राजनीतिक मर्यादाको स्वैरकल्पना

ओली आज जहाँ छन्, उनी बाटोभरि मूल्य, मान्यता, नैतिकता, शिष्टता र मर्यादाका सीमाहरू उल्लंघन गर्दै त्यहाँसम्म पुगेका हुन्

श्रावण ७, २०८२

सीके लाल

Arbitrariness of political dignity

What you should know

अत्यन्त कठिन परिस्थितिबाट उम्किएर सत्ता राजनीतिको शीर्षमा पुगेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीमा तर्क र भावना मिसाएर श्रोतालाई लठ्ठ पार्ने गजबको क्षमता छ । तार्किक कुराका लागि अंग्रेजीमा ‘लाजिकल’ विशेषण प्रयोग हुन्छ । विपरीतार्थक शब्द हो, ‘इलाजिकल’ अर्थात् तर्कहीन दलिल । असंगत अडानलाई प्रायशः कुतर्कमा अडाउने गरिन्छ ।

शर्मा ओलीका कतिपय अभिव्यक्ति भने अनुलोम, विलोम वा प्रतिलोमभन्दा पनि उडाउने किसिमका हुन्छन् । सार्वजनिक बहसमा त्यस प्रकारका तर्कवितर्कका लागि नवप्रवर्तित ‘ओलियोलाजिकल’ अर्थात् ‘ओलीतार्किक’ शब्द प्रयोग गर्न सकिन्छ ।

भावार्थ हुन्छ, मूलतः आधारहीन अभिव्यक्ति तर वक्ताको व्यक्तित्वमा आधारित कर्णप्रिय शब्द प्रमाण । हालसालै उनले यस्तै एउटा ओलीतार्किक युक्ति प्रयोग गरेका छन्— ‘७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्छ । जेल बस्दा मैले १४ वर्ष काम गर्न पाइनँ ।’ 

जेल बसेका बेला काम गर्न नपाएको कुरा तार्किक लाग्छ । जेल बसेकाले नै उनको राजनीतिक व्यक्तित्व निर्माण भएको हो भन्ने यथार्थलाई हेर्ने हो भने, उनी तर्कहीन कुरा गरिरहेका छन् । आफ्नो महत्त्वाकांक्षाले गर्दा पार्टीद्वारा निश्चित उमेर हदको प्रावधानलाई परिवर्तन गर्न लगाउनु कुतर्कमा आधारित रणनीति हो । समग्रमा भने शर्मा ओलीको राजनीतिक पैँतराबाजीलाई ओलीतार्किक कार्यनीति भन्न सकिन्छ ।

कुनै बेला ‘जंगेले बोलेपछि बोल्यो बोल्यो’ भन्थे अरे, अहिले लगभग त्यस्तै भएको छ— ओलीको बोली, सिसाको गोली ! खसआर्यका मुख्तियार शर्मा ओलीको इच्छाशक्तिलाई पार्टीको विधानले बाँध्न सकिँदैन । नृजातीय मुख्तियारको सांस्कृतिक स्वीकार्यता कांग्रेस वा एमालेजस्ता ठूला खसआर्य वर्चस्वका राजनीतिक दलभन्दा पनि अग्लो हुने नै भयो । उनी त्यस्तो सामुदायिक वर्चस्वका सबभन्दा प्रखर रक्षक र प्रवर्द्धक जो छन् । राजनीतिक तवरमा अहिलेलाई शर्मा ओली नै एमाले र एमाले भनेको नै शर्मा ओली भन्न सकिन्छ । उनले 

आफ्नो सांस्कृतिक–राजनीतिक पुँजी सानो दुःखले आर्जेका भने होइनन् । उनका माकाफुइँ एवं माखेसाङ्लो जस्ता एकताका खसआर्य जमातमा अत्यन्त लोकप्रिय बन्न पुगेका कतिपय अन्य होच्याउने खाले अभिव्यक्तिहरू असंवेदनशील नभएर वर्चस्वशाली समुदायको नृजातीय दम्भलाई पुनर्जागृत गर्नेगरी रणनीतिक तवरले प्रयोग गरिएका थिए ।

जन्मजात या प्राकृतिक रूपले चतुर, सशक्त र कहिलेकाहीँ छलकपटपूर्ण तरिकाले आफ्ना लक्ष्यहरू हासिल गर्ने क्षमतालाई स्वाभाविक चातुर्य (नेटिभ कनिङ) भनिन्छ । लामो जेलजीवनका कटु अनुभवहरूले गर्दा शर्मा ओलीको स्वाभाविक चातुर्य निखारिएको हो ।

नेपालका कारागारहरूको अवस्था अहिले पनि सायद खासै सुध्रिएको त छैन तर सन् १९९० पछि राजनीतिलाई आकर्षक व्यवसायका रूपमा अँगालेकाहरूले पञ्चायत व्यवस्था भनिने शाह राजाहरूको मुखै कानुन कालखण्डका ज्यादतीहरूको कल्पनासमेत गर्न सक्दैनन् । झापाली नक्सलपन्थका रुमानी योद्धा राधाकृष्ण मैनालीले पंक्तिबद्ध गरेका ‘नलेखिएको इतिहास’ पुस्तकमा शर्मा ओलीको अदम्य इच्छाशक्ति एवं उत्कट महत्त्वाकांक्षाका बारे चर्चा गरिएको छ ।

जस्तोसुकै विपरीत परिस्थितिमा पनि आफ्नो बाँच्ने चाहना जोगाउँदै छटपटिने व्यक्तिका लागि मैथिली भाषामा ‘कठजीव’ शब्द प्रयोग गर्ने गरिन्छ । कठजीव हुनुको अर्थ के हो भने, त्यस्तो व्यक्ति अत्यन्त स्वकेन्द्रित हुन पुग्दछ र आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्दछ ।

कठजीवका लागि सर्वोच्च नैतिकता भनेको आत्मप्रवर्द्धन हो । सहयोगी, सहकर्मी एवं सहयात्रीहरूको त के कुरा, आफ्नै परिवार, मित्र, प्रवर्द्धक एवं संरक्षक पनि स्वार्थसिद्ध गर्ने साधन मात्र हुन् । प्रत्येक व्यक्तिको इच्छा, उद्देश्य, मानव मर्यादा र व्यक्तिगत स्वायत्तता सम्मानयोग्य हुन्छ भन्ने सार्वजनिक नैतिकताको आधारभूत मान्यतालाई परित्याग नगरीकन अन्य कसैलाई आफ्नो लक्ष्य हासिल गर्ने औजारका रूपमा प्रयोग गर्न सकिँदैन । त्यसैले कठजीवहरू नैतिकतालाई बाधक ठान्दछन् ।

जेलको कठिन जीवन, किसिम किसिमका अपराधीहरूको संगत एवं कारागारका पहरेदारलगायत अन्य कर्मचारीहरूको उपेक्षापूर्ण व्यवहारले औसत बन्दीको मनस्थितिलाई नैतिक, अनैतिक वा निर्नैतिक (एमोरल) मध्ये जे पनि बनाउन सक्दछ । रंगभेदी दक्षिण अफ्रिकाको जेलमा खारिएर राजनीतिक कैदी नेल्सन मन्डेला नैतिकताको प्रतिमान भएर बाहिरिएका थिए । कडा अपराधीहरू अझ अनैतिक भएर निस्किन्छन् । कैदी मनस्थितिका अध्येताहरूका अनुसार जेलजीवनले अधिकांशलाई भावशून्य बनाउँछ र तिनको समानुभूति शक्ति अत्यन्त कमजोर बन्न पुग्दछ ।

दृढता, सहास र हिम्मतजस्ता व्यक्तिगत गुणहरूको प्रयोग त्यस्ता व्यक्तिहरू केवल आत्मरक्षा र आत्मप्रवर्द्धन गर्ने क्रियाकलापमा प्रयोग गर्न थाल्दछन् । नैतिकता–निरपेक्ष त्यस्ता गतिविधि नैतिक, अनैतिक वा निर्नैतिकमध्ये जस्तो पनि हुन सक्दछ । झापाली नक्सलपन्थीहरूको व्यक्तिहत्या अभियानमा संलग्नताबाट सुरु भएको शर्मा ओलीको राजनीतिक प्रक्षेपपथ हिंसक वा अहिंसक जेजस्तो रहेको भए तापनि नितान्त निर्नैतिक भने रहँदै आएको छ ।

बहुदलीय व्यवस्थाको पुनःस्थापनाका लागि गरिएको लामो आन्दोलनमा झापाली नक्सलपन्थीहरूको भूमिका रूपमा जेजस्तो भए पनि सारमा नकारात्मक थियो, त्यो किनभने मार्क्सवादी–लेनिनवादी भनिने त्यस बेलाका माओवादीहरू ‘सर्वहाराको अधिनायवाद’ स्थापनार्थ प्रतिबद्ध थिए । सर्वहाराको होस् वा सर्वनाशकको, अधिनायवाद र बहुदलीय व्यवस्था सँगसँगै जान सक्दैन । सन् १९८० को जनमत संग्रह बहिष्कार गरेर प्रकारान्तरले तत्कालीन माले भनिने समूहले शाही शासन व्यवस्थालाई सहयोग गरेको कुरा राजनीतिक इतिहासमा अंकित छ ।

नौथरी कम्युनिस्टहरूसँग मिलेर प्रजातान्त्रिक आन्दोलन गर्न नसकिने गणेशमानको कडा सर्तका कारण सन् १९८९–१९९० तिर अहिले एमाले भनेर चिनिने राजनीतिक उपक्रमको जन्म सम्भव भएको हो । आन्दोलन ताका सम्मानित कम्युनिस्ट अनुहार मनमोहन अधिकारी र साहना प्रधानजस्ता कर्मठ मार्क्सवादीहरूको भए पनि संयुक्त वाममोर्चाबाट एमाले नाम लिएर उम्रिएको दल भने ‘दुलोबाट निस्केर नेता’ भएकाहरूको नियन्त्रणमा पुग्न धेरै समय लागेको थिएन ।

सादा जीवन, भाषिक उत्कृष्टता, उत्तेजक तर परिष्कृत भाषण कला एवं चामत्कारिक व्यक्तित्वले गर्दा छोटो समयमा लोकप्रिय बन्न पुगेका मदन भण्डारी राजनीतिक नवप्रवर्तन गर्न पनि निपुण ठहरिएका थिए । उनको ‘जनताको बहुदलीय जनवाद’ अवधारणालाई कम्युनिस्ट लफ्फाजीमा सोझै संशोधनवाद भन्न मिल्छ । सोभियत संघको अन्तःस्फोट (इम्प्लोजन) एवं चीनमा देङ्गवादको प्रसारपछि सायद सनातनी कम्युनिस्ट विचारधाराको सान्दर्भिकता कमजोर हुँदै गइरहेको थियो ।

देशलाई एक दशकसम्म सशस्त्र संघर्षमा अल्झाएका पुष्पकमल दाहाल पनि अन्ततः ‘मदन भण्डारी पथ’ छेउछाउ नै आइपुग्नु संशोधनवादको समसामयिक सान्दर्भिकताको सबभन्दा बलियो प्रमाण हो । देशको स्थायी सत्ता र वैदेशिक शक्तिका पर्दा पछाडिका खेलहरू जेजस्ता रहेका भए पनि शर्मा ओलीको परिधीय राजनीतिक भूमिकालाई केन्द्रतिर तान्ने यश भन्ने मदन भण्डारीलाई दिइनुपर्छ । सेतो साडीबाट सुरु भएर सुनौलो परिधानसम्म पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जगजाहेर राजनीतिक प्रक्षेपपथ पनि ‘जनताको बहुदलीय जनवाद’ अवधारणाका परिकल्पनाकार मदन भण्डारीसँगै जोडिएको छ । 

एमालेको राजनीतिबाट दुई–दुई पटक राष्ट्रपति भएकी विद्यादेवी भण्डारी एवं चौथो पटक प्रधानमन्त्री भएका शर्मा ओलीको राजनीतिक भाग्योदय अप्रत्यक्ष रूपले भए पनि मदन भण्डारी र जीवराज आश्रितले ज्यान गुमाउनुपरेको दासढुंगा जिप दुर्घटनाका उपोत्पादहरू (बाइप्राडक्ट्स) हुन् । समानताको जतिसुकै गफ छाँटे पनि कम्युनिस्ट राजनीतिमा श्रेणीबद्धता र सोपानतन्त्रको ठूलो महत्त्व हुन्छ ।

मदन भण्डारीपछि एमालेभित्र हालीमुहाली भएका माधव नेपालले शर्मा ओलीलाई एक सदस्यीय दुर्घटना छानबिन समितिको जिम्मा दिएर उनको राजनीतिक कदलाई ह्वात्तै बढाइदिएका थिए । जस्तोसुकै प्रतिवेदन पनि विवादरहित रहन सक्दैन भन्ने कुरा बेलैमा ठम्याएका शर्मा ओलीले छानबिन राम्रैसँग गरे, निष्कर्ष भने सुनाएनन् । त्यसै दुर्घटनापछिको सहानुभूति लहरमा चढेर विद्यादेवी भण्डारी राष्ट्रिय राजनीतिको क्षितिजमा देखा परिन् ।

मदन भण्डारीको असामयिक एवं अप्राकृतिक अवसानका यी दुई राजनीतिक लाभग्राहीहरू केही समययता सम्भाव्य प्रतिस्पर्धी भएर देखा पर्न थालेका छन् । बाहिरबाट हेर्दा एमालेभित्र भावी नेतृत्वको सवाल त्यस दलको आन्तरिक मुद्दा भए पनि ओली–भण्डारी प्रकरणको निर्क्यौलले भावी राजनीतिको गति, दिशा र नियतिलाई पनि प्रभावित गर्न सक्ने सम्भावना छ ।

नैतिकताको आधारभूमि

चाहना प्रबल तर भेट्टाइने सम्भावना कम रहेको कुराबारे चर्चा गरेर रमाउनु मानवीय प्रवृत्ति हो । सत्ता राजनीतिको खेलमा जालझेल जहाँसुकै पनि स्वाभाविक मानिन्छ र नेपाल त्यस मामिलामा अपवाद होइन । नृजातीय वर्चस्व, बहुसंख्यकवादी दम्भ, आफन्तवादी व्यवहार एवं चाकर पुँजीवाद शाह–राणा अधिनायकवाददेखि गणतन्त्रसम्म नेपालको शासकीय चरित्र रहँदै आएको छ । सामान्यजनलाई अधिकारसम्पन्न बनाउने सबैजसो संघर्षहरू अन्ततः सम्झौतावाद, समर्पणवाद एवं पलायवाद हुँदै भाग्यवादमा टुंगिने गरेको कुरा नांगै आँखाले देख्न सकिन्छ, आदर्शवादको चस्मा लगाउनु पर्दैन । खोजी भने राजनीतिमा नैतिकताको हुन्छ ।

प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सार्वजनिक मञ्चबाट पदासीन राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भनेर होच्याउन नहच्किने राजनीतिकर्मी पदीय मर्यादाको कुरा गर्न अलिकति पनि अप्ठ्यारो मान्दैनन् । र, चाकरीमा राजनीतिक भविष्य, लेनदेनमा आर्थिक हित र नृजातीयतामा सांस्कृतिक उच्चता देख्नेहरू राजनीतिकर्मीसँग नैतिकता, व्यापारीसँग इमानदारी एवं राष्ट्रवादीसँग देशप्रेमको अपेक्षा राख्दछन् । आडम्बर र पाखण्ड सुस्तरी सामान्यजनसम्मको चरित्र बन्दै गएको त्यतिकै होइन ।

परिभाषिक स्पष्टता बेगर नैतिकताजस्तो अमूर्त विषयको खोजी सम्भव छैन । नैतिकताको उद्देश्य लगभग स्वतः स्पष्ट छ— न्याय र शान्ति सुनिश्चित गर्नका लागि व्यक्तिगत उन्नयन एवं सामाजिक सद्भाव प्रवर्द्धनका लागि गर्नुपर्ने, गर्न हुने र गर्न नहुने व्यवहारको निरूपण व्यक्तिगत छनोटको विषय भए पनि समाजमा व्याप्त मूल्य र मान्यताले त्यसलाई असर भने गर्छ । कानुनभित्र रहेर गरिएका सही र गलत आचरणलाई परम्परा वा चलनका आधारमा मात्र अनैतिक ठहर्‍याउनुको अर्थ छैन ।

व्यावहारिक नीतिशास्त्रका अध्येताहरू सद्गुण (भर्च्यु), उपादेयता (युटिलटी), नतिजा (कान्सक्वेन्स) र व्यावहारिकता (प्रैग्मटिज्म) जस्ता मानकका आधारमा कर्म वा आचरणको नैतिकता निर्धारण गर्न सुझाउँछन् । आदर्शवादीहरूका अनुसार सत्यनिष्ठा, इमानदारी, न्यायप्रियता, दयाभाव, सहानुभूति, समानुभूति, आत्म–नियन्त्रण र कर्तव्यपारायणता नैतिकताका केही मापदण्डहरू हुन् । धर्मगुरुहरूले शुचिती, सन्तोष, स्वाध्याय, तप र शुभकर्म एवं ईश्वरीय विधानप्रति पूर्ण विश्वासलाई नैतिकताका पाँच निर्देशक सिद्धान्त ठहर्‍याएका छन् । नेपाली राजनीतिमा अत्यधिक प्रभाव रहेका मूलतः दुई विचारधारा— बाहुनवाद र कम्युनिज्म— मध्ये कुनै पनि आस्था राजनीतिक नैतिकतालाई बढावा दिने किसिमको छैन ।

हुन त जुनसुकै धर्म र सम्प्रदाय अन्धविश्वासको जगमा नै अडेको हुन्छ तर जन्मजात उच–निचलाई संस्थागत गरेर उर्ध्वगामी सांस्कृतिक–सामाजिक गतिशीलता (अप्वर्ड सोसियोकल्चरल मोबिलिटी) निषेध गरेको बाहुनवादलाई यथास्थितिवादी, न्यायविरोधी र त्यसर्थ निर्नैतिक भन्न धक मान्नु पर्दैन । हिन्दुत्व राजनीति र पारम्परिक ‘नेपाली राष्ट्रवाद’ का प्रवर्द्धकहरूको भूस्वर्गमा जन्मजात असमानता, शासितहरूको अधीनता, शासकको अतार्किकता, असंवेदनशीलता, नृजातीय श्रेष्ठतामा आधारित अप्रजातान्त्रिक चरित्र, शारीरिक श्रमको अवमूल्यन र पूजापाठको अधिमूल्यन, अतीतमोह, साम्प्रदायिक वैमनस्य एवं जातीय पितृसत्ता स्वाभाविक ठहरिन्छ ।

बाहुनवादभन्दा पनि एक सिँढी तल ओर्लेर कम्युनिस्टहरू नैतिकतालाई हाकाहाकी ‘शक्तिशालीका लागि पर्दा र कमजोरका लागि पासो’ भन्दै बुर्जुवा नैतिकताको पाखण्ड च्यातेर क्रान्तिको आँधी ल्याउनुपर्ने हाँक दिन्छन् । समग्रमा भन्नुपर्दा समसामयिक नेपाली समाजमा ‘नैतिकताको बजार’ उपलब्ध छैन । शाह–राणा हुँदै बाहुनवादी तथा नक्कली कम्युनिस्टहरूको शासनले सफा राजनीतिक अभ्यासको आधारभूमि नै बन्न दिएको छैन । सामान्यजन भने स्वच्छ राजनीतिको सपनालाई औंल्याएर सफल राजनीतिकर्मीहरूलाई होच्याउँछन् र आफ्नो घाउ कोट्याएर आफैं आनन्द लिन्छन् ।

स्वैरकल्पनाको संसार

सोभियत संघको अन्तःस्फोटपछि अस्तित्वमा आएका देशहरूको सामाजिक स्थिति अध्ययन गर्नेहरूले तिनमा एउटा गजबको समानता भेट्टाउने गरेका छन्— त्यस्ता सबै समाजमा ‘फैन्टसी’ व्याप्त हुने रहेछ । वैकल्पिक यथार्थको आभास दिने स्वैरकल्पना शब्दले फैन्टसी संज्ञाको शक्तिलाई समेट्न सक्दैन, सायद त्यसैले नेपाली शब्दकोषले पनि ‘फेन्टासी’ अभिव्यक्तिलाई अप्रत्यक्ष स्वीकार्यता प्रदान गरेको छ । चारैतिरको अव्यवस्था असहनीय बन्दै गएपछि व्यक्तिको पहिलो प्रतिक्रिया परिस्थिति बदल्न तम्सिनु हो ।

बारम्बार असफलता हात लागेपछि निराश व्यक्ति भाग्न खोज्छ । दिनहुँ दुई हजारभन्दा बढी नेपालीहरूले बिदेसिने विकल्प रोज्नु स्वाभाविक होइन, राज्य व्यवस्थाको असफलता त्यस यथार्थसँग नछुट्टिने गरी जोडिएको छ । यथार्थबाट भागेर सबैले त्राण भने पाउँदैनन् । अरब गएकाहरूमाथि मिटरब्याजीको ऋण तिर्ने दबाब हुन्छ । अस्ट्रेलिया र अमेरिका पुगेकाहरू कम आर्थिक हैसियत हुँदा पनि स्वदेशमा कायम रहेको रबाफ सम्झिँदै विकसित देशभित्र आफ्नो निस्सारता देखेर छट्पटिन्छन् ।

देशभित्रै छुटेकाहरू व्यक्तिगत असफलता, सामाजिक कमीकमजोरी र आर्थिक सुस्ततीको दोष वैदेशिक षड्यन्त्र, बिचौलियाहरूको चलखेल र राजनीतिकर्मीहरूको स्वार्थमाथि थुपारेर क्षणिक आनन्द लिन चाहन्छन् । नवस्वतन्त्र एवं धरमर प्रजातन्त्र कायम रहेका देशहरूमा शर्मा ओलीजस्ता व्यवहारवादी राजनीतिकर्मीहरूले स्वैरकल्पनालाई राजनीतिक परिचालनको औजार त्यतिकै बनाएका होइनन् ।

हिमालपारि रेल, हरेक चुलोमा ग्यास, हरेक खेतमा पानी, सडकको सञ्जाल, खोज्न बाँकी युरेनियम खानी एवं विद्युत् निर्यात गरेर धनी हुने सपनाको सम्भावना सामान्यजनले नबुझेका होइनन् । तर बाँच्नलाई केही न केही स्वप्निल नै भए पनि आधार त चाहिन्छ । उर्दूको एउटा प्रसिद्ध शेर छ— ‘हम को मालूम है जन्नत की हकीकत लेकिन / दिल के खुश रखने को ‘गालिब’ ये ख्याल अच्छा है ।’

अन्य देशजस्तै नेपाल पनि ढुंगा–माटोमै अडेको हो । तर यो ‘सुनको टुक्रा’ हो भन्ने फैन्टसीले यथार्थलाई स्वीकार गर्नुको साटो सत्येतर तथ्य र वैकल्पिक वास्तविकतामा रमाउन सिकाउँछ । घुमाउरो तवरले आजीवन एमाले अध्यक्ष रहने महत्त्वाकांक्षा दर्साइसकेका शर्मा ओलीलाई थाहा छ— उनको सर्वोच्चतालाई चुनौती दिन सक्ने व्यक्ति अहिले समानान्तर प्रक्षेपपथबाट राजनीतिको शीर्षमा पुगेकी विद्यादेवी भण्डारी मात्रै हुन् ।

बुर्जुवा राजनीतिक नैतिकताअनुसार विद्यादेवी भण्डारी पितृसत्ताका लागि चुनौती हुन् । कम्युनिस्ट नैतिकताले किनाराकृत राजनीतिकर्मीलाई मूलधारमा फर्किने अनुमति दिँदैन । त्यसपछि बाँकी रह्यो कुरा राजनीतिक मर्यादाको— ‘राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको र परमाधिपति भइसकेको’ व्यक्तिमा कुनै एउटा दलभित्रको प्रतिस्पर्धामा उत्रिने चाहना पलाउनु ‘स्वाभाविक रूपले अस्वाभाविक’ लाग्न सक्छ ।

सशस्त्र होस् वा शान्तिपूर्ण, संक्रान्तिकालको राजनीति (ट्रैन्जिसनल पालटिक्स) शालीनता एवं शिष्टाचारका स्थापित नियमहरू उल्लंघन गरेरै अगाडि बढ्ने गर्दछ । सन् २०१५ को संविधानले संक्रान्तिकाललाई मन्थर गरेर लम्ब्याएको मात्रै हो, शताब्दीयौंदेखि थाती रहेका राष्ट्र निर्माणका विवादहरूको तथ्यपरक र तर्कसंगत निरूपण गरेको भने होइन । शर्मा ओली आज जहाँ छन्, उनी बाटोभरि मूल्य, मान्यता, नैतिकता, शिष्टता र मर्यादाका सीमाहरू उल्लंघन गर्दै त्यहाँसम्म पुगेका हुन् ।

उनले राजनीतिक नैतिकता वा शासकीय मर्यादाको कुरा गर्नु कसौँडीले कित्लीलाई कालो भनेजस्तो मात्रै ठहरन्छ । समसामयिक त्रासदी के हो भने, एमाले नेतृत्वको सिक्का चित्त र पटमध्ये जता पल्टिए पनि राष्ट्रिय राजनीतिमा गुणात्मक परिवर्तनको सम्भावना शून्य नै नभए पनि साह्रै न्यून छ— आकाशमा बादल नै छैन भने चाँदीको घेरा कताबाट देखिनु ! स्वैरकल्पनाको आनन्द होइन, यथार्थसँग साक्षात्कार गरेर मात्र परिस्थिति परिवर्तन गर्ने इच्छाशक्ति संकलित गर्न सकिनेछ । शर्मा ओलीले आफ्नो जेल अनुभव पंक्तिबद्ध गरेर नेपाली समाजको रूपान्तरणमा योगदान पुर्‍याउने सम्भावना भने कायम छ । उनका उखानटुक्का र उपदेश अब पट्यारलाग्दा भइसकेका छन् ।

सीके राजनीतिक विश्लेषक लाल कान्तिपुरका नियमित स्तम्भकार हुन् । उनकाे नेपालीय हुनलाई‍‍ ..., ह्युमन राइट्स, डेमोक्रेसी एण्ड गभर्न्यान्स लगायतका पुस्तक प्रकाशित छन् । कान्तिपुरका अलवा विभिन्न प्राज्ञिक जर्नल तथा पुस्तकमा उनका लेखहरु प्रकाशित छन् ।

Link copied successfully