वामदेव एकीकृत समाजवादीमा एकताबद्ध हुँदा दुवै पक्षलाई के फाइदा ?

वामदेवको राजनीतिक यात्रा अन्योलग्रस्त थियो । कुनै बेलामा चर्चित नेताका निम्ति यो परिस्थिति साँच्चै दिग्दारलाग्दो भएको हुनुपर्छ तर राजनीतिको सही प्रक्षेपण गर्न चुकेका कैयौं नेताले यस्तो भोग्ने गर्छन् ।

असार २८, २०८२

किशोर दहाल

What is the benefit to both parties when the left is united in a unified socialist?

काठमाडौँ — नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता वामदेव गौतम अन्ततः एकीकृत समाजवादीमा एकताबद्ध हुने भएका छन् । शुक्रबार गौतम नेतृत्वको ‘नेकपा एकता राष्ट्रिय अभियान’ माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा एकताबद्ध हुने सहमति भएको हो ।

गौतम यसअघि पनि एकीकृत समाजवादीमा एकताबद्ध हुने तयारीमा थिए । गत माघसम्म भएको छलफलमा गौतमको वरीयतादेखि उनी पक्षबाट आउने नेताको पद व्यवस्थापनसम्मको छलफल अन्तिम चरणमा पुगेका थिए । तर माघ ४ मा ओलीले गौतमसँग संवाद गरे । त्यहीँ भएको सकारात्मक छलफलबाट गौतम एमालेमा एकताबद्ध हुन उत्साही भए । उनी अब दायाँबायाँ नहुने, एमालेमा जाने पक्का भइसकेको तथा नमरुन्जेल काम गर्न एमालेमा जान लागेको हुँ भन्न थाले । 

तर माघ ८ मा बसेको एमाले सचिवालय बैठकले ‘नेकपा एकता राष्ट्रिय अभियान’ सँग सहकार्य मात्रै गर्ने निर्णय लिएपछि गौतमको ‘स्पिड’मा ‘ब्रेक’ लागेको थियो । र ओलीले आफूसँग गरेको सकारात्मक संवाद एकीकृत समाजवादीमा प्रवेशलाई रोक्ने रणनीतिअन्तर्गत मात्रै रहेछ भन्ने उनले बुझे । त्यसपछि उनी पुनः एकीकृत समाजवादीसँगको संवादमा जोडिएका थिए । शुक्रबार त्यसले मूर्तरुप पाएको हो ।

साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति दुई पार्टीबीच भएको छ । राष्ट्रिय सभाका सदस्य समेत रहेका उनी अब एकीकृत समाजवादीको नेताको रुपमा पनि चिनिनेछन् । एकतासँगै पार्टी र स्वयं गौतमले केही उल्लेखनीय फाइदा लिन सक्नेछन् ।

एकीकृत समाजवादीलाई फाइदा

गौतम पुराना वामपन्थी नेता हुन् । नेकपाको तत्कालीन पुष्पलाल समूहमा रहेका जीवराज आश्रित, मदन भण्डारी, वामदेव गौतम, मोदनाथ प्रश्रित लगायतले २०३४ भदौमा झापाली आन्दोलनबाट विकसित कोकेसँग एकता गरेका थिए । यो पार्टी तत्कालीन कम्युनिस्ट आन्दोलनको एउटा मुख्य भँगालो भएको थियो । यसरी माले-एमाले पृष्ठभूमिका सबै शीर्ष नेतासँग गौतमले काम गरेका छन् । २०५४ मा एमाले विभाजन गरेर नेकपा मालेको नेतृत्व नै गरे । एमाले फर्किएपछि पनि उपाध्यक्षसम्म भएका छन् ।

पटकपटक सांसद र उपप्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बन्ने त उनको केही वर्षयताको मुख्य ध्येय नै हो । यसरी गौतम भित्रिएसँगै एकीकृत समाजवादीले पुराना र अनुभवी नेता पाउनेछ ।

एकीकृत समाजवादीमा पुराना नेताको अभाव त छैन तर विद्यमान कैयौं नेताभन्दा गौतमको सबल पक्ष हो- उनी पार्टी काममा खट्न सक्छन् । पार्टी काममा एकनिष्ट भएर लाग्न सक्छन् । त्यसबाट एकीकृत समाजवादीको संगठनात्मक गतिविधि थप चलायमान हुन सक्छ ।

