What you should know
नयाँ–नयाँ प्रविधिको विकासले मानव जीवनका विभिन्न आयामलाई सहज बनाएको छ । जीवनशैलीमा परिवर्तन ल्याएको छ । प्रविधिको विकाससँगसँगै रेडियो, टेलिफोन, टीभी, कम्प्युटर, इन्टरनेट, मोबाइल फोन, आइप्याड, प्ले स्टेसन तथा अत्याधुनिक ग्याजेटको उपयोग बढ्न थालेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स एआईको विकास र क्रान्तिसँगै यसको प्रयोग पनि अत्यधिक बढेको छ । यस्ता प्रविधिको उपयोगिताले व्यक्ति तथा समाजको बहुआयामिक विकास हुनुका साथै विश्व नै एउटा गाउँ (विश्वग्राम) मा रूपान्तरण भएको छ ।
मोबाइल फोन तथा इन्टरनेटको माध्यमबाट अहिले सामाजिक सञ्जालको प्रयोग गरी विश्वको जुनसुकै कुनाबाट पनि तत्काल खबर आदानप्रदान गर्न सकिन्छ । अनलाइनबाटै सपिङ, अनलाइन बैंकिङ, बिल भुक्तानी, सवारी साधनको प्रयोगको सहजता तथा छनोटका अवसर पनि विस्तार भएका छन् ।
सामाजिक सञ्जालको प्रयोगमार्फत व्यक्तिले अनलाइनबाटै विभिन्न विषयको अध्ययन गरी ज्ञान तथा सीप हासिल गरेका छन् । विद्यालय तथा विश्वविद्यालय स्तरको शैक्षिक अध्ययन पनि बिहान–बेलुका अनलाइनबाटै गर्ने र दिउँसो कुनै पेसामा आबद्ध भएर रोजगारीलाई निरन्तता दिने गरेका उदाहरण पनि प्रशस्तै छन् । त्यस्तै, फेसबुक, टिकटक वा इन्स्टाग्राम लगायतका प्लाटफर्म प्रयोग गरी आफ्नो ज्ञान र सीप अनुकूलका सामग्री उत्पादन र वितरण गरी आफ्नो क्षमता देखाउन सफल भएका छन् । कतिपयले यिनै प्ल्याटफर्मलाई आफ्नो व्यवसाय प्रवर्द्धनको माध्यम पनि बनाएका छन् ।
यस्तो प्रविधिको बढी उपयोग भने कोभिड कालमा लकडाउन भई लामो समयसम्म मानिसहरू घरभित्रै बस्नुपर्ने अवस्था आएपछि बढ्न थालेको हो । त्यसताका विश्वभर नै शैक्षिक संस्था अनलाइनमार्फत सञ्चालन भए । विभिन्न सेवाप्रदायक कार्यालयले अनलाइनमार्फत नै सेवा दिन थाले । कोभिड कालपछि नै व्यक्तिले पनि सामाजिक सञ्जालका प्ल्याटफर्म प्रयोग गरी आफ्नो व्यापार विस्तार गर्ने ‘कन्टेन्ट क्रिएसन’ गरी आयआर्जन गर्न थालेका हुन् ।
मनका कुरा मेसिनबाट गराउने प्रविधि विकासको क्रान्तिले मनको एकाग्रतालाई पनि तरंगित बनाइदिएको छ । स–साना कुराबारे जान्नका लागि पनि एआईजस्ता प्रविधिमा निर्भर हुँदा व्यक्तिको मौलिक सिर्जना हराउँदै गएको छ । सामाजिक सञ्जालले व्यक्तिको सामाजिक सम्बन्ध प्रविधिमा सीमित गरिदिएको छ । व्यक्तिबीच भर्चुअल सम्बन्ध नजिकिए पनि भौतिक तथा भावनात्मक सम्बन्ध र निकटता भने छोट्टिएको छ ।
भाइरल हुने चक्करमा अनेक उपद्रव गरी सामाजिक विकृति फैलाउने पनि उत्तिकै छन् । दैनिक कामकाज थाती राखेर सामाजिक सञ्जालमा भिडियो हेरेर समय बर्बाद गर्ने र समय बर्बाद भएको अनुभूति नहुने प्रवृत्ति धेरै छ, जसले परिवारमा बेमेल भएका तथा समाजमा उपेक्षित भएका घटना पनि उत्तिकै सुनिन्छ ।
कतिपय किशोर अवस्थाका बालबालिका सामाजिक सञ्जाल प्रयोगको क्रममा नजानेर तथा प्रलोभनमा परेर व्यक्तिगत गोपनीयता भंग गर्ने र साइबर अपराधबाट पीडित हुने गरेका छन् । लामो समयसम्म मोबाइल, ग्याजेट तथा अत्याधुनिक प्रविधि चलाइरहँदा व्यक्तिको आँखामा असर पर्ने गरेको छ । वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतका अनुसार मोबाइल वा कम्प्युटरको स्क्रिनमा लगातार हेर्दा व्यक्तिको आँखा नझिम्कने हुँदा आँखा सुक्खा हुन गई आँखालाई तनाव हुने तथा हेर्न कठिनाइ आउने हुन्छ ।
पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या अत्यधिक बढ्दो छ । नेपालमा सक्रिय रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या १ करोड ४३ लाख अर्थात् कुल जनसंख्याको ४८.१ प्रतिशत रहेको डिजिटल गतिविधिबारे विश्वव्यापी तथ्यांक संकलन र विश्लेषण गर्दै आएको डेटा रिपोर्टको सन् २०२५ को अध्ययनले देखाएको छ ।
नेपाल सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न नयाँ नियम ल्याएको छ । सरकारले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ७९ बमोजिम सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको हो । सञ्जाल प्ल्याटफर्म सञ्चालकले प्रत्येक तीन वर्षमा इजाजतपत्रको नवीकरण गर्नुपर्ने र नेपालको कानुनविपरीतका विज्ञापन प्रयोगकर्ताकहाँ नआउने गरी ‘अल्गोरिदम’ विकास गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
जीवनका हरेक पक्षलाई सन्तुलित तवरले सञ्चालन गर्दै सामाजिक सञ्जाल प्रयोग गर्न आवश्यक छ । प्रविधिमा मात्र निर्भर नभएर आफ्नो मौलिक ज्ञान, सीप र क्षमताको उपयोग गरेर जीवनशैलीलाई अझै सशक्त र समृद्ध बनाउन सकिन्छ ।
