ओली आज जहाँ छन्, उनी बाटोभरि मूल्य, मान्यता, नैतिकता, शिष्टता र मर्यादाका सीमाहरू उल्लंघन गर्दै त्यहाँसम्म पुगेका हुन्
What you should know
अत्यन्त कठिन परिस्थितिबाट उम्किएर सत्ता राजनीतिको शीर्षमा पुगेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीमा तर्क र भावना मिसाएर श्रोतालाई लठ्ठ पार्ने गजबको क्षमता छ । तार्किक कुराका लागि अंग्रेजीमा ‘लाजिकल’ विशेषण प्रयोग हुन्छ । विपरीतार्थक शब्द हो, ‘इलाजिकल’ अर्थात् तर्कहीन दलिल । असंगत अडानलाई प्रायशः कुतर्कमा अडाउने गरिन्छ ।
शर्मा ओलीका कतिपय अभिव्यक्ति भने अनुलोम, विलोम वा प्रतिलोमभन्दा पनि उडाउने किसिमका हुन्छन् । सार्वजनिक बहसमा त्यस प्रकारका तर्कवितर्कका लागि नवप्रवर्तित ‘ओलियोलाजिकल’ अर्थात् ‘ओलीतार्किक’ शब्द प्रयोग गर्न सकिन्छ ।
भावार्थ हुन्छ, मूलतः आधारहीन अभिव्यक्ति तर वक्ताको व्यक्तित्वमा आधारित कर्णप्रिय शब्द प्रमाण । हालसालै उनले यस्तै एउटा ओलीतार्किक युक्ति प्रयोग गरेका छन्— ‘७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्छ । जेल बस्दा मैले १४ वर्ष काम गर्न पाइनँ ।’
जेल बसेका बेला काम गर्न नपाएको कुरा तार्किक लाग्छ । जेल बसेकाले नै उनको राजनीतिक व्यक्तित्व निर्माण भएको हो भन्ने यथार्थलाई हेर्ने हो भने, उनी तर्कहीन कुरा गरिरहेका छन् । आफ्नो महत्त्वाकांक्षाले गर्दा पार्टीद्वारा निश्चित उमेर हदको प्रावधानलाई परिवर्तन गर्न लगाउनु कुतर्कमा आधारित रणनीति हो । समग्रमा भने शर्मा ओलीको राजनीतिक पैँतराबाजीलाई ओलीतार्किक कार्यनीति भन्न सकिन्छ ।
कुनै बेला ‘जंगेले बोलेपछि बोल्यो बोल्यो’ भन्थे अरे, अहिले लगभग त्यस्तै भएको छ— ओलीको बोली, सिसाको गोली ! खसआर्यका मुख्तियार शर्मा ओलीको इच्छाशक्तिलाई पार्टीको विधानले बाँध्न सकिँदैन । नृजातीय मुख्तियारको सांस्कृतिक स्वीकार्यता कांग्रेस वा एमालेजस्ता ठूला खसआर्य वर्चस्वका राजनीतिक दलभन्दा पनि अग्लो हुने नै भयो । उनी त्यस्तो सामुदायिक वर्चस्वका सबभन्दा प्रखर रक्षक र प्रवर्द्धक जो छन् । राजनीतिक तवरमा अहिलेलाई शर्मा ओली नै एमाले र एमाले भनेको नै शर्मा ओली भन्न सकिन्छ । उनले
आफ्नो सांस्कृतिक–राजनीतिक पुँजी सानो दुःखले आर्जेका भने होइनन् । उनका माकाफुइँ एवं माखेसाङ्लो जस्ता एकताका खसआर्य जमातमा अत्यन्त लोकप्रिय बन्न पुगेका कतिपय अन्य होच्याउने खाले अभिव्यक्तिहरू असंवेदनशील नभएर वर्चस्वशाली समुदायको नृजातीय दम्भलाई पुनर्जागृत गर्नेगरी रणनीतिक तवरले प्रयोग गरिएका थिए ।
जन्मजात या प्राकृतिक रूपले चतुर, सशक्त र कहिलेकाहीँ छलकपटपूर्ण तरिकाले आफ्ना लक्ष्यहरू हासिल गर्ने क्षमतालाई स्वाभाविक चातुर्य (नेटिभ कनिङ) भनिन्छ । लामो जेलजीवनका कटु अनुभवहरूले गर्दा शर्मा ओलीको स्वाभाविक चातुर्य निखारिएको हो ।
नेपालका कारागारहरूको अवस्था अहिले पनि सायद खासै सुध्रिएको त छैन तर सन् १९९० पछि राजनीतिलाई आकर्षक व्यवसायका रूपमा अँगालेकाहरूले पञ्चायत व्यवस्था भनिने शाह राजाहरूको मुखै कानुन कालखण्डका ज्यादतीहरूको कल्पनासमेत गर्न सक्दैनन् । झापाली नक्सलपन्थका रुमानी योद्धा राधाकृष्ण मैनालीले पंक्तिबद्ध गरेका ‘नलेखिएको इतिहास’ पुस्तकमा शर्मा ओलीको अदम्य इच्छाशक्ति एवं उत्कट महत्त्वाकांक्षाका बारे चर्चा गरिएको छ ।
जस्तोसुकै विपरीत परिस्थितिमा पनि आफ्नो बाँच्ने चाहना जोगाउँदै छटपटिने व्यक्तिका लागि मैथिली भाषामा ‘कठजीव’ शब्द प्रयोग गर्ने गरिन्छ । कठजीव हुनुको अर्थ के हो भने, त्यस्तो व्यक्ति अत्यन्त स्वकेन्द्रित हुन पुग्दछ र आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्दछ ।
कठजीवका लागि सर्वोच्च नैतिकता भनेको आत्मप्रवर्द्धन हो । सहयोगी, सहकर्मी एवं सहयात्रीहरूको त के कुरा, आफ्नै परिवार, मित्र, प्रवर्द्धक एवं संरक्षक पनि स्वार्थसिद्ध गर्ने साधन मात्र हुन् । प्रत्येक व्यक्तिको इच्छा, उद्देश्य, मानव मर्यादा र व्यक्तिगत स्वायत्तता सम्मानयोग्य हुन्छ भन्ने सार्वजनिक नैतिकताको आधारभूत मान्यतालाई परित्याग नगरीकन अन्य कसैलाई आफ्नो लक्ष्य हासिल गर्ने औजारका रूपमा प्रयोग गर्न सकिँदैन । त्यसैले कठजीवहरू नैतिकतालाई बाधक ठान्दछन् ।
जेलको कठिन जीवन, किसिम किसिमका अपराधीहरूको संगत एवं कारागारका पहरेदारलगायत अन्य कर्मचारीहरूको उपेक्षापूर्ण व्यवहारले औसत बन्दीको मनस्थितिलाई नैतिक, अनैतिक वा निर्नैतिक (एमोरल) मध्ये जे पनि बनाउन सक्दछ । रंगभेदी दक्षिण अफ्रिकाको जेलमा खारिएर राजनीतिक कैदी नेल्सन मन्डेला नैतिकताको प्रतिमान भएर बाहिरिएका थिए । कडा अपराधीहरू अझ अनैतिक भएर निस्किन्छन् । कैदी मनस्थितिका अध्येताहरूका अनुसार जेलजीवनले अधिकांशलाई भावशून्य बनाउँछ र तिनको समानुभूति शक्ति अत्यन्त कमजोर बन्न पुग्दछ ।
दृढता, सहास र हिम्मतजस्ता व्यक्तिगत गुणहरूको प्रयोग त्यस्ता व्यक्तिहरू केवल आत्मरक्षा र आत्मप्रवर्द्धन गर्ने क्रियाकलापमा प्रयोग गर्न थाल्दछन् । नैतिकता–निरपेक्ष त्यस्ता गतिविधि नैतिक, अनैतिक वा निर्नैतिकमध्ये जस्तो पनि हुन सक्दछ । झापाली नक्सलपन्थीहरूको व्यक्तिहत्या अभियानमा संलग्नताबाट सुरु भएको शर्मा ओलीको राजनीतिक प्रक्षेपपथ हिंसक वा अहिंसक जेजस्तो रहेको भए तापनि नितान्त निर्नैतिक भने रहँदै आएको छ ।
बहुदलीय व्यवस्थाको पुनःस्थापनाका लागि गरिएको लामो आन्दोलनमा झापाली नक्सलपन्थीहरूको भूमिका रूपमा जेजस्तो भए पनि सारमा नकारात्मक थियो, त्यो किनभने मार्क्सवादी–लेनिनवादी भनिने त्यस बेलाका माओवादीहरू ‘सर्वहाराको अधिनायवाद’ स्थापनार्थ प्रतिबद्ध थिए । सर्वहाराको होस् वा सर्वनाशकको, अधिनायवाद र बहुदलीय व्यवस्था सँगसँगै जान सक्दैन । सन् १९८० को जनमत संग्रह बहिष्कार गरेर प्रकारान्तरले तत्कालीन माले भनिने समूहले शाही शासन व्यवस्थालाई सहयोग गरेको कुरा राजनीतिक इतिहासमा अंकित छ ।
नौथरी कम्युनिस्टहरूसँग मिलेर प्रजातान्त्रिक आन्दोलन गर्न नसकिने गणेशमानको कडा सर्तका कारण सन् १९८९–१९९० तिर अहिले एमाले भनेर चिनिने राजनीतिक उपक्रमको जन्म सम्भव भएको हो । आन्दोलन ताका सम्मानित कम्युनिस्ट अनुहार मनमोहन अधिकारी र साहना प्रधानजस्ता कर्मठ मार्क्सवादीहरूको भए पनि संयुक्त वाममोर्चाबाट एमाले नाम लिएर उम्रिएको दल भने ‘दुलोबाट निस्केर नेता’ भएकाहरूको नियन्त्रणमा पुग्न धेरै समय लागेको थिएन ।
सादा जीवन, भाषिक उत्कृष्टता, उत्तेजक तर परिष्कृत भाषण कला एवं चामत्कारिक व्यक्तित्वले गर्दा छोटो समयमा लोकप्रिय बन्न पुगेका मदन भण्डारी राजनीतिक नवप्रवर्तन गर्न पनि निपुण ठहरिएका थिए । उनको ‘जनताको बहुदलीय जनवाद’ अवधारणालाई कम्युनिस्ट लफ्फाजीमा सोझै संशोधनवाद भन्न मिल्छ । सोभियत संघको अन्तःस्फोट (इम्प्लोजन) एवं चीनमा देङ्गवादको प्रसारपछि सायद सनातनी कम्युनिस्ट विचारधाराको सान्दर्भिकता कमजोर हुँदै गइरहेको थियो ।
देशलाई एक दशकसम्म सशस्त्र संघर्षमा अल्झाएका पुष्पकमल दाहाल पनि अन्ततः ‘मदन भण्डारी पथ’ छेउछाउ नै आइपुग्नु संशोधनवादको समसामयिक सान्दर्भिकताको सबभन्दा बलियो प्रमाण हो । देशको स्थायी सत्ता र वैदेशिक शक्तिका पर्दा पछाडिका खेलहरू जेजस्ता रहेका भए पनि शर्मा ओलीको परिधीय राजनीतिक भूमिकालाई केन्द्रतिर तान्ने यश भन्ने मदन भण्डारीलाई दिइनुपर्छ । सेतो साडीबाट सुरु भएर सुनौलो परिधानसम्म पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जगजाहेर राजनीतिक प्रक्षेपपथ पनि ‘जनताको बहुदलीय जनवाद’ अवधारणाका परिकल्पनाकार मदन भण्डारीसँगै जोडिएको छ ।
एमालेको राजनीतिबाट दुई–दुई पटक राष्ट्रपति भएकी विद्यादेवी भण्डारी एवं चौथो पटक प्रधानमन्त्री भएका शर्मा ओलीको राजनीतिक भाग्योदय अप्रत्यक्ष रूपले भए पनि मदन भण्डारी र जीवराज आश्रितले ज्यान गुमाउनुपरेको दासढुंगा जिप दुर्घटनाका उपोत्पादहरू (बाइप्राडक्ट्स) हुन् । समानताको जतिसुकै गफ छाँटे पनि कम्युनिस्ट राजनीतिमा श्रेणीबद्धता र सोपानतन्त्रको ठूलो महत्त्व हुन्छ ।
मदन भण्डारीपछि एमालेभित्र हालीमुहाली भएका माधव नेपालले शर्मा ओलीलाई एक सदस्यीय दुर्घटना छानबिन समितिको जिम्मा दिएर उनको राजनीतिक कदलाई ह्वात्तै बढाइदिएका थिए । जस्तोसुकै प्रतिवेदन पनि विवादरहित रहन सक्दैन भन्ने कुरा बेलैमा ठम्याएका शर्मा ओलीले छानबिन राम्रैसँग गरे, निष्कर्ष भने सुनाएनन् । त्यसै दुर्घटनापछिको सहानुभूति लहरमा चढेर विद्यादेवी भण्डारी राष्ट्रिय राजनीतिको क्षितिजमा देखा परिन् ।
मदन भण्डारीको असामयिक एवं अप्राकृतिक अवसानका यी दुई राजनीतिक लाभग्राहीहरू केही समययता सम्भाव्य प्रतिस्पर्धी भएर देखा पर्न थालेका छन् । बाहिरबाट हेर्दा एमालेभित्र भावी नेतृत्वको सवाल त्यस दलको आन्तरिक मुद्दा भए पनि ओली–भण्डारी प्रकरणको निर्क्यौलले भावी राजनीतिको गति, दिशा र नियतिलाई पनि प्रभावित गर्न सक्ने सम्भावना छ ।
नैतिकताको आधारभूमि
चाहना प्रबल तर भेट्टाइने सम्भावना कम रहेको कुराबारे चर्चा गरेर रमाउनु मानवीय प्रवृत्ति हो । सत्ता राजनीतिको खेलमा जालझेल जहाँसुकै पनि स्वाभाविक मानिन्छ र नेपाल त्यस मामिलामा अपवाद होइन । नृजातीय वर्चस्व, बहुसंख्यकवादी दम्भ, आफन्तवादी व्यवहार एवं चाकर पुँजीवाद शाह–राणा अधिनायकवाददेखि गणतन्त्रसम्म नेपालको शासकीय चरित्र रहँदै आएको छ । सामान्यजनलाई अधिकारसम्पन्न बनाउने सबैजसो संघर्षहरू अन्ततः सम्झौतावाद, समर्पणवाद एवं पलायवाद हुँदै भाग्यवादमा टुंगिने गरेको कुरा नांगै आँखाले देख्न सकिन्छ, आदर्शवादको चस्मा लगाउनु पर्दैन । खोजी भने राजनीतिमा नैतिकताको हुन्छ ।
प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सार्वजनिक मञ्चबाट पदासीन राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भनेर होच्याउन नहच्किने राजनीतिकर्मी पदीय मर्यादाको कुरा गर्न अलिकति पनि अप्ठ्यारो मान्दैनन् । र, चाकरीमा राजनीतिक भविष्य, लेनदेनमा आर्थिक हित र नृजातीयतामा सांस्कृतिक उच्चता देख्नेहरू राजनीतिकर्मीसँग नैतिकता, व्यापारीसँग इमानदारी एवं राष्ट्रवादीसँग देशप्रेमको अपेक्षा राख्दछन् । आडम्बर र पाखण्ड सुस्तरी सामान्यजनसम्मको चरित्र बन्दै गएको त्यतिकै होइन ।
परिभाषिक स्पष्टता बेगर नैतिकताजस्तो अमूर्त विषयको खोजी सम्भव छैन । नैतिकताको उद्देश्य लगभग स्वतः स्पष्ट छ— न्याय र शान्ति सुनिश्चित गर्नका लागि व्यक्तिगत उन्नयन एवं सामाजिक सद्भाव प्रवर्द्धनका लागि गर्नुपर्ने, गर्न हुने र गर्न नहुने व्यवहारको निरूपण व्यक्तिगत छनोटको विषय भए पनि समाजमा व्याप्त मूल्य र मान्यताले त्यसलाई असर भने गर्छ । कानुनभित्र रहेर गरिएका सही र गलत आचरणलाई परम्परा वा चलनका आधारमा मात्र अनैतिक ठहर्याउनुको अर्थ छैन ।
व्यावहारिक नीतिशास्त्रका अध्येताहरू सद्गुण (भर्च्यु), उपादेयता (युटिलटी), नतिजा (कान्सक्वेन्स) र व्यावहारिकता (प्रैग्मटिज्म) जस्ता मानकका आधारमा कर्म वा आचरणको नैतिकता निर्धारण गर्न सुझाउँछन् । आदर्शवादीहरूका अनुसार सत्यनिष्ठा, इमानदारी, न्यायप्रियता, दयाभाव, सहानुभूति, समानुभूति, आत्म–नियन्त्रण र कर्तव्यपारायणता नैतिकताका केही मापदण्डहरू हुन् । धर्मगुरुहरूले शुचिती, सन्तोष, स्वाध्याय, तप र शुभकर्म एवं ईश्वरीय विधानप्रति पूर्ण विश्वासलाई नैतिकताका पाँच निर्देशक सिद्धान्त ठहर्याएका छन् । नेपाली राजनीतिमा अत्यधिक प्रभाव रहेका मूलतः दुई विचारधारा— बाहुनवाद र कम्युनिज्म— मध्ये कुनै पनि आस्था राजनीतिक नैतिकतालाई बढावा दिने किसिमको छैन ।
हुन त जुनसुकै धर्म र सम्प्रदाय अन्धविश्वासको जगमा नै अडेको हुन्छ तर जन्मजात उच–निचलाई संस्थागत गरेर उर्ध्वगामी सांस्कृतिक–सामाजिक गतिशीलता (अप्वर्ड सोसियोकल्चरल मोबिलिटी) निषेध गरेको बाहुनवादलाई यथास्थितिवादी, न्यायविरोधी र त्यसर्थ निर्नैतिक भन्न धक मान्नु पर्दैन । हिन्दुत्व राजनीति र पारम्परिक ‘नेपाली राष्ट्रवाद’ का प्रवर्द्धकहरूको भूस्वर्गमा जन्मजात असमानता, शासितहरूको अधीनता, शासकको अतार्किकता, असंवेदनशीलता, नृजातीय श्रेष्ठतामा आधारित अप्रजातान्त्रिक चरित्र, शारीरिक श्रमको अवमूल्यन र पूजापाठको अधिमूल्यन, अतीतमोह, साम्प्रदायिक वैमनस्य एवं जातीय पितृसत्ता स्वाभाविक ठहरिन्छ ।
बाहुनवादभन्दा पनि एक सिँढी तल ओर्लेर कम्युनिस्टहरू नैतिकतालाई हाकाहाकी ‘शक्तिशालीका लागि पर्दा र कमजोरका लागि पासो’ भन्दै बुर्जुवा नैतिकताको पाखण्ड च्यातेर क्रान्तिको आँधी ल्याउनुपर्ने हाँक दिन्छन् । समग्रमा भन्नुपर्दा समसामयिक नेपाली समाजमा ‘नैतिकताको बजार’ उपलब्ध छैन । शाह–राणा हुँदै बाहुनवादी तथा नक्कली कम्युनिस्टहरूको शासनले सफा राजनीतिक अभ्यासको आधारभूमि नै बन्न दिएको छैन । सामान्यजन भने स्वच्छ राजनीतिको सपनालाई औंल्याएर सफल राजनीतिकर्मीहरूलाई होच्याउँछन् र आफ्नो घाउ कोट्याएर आफैं आनन्द लिन्छन् ।
स्वैरकल्पनाको संसार
सोभियत संघको अन्तःस्फोटपछि अस्तित्वमा आएका देशहरूको सामाजिक स्थिति अध्ययन गर्नेहरूले तिनमा एउटा गजबको समानता भेट्टाउने गरेका छन्— त्यस्ता सबै समाजमा ‘फैन्टसी’ व्याप्त हुने रहेछ । वैकल्पिक यथार्थको आभास दिने स्वैरकल्पना शब्दले फैन्टसी संज्ञाको शक्तिलाई समेट्न सक्दैन, सायद त्यसैले नेपाली शब्दकोषले पनि ‘फेन्टासी’ अभिव्यक्तिलाई अप्रत्यक्ष स्वीकार्यता प्रदान गरेको छ । चारैतिरको अव्यवस्था असहनीय बन्दै गएपछि व्यक्तिको पहिलो प्रतिक्रिया परिस्थिति बदल्न तम्सिनु हो ।
बारम्बार असफलता हात लागेपछि निराश व्यक्ति भाग्न खोज्छ । दिनहुँ दुई हजारभन्दा बढी नेपालीहरूले बिदेसिने विकल्प रोज्नु स्वाभाविक होइन, राज्य व्यवस्थाको असफलता त्यस यथार्थसँग नछुट्टिने गरी जोडिएको छ । यथार्थबाट भागेर सबैले त्राण भने पाउँदैनन् । अरब गएकाहरूमाथि मिटरब्याजीको ऋण तिर्ने दबाब हुन्छ । अस्ट्रेलिया र अमेरिका पुगेकाहरू कम आर्थिक हैसियत हुँदा पनि स्वदेशमा कायम रहेको रबाफ सम्झिँदै विकसित देशभित्र आफ्नो निस्सारता देखेर छट्पटिन्छन् ।
देशभित्रै छुटेकाहरू व्यक्तिगत असफलता, सामाजिक कमीकमजोरी र आर्थिक सुस्ततीको दोष वैदेशिक षड्यन्त्र, बिचौलियाहरूको चलखेल र राजनीतिकर्मीहरूको स्वार्थमाथि थुपारेर क्षणिक आनन्द लिन चाहन्छन् । नवस्वतन्त्र एवं धरमर प्रजातन्त्र कायम रहेका देशहरूमा शर्मा ओलीजस्ता व्यवहारवादी राजनीतिकर्मीहरूले स्वैरकल्पनालाई राजनीतिक परिचालनको औजार त्यतिकै बनाएका होइनन् ।
हिमालपारि रेल, हरेक चुलोमा ग्यास, हरेक खेतमा पानी, सडकको सञ्जाल, खोज्न बाँकी युरेनियम खानी एवं विद्युत् निर्यात गरेर धनी हुने सपनाको सम्भावना सामान्यजनले नबुझेका होइनन् । तर बाँच्नलाई केही न केही स्वप्निल नै भए पनि आधार त चाहिन्छ । उर्दूको एउटा प्रसिद्ध शेर छ— ‘हम को मालूम है जन्नत की हकीकत लेकिन / दिल के खुश रखने को ‘गालिब’ ये ख्याल अच्छा है ।’
अन्य देशजस्तै नेपाल पनि ढुंगा–माटोमै अडेको हो । तर यो ‘सुनको टुक्रा’ हो भन्ने फैन्टसीले यथार्थलाई स्वीकार गर्नुको साटो सत्येतर तथ्य र वैकल्पिक वास्तविकतामा रमाउन सिकाउँछ । घुमाउरो तवरले आजीवन एमाले अध्यक्ष रहने महत्त्वाकांक्षा दर्साइसकेका शर्मा ओलीलाई थाहा छ— उनको सर्वोच्चतालाई चुनौती दिन सक्ने व्यक्ति अहिले समानान्तर प्रक्षेपपथबाट राजनीतिको शीर्षमा पुगेकी विद्यादेवी भण्डारी मात्रै हुन् ।
बुर्जुवा राजनीतिक नैतिकताअनुसार विद्यादेवी भण्डारी पितृसत्ताका लागि चुनौती हुन् । कम्युनिस्ट नैतिकताले किनाराकृत राजनीतिकर्मीलाई मूलधारमा फर्किने अनुमति दिँदैन । त्यसपछि बाँकी रह्यो कुरा राजनीतिक मर्यादाको— ‘राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको र परमाधिपति भइसकेको’ व्यक्तिमा कुनै एउटा दलभित्रको प्रतिस्पर्धामा उत्रिने चाहना पलाउनु ‘स्वाभाविक रूपले अस्वाभाविक’ लाग्न सक्छ ।
सशस्त्र होस् वा शान्तिपूर्ण, संक्रान्तिकालको राजनीति (ट्रैन्जिसनल पालटिक्स) शालीनता एवं शिष्टाचारका स्थापित नियमहरू उल्लंघन गरेरै अगाडि बढ्ने गर्दछ । सन् २०१५ को संविधानले संक्रान्तिकाललाई मन्थर गरेर लम्ब्याएको मात्रै हो, शताब्दीयौंदेखि थाती रहेका राष्ट्र निर्माणका विवादहरूको तथ्यपरक र तर्कसंगत निरूपण गरेको भने होइन । शर्मा ओली आज जहाँ छन्, उनी बाटोभरि मूल्य, मान्यता, नैतिकता, शिष्टता र मर्यादाका सीमाहरू उल्लंघन गर्दै त्यहाँसम्म पुगेका हुन् ।
उनले राजनीतिक नैतिकता वा शासकीय मर्यादाको कुरा गर्नु कसौँडीले कित्लीलाई कालो भनेजस्तो मात्रै ठहरन्छ । समसामयिक त्रासदी के हो भने, एमाले नेतृत्वको सिक्का चित्त र पटमध्ये जता पल्टिए पनि राष्ट्रिय राजनीतिमा गुणात्मक परिवर्तनको सम्भावना शून्य नै नभए पनि साह्रै न्यून छ— आकाशमा बादल नै छैन भने चाँदीको घेरा कताबाट देखिनु ! स्वैरकल्पनाको आनन्द होइन, यथार्थसँग साक्षात्कार गरेर मात्र परिस्थिति परिवर्तन गर्ने इच्छाशक्ति संकलित गर्न सकिनेछ । शर्मा ओलीले आफ्नो जेल अनुभव पंक्तिबद्ध गरेर नेपाली समाजको रूपान्तरणमा योगदान पुर्याउने सम्भावना भने कायम छ । उनका उखानटुक्का र उपदेश अब पट्यारलाग्दा भइसकेका छन् ।
