उथलपुथलको प्राणप्रतिष्ठा

राजनीतिक दैनिकीमा उथलपुथलको प्राणप्रतिष्ठा हुनै सकेन । जनजीवनमा परिवर्तनको प्राण पानीमा तेल तैरिए जस्तो तैरिरहेको छ, घुलेको छैन 

असार २८, २०८२

युग पाठक

The epitome of upheaval

काठमाडौँ — नेपाली राजनीति २०७९ को निर्वाचनदेखि नयाँ उथलपुथलमा प्रवेश गरेको धेरैको मान्यता छ । यसलाई दुई विशिष्ट परिघटनाबाट हेर्ने गरिन्छ । पहिलो, स्थानीय निर्वाचनबाट प्रकट भएका बालेन शाह र उनीजस्तै स्वतन्त्र उम्मेदवारहरू । दोस्रो, संघीय चुनावबाट भुल्भुलाएका रवि लामिछाने ।

त्यसयता राजनीतिमा उदाएका छन्, नयाँनयाँ पात्र, तर उदाएको छैन नयाँ राजनीतिक सोच । फस्टाएको छ, निराशाको खेती, तर हुर्किएको छैन आशाको एउटै बिरुवा । उसैगरी भाइरल छन् उत्ताउला आवाज, तर ‘फोकस’ मा छैनन् मकै र कपासका फूलहरू । गुमनाम छन् वास्तविक मुद्दा र उफानमा छन् रंगीन रिसका फगत बेलुनहरू ।

अर्थात् उथलपुथलको समकालीन व्याख्या नै संकटग्रस्त छ । उथलपुथलले केवल कुर्सीमा ज्यान फेर्दैन, बरु राज्य र समाजको चरित्रमा परिवर्तनको शंखघोष गर्छ । जीवनको एउटा नयाँ लय बनाउँदै त्यो अघि बढ्छ । हाम्रै इतिहासमा भएका तमाम उथलपुथलहरू त्यसका साक्षी छन् । त्यसो त चुनावी तडकभडकबाट मात्र कहाँ, कहिले पो परिवर्तनको नदी बगेको छ र ! तसर्थ राजनीतिक क्षयकै कुरा गर्ने हो भने पनि त्यसको प्राण पहिचान गर्नु मुख्य कुरा हो । समकालीन इतिहासमा त्यसको तराजु हुन सक्छ– माओवादी यात्रा–कथा ।

हो, ज्वालामुखी जस्तै नाभीबाट उम्लिएर आकाशसम्म लाभा उफार्दै त्यसबखत माओवादी काठमाडौं प्रवेश गरेको थियो । दुनियाँले उसको प्रकाश मात्र देखेको होइन, रापताप पनि महसुस गरेको थियो । समाज र राजनीतिकै तमाम एजेन्डा, भाषा र बहस उलटफेर गर्दै देशको केन्द्रीय सत्तामा मदानी जस्तो फनफनी घुम्न आइपुगेको माओवादी एउटा ‘फेनोमेना’ नै थियो । दस वर्ष (२०५२–६२) मा उर्ध्वचाप रचेर आएको त्यही माओवादी त्यसपछिका बीस वर्षमा खस्किँदै गयो । माओवादी स्वयंले आफ्ना दस्ताबेजमा स्वीकार गरेको तथ्य हो यो । इतिहास निर्मम हुन्छ भनेर नथाक्ने माओवादीले अन्ततः इतिहासको निर्मम पदचाप आफैं भोगिरहेको छ । 

छलाङको छल

क्रमभंग र छलाङको सिद्धान्तलाई जनयुद्धताका माओवादीले खुब व्याख्या गर्ने गरेको थियो । बितेका ३० वर्षमा जे जस्तो अर्थ र परिणाम बेहोर्नुपरे पनि उसले यो सिद्धान्तलाई परित्याग भने गरेको देखिन्न । फरक कुरा हो कि क्रमभंग गर्दागर्दै क्रम नै गुमाएर उसले कति सुरभंग गर्‍यो, कति मोहभंग रच्यो, कति आशाभंग तुल्यायो र आफैं गतिभंग भयो, त्यसको हिसाबकिताब उसकै पार्टीपंक्ति र नेपाली जनजीवनमा सुरक्षित छ ।

२०५२ सालमा जनयुद्धको उद्घोष गर्दा माओवादीको खासै चिनारी थिएन । तर नेपाली राजनीतिमा जनयुद्ध आफैंमा एउटा क्रमभंग थियो । त्यो क्रान्तिको नारा निरन्तर दिइरहेको तर कुनै ठोस पहल लिन नसकेको कम्युनिस्ट आन्दोलनमा पनि क्रमभंग थियो । सिद्धान्तले भन्छ– क्रमभंगले महाविपत्ति ल्याउँछ र त्यो पार लाएपछि छलाङ मारेर सफलताको अर्को चरणमा पुगिन्छ । सुरक्षा निकायमा सशस्त्र आक्रमण गरेर राज्यकै विरुद्ध विद्रोहमा उत्रिएपछि महाविपत्ति त आउने नै भयो ।

सैन्य रणनीतिका हिसाबले माओवादी एकपछि अर्को क्रमभंग र छलाङ रचना गर्न सफल भएकै थियो । सुरुमा प्रहरीसँग सिङ जुधाउन पुगेको माओवादी दस्ता क्रमशः सशस्त्र प्रहरी हुँदै तत्कालीन शाही सेनासँग भिड्न तम्सिने बेलासम्म छलाङ मार्दैमार्दै बलियो जनसेनाको स्वरूपमा विकसित भइसकेको थियो । शून्यबाट थालेर हासिल गरिएको यो सैन्य विकास अद्भुत नै लाग्थ्यो । यद्यपि तुलनात्मक रूपमा समाजमा अपरिचित माओवादीको अद्भुत विकास केवल सैन्य शक्तिका रूपमा मात्र थिएन । राजनीतिक छलाङको कथा पनि यससँगै जोडिएर आउँछ ।

ज्ञानेन्द्रको शाही कूपछि देशको राजनीतिक परिदृश्य बदलियो । मूलधारे दलहरू सडकमा आइपुगे । त्यसपछि माओवादी दलसँग संवादमा गए, २०६२–६३ को आन्दोलनमा भाग लिए र शान्ति प्रक्रियाको ढोका खोलेर मूलधारे राजनीतिमा पाइला राखे । सशस्त्र विद्रोहबाट ओर्लेर नियमित ढाँचाको राजनीतिमा आउँदा पनि उसले क्रमभंग गरेर छलाङ हानेको मान्न सकिन्थ्यो । किनभने ऊ केवल मूलधारे राजनीतिमा आएको थिएन, राज्यकै पुनःसंरचना गर्ने राजनीतिक सूत्रसहित मूलधारे राजनीतिको व्याकरण बदल्ने नयाँ मुहिममा होमिएको थियो । त्यसले इतिहासमै पहिलो पटक संविधानसभा रच्यो र राज्यको राजनीतिक चरित्रमै उथलपुथल ल्यायो ।

२०६४ को संविधानसभा निर्वाचनमार्फत सबैभन्दा ठूलो दल बन्नु, राजतन्त्र खारेज हुनु, यसका अध्यक्ष प्रचण्ड गणतन्त्रका प्रथम प्रधानमन्त्री बन्नु र मुलुकको राजनीतिक व्याकरण नै जनयुद्धका एजेन्डा वरिपरि बन्नु माओवादीको ऐतिहासिक उपलब्धि थिए । यहाँसम्म छलाङको धार रचनात्मक र तेज नै थियो । छलाङको छल त्यहाँ पर्‍यो जहाँ उसले शान्ति प्रक्रियामा आउँदा छलाङ हानेर कुन खुट्किलामा टेकेको थियो भन्ने कुरा स्पष्टसँग परिभाषित नै गर्न सकेन । अथवा गर्न चाहेन ! अथवा दोधारे कुराको घान हालेर छल गर्ने निधो गर्‍यो । जे गर्‍यो त्यसले छलाङको छलमा पारेर उसैको गति अवरुद्ध गरिदियो । त्यो दोधारको मोहनी नारा थियो– मुखमा संविधान, मनमा विद्रोह !

विद्रोहीको हैसियतमा दुई पटक सरकारसँग वार्ता गर्दा उसले अघि सारेको प्रमुख माग– संविधानसभा । सात दलसँग १२ बुँदे सम्झौता गर्दा टेकेको राजनीतिक कोसेढुंगा– संविधानसभा । राजनीतिको मूल प्रवाहमा आइसकेपछि छलाङ हानेको राजनीतिक रंगमञ्च– संविधानसभा । आफू उभिएको राजनीतिक धरातललाई नै ‘मुखमा रामराम’ ठान्ने त्यही छलले उसलाई विभाजन, विग्रह र मोहभंगको टापुमा हुत्याइदियो । कटवाल काण्डको बेमौसमी रहर त्यसैबाट उम्लियो र ६ दिने काठमाडौं घेर्ने हडतालको विसर्जनसँगै मनमा सजाएको विद्रोहको ज्वाला पनि हठात् सेलायो ।

छलाङको त्यो छल नै माओवादीलाई एक झक्झोरकारी आन्दोलनबाट एउटा नियमित पार्टीमा रूपान्तर गर्ने अन्तिम बिसौनी हुन पुग्यो । त्यसपछि थेग्रिएर जुन माओवादी बन्यो, त्यो आजको माओवादी हो । माओवादी केन्द्रको मात्र होइन, सबै माओवादी भंगालाहरूको कथा धेरथोर पार्थक्यसहित यही हो ।

माओवादी रङ

इतिहासमा त्यो घडी माओवादी एउटा पार्टी मात्र होइन, जताततै सर्ने रङ जस्तो थियो । कसैले प्रगतिशील एजेन्डाको पैरवी गर्‍यो कि माओवादी रङ लागिहाल्ने । आदिवासी, जनजाति, मधेशी, थारू आदि सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्वको मुद्दा उठाउने नागरिक अधिकारकर्मीलाई माओवादी रङ लाग्थ्यो । दलित, महिला तथा अल्पसंख्यक समुदायको राज्यका निकायमा समावेशी पहुँच हुनुपर्छ भन्ने कांग्रेसी भद्रजनहरूलाई पनि माओवादी रङ छ्यापिन्थ्यो । जनतालाई धार्मिक स्वतन्त्रता तर राज्य धर्मनिरपेक्ष हुनुपर्छ भन्ने एमालेजनमा समेत माओवादी रङ सर्‍यो भनिन्थ्यो । संघीयतामार्फत सिंहदरबारमा केन्द्रित राज्यलाई जनताको पहुँचमा पुर्‍याउनुपर्छ भन्ने बौद्धिकहरूलाई त झन् तुरुन्तै माओवादी करार गरिन्थ्यो ।

राज्यको परम्परागत संरचना बदल्ने मुद्दामा भीषण संघर्ष चलेका बेला थियो त्यो । संविधानसभाले संविधान जारी गर्न नसक्नु कुनै समयसीमाको प्राविधिक खेल थिएन, न त दोस्रो पटक संविधानसभाको निर्वाचन हुनु कुनै स्वाभाविक चुनावी संग्राम थियो । २०७० साल त्यसैले माओवादीका निम्ति दर्दनाक कोसेढुंगा बन्न पुग्यो । दोस्रो संविधानसभाको पराजयले उसको आत्मविश्वासमा त क्षति पुर्‍यायो नै, राज्यको चरित्र बदल्ने अभियानमा पनि ब्रेक लगाइदियो । बिस्तारै बिस्तारै माओवादी रङ घोटे पनि नलाग्ने हुँदै गयो ।

राजनीतिमा केवल प्रभावको हिसाब घातक हुन्छ, विचारको निरन्तर विकास नै यसको प्राण हो । माओवादी रङ कुनै शक्तिको पारितोषिक थिएन, त्यो त विचारको रङ थियो । त्यसैले त्यो जताततै सरिरहेको थियो । जब रङ सर्न छोड्यो, त्यसको स्पष्ट संकेत थियो– वैचारिक क्षय । रङ अरूतिर सर्न छाड्नु एउटा कुरा हुन्थ्यो, रङवाहकको देहबाट नै रङ उडेर जानु अर्कै कुरा भयो । यस प्रकार सुरु भएको आन्तरिक विस्फोटसँगै माओवादी परम्परागत राजनीतिको भालेजुधाइमा एक सकल भालेका रूपमा पदार्पण गर्न पुग्यो । आखिर माओवादी मात्र होइन, ऊसँगै परिवर्तनको प्रवाह नै किन अलमलियो ? राज्य र समाजका प्रत्येक तहमा भइरहेको शक्ति सन्तुलनको फेरबदल अचानक फिका कसरी भयो ? यो प्रश्नले हामीलाई आजको अलमल र द्विविधाको मुटुमा ल्याइपुर्‍याउँछ ।

उथलपुथलको प्राण

दुई दशकको रस्साकसीमा खस्किँदै गएको माओवादी अहिले अचानक मस्केको चर्चा छ । के माओवादी फेरि अचानक जुर्मुराएकै हो ? मस्केकै हो त ? कांग्रेस–एमाले गठबन्धनले सरकारबाट हटाइदिएपछि माओवादी जनतातिर फर्केको दाबी यसका नेताहरूले गरिरहेका छन् । के साँच्चै उसका अभिधा, लक्षणा र व्यञ्जना लाइनमा आएकै हुन् ? यसको परीक्षण पनि वैचारिक प्राणतत्त्वकै कसीमा हुन्छ ।

आफू मुद्दामा फर्किएको जनाउ दिन उसले विभिन्न जातीय, क्षेत्रीय, अल्पसंख्यक, दलित, महिलालगायतका मोर्चाहरूलाई बहुराउन थालेको छ । मधेशको धमनी मानिने हुलाकी राजमार्ग हुँदै मध्यपहाडी राजमार्गमा जागरण यात्रा चलाएर कार्यकर्ता र समर्थकलाई जगाउन खोजेको देखिन्छ । कुलमान घिसिङ विद्युत् प्राधिकरणबाट गलहत्याइएपछि कहिल्यै नपाएको लोडसेडिङ हटाएको जस पनि अचानक उसको पोल्टामा खसेको छ । भ्रष्टाचारका अनेक फाइल खोलेकै कारण सरकारबाट बाहिरिनुपरेको तर्क केही हदसम्म बिकेकै छ । दूरदराजका बाटाघाटामा प्रचण्डको मर्निङ वाक् पनि फोटोजेनिक नै देखिन्छ ।

परन्तु जनताको मनमस्तिष्कमा उठेका प्रश्नहरू फोटोजेनिक छैनन् । माओवादीले सामना गर्नुपर्ने मूल प्रश्न छ– सत्ताको रीतिथिति बदल्नुको साटो त्यसैको बर्को ओढेर तिमी किन हिँड्यौ ? कांग्रेस, एमालेलगायतका दलहरू पनि राज्य पुनःसंरचनाका सारथि थिए, उनीहरूलाई पनि प्रश्नले लखेटिरहेकै छन् । तर पछिल्लो उथलपुथलको मूल निर्धारक भएको नाताले ‘चुनाव–चाल–सरकार’ को बाघचालमा दुर्व्यसनी हुने छुट माओवादीलाई थिएन र छैन । दाबी हुन सक्छ– गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक सबै हामीले ल्यायौं । सत्य हो, तर यो सत्यको व्यावहारिक निरूपण पछिल्ला दशकमा कसरी गरियो ?

जसरी कुनै ईश्वरलाई मूर्तिमा जागृत गराउन प्राणप्रतिष्ठा गरिन्छ, त्यसैगरी सत्तामा नयाँ चरित्र जागृत गराउन परिवर्तनको प्राणप्रतिष्ठा हुनुपर्छ । प्रचण्डलाई लागेको छ– हामी त फरक हौं, क्रान्ति ल्याएर आएका हौं, किन हामीलाई पुराना नेता र पार्टीसँग दाँज्ने ? किनभने सत्ताको चरित्रमा परिवर्तनको प्राणप्रतिष्ठा भएकै छैन । राजनीतिक दैनिकीमा उथलपुथलको प्राणप्रतिष्ठा हुनै सकेन । जनजीवनमा परिवर्तनको प्राण पानीमा तेल तैरिए जस्तो तैरिरहेको छ, घुलेको छैन । त्यसैले धेरैथोक हुँदा पनि केही नभए जस्तो, अग्लाअग्ला धरहरा र भ्यु टावरहरूका फेदमा जनता झनै होचो भए जस्तो स्थितिले राज्यका संस्थापक शक्तिहरूलाई डोलायमान बनाइरहेछन् ।

परिवर्तनको प्राणप्रतिष्ठा भएको भए समानुपातिक/समावेशी कोटाबाट जिम्मेवारीमा पुगेकाले त्यसलाई निजी सफलता ठान्ने थिएनन् । पद दिलाउने मालिकको होइन, त्यो कोटा जन्माउन रगतको कोटा चुक्ता गर्नेहरूको अनुहार सम्झने थिए । संसद्देखि अनेकन् आयोगको पदमा पुगेका महिला, आदिवासी, जनजाति, मधेशी, दलित, थारू, अल्पसंख्यक सबै सबै सत्ताको चरित्र बदल्ने लडाइँ दिनहुँ लडिरहेका हुन्थे । पितृसत्तामा पिसिएका महिलाको जीवन बदल्न ती महिला लागिरहेका हुन्थे । दलितलाई जात व्यवस्थाको चक्रव्यूहबाट निकाल्न दलित प्रतिनिधिहरू धावा बोलिरहेका हुन्थे । आदिवासी/जनजाति, मधेशी, थारूलगायतका प्रतिनिधिले तत्तत् जनताको शिर उठाउन भिडिरहेका हुन्थे । कर्मचारी, प्रहरी, सेना, विद्यालय, विश्वविद्यालय जहाँजहाँ समावेशी कोटाबाट पुगेका छन् युवाहरू, तिनले फगत जागिर खाइरहेका हुन्थेनन्, आफ्नो संस्थाको चरित्र जनहितकारी बनाउने अभियान छेडिरहेका हुन्थे ।

यो सूची संविधानजत्तिकै लामो हुन सक्छ । तर यहाँ कुरो उथलपुथलको छ, प्राणप्रतिष्ठाको छ र छ, राज्यलाई जनताको सारथि बनाउने लडाइँको । माओवादी खस्किन छाडेर मस्किन लागेको हो भने उसले सबैभन्दा पहिला यो सत्यलाई आत्मसात् गर्नुपर्छ । अरू पार्टी पनि सत्ताको बाघचालबाट निस्केर जनताको मन पढ्ने रुचि राख्छन् भने झनै राम्रो । अन्यथा, उनीहरूले परिवर्तनको प्राणप्रतिष्ठा गर्नुपर्ने बेला छलछाम गर्ने जुन धृष्टता गरिरहेका छन्, त्यसको उत्तर जनतासँग तयार छ ।

निष्कर्ष

मान्छे वैचारिक प्राणी हो । विचारले उसको व्यक्तित्व, अनि समाज र राज्यको चरित्र निर्धारण गर्छ । बनाउँछ र चलाउँछ पनि विचारले, उथलपुथल ल्याउँछ पनि विचारले । केही वर्षयता ‘देश बनाउने’ हावादारी कुरा जुन चलिरहेको छ, त्यो उथलपुथल होइन, फगत चुनाव जितेर शक्ति हत्याउने ठुटे लालसा मात्रै हो । तथापि यो लालसा अहिले भाइरल छ । यही मेसोमा कांग्रेस, एमाले र माओवादीका प्रमुख नेतालाई सराप्ने, देश बिगारेको दोषको ऐनामा केवल तीन अनुहार टाँस्ने र यी तिनै पार्टीलाई ‘पुरानो’ करार गर्दै ‘मिसन ८४’ बाट समाप्त गरिदिने हुँकार पनि भाइरल छ । यसैमा थपिएको छ, एउटा उल्लेख्य बौद्धिक जमात नै निराशावादी भाष्यमा चुर्लुम्म डुबेको आश्चर्यजनक परिदृश्य । 

कालो बादलमा चाँदीको घेरा खोज्न पनि आजको मितिमा हिम्मत चाहिन्छ । किनभने सत्यको पनि सत्यापन आफैं हुँदैन । इतिहासको गतिमा तथ्य र तर्कको कसी लगाएर, सबैभन्दा महत्त्वपूर्ण त विचारको आरनमा तिखारेर मात्रै सत्यको पनि सत्यापन हुन्छ । जनताले रगत, पसिना लगानी गरेर उथलपुथल ल्याउँछन्, नेतृत्व गर्नेहरूले त्यसको प्राणप्रतिष्ठा गरेनन् भने त्यो कच्पल्टिन्छ । संविधान बनाउने क्रममा आफैंले गरेको वाचाविरुद्ध छलछाम गर्न जति शक्ति खर्च भयो, त्यसैले आजको अराजकता निम्त्याएको हो । ठूला पार्टी र तिनका नेतालाई सत्तोसराप गर्ने स्थिति त्यसै त जन्मिएको होइन ।

तर उथलपुथल सत्तोसरापबाट आउँदैन । तसर्थ जग्गा दलाल, सेयर दलाल, हुन्डी दलाल, मान्छेका दलाल, शिक्षाका दलाल र आईएनजीओ/एनजीओका कार्यकर्ताहरू राजनीतिमा हात मार्न आउन सक्छन्, परिवर्तनको नेतृत्व गर्न सक्दैनन् । उथलपुथल नयाँ परिकल्पना र वैचारिकीसहितको सक्रियताबाट आउँछ ।

yugnew@gmail.com

युग पाठक

Link copied successfully