हामी नेपाललाई दिगो विकाससम्बन्धी उपयोगी अनुभव र विकसित विज्ञान प्रविधि प्रदान गर्न चाहन्छौं र नेपाल पक्षसँग मिलेर एकसाथ हरित विकास र ऊर्जा रूपान्तरणलाई अघि बढाउन चाहन्छौं
अमेरिका र अन्य पश्चिमेली देशहरूले चीनको विज्ञान प्रविधिको विकास तथा उत्पादन क्षमताको अभिवृद्धिलाई दबाउने नियतले ‘उत्पादन क्षमताको अधिशेष’ भन्ने शब्दावली प्रयोग गर्दै आइरहेका छन् । उनीहरू भन्ने गर्छन्– नवीन ऊर्जा सेक्टरमा सरकारी अनुदान अति धेरै प्राप्त भएको हुँदा चीनको इलेक्ट्रिक भेहिकल उत्पादन क्षमता आवश्यकताभन्दा बढी बन्न गएको छ ।
त्यही बढी भएको उत्पादन क्षमतालाई उपयोग गर्न चीनले आफ्ना उत्पादनहरूको विदेशी बजारमा कम मूल्यमा बिक्री गर्दै छ । यस प्रकारको भनाइ वास्तविकतासँग मेल खाँदैन । दिगो विकास सम्पूर्ण विश्वको साझा लक्ष्य हो । नवीकरणीय ऊर्जा विश्वमा हुने संवादको एक प्रमुख शब्दावली बनिसकेको छ । पश्चिमेली देशका लगायत सबै नेताहरूले फोसिल जैविक ऊर्जालाई बिस्तारै विस्थापित गर्दै हरित अर्थ व्यवस्थामा रूपान्तरणका लागि आह्वान गर्दै आएका छन् ।
अमेरिका र अन्य पश्चिमेली देशहरूले यस कुरामा पुन : ‘दोहोरो मापदण्ड’ अपनाएबाट उनीहरूको चित्त अति सानो भएको र उनीहरूले यस क्षेत्रमा चालेको कदम धेरै सुस्त भएको प्रमाणित हुन्छ । तर चीनले अन्तर्राष्ट्रिय बैठकहरूमा जलवायु परिवर्तन सम्बन्धमा गरेको वाचालाई दृढतापूर्वक पालना गर्दै आफ्नो उत्पादन क्षमताको अभिवृद्धि र ऊर्जा रूपान्तरणलाई शीघ्र बनाई जिम्मेवार विशाल देश र विकासशील देशहरूको साझा हितको रक्षकको छवि प्रस्तुत गरेको छ ।
(१) हरित ऊर्जाको आवश्यकता विशाल छ । जलवायु परिवर्तन न्यूनीकरण गर्न न्यून कार्बन हरित ऊर्जा रूपान्तरण अनिवार्य छ । जबसम्म कार्बन न्यूनीकरणको सम्भावना बाँकी रहन्छ, तबसम्म विश्वमा हरित उत्पादन क्षमता अपुग रहेको मान्नुपर्दछ ।
चाहिनेभन्दा बढी भएको होइन । अमेरिका र अन्य पश्चिमेली देशका राजनीतिक व्यक्तिहरूले चीनको नवीन ऊर्जा उत्पादन क्षमता बढी भएको कुरालाई ‘भन्सार कर युद्ध’ आरम्भ गर्ने बहाना बनाएका छन् । वास्तवमा आफ्नो देशको आर्थिक असन्तुलन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक शक्ति खत्तम हुँदै गएको अवस्थामा उनीहरूले त्यसलाई ‘बलिको बोका’ मात्र बनाउने प्रयास गरेका हुन् ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्वको श्रम विभाजन र अन्तर्राष्ट्रिय बजारको आधारमा अनुमान गरेको छ । २०३० सालमा विश्वभर नवीन ऊर्जा मोटर गाडीको आवश्यकता ४ करोड ५० लाख पुग्नेछ । जुन २०२२ सालको ४.५ गुणा हुनेछ, फोतोभोल्टेक यन्त्रको आवश्यकता ८२० गिगावाट पुग्नेछ ।
जुन २०२२ सालको ४ गुणा हुनेछ । अहिलेको अन्तर्राष्ट्रिय उत्पादन क्षमताले बजारको आवश्यकता बिल्कुलै पूर्ति गर्न सकेको छैन । अहिले पनि आवश्यकता निकै धेरै रहेको अवस्थालाई विचार गर्ने हो भने चीनको नवीन ऊर्जा सेक्टरको उत्पादन क्षमता आवश्यकताभन्दा बढी हुने अवस्था पुग्न अझै धेरै समय लग्नेछ ।
(२) चीनको विज्ञान प्रविधिले विश्वमा समृद्धि ल्याउने छ । संयुक्त राष्ट्रसंघका पूर्वउप–महासचिव सोल्हाइमले भनेका छन्– चीनको सुपथ मूल्यको सोलार प्यानल विकासशील देशहरूका निम्ति समृद्धितर्फ अघि बढ्ने हरित मार्ग हो ।
विश्व इतिहासमा यसअघि प्रत्येक देशले फोसिल इन्धनमा भर परेर आफ्नो अर्थतन्त्रको विकास गरेका थिए । तर अहिले चीनको थुङ्वेई, लोङ्ची आदि सौर्य ऊर्जा कम्पनीको प्रयासले सौर्य ऊर्जाको लागत मूल्य दस वर्ष अघिभन्दा ९० प्रतिशत कम भइसकेको छ । यो विश्वव्यापी जलवायु कारबाही र विकासशील देशहरूको दिगो आर्थिक विकासका निम्ति एक सुवर्ण अवसर हो । अमेरिका र अन्य पश्चिमेली देशहरूले हरित उद्योगमा चीनको अग्रस्थानलाई आफ्नो जोखिमका रूपमा नभई विश्वव्यापी ऊर्जा रूपान्तरणको शक्तिशाली इन्जिनका रूपमा हेर्नु पर्दथ्यो ।
(३) अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता जल्दोबल्दो छ । नेपाल इलेक्ट्रिक भेहिकलको अति द्रुत गतिमा विकास भएको बजारमध्ये एक बनिसकेको छ । पेट्रोल, डिजेलबाट चल्ने मोटर गाडीको ठाउँमा हरित ऊर्जाबाट चल्ने गाडीको प्रयोगबाट नेपाललाई तीन प्रकारको फाइदा हुनेछन्– वायु प्रदूषण घट्नेछ, पुँजी बाहिरिन कम हुनेछ, ऊर्जा उपयोगितामा अभिवृद्धि हुनेछ ।
अहिले इन्डोनेसिया, थाइल्यान्ड, टर्की आदि देशमा रहेका चिनियाँ इलेक्ट्रिक भेहिकल कारखानाहरूले स्थानीय उत्पादनको स्तरोन्नति तथा ऊर्जा रूपान्तरणमा सहयोग पुर्याइरहेका छन् । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार विकासशील देशहरूमा नवीकरणीय ऊर्जा सेक्टरमा प्रतिवर्ष करिब १७ खर्ब अमेरिकी डलरको लगानी आवश्यक हुनेछ । तर सन् २०२२ मा विश्वभर ५ खर्ब ४४ अर्ब अमेरिकी डलर मात्र लगानी गरिएको थियो । हामीले लगानीमा भएको यो कमीलाई पूर्ति गर्न आत्मसुरक्षावाद र व्यापार अवरोध होइन, अरू नै रचनात्मक उपायहरू खोज्नु पर्दछ ।
चीन न्यून कार्बन विकास र हरित सहकार्यको मार्गमा हिँड्न सदा तत्पर छ । सन् २०२४ मा चीनको विद्युत्को ४० प्रतिशत नवीन स्वच्छ ऊर्जा स्रोतबाट उत्पादन गरिएको थियो । विश्वको स्वच्छ प्रविधिको सबैभन्दा ठूलो निर्यातकर्ता देशका रूपमा चीनले विश्वमा नवीकरणीय ऊर्जा सेक्टरको ४६ प्रतिशत रोजगारका अवसर सिर्जना गरेको छ ।
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीको प्रतिवेदनमा उल्लेख भए अनुसार गत १० वर्षमा विश्वभर वायुशक्ति प्रोजेक्टको प्रतिएकाइ विद्युत् उत्पादन लागतमा ६० प्रतिशत घटेको छ । फोटोभोल्टेक प्रोजेक्टको उत्पादन लागत ८० प्रतिशत घटेको छ । यसको मुख्य श्रेय चीनलाई जान्छ ।
यो वर्षको मे महिनामा नेपालले सफलतापूर्वक सगरमाथा संवाद आयोजना गर्यो । विभिन्न देशका नेताहरू र थिंकट्यांकका विद्वान्हरूले हिमालयको फेदीमा भेला भई नेपाल लगायतका विकासशील देशहरूले जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने र कार्बन न्यूनीकरणका लक्ष्य कसरी पूरा गरी मानव जातिको दिगो एवं उज्ज्वल भविष्यको निर्माण गर्नेबारे छलफल गरे ।
चीन नेपालको विकासको दीर्घकालीन सहकर्मी र छिमेकी देश हो । हामी नेपाललाई दिगो विकाससम्बन्धी उपयोगी अनुभव र विकसित विज्ञान प्रविधि प्रदान गर्न चाहन्छौं र नेपाल पक्षसँग मिलेर एकसाथ हरित विकास र ऊर्जा रूपान्तरणलाई अघि बढाउन चाहन्छौं ।
अमेरिका र अन्य पश्चिमेली देशहरूले चीन लगायतका विकासशील देशहरूको हरित उद्योगको विकासलाई दबाउन खोज्नुको कुनै तर्क छैन । त्यसैले अग्लो पर्खाल खडा गर्ने मात्र होइन, अन्तर्राष्ट्रिय समुदाय खास गरी विकासशील देशहरूले नवीकरणीय ऊर्जा प्राप्त गर्ने प्रविधिको लागत बढ्न गई विश्वव्यापी हरित न्यून कार्बन विकासमा अवरोध पैदा हुन्छ ।
चीन नेपाललगायत स्वच्छ ऊर्जाको विकास गर्न चाहने सबै देशसँग हरित विज्ञान प्रविधिमा सहकार्य गर्दै मानवजातिको साझा चुनौतीको सामना गरी विश्व जलवायु लक्ष्यलाई साकार बनाउन चाहन्छ । चीनको नवीकरणीय ऊर्जा कदापि चाहिनेभन्दा बढी भएको छैन । त्यो त विश्वका निम्ति एक शुभ सन्देश हो ।
– छन नेपालका लागि चीनका राजदूत हुन् ।
