बीपीले कोरेको समाजवादी गोरेटो

बीपीले जीवन दर्शनलाई पनि राम्रोसँग बुझेका थिए । साहित्यमा उनले जीवन भन्ने दर्शन दिएका छन् ।

श्रावण ६, २०८२

डिला संग्रौला

Socialist goreto drawn by BP

What you should know

बीपी कोइरालाले भनेका छन्, ‘समाजवाद एक जीवन पद्धति हो... ।’ यो एउटा सरल वाक्यांश हो । तर जति सरल यो छ त्यति नै यसको परिभाषालाई जटिल बनाइएको छ । हामीले यसलाई आमनागरिकको जीवन पद्धतिमा एक हिस्सा कायम गर्न बीपीले कोरेको ‘समाजवादी गोरेटो’ लाई अब ‘राजमार्ग’ बनाउनैपर्छ । र, त्यसको औचित्यपूर्ण गन्तव्यमा पुग्नका लागि प्रजातान्त्रिक समाजवादबाट मात्रै सम्भव छ । 

सबैभन्दा पहिले त समाजवाद भनेको पुँजीवाद होइन । समाजवाद त एउटा राजनीतिक दर्शन मात्रै होइन, त्यो एउटा मानवीय आदर्श हो । जहाँ सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा मानवीय समानता हुन्छ, बीपीले भनेको समाजवाद त्यही हो ।

बीपीले भनेका छन्, ‘समाजवाद भविष्यको लहर हो भन्ने हामीलाई लाग्छ ।...आज समाजवादको आकर्षणको केन्द्रबिन्दु युरोपबाट हटेर तेस्रो विश्वमा पुगेको छ, जहाँ समाजवाद जीवनको एउटा प्रेरणादायी आदर्श र विकासको नमुनाका रूपमा सान्दर्भिक बनेको छ । यदि नेपालको कुनै भविष्य छ भने बाँच्ने एउटैमात्र उपाय त्यही हो । समाजवादका मुख्य दुइटा पाटा छन्– राजनीतिक स्तरमा प्रजातन्त्र र आर्थिक क्षेत्रमा गरिब जनतालाई न्याय दिने विकास । यी दुई पक्षबिना गरिबी उन्मूलन गर्छु भन्नु र राजनीतिक स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव कथा हाल्नु बराबर हो । यो केवल आदर्शको प्रश्न अथवा जीवनको उत्कृष्ट मूल्यमा विश्वास राख्ने प्रश्न मात्र होइन, यो जीवनमरणको प्रश्न हो ।’

बीपीले परिकल्पना गरेको एउटा आदर्श परिवारको बिम्ब थियो, जहाँ हल गोरु हुन्छन्, दुहुना गाई हुन्छन् । जसले आफ्ना छोराछोरीलाई शिक्षा आर्जन गराउन विद्यालय पठाउन सक्छन् । वास्तविक समाजवादको एउटा पूर्ण चित्र त्यही परिवारको जीवन पद्धति हो । आज हामीले नयाँ पुस्तामाथि जसरी समाजवाद, समाजवादको रटान लगाइरहेका छौं, त्यसले यी कलिला मस्तिष्कमा राजनीतिक जडतामात्रै होइन बरु थप अलमल मात्रै थुप्य्राउन मद्दत गर्छ । तसर्थ समाजवाद भनेको सिधा भाषामा जनताको जीवन पद्धति हो, हामीले चाहेको समाजवाद भनेको त्यही जीवन पद्धतिको स्तरोन्नति हो ।

नेपाली राजनीतिक इतिहासका एक ‘दुर्लभ’ अनि अजर र अमर पात्रले जन्माएको सिद्धान्त हो– समाजवाद । र, यही ‘समाजवाद’ नै नेपाली कांग्रेसको जीवनबुटी पनि हो । यतिमात्रै होइन, समाजवाद आज हरेक राजनीतिक दल चाहे त्यो कम्युनिस्ट होस् वा प्रजातान्त्रिक चाहे र त्यो मझधारको नै किन नहोस्– हरेक राजनीतिक दर्शनको एउटा सिद्धान्त नै बनेको छ । बीपी आफैंमा एक पूर्ण राजनीतिक विचार, दर्शन र चिन्तनका प्रतिबिम्ब पनि हुन् । बीपीको यही प्रजातान्त्रिक समाजवाद नेपाली कांग्रेसको मूल आदर्शका रूपमा वि.सं. २०१२ मा पार्टीको महाधिवेशनले पारित गरेको थियो । 

२०१५ सालपछि कांग्रेस सत्तामा रहँदाको छोटो अवधिमा अपनाइएका कतिपय नीति कार्यक्रममा समाजवादी दर्शन प्रतिबिम्बित भइसकेका थिए । नेपालकै प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीले २०१६ जेठ १ देखि २०१७ पुस १ सम्म जम्मा १८ महिना शासनसत्ता सम्हालेको समयमा मुलुकका लागि आर्थिक, राजनीतिक, कूटनीतिक लगायतका क्षेत्रमा महत्त्वपूर्ण जग बसालेर समाजवादको बाटोमा देशलाई हिँडाउने प्रयास गरे । आफूले बाँचेको जीवनका ६८ वर्षमध्ये बीपीले १३ वर्ष नेपालका जेलमै बिताए । ४ वर्ष भारतका जेलमा कोचिनुपर्‍यो । देश निकाला भएको कोइराला परिवार प्रवासमै रहँदा जन्मिएका बीपी कोइरालाले २००७ सालदेखि २०१७ सालसम्म १० वर्ष र २०३३ देखि २०३९ सालसम्मको ६ वर्ष गरी जम्मा १६ वर्षमात्रै देशभित्र खुला जीवन बिताउन पाएका थिए । 

जीवनमा सबै मान्छे सबै ठाउँमा सफल हुँदैनन् । बीपी पनि एक मानव थिए, भगवान् होइन । राजनीतिक रूपमा, व्यक्तिगत जीवनमा मानिस कहीँ न कहीँ असफल हुन्छ नै । तर त्यो भनेको सम्पूर्ण रूपमा उसको जीवन बेकार भने होइन । बीपीले जीवन दर्शनलाई पनि राम्रोसँग बुझेका थिए । साहित्यमा उनले जीवन भन्ने दर्शन दिएका छन् । समाजको बिम्बलाई साहित्य सिर्जनाका हर अक्षरमा कुँदेका छन् । त्यसैले बीपी अनेक रूपमा बाँचेका छन् । 

नेपालमा आर्थिक मन्दी र रोजगारीको अभावमा ठूलो संख्यामा युवा विदेश पलायन भइरहेका छन् । वार्षिक रूपमा ५ लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि बिदेसिन्छन् । बीपीको समाजवादी नीतिले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न जोड दिन्छ ।

बीपी स्मृति दिवस केवल सम्झना गर्ने दिन मात्र होइन, यो उनको विचार र सिद्धान्तलाई पुनर्जागृत गर्ने अवसर पनि हो । उनको प्रजातान्त्रिक समाजवाद, मेलमिलापको नीति र राष्ट्रिय एकताको दर्शनले आजको नेपालमा सामाजिक न्याय, समावेशी विकास र कूटनीतिक सन्तुलन कायम गर्न मार्गदर्शन गर्न सक्छ । जलवायु परिवर्तन, आर्थिक मन्दी, युवा पलायन र डिजिटल विभाजनजस्ता समसामयिक चुनौतीलाई समाधान गर्न बीपीको विचारले नयाँ दृष्टिकोण र प्रेरणा प्रदान गर्छ । 

यो स्मृति दिवसमा, हामीले बीपीको आदर्शलाई आत्मसात् गर्दै समृद्ध, समावेशी र एकताबद्ध नेपालको निर्माणमा योगदान दिनुपर्छ । उनको विचारलाई व्यवहारमा उतारेर हामी सामाजिक न्याय, आर्थिक समानता र राष्ट्रिय एकताको सपना साकार गर्न सक्छौं । बीपी स्मृति दिवसको अवसरमा हामी सबैले उनको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसात् गरी नेपाललाई समृद्ध र समावेशी भविष्यतर्फ अघि बढाउने संकल्प गरौं ।

डिला प्रतिनिधिसभाकी पूर्वसदस्य डिला संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।

Link copied successfully