२०७८ मा एमाले विभाजन गरी एकीकृत समाजवादी गठन भएको थियो । सुरुवातमा जे जति नेता कार्यकर्ता यस पार्टीमा लागेका थिए, ती विस्तारै एमालेतिरै फर्किँदै गएको पाइन्छ । पार्टी गठन हुँदा तेस्रो वरीयतामा रहेका मुकुन्द न्यौपाने समेत एमालेमै फर्किएका छन् । हुन त घनश्याम भुसाल जस्ता नेता एकीकृत समाजवादीमा प्रवेश गरे । त्यसले तत्कालीन समयमा तरंग पनि ल्याए पनि दीर्घकालीन हुन सक्दैनथ्यो, भएन ।

यतिबेला अनेकौं कारणले पार्टी सिथिल बन्दै गएको छ । अहिले झन् अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा नै दर्ता भएपछि पार्टीमाथि नै संकट थपिएको छ । त्यसैले एकीकृत समाजवादीले पुनः सकारात्मक तरंग खोजिरहेको छ । यस्तो बेलामा गौतमको आगमनले पार्टीलाई पुनः केही समय चर्चा दिलाउने छ । सकारात्मक घटनाद्वारा चर्चा पाउँदा पार्टीलाई फाइदा पुग्नेछ । अन्य नेतालाई पनि प्रवेश गराउन सहयोग पुग्नेछ ।

गौतम राष्ट्रिय सभा सदस्य समेत हुन् । तत्कालीन नेकपामा उपाध्यक्ष रहेकै बेलामा उनी मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । उनको कार्यकाल यही फागुनसम्म बाँकी छ । करिब साढे सात महिनाको बाँकी अवधिमा एकीकृत समाजवादीको एक सिट बढ्नेछ । अहिले राष्ट्रिय सभामा उसको आठ सिट छ, अब नौ हुनेछ ।

गौतमको आगमनले एकीकृत समाजवादीलाई चुनावमा पनि केही लाभ पुग्नेछ । गौतम स्वयं बलिया उम्मेदवार त हुनेछन् नै, समानुपातिकतर्फ पनि उनले योगदान पुर्‍याउनेछन् । एकीकृत समाजवादीका निम्ति केही हजार मत पनि महत्त्वपूर्ण रहेको २०७९ को निर्वाचनले पुष्टि गरिसकेको छ । त्यतिबेला प्रत्यक्षमा १० सिट जितेको यस पार्टीले समानुपातिकतर्फ तीन प्रतिशत ‘थ्रेस होल्ड’ कटाउन सकेको थिएन । त्यतिबेला समानुपातिकतर्फ एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको थियो । तीन प्रतिशत अर्थात् तीन लाख १६ हजार ८०२ मत पाउन नसक्दा यो पार्टी राष्ट्रिय दल बन्न सकेन । उसले दुई लाख ९८ हजार ३९१ मत मात्रै प्राप्त गरेको थियो । अर्थात् राष्ट्रिय दल बन्न १८ हजार ४११ मत अपुग भएको थियो ।

हुन त त्यतिबेला उसले पाएको मत र आगामी निर्वाचनमा उसले पाउने मतको अनुपात उस्तै नहुन सक्छ । तर थोरै मत पनि उसका निम्ति धेरै महत्त्वपूर्ण छ भन्नेचाहिँ प्रष्ट छ । त्यसका लागि गौतमको आगमनले सहयोग पुर्‍याउन सक्छ ।

गौतमलाई फाइदा

एमाले र माओवादी केन्द्रबीच २०७५ सालमा एकता भइ नेकपा गठन हुँदा सचिवालय सदस्य र २०७६ सालमा उपाध्यक्ष भएका उनी पार्टी विभाजनपछि भने एमालेबाट पनि बाहिरिएका थिए । २०७८ भदौ १८ मा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै राजीनामा बुझाएर पार्टी त्याग गरेका थिए । त्यसपछि उनले आफ्नै नेतृत्वमा ‘नेकपा एकता राष्ट्रिय अभियान’ सुरु गरे पनि अपेक्षाकृत सफलता पाउन सकेका थिएनन् । एमाले, माओवादी केन्द्र वा एकीकृत समाजवादीको मात्रै होइन, विगतमा उनी निकट भनेर चिनिएका नेता तथा कार्यकर्ताको पनि साथ पाउन सकेनन् । धेरै जसो एमाले वा एकीकृत समाजवादी प्रवेश गरेर आफ्नो राजनीतिक जीवनको सुरक्षा खोजेका थिए । त्यसैले उनको एकता अभियान एउटा औपचारिकतामा सीमित थियो । त्यसले कुनै पहल लिन सकेको पनि थिएन ।

गौतम स्वयं राजनीतिक रुपमा बरालिएका थिए, उनको राजनीतिक यात्रा पनि अन्योलग्रस्त थियो । कुनै बेलामा चर्चित नेताका निम्ति यो परिस्थिति साँच्चै दिग्दारलाग्दो भएको हुनुपर्छ तर राजनीतिको सही प्रक्षेपण गर्न चुकेका कैयौं नेताले यस्तो भोग्ने गर्छन् ।

गौतमलाई आफ्नो अभियान कतै नपुग्ने आभास भएदेखि नै कुनै न कुनै पार्टी प्रवेश गरिहाल्ने हतारो थियो । सुरुवातमा एमालेमै प्रवेश गर्ने प्रयत्न गरेका भए पनि उसले बेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने तयारी गरेका थिए । तर पछि ओली नै संवादमा रुचि राखेपछि उनी एमाले प्रवेशमा निम्ति तम्तयार भएका थिए । त्यो प्रक्रिया पनि अघि नबढेपछि उनी पुनः एकीकृत समाजवादीमै जोडिए ।

राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि उनको राजनीतिक जीवनको निरन्तरताबारे अन्योल देखिन्थ्यो । अब भने काम गर्नका लागि उनीसँग ठीकै आकारको पार्टी उपलब्ध हुनेछ । यसले उनको राजनीतिक सक्रियतालाई थप केही समयसम्मका लागि निरन्तरता दिनेछ ।

एकीकृत समाजवादीका नेताहरू उनका निम्ति नयाँ होइनन् । एमालेमै छँदा उनीहरूसँग उनले निकट भएर काम गरेका छन् । त्यसैले उनलाई यो पार्टीमा रहेर काम गर्न सहज नै हुनेछ । यससँगै उनको बरालिएको राजनीतिक दैनिकी अन्त्य हुनेछ ।

एकीकृत समाजवादी प्रवेश गरेसँगै उनी ठीकै आकारको पार्टीको उपल्लो तहकै नेता बन्नेछन् । अब उनले दिने अभिव्यक्तिले थप चर्चा पाउने र उनी स्वयं थप सुनिने नेतामा पर्न सक्छन् । त्यसले उनी स्वयंलाई पनि ‘रिचार्ज’ गर्नेछ ।

तर गौतम अस्थिर र महत्त्वाकांक्षी नेता पनि हुन् । उनको महत्त्वाकांक्षालाई व्यवस्थापन गर्न कठिन छ । अहिले एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपाल एमालेको महासचिव भएकै बेलामा २०५४ मा गौतमले एमाले विभाजन गरेर माले गठन गरेका थिए । त्यसको अनेकौं कारणमध्ये एक हो, २०५१ सालमा एमालेले अल्पमतको सरकार बनाउँदा अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री र महासचिव माधवकुमार नेपाल मन्त्री बनेपछि पार्टीको काम हेर्ने गरी गौतमलाई विधानमै नभएको उपमहासचिव पद सिर्जना गरेर जिम्मेवारी दिइनु र पछि उनको महत्त्वाकांक्षामा ठेस लाग्ने गरी सो पद खारेज गरिनु ।

तत्कालीन नेकपामा पनि विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गरेर जिम्मेवारी दिनुपरेको थियो । उनको सांसद बनिछाड्ने हुटहुटीलाई थेग्न नसकेर राष्ट्रिय सभा सदस्य बनाइएको थियो । एकीकृत समाजवादीमा एकताबद्ध भएपछि पनि उनले आफ्नो महत्त्वाकांक्षालाई शान्त बनाएर पार्टीको महत्त्वाकांक्षालाई मात्रै मलजल गर्लान् भनेर पत्याउन मुस्किल छ ।

त्यसो त उनी जबजका पक्षधर हुन् । उनले यसअघि नै एकीकृत समाजवादीले जबजलाई स्वीकार गरेर जानुपर्ने शर्त नै राख्ने गरेका थिए । तर जबजप्रति खासै रुचि नराख्ने एकीकृत समाजवादीमा पुगेपछि गौतमले यस विषयलाई चर्चामा नल्याउलान् भन्न सकिँदैन । त्यतिबेला पार्टीमा अर्को किचलो सिर्जना हुन सक्छ ।

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully