विषादीमुक्त भान्साका लागि कौसी खेती

कौसी र करेसाबारीमा जैविक तरकारी वा फलफूल उत्पादन गर्दा चाहिने मल र माटोको विषयमा अधिकांश सहरवासी अनभिज्ञ छन् 

श्रावण १३, २०८२

मधु राई

Kousi Cultivation for Pesticide-Free Kitchens

What you should know

अघिल्लो महिना विराटनगर–४ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले ‘विषादीमुक्त भान्सा अभियान’ अन्तर्गत विषादीमुक्त तरकारी उत्पादन गर्ने भनेर तीनदिने तालिम दियो ।

यस्तै सहकारीमा आबद्ध आफ्ना ५० जना अंशियारलाई कौसी र करेसाबारीमा उत्पादन हुने तरकारी र फलफूललाई रोगकिराहरूबाट बचाउन स्थानीय बोटबिरुवा प्रयोग गरी घरेलु विधि अपनाई जैविक विषादी बनाउन सकिने बारेमा थोरबहुत जानकारी दियो । 

तालिमको दोस्रो दिन यो पंक्तिकारले पनि कौसी र करेसाबारीमा विषादीमुक्त तरकारी उत्पादन गर्दा चाहिने जैविक मल आफ्नै भान्साबाट निस्कने फोहोरलाई पुनः प्रयोग गरी बनाउन सकिने कुरा सहभागीलाई सुनाउने अवसर पायो । उक्त कार्यक्रममा सहभागीमध्ये कतिपयले परम्परागत रूपमै कौसी र करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको कुरा सुनाए । तालिममा सहभागी अधिकांशले भान्साबाट निस्कने काँचो अर्थात् हरियो फोहोर र पाकेको फोहोरलाई पुनः प्रयोग गर्न सकिने कुराबारे राम्ररी थाहा नपाएको भनी चासो पनि राखेका थिए । 

पुरुषभन्दा पनि सबै उमेर समूहका महिला अंशियारको बाहुल्य रहेको उक्त तीनदिने तालिममा कतिपय पुरुष सहभागीले कौसी तथा करेसाबारीमा मल, माटो र विषादीबारे राम्ररी थाहा नपाएर पनि मिहिनेत गरेअनुसार जैविक तरकारी उत्पादन गर्न गाह्रो भएको आफ्नो अनुभव सुनाए । खासमा कौसी होस् वा करेसाबारी– तरकारी उत्पादन गर्दा चाहिने जैविक मल तथा झोल मलबारे त्यति धेरै जानकारी नहुँदा पनि अधिकांश सहरवासीको करेसाबारी नभए पनि कौसी बाँझो रहने गरेको छ । हुन पनि हो– भान्साबाट निस्कने दुई किसिमको फोहोरबाट जैविक मल तथा झोल मल बनाउन त्यति झन्झटिलो पनि छैन । यसका लागि सर्वप्रथम काँचो अर्थात् हरियो फोहोर तथा बिहान–बेलुकी उब्रेको खानेकुरालाई राख्न दुईवटा अलग–अलग भाँडा राख्न जरुरी छ । 

यसरी भान्साबाटै अर्थात् मुहानबाटै वर्गीकरण गरिएको जैविक फोहोरबाट जैविक मल र झोल मल बनाउन सर्वप्रथम हरियो फोहोरलाई ससाना टुक्रा बनाई माटोसँगै मिसाई गमला अथवा ग्रो ब्यागमा राख्न सकिन्छ भने यस्ता काँचो फोहोर रोपेको बिरुवाको वरिपरि राख्न सकिन्छ । यस्तै हरियो फोहोरबाट झोल मल बनाउनका लागि भने कौसीको एउटा कुनामा दुईवटा ढकनीसहितको बाल्टी नभए रङको भाँडा चाहिन्छ । यस्तै तलको भाँडाको ढकनीमा स–साना प्वाल बनाउनुपर्छ भने अर्को माथि खप्टाएर राख्ने भाँडाको पिँधमा पनि स–साना प्वाल बनाउनुपर्छ । यस्तै तलको भाँडाको एकातिर एउटा सानो प्वाल बनाउनुपर्छ र प्वालबाट निस्कने हरियो झोल पदार्थ जम्मा गर्न प्वालको सिधा तल ठूलो मुख भएको बाटा अथवा बाल्टी राख्नुपर्छ । माथिको भाँडालाई पनि छोप्नुपर्छ ताकि वर्षाको अतिरिक्त पानी भित्र नपसोस् । 

यसरी माथिको भाँडामा राखेको काँचो फोहोर केही दिनमा कुहिन थाल्छ र यसबाट झोल पदार्थ चुहिन थाल्छ । उक्त झोल पदार्थलाई जम्मा गरेर एक भाग झोल मलमा चार भाग सामान्य पानी मिसाई दुई–चार दिनको अन्तरालमा बोटबिरुवामा हाल्नुपर्छ । यस्तै पाकेको अर्थात् उब्रेको खानेकुरालाई सुक्खा माटोमा मिसाएर केही दिन घाममा फिँजाएर सुकाएपछि उक्त फोहोर माटोमै परिणत हुन्छ । यस्तो माटोलाई पुनः नयाँ बिरुवा रोप्दा तथा नयाँ माटोसँग मिसाएर पुनः प्रयोग गर्न सकिन्छ । यसो हुँदा हरेक पटक बिरुवा रोप्दा नयाँ माटो चाहिँदैन । 

यस्तै घरेलु विधि अपनाई मैले कौसी खेतीमा मौसमी तरकारी र फलफूल उत्पादन गरेको डेढ दशकभन्दा बढी भयो । त्यतिमात्र होइन, विगत केही वर्षदेखि कौसी र करेसाबारीसम्बन्धी तालिममा सहजकर्ताको भूमिकासमेत निर्वाह गर्दै आएकी छु । विभिन्न प्रशिक्षार्थीलाई मेरो कौसी खेतीको अवलोकन पनि गराएकी छु । 

मेरो कौसीमा बाह्रैमासे विभिन्न थरीका खुर्सानी मात्र हैन, यसपालिदेखि बगरमा फल्ने गरेको खरबुजा फलाउन थालेकी छु । यस्तै आफू विज्ञानको विद्यार्थी भएकाले मेरा पूर्वप्राविका विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञानलगायत साताको एक दिन कौसी खेतीको अवलोकनले जीवन्त र व्यावहारिक शिक्षण सिकाइ गर्न सहज भएको छ । 

खासमा कौसी र करेसाबारीमा जैविक तरकारी वा फलफूल उत्पादन गर्दा चाहिने मल र माटोको विषयमा अधिकांश सहरवासी अनभिज्ञ रहँदै आएका कारण पनि सहरी कृषिको प्रवर्द्धनमा कौसी र करेसाबारीको भूमिका र यसको महत्त्वबारे सम्बन्धित निकाय र यसका पदाधिकारीसमेत अनभिज्ञ देखिन्छन् । यी र यस्ता कतिपय कारणले पनि सहरी कृषिको कुरा नै ओझेलमा पर्दै आएको छ । 

हुन पनि हो यी र यस्ता कतिपय कारणले गर्दा पनि मानव स्वास्थ्यका लागि नभई नहुने तरकारीजन्य वस्तुमा परनिर्भरता अचाक्ली बढ्दै गएको छ । त्यसो त पछिल्लो समय कतिपय पढेलेखेका सहरवासीले जानी नजानी आफ्नो कौसी र करेसाबारीमा जैविक तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन् भने उनीहरूमध्ये कतिपयले आफूले उत्पादन गरेका तरकारी र फलफूल सामाजिक सञ्जालमा पोस्टसमेत गर्ने गरेका छन् । तथापि, यी र यस्ता विषयमा नगण्यले मात्र चासो राखेको पाइन्छ । 

विगत केही समययता कतिपय सहकारी तथा संघसंस्थाले कौसी र करेसाबारीमा जैविक तरकारी र फलफूल उत्पादन गर्न तालिम तथा गोष्ठी आयोजना गर्न थालेका छन् । यद्यपि यस्ता तालिम र गोष्ठीले पनि सहरी कृषिको प्रवर्द्धनमा कौसी र करेसाबारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा सहभागीहरूलाई बुझाउन सकेका छैनन् । यसैको दुष्परिणाम भन्नुपर्छ– आयातित तरकारी र फलफूलमा बढेको परनिर्भरताले देशको अर्थतन्त्रमै नकारात्मक र दूरगामी प्रभाव पार्दै छ ।

मधु राई मधु राई शैक्षिक अभियन्ता हुन् । उनी शिक्षा, शैक्षिक वातावरण, सिकाई लगायतका समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully