अन्ततः त्यहाँबाट भइरहेको स्थानान्तरणको दरलाई कम बनाउन पनि भूमिका खेल्छ । त्यस्तै, नेपालमा उत्तर–दक्षिण जोड्ने सडक जति बढी निर्माण हुनेछन्, त्यसले यहाँका फरक समुदायबीचको अन्तरक्रिया र अन्तरघुलनमा पनि वृद्धि ल्याउनेछ ।
विकसित देशमा विकास र समृद्धि झल्काउने अनेकौं आयाम मानिसको आँखैअगाडि हुन्छन् । विकासशील नेपालकै पनि कैयौं जिल्ला तथा सहरका बासिन्दाले तुलनात्मक रूपमा बढी विकास अनुभूत गर्न पाएका छन् । अर्कोतिर कतिपय जिल्ला तथा तिनका सदरमुकाम धेरैपछि राष्ट्रिय राजमार्गमा जोडिएका छन् ।
आइतबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोलास्थित कर्णाली नदीमा निर्माण गरिएको बेलिब्रिजको उद्घाटन गरेपछि राष्ट्रिय राजमार्गमा जोडिने सिमकोट अन्तिम सदरमुकाम बनेको हो । साथसाथै, कर्णाली करिडोरअन्तर्गतको सडकमा निर्मित सो बेलिब्रिजसँगै भारतीय नाका जमुनाह (रुपैडिया) बाट चिनियाँ नाका हिल्सा पनि जोडिएको छ ।
प्रथमतः सडक पहुँच पुगेका कारण त्यहाँका मानिसले पाउने सुविधा वृद्धि हुनेछ । अर्कोतर्फ, भारत–चीन जोड्ने सडक पनि भएकाले त्यसबाट देशले नै लाभ लिन सक्ने आधार पनि छ । यसरी चुवाखोलाको पुलले हुम्लावासी र कर्णाली करिडोरसँग जोडिएका सबै भूभागका मानिसलाई खुसी तुल्याएको छ भने देशमा पनि आर्थिक–रणनीतिक लाभको आधार थपिएको छ ।
सडक निर्माण सुरु भएको २६ वर्षपछि सिमकोट राष्ट्रिय राजमार्गमा जोडिएको छ । निर्माण कार्यमै बितेका अढाई दशकले सडक तथा पुल निर्माणमा हाम्रो सुस्त गति पुष्टि गर्छ । यद्यपि, यो समस्या देशव्यापी छ । यसबाट हामीले तत्काल प्राप्त गर्न सक्ने उपलब्धिको सम्भावनालाई ढिलाइ गरिरहेका छौं । त्यसैले सडक तथा पुल निर्माणलाई तीव्रता दिने उपायको व्यावहारिक कार्यान्वयन हुन जरुरी छ । अर्कोतर्फ, विकासको पूर्वाधार सडक नै विकासको मानक हुन पुगेको छ । जसले गर्दा विकासको खास पक्ष बहसमा आउन सकेको छैन ।
सडकसहित विकासका अन्य पूर्वाधारको पहुँच पुग्ने र त्यसबाट समुदायको सामाजिक र आर्थिक प्रगतिले तीव्र गति समात्ने आधार पनि कमजोर बनिरहेको छ । त्यसैले सिमकोट पुगेको राष्ट्रिय सडक सञ्जालको उपयोगले स्थानीयको दैनिकीमा सहजीकरण हुने विषयलाई मात्रै केन्द्रमा राखिनु हुँदैन । तीनै तहका सरकारले कर्णाली करिडोर क्षेत्रमा बसोबास गर्ने मानिसको समग्र प्रगतिलाई कसरी वृद्धि गर्ने भन्ने चुनौतीलाई महसुस गर्नुपर्छ ।
चुवाखोलामा पुल बनेर कर्णाली करिडोर अविच्छिन्न हुन पुगेपछिको सम्भावित अवसरलाई दुई कोणबाट केलाउन सकिन्छ । पहिलो, स्थानीयलाई पुग्ने सुविधा । चुवाखोलामा पुल नभएकै कारण तीन खण्डमा गाडी सञ्चालन हुँदै आएको र यात्रुले चर्को भाडा तिरेर यात्रा गर्नुपरेको थियो । अब यो स्थिति अन्त्य हुनेछ । त्यसले जनजीवनमा सहजीकरण र प्रगतिका सम्भावना बढाउनेछ ।
यात्रा अवधि छोटिने र खर्च पनि जोगिने भएकाले त्यसले उनीहरूको उत्पादनशीलता र गतिशीलता बढाउन सक्छ । कर्णाली करिडोरले बाजुरा र हुम्लालाई समेत जोडेको छ । यसबाट करिडोरको सहयोगमा विकासका अन्य पूर्वाधार निर्माणको सम्भावना र व्यावसायिक गतिविधिमा स्वतः वृद्धि हुनेछ । रोजगारीका अवसर र आर्थिक गतिविधिमा पनि बढोत्तरी आउनेछ । स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणका ढोका पनि खुल्नेछन् ।
आन्तरिक र बाह्य पर्यटनलाई बलियो बनाउन सकिनेछ । त्यहाँका मानिसको आत्मविश्वास बढाउन पनि यस सडकले सहयोग पुर्याउँछ । अन्ततः त्यहाँबाट भइरहेको स्थानान्तरणको दरलाई कम बनाउन पनि भूमिका खेल्छ । त्यस्तै, नेपालमा उत्तर–दक्षिण जोड्ने सडक जति बढी निर्माण हुनेछन्, त्यसले यहाँका फरक समुदायबीचको अन्तरक्रिया र अन्तरघुलनमा पनि वृद्धि ल्याउनेछ । त्यसले अन्ततः सहअस्तित्व, सहकार्य र अपनत्व बढाउनेछ ।
दोस्रो, यो सडकले भारतसँगको नाका जमुनाह (रुपैडिया) देखि चीनसँगको नाका हिल्सासम्म जोड्छ, जुन ५ सय ५ किलोमिटर छ । भारत र चीन जोड्ने सडक नेपालका निम्ति अनेकौं दृष्टिबाट महत्त्वपूर्ण छ । नेपालको आर्थिक गतिविधि बढी मात्रामा भारतसँग निर्भर छ । दुवैतिर स्थापित हुने सडक पहुँचले हामीलाई विकल्प दिन्छ । त्यसलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिन्छ । त्यस्तै, हामीले भारत र चीनलाई जोड्ने गतिशील पुल बन्ने सपना देख्न थालेको धेरै भइसकेको छ ।
तर हामीसँग पूर्वाधारकै अभाव छ । त्यो अभाव पूर्ति गर्न यो सडक सहयोगी बन्न सक्छ । यस्ता सडकलाई व्यापारिक मार्गमा स्थापित गर्न सकियो भने गतिशील पुल बन्ने आधार पनि वृद्धि हुन सक्छ । कर्णाली करिडोरका अतिरिक्त मोरङको जोगबनीदेखि संखुवासभाको किमाथांका जोड्ने कोशी करिडोर, नवलपरासीको गैँडाकोटदेखि मुस्ताङको कोरला जोड्ने कालीगण्डकी करिडोरलाई पनि यही लहरमा राखेर हेर्न सकिन्छ ।
भारत वा चीनसँग एकपक्षीय रूपमा जोडिएका अन्य सडकले पनि व्यापार, पर्यटन लगायतका सम्भावना बढाउँछन् । यद्यपि, ट्र्याक मात्रै खोलिएका र असुरक्षित सडकबाट हाम्रो चाहना पूरा हुन सक्दैन । सडकको गुणस्तर वृद्धिलाई पनि तीव्रता दिनुपर्छ ।
