खुलेका उद्योग र सिर्जना भएका रोजगारीले दिने सन्देश

उद्योग दर्ता र सञ्चालनमा अझै सुधार ल्याउनका लागि सरकारले आफ्ना विद्यमान नीतिमा थप लचिलो बन्नुपर्छ । दर्ता प्रक्रियाका झन्झट अन्त्य, करमा एकद्वार प्रणाली विकास, जमिन–यातायात तथा विद्युत् जस्ता पक्षमा सुविधा वृद्धिमा प्रोत्साहित हुने कार्यक्रम ल्याउन सकिन्छ 

श्रावण ५, २०८२

सम्पादकीय

The message of open industries and created jobs

What you should know

मुलुकमा आर्थिक शिथिलता छाइरहेको, लगानीको वातावरण नै नभएको, रोजगारीका लागि सबै युवा विदेशिइरहेको भन्ने भाष्य बलियो बनिरहँदा यहाँ खुल्ने एक/एक उद्योगधन्दाले सकारात्मक वातावरण निर्माणमा सहयोग पुर्‍याउँछ ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा देशभर साना, मझौला र ठूला गरी ५ सय ८१ उद्योग दर्ता भएको र २५ हजार ६ सय ३७ ले रोजगारी पाएको राष्ट्र बैंकको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनले देखाएको छ ।

उद्योग र रोजगारीको यस संख्याले हाम्रो आवश्यकता र अपेक्षाको पूर्ण सम्बोधन गर्न सक्दैन । तर, यो देशमा केही नै भइरहेको छैन भन्ने तर्कलाई भने खारेज गर्न र निराशालाई चिर्न धेरथोर योगदान भने पुर्‍याउँछ । नागरिक, परिवार, समाज र राज्यले पाउने लाभको बृहत् पाटो पनि छँदै छ ।

त्यसैले सरकारको नीति लगानीकर्तालाई अझै बढी प्रेरणा दिने र प्रोत्साहित गर्ने खालको हुनुपर्छ । दर्तादेखि सञ्चालनमा सहजीकरण गर्नुपर्छ । दर्ता भएका उद्योग यथाशीघ्र सञ्चालनमा आउने र सञ्चालनमा आइसकेका टिकिरहने राजनीतिक, सामाजिक र आर्थिक वातावरण बनाउनु दायित्व राज्यको हो ।

दर्ता भएका ५ सय ८१ उद्योगको कुल पुँजी १ खर्ब २९ अर्ब ६३ करोड छ । कुल स्थिर पुँजी १ खर्ब १२ अर्ब २५ करोड रुपैयाँ रहेका उद्योगहरूको चालु पुँजी १७ अर्ब ३८ करोड रुपैयाँ छ । ती उद्योगमा कुल प्रस्तावित विदेशी लगानी ३५ अर्ब ८० करोड रुपैयाँ रहेको राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ । यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा धेरै ४ सय ४३ उद्योग दर्ता भएका छन् ।

लुम्बिनीमा २५, कोशी, मधेश र गण्डकीमा १९/१९ र सुदूरपश्चिम ६ वटा उद्योग मात्र दर्ता भएका छन् । कर्णालीमा भने कुनै पनि उद्योग दर्ता भएका छैनन् । उद्योगको संख्याअनुसार रोजगारी सिर्जनाको अवस्था पनि बागमतीमा सबैभन्दा धेरै २० हजार ८७ जना छ ।

त्यस्तै, कोशीमा १ हजार ३०, मधेशमा १ हजार ५ सय ४०, गण्डकीमा ५ सय २२, लुम्बिनीमा २ हजार १ सय ४१ र सुदूरपश्चिम प्रदेशमा ३ सय १५ जनाले रोजगारी पाएका छन् । तथ्यांकले उद्योग दर्तामा प्रदेशगत अनुपात नमिलेको देखिन्छ । उद्योगीले भौगोलिक सहजता, विकासका पूर्वाधार, दक्ष कामदारको सहज उपलब्धता, सुरक्षा, लगानीको प्रतिफल सुनिश्चित हुने बलियो सम्भावनालाई केलाएर उद्योग दर्ता र सञ्चालनको ठाउँ रोज्न सक्छन् ।

आ–आफ्नो प्रदेशमा लगानीका लागि उद्योगीलाई आकर्षित गर्ने, विभिन्न सुविधा घोषणा गर्ने, राजनीतिक–आर्थिक वातावरण बनाउने काम सोही प्रदेशको हो । यसमा प्रदेशहरूले गृहकार्य गर्न आवश्यक देखिन्छ ।

