विश्वभरका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा सेवा र सुविधामा विस्तार भइरहँदा हामीकहाँ भने एक पटक देखिएका कमजोरी सुधारका लागि गम्भीर पहल हुनै सकेको छैन
What you should know
काठमाडौँ — आधुनिक प्रविधि र मानव विवेकको उपयोग गरिए पनि बेलाबखत विमानमा समस्या देखा पर्छन् । त्यस सन्दर्भमा निर्माता कम्पनी र सञ्चालक कम्पनीले आ–आफ्नो पक्षको समीक्षा पनि गर्छन् नै । यो स्वाभाविक प्रक्रिया हो । अस्वाभाविक भने, नेपाली हवाई सेवाका नेतृत्वदायी संस्थाहरू हुन्, जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै ठूला विमानमा समस्या आएको अवस्थामा सहजै मर्मतसम्भार र व्यवस्थापन हुने वातावरण बनाउन सकेका छैनन् ।
विगतमा पटकपटक लज्जास्पद स्थिति निम्तिसकेको पृष्ठभूमिमा पनि यथोचित समीक्षा र सुधारको पहल गरेका छैनन् । असार २७ मा हङकङको ध्वजावाहक क्याथे प्यासिफिक एयरको वाइडबडी जहाज इन्जिनमा समस्या आई ‘ग्राउन्डेड’ भएपछि उही अभाव र अव्यवस्थापन बल्झिएको छ । क्याथेले कार्गो विमानमार्फत जगेडा इन्जिन ल्याएपछि यतिबेला विमानस्थलको खुला ठाउँमा इन्जिन फेरबदल भइरहेको छ । केही दिनमा विमान उडेर जाने नै छ । तर अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर हविगत र त्यसमा सुधार गर्न आवश्यक नै नठान्ने हाम्रो मनोवृत्ति भने यथावत् रहिरहने सम्भावना ज्यादा छ । संसारभरका विमान कम्पनी र यात्रु जोडिन सक्ने विमानस्थललाई व्यवस्थित र सुविधायुक्त बनाउन सरकारले उच्च प्राथमिकता दिनुपर्छ ।
क्याथेको ‘ब्राभो–लिमा ब्राभो होटल’ कल साइन भएको वाइडबडी ए–३३० विमानमा असार २७ गते काठमाडौंबाट हङकङका लागि उड्ने तरखरमा रहेका बेला समस्या देखिएको थियो । ‘टेकअफ’का लागि रनवे पुगेपछि पाइलटले दुवै इन्जिनको पावर खोल्दा बायाँतर्फको इन्जिन ‘ब्रस्ट’ भएको थियो । ‘ग्राउन्डेड’ घोषणा गरिएको उक्त जहाज एप्रोनमा राखिएको थियो । क्याथेको वाइडबडीले दुई सातासम्म पार्किङ ओगट्दा विमानस्थल व्यवस्थापनमा समेत समस्या भएको थियो । अरू जहाजलाई पार्किङका लागि ठाउँ नपुग्ने भएकाले विमानस्थलका कर्मचारीले क्याथेको जहाजलाई कहिले आयल निगमको डिपो नजिकैको पार्किङमा त कहिले उत्तरपूर्वी क्षेत्रमा रहेको रिमोट पार्किङमा लैजाने प्रयास गरेका थिए । यद्यपि, क्याथेका कर्मचारीले असहमति जनाएका थिए । क्याथेले आफ्नै कम्पनीको बोइङ ७४७–४०० सिरिजको कार्गो विमानमार्फत जगेडा इन्जिन ल्याएपछि नेपाल वायुसेवा निगमको ह्यांगर (जहाज मर्मतशाला) अगाडि क्याथेको वाइडबडीलाई लगेर इन्जिन फेरबदलको काम भइरहेको छ । इन्जिन जडान भइसकेपछि जाँच गरिनेछ । प्राविधिकले अनुमति दिएपछि जहाजलाई यात्रु नराखी हङकङ लगिनेछ ।
त्रिभुवन विमानस्थलमा आफ्नो विमानमा समस्या आएपछि क्याथेजस्तै धेरै कम्पनीले अतिरिक्त दुःख पाएका छन् । इन्जिनमै समस्या झेलेका कारण कोभिडअघि भारतको जेट एयरवेज, कतार एयरवेज, थाई एयर र यूएईको इतिहाद एयरवेजले पनि हप्तौंसम्म नेपालमा जहाज ‘ग्राउन्डेड’ गर्नुपरेको थियो । फागुन २०७१ मा इस्तानबुलबाट आएको टर्किस एयरको वाइडबडी विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लेपछि अन्तर्राष्ट्रिय उडान चार दिनसम्म अवरुद्ध भयो । २६ अर्ब रुपैयाँ बराबरको ‘ब्रान्ड न्यु’ जहाज नेपालमा मर्मत हुन सकेन । टर्किसले जहाज बिमा कम्पनीलाई हस्तान्तरण गरी काम गर्ने पार्टपुर्जा झिकेर लगेको थियो । खोक्रो जहाज भने १ करोड हाराहारीमा लिलाम गरिएको थियो । यस्ता सन्दर्भले नेपालमा ठूला जहाज मर्मत गर्न अन्तर्राष्ट्रियस्तरको
ह्यांगरको आवश्यकता देखिन्छ । त्यसको अभावमा विदेशका ठूला विमानको इन्जिनमा समस्या भइहाले चार्टर जहाजबाट प्राविधिक, इन्जिन, स्पेयर पार्ट्स ल्याएर खुला आकाशमुनि मर्मत गर्नुपर्ने बाध्यता छ । क्याथेको बिमासँग सम्बन्धित एजेन्सीले नेपालमा इन्जिनको खुला आकाशमा मर्मत गर्न अनुमति नदिँदा उसले कार्गोमार्फत जगेडा इन्जिन ल्याएर समस्याग्रस्त इन्जिन लैजानुपर्यो । ७ दशक पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला विमानलाई भैपरि प्राविधिक सेवा दिने अवस्था नहुनु पक्कै पनि लज्जास्पद स्थिति हो ।
त्रिभुवन विमानस्थलभित्रका समस्या यतिमै सकिँदैन । यही विमानस्थलबाट ९ साउन २०८१ मा पोखराका लागि उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु भएपछि सरकारले गठन गरेको रतिशचन्द्र लाल सुमन नेतृत्वको अध्यक्षता दिएको प्रतिवेदनले नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन र निगरानी गर्ने क्षमतालाई उदाङ्गो बनाएको छ । सौर्य एयरलाइन्सका दुई वटा सीआरजे विमानको ‘टेकअफ’का क्रममा दुई वर्षमा १८ पटकसम्म उच्च ‘पिच रेट’ अपनाइएको रेकर्ड आयोगले फेला पारेको थियो । यो तथ्य किन महत्त्वपूर्ण छ भने, दुर्घटनामा परेको जहाजको पनि ‘टेकअफ’ का क्रममा ‘पिच रेट’ अत्यधिक बढाइएको पाइएको थियो । तर यस्ता पक्षमा प्राधिकरणको पहिल्यै निगरानी पुगेको र मापदण्ड पालना गराएको देखिएन । घटना विशेष केलाउँदै जाने हो भने यस्ता उदाहरण अरू पनि भेटिन्छन् ।
त्रिभुवन विमानस्थल परिसरभित्रै आयल निगमको इन्धन डिपो छ । यसले हवाई सुरक्षा मात्रै होइन, विमानस्थल छेउछाउका घना मानवबस्तीमा समेत जोखिम थपेको छ । जोखिम न्यूनीकरणका लागि डिपो स्थानान्तरण गर्नुपर्ने आवाज उठ्दै आएको छ । तर यति अत्यावश्यक कामले समेत तीव्रता पाउन सकेको छैन । यसले नागरिक तथा विमानको सुरक्षाप्रतिको संवेदनशीलता कति प्राथमिकतामा छ भनेर आकलन गर्न सकिन्छ । अन्य सानातिना व्यवस्थापनमा समेत हेलचेक््रयाइँ हुने गरेको छ । जस्तो कि, गत वर्ष सौर्यको विमान दुर्घटनामा परेपछि दुर्घटनास्थलमा निर्माण सामग्रीको थुप्रोले गर्दा दमकललाई अवरोध पुग्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई त्यहाँभित्रका आपत्कालीन प्रवेशद्वारमा निर्माण सामग्री नराख्न सुमन नेतृत्वको आयोगले सुझाव नै दिएको छ ।
समग्रमा, विश्वभरका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा सेवा र सुविधामा विस्तार भइरहँदा हामीकहाँ भने एक पटक देखिएका कमजोरी सुधारका लागि गम्भीर पहल हुनै सकेको छैन । सुधारका लागि प्राथमिकतामा परेको वा त्यसका लागि हुटहुटी र जिम्मेवारीबोध अनुभूति भएको पनि पाइँदैन । त्यसले अन्तर्राष्ट्रिय विमान कम्पनी र यात्रुमाझ देशको बेइज्जत भइरहेको छ । त्यसैले फराकिलो पिच गर्नासाथ विमानस्थल भइहाल्छ भन्ने सोचबाट माथि उठ्न जरुरी छ । आवश्यक सबै पूर्वाधार, सेवा र सुरक्षाको अनुभूति हुनुपर्छ । साथै, पटकपटक देखिएका कमजोरीलाई तत्काल सुधार गर्ने तत्परता हुनुपर्छ ।
