा महँगो र तुलनात्मक रूपमा पनि कम आकर्षक देखिने सामानमा पर्ने कुरै भएन । यसरी बिस्तारै नेपालको उत्पादन र आत्मनिर्भरतामुखी चरित्रलाई आयात या परनिर्भरतामुखी नियतिमा परिणत गरिदियो । यसरी एकाएक केही वर्षमै यो प्रकारको परिवर्तन सम्भव तुल्याउन भने सडक सञ्जालले नै काम गर्यो ।
सडक सञ्जालको अभूतपूर्व विस्तारका माझ स्थानीय रूपमा उत्पादित अन्न र विश्व बजारमा उपलब्ध आयातित वस्तुले गाउँघरमा हलचल गरिरहँदाकै केही वर्षमा स्थानीय सामाजिक बनोटमा पनि एकाएक परिवर्तन देखियो । हिजोसम्म खान नै धौधौ भएको एउटा वर्गले नयाँ परिवेशको भरपुर उपयोग गरेर आफूलाई केही नगदमा खेल्ने वर्गका रूपमा स्थापित गर्न सफल भयो । व्यापारी, ड्राइभर या ढुवानीकर्ताका नाममा स्थानीय रूपमा स्थापित भएपश्चात् त्यो वर्ग अब अरू गाउँबाहिरका गतिविधिमा संलग्न हुन्छ ।
अर्गानिक कृषि र त्यसका लागि चाहिने प्रांगारिक मलका लागि अनिवार्य रहेको पशुपालनसमेतमा संलग्न रहन बिस्तारै छाडेको या मनग्य जग्गाजमिनको अभावका कारण त्यो काम गर्न नपाएको उक्त समूहले अब आफ्ना सन्तानलाई अलिक टाढाको अंग्रेजी माध्यमको शिक्षा दिने विद्यालय पठाउन र आधुनिक शिक्षा किन्न थाल्छ ।
नगदमा खेल्ने कारणले उक्त समूहले आफ्नो छुट्टै पहिचान बनाउन शिक्षा र खानपानमा मात्र होइन, उपचारका लागि पनि टाढाकै भए पनि प्राइभेट क्लिनिक चहार्ने दिनचर्या थाल्छ । परिणाम, हिजोसम्म वर्षभरि खान पुग्ने अन्नबाहेक बढी उत्पादन गरी गाउँघरका कमजोर परिवारको भान्सालाई सहज गरिदिँदै आएका ‘ठालु’ हरूको स्थितिभन्दा हिजो खानकै लागि अन्नको जोगाडका लागि अरूकामा मजदुरी गर्ने या अरूको जग्गा कमाउनेहरूको रवाफ बिस्तारै बढ्न थाल्यो । कृषि र पशुपालनको काम गर्न नपर्दा सुकिलो लवज, आधुनिक लाग्ने अंग्रेजी माध्यमको शिक्षा, शीघ्र र उच्च प्रतिफल दिने पेसाका कारण बढेको नगदमा पहुँच र अन्य सिलसिलामा भइरहने बाह्य दुनियाँसँगको सरसंगतले प्रस्तुतिमा आउने निखार इत्यादिले गर्दा हिजोका धेरै र राम्रा खेतबारी भएका ‘हुनेखाने’ भन्दा यो वर्ग सुखी, खुसी र सभ्य देखिन थाल्यो ।
नवउदारवादको उपजका रूपमा विकसित गरिएको र भइरहेको उक्त नयाँ वर्गलाई रहेको आन्तरिक र बाह्य ढाडसले नयाँ युवालाई कृषि र पशुपालनबाट कति छिटो बाहिरिने भन्नेमा केन्द्रित बनायो । कृषिमा राम्रै गरिरहेकाहरू नै बिस्तारै सन्तानलाई अब कृषि र पशुपालनको काममा नलगाउने निर्क्योलमा पुगे । जब केही वर्षमै यो प्रकारको सामाजिक परिवर्तन देखियो, यसको असरका रूपमा गाउँको विग्रह भयो । कृषि र पशुपालनको काम नगर्ने भएपश्चात् गाउँमा विद्यमान स्कुल, स्वास्थ्यचौकी, क्याफे, बजारजस्ता संरचना त्यहाँका बासिन्दालाई अपुग र कमजोर देखिए ।
यससँगै पारिवारिक खर्च बढेर गयो । प्रत्येक दिनको खानामा, स्वास्थ्य, शिक्षा तथा यातायात र सञ्चारका खर्च सोच्नै नसक्ने गरी अकासिए । सुरुवाती दिनमा कृषिभन्दा अलग पेसा समातेर फरक पहिचान दिने कुरा सीमित संख्याका हकमा मात्र सम्भव थियो । जब धेरैले एकाएक फरक पेसामा जान खोजे, त्यो एकाएक गाउँघरमा सम्भव थिएन । तर गरिरहेको पेसा छाडेर भौंतारिएका प्रायः हरेकजसो परिवारका केही सदस्य बिस्तारै शिक्षाका नाममा, रोजगारी (कृषि र पशुपालनबाहेक) को काम खोज्ने नाममा बाहिरिने क्रम सुरु भयो ।
यो सुरुवातले बिस्तारै भीसीएस साइकल अर्थात् दुश्चक्रको रूप लियो । आजको एकाएक नगण्य संख्यामा कृषक र काम गर्ने उमेरका मानिसको बासस्थानका रूपमा परिणत भएको ग्रामीण परिवेश त्यसैको उत्कर्ष हो । भरपर्दो विकल्पबिना नै जानेको पेसा र बसिआएको थातथलो छाड्दा अनि आधुनिक शिक्षा र स्वास्थ्यका नाममा मोटो रकम तिर्नपर्दा मानिसको खर्च एकाएक बढेको छ । जसले गर्दा तत्कालका लागि ऋण लिनैपर्ने र त्यो ऋण भुक्तानी र नियमित बढ्ने खर्चका लागि कोही न कोही मुग्लान भासिन पर्ने अवस्था आएको छ । उदाहरणका लागि विश्व खाद्य कार्यक्रमले केही वर्षअघि निकालेको एक प्रतिवेदनअनुसार नेपालीले दैनिक आम्दानीको १३ प्रतिशत रकम प्रत्येक दिनको खानाका लागि खर्च गर्ने गरेको देखिएको थियो ।
प्रतिव्यक्ति कुल स्वास्थ्य खर्च सन् २००० मा आठ अमेरिकी डलर रहेकामा २०२२ मा बढेर ६५ अमेरिकी डलर पुगेको छ । नेपाल जीवनस्तर मापन सर्भे–चौथोले सरदर प्रतिव्यक्ति शैक्षिक खर्च २९,७४२ रहेको देखाएको छ । आज ऋण लिने नेपाली घरधुरी ६३.८ प्रतिशत रहेको र यीमध्ये २३.५ प्रतिशतले घरायसी काममा र ५५.८ प्रतिशत अरू काममा ऋण लिने गरेको देखाएको छ । खाना, स्वास्थ्य र शिक्षामा हुने खर्च बढ्दै जाँदा परिवार गरिबीमा धकेलिने जोखिम बढी हुन्छ भने उक्त खर्च जोहो गर्न परिवारका सदस्यले वैदेशिक रोजगारीको यात्रा तय गर्नुपर्ने हुन सक्छ । यहाँ भन्न सकिन्छ कि, किनेको स्वास्थ्य, किनेको शिक्षा र किनेको अन्नमा आधारित समाजको दैनन्दिदी आजको नेपाली परिवेशभन्दा फरक सम्भव छैन र थिएन ।
अर्को शब्दमा भन्दा एकाएक विकासका नाममा सडकमा पैसा खन्याएर ‘सडक अर्थतन्त्र’ नचलाएको भए यति छिट्टै गाउँ–गाउँलाई सडक सञ्जालमा जोड्न सकिने थिएन । त्यस्तै, गाउँको पेयका रूपमा पाइने दहीमहीलाई कोकाकोलाले, स्थानीय रक्सीलाई बियर र पोका रक्सीले, खाजाका रूपमा प्रयोग हुने भुटेको मकै, भटमास तथा चिउरालाई चाउचाउ र चाउमिन अनि कुरकुरेले विस्थापित गर्ने पनि थिएन । ३०, ३० किलोमिटर टाढाका गाउँसम्म गएर बालबालिका संकलन गरेर बोर्डिङ स्कुलहरू चलाउने आँट र उत्साह आउने थिएन । ‘उत्तम खेती, मध्यम व्यापार र निम्न रोजगारी’ को उक्तिलाई एकाएक उल्टाएर ‘उत्तम रोजगारी, मध्यम व्यापार र निम्न खेती’ मा रूपान्तरण पनि सम्भव थिएन ।
सारमा भन्दा के देखिन्छ भने ‘विकास भनेकै सडक र भवन’ भन्ने भाष्य बनाएर लैजान सफल त्यही वर्ग हो, जसले नेपाललाई आधुनिक समाजमा बदल्ने भनेर विगत ७० वर्षदेखि नेपालमा हालीमुहाली गरिरहेको छ । र, त्यही समूह आज एकाएक नेपाली समाज खासगरी त्यहाँभित्रको ‘युवा पिँढी बस्नै नसक्ने समाजमा रूपान्तरण भइरहेको’ भनेर अर्को भाष्य बनाउन लागिपरिरहेको छ ।
उक्त समूहले आज समाजमा देखिएको उकुसमुकुसको परिदृश्यको पृष्ठभूमिमा लामो समयदेखि नेपालले लिएको ‘विकासे’ नीति छ भन्ने मान्न तयार छैन । परिणाम आज पनि कतै हामीले ७० वर्षदेखि तय गरेको नेपाल विकासको मापदण्डका बारेमा प्रश्न गर्दा उत्ताउलो पाराले प्रतिक्रियात्मक बन्छ र समालोचनात्मक टिप्पणीकारलाई ‘विकासविरोधी’ या अन्य के–के गालीले प्रतिकार गर्न तयार भएर बसेको पाइन्छ ।