उद्योग खुल्नु कुनै पनि देशका लागि अनेकौं पक्षबाट लाभदायी हुन्छ । यसबाट लगानीकर्ताको पुँजी परिचालन वा सदुपयोग हुन पुग्छ । उद्योगसँगै उत्पादन बढ्ने भएकाले देशको कुल गार्हस्थ्य उत्पादनमा बढोत्तरी ल्याउँछ । उद्योगको स्थापनासँगै रोजगारी सिर्जना हुन्छ ।

यसले मुख्यतः जनताको जीवनस्तरमा सुधार ल्याउँछ । शिक्षा तथा स्वास्थ्यमा पहुँच बढ्छ । रोजगारीकै लागि विदेश जानुपर्ने बाध्यतामा न्यूनीकरण ल्याउँछ । बेरोजगारी बढ्दा व्यक्त हुन सक्ने राजनीतिक–सामाजिक असन्तुष्टि, विग्रह र विद्रोहलाई टार्दै लैजान्छ ।

आर्थिक उपार्जन सुनिश्चित भएको समाजमा सिर्जनशीलता र उत्पादकत्व पनि स्वतः वृद्धि हुन्छ । राज्यले पनि उद्योगहरूबाट विभिन्न किसिमका कर प्राप्त गर्न सक्छ । जसले उसको खर्च गर्ने क्षमतामा वृद्धि हुन्छ । त्यसबाट अन्ततः नागरिकको सामाजिक सुरक्षाका कार्यक्रम र विकास निर्माणमा पहुँच वृद्धि हुन्छ । निर्यात बढेसँगै आयात प्रतिस्थापन हुने, अर्थतन्त्रमा आत्मनिर्भरता बन्दै जाने, व्यापार घाटामा कमी आउने र अन्तर्राष्ट्रिय समुदायमाझ राज्यको आत्मविश्वास पनि बढ्दै जाने हुन्छ ।

उद्योगीले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझै फैलाउन मद्दत पुग्छ । जसले प्रत्यक्ष रोजगारी नपाएका समूहलाई लाभ दिलाउँछ । आन्तरिक लगानी बढ्दै गएमा, उनीहरूले निर्बाध सञ्चालन हुने स्थिति बनेमा, बाह्य लगानीका लागि सकारात्मक माहोल बन्छ ।

त्यसले देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउँछ । आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा दर्ता भएका ५ सय ८१ उद्योगले नै यो स्थिति ल्याउँछन् वा ल्याए भन्ने होइन । राजनीतिक–आर्थिक नेतृत्व उद्योगधन्दाको स्थापना र सञ्चालनमा गम्भीर बने  मुलुकको बहुपक्षीय लाभ भने सुनिश्चित छ ।

उद्योग दर्ता र सञ्चालनमा अझै सुधार ल्याउनका लागि सरकारले आफ्ना विद्यमान नीतिमा थप लचिलो बन्नुपर्छ । दर्ता प्रक्रियाका झन्झट अन्त्य, करमा एकद्वार प्रणाली विकास, जमिन–यातायात तथा विद्युत् जस्ता पक्षमा सुविधा वृद्धिमा प्रोत्साहित हुने कार्यक्रम ल्याउन सकिन्छ । दर्ता मात्रै होइन, सञ्चालनमा रहेका उद्योगको निरन्तरताका लागि पनि कार्यक्रम आवश्यक छ ।

विभिन्न अप्ठ्यारो झेल्न नसकेर कैयौं उद्योग बन्द पनि भएका छन् । उनीहरूलाई टिक्न सक्ने आत्मबल विकास गर्न राज्यले नै अभिभावकत्व दिनुपर्छ । जो चलेका छन्, ती पूर्ण रूपमा चल्न सक्ने पूर्वाधार र वातावरण बनाउनु पनि अपरिहार्य छ । किनकि, गत आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालभरका उद्योगको औसत क्षमता उपयोग ४१.११ प्रतिशत छ ।

यसले हामीले सुधार गर्नुपर्ने अन्य पाटोलाई पनि उजागर गर्छ । निष्कर्षमा, उद्योग दर्ता गर्न प्रोत्साहित गर्ने, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार निर्माणलाई तीव्रता दिने, उद्योग पूर्ण क्षमतामा चल्ने स्थिति बनाउने र औद्योगिक उत्पादन वृद्धि गर्नेतर्फ सरोकारवाला सबैको ध्यान केन्द्रित हुनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